त्रिपिटक पाठ : एक समीक्षा

चित्र शाक्य

प्रथम अन्तराष्ट्रिय त्रिपिटक पाठको कार्यक्रम कुनै पूर्व चर्चा विना नै एकैचोटी सम्पन्न हुन गएको छ। उक्त कार्यक्रममा सहभागी भएर आउनु हुने साथिहरूले खुबै उल्लासपूर्ण वातावरणमा कार्यक्रम भएको जनाउनु भयो।

 

लुम्बिनीमा विभिन्न ३२ मुलुकहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न हुनुले विश्वमा एउटा बुद्धबारे सशक्त सूचना प्रवाह गरेको छ। तर यसको तरङ्गलाई कसरी दुगुना, तीगुना गर्दै विश्वभर प्रवाह गर्ने भन्ने आयोजक पक्षको, कार्यक्रम भएको राष्ट्र नेपाल, पर्यटन व्यवसायमा लागेका संघसंस्थाहरू, सम्बन्धित व्यवसायीहरू र सहभागी राष्ट्रको जिम्‍मेवारी हुन आउँछ साथै अन्य राष्ट्रहरूलाई पनि कसरी समन्वयात्मक रूपमा कार्य गर्ने एक कार्यक्रमबद्ध संयोजनको काम थाल्ने जिम्मेवारी पनि हुनआउँछ।

 

कार्यक्रम समापन गर्नु सफलताको एक चरण हो भने त्यसको प्रभावलाई विस्तार र सार्थक बनाउनु अर्को चरण हो। अन्यथा अनेक परिश्रम र दु:ख गरेर सम्पन्नब गरेको कार्यक्रम आज भोली गर्दा गर्दै सेलाएर गायब भएर जान्छ। आउँदा वर्षहरूमा पनि यस कार्यक्रमको आयोजना गर्ने भन्ने निर्णयलाई बल पुर्याउने काम अब तत्काल नै थाल्नु पर्छ।

 

कार्यक्रमको उदेश्य बारे अखिल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले यसो भन्नुभयो ” The First International Tripitaka Chanting was organized to spread the message of peace and harmony from the birthplace of the Buddha. He further added, “Such event will create awareness on the teachings of the Buddha and help promote Buddhism.”


सो उदेश्य अनुसार १) बुद्ध जन्मस्थलबाट शान्ति र समन्वयको सन्देश फिजाउने २) बुद्धशिक्षा बारे जागरण र संचेतना श्रृजना गर्ने र यसको प्रबर्द्धन गर्ने हुन आउँछ। अत: यस अभियानमा साम्प्रदायिक भावना आउन नदिई बुद्धशिक्षालाई मानवीय कल्याण र विकासको आधार बनाई प्रचार प्रसार गर्ने र यसमा सबैको सहमति हासिल गर्ने काम हुनुपर्छ। यसो गरेमा कार्यक्रमको सफलता पूर्णरुपमा हुन जानेछ। भवतु सब्बम मंगलं।