वज्रयान अनुसार म्ह-पूजा (शरीर पूजा)को आध्यात्मिक रहस्यवादी अर्थ

आर. मानन्धर

देवी–देवताको पूजा गर्ने परम्परा त जहाँ पनि होला । तर मानिसको शरीरका विभिन्न अंग पूजा गरेर मनाउने पर्व विश्वमै विरलै होला । नेपालका एक मूलवासी नेवारहरूको मूल चाड भने यस्तै खालको छ । नामै म्ह–पूजा अर्थात् शरीर पूजा — घरभित्र परिवारकै सदस्यहरू मिलेर मानव शरीर पूजा गरेर मनाइने रमाइलो चाड ।
चाडपर्व त यो हो नै । तर पूजा भनेपछि यसको आध्यात्मिक पक्ष त हुने नै भयो । त्यसमा पनि यस पूजामा हरेक सदस्यको अगाडि मण्डल बनाइन्छ । मण्डल भनेकै हिन्दू र बौद्ध दर्शनमा अध्यात्मिक प्रतीक हो । साधारणतया मण्डललाई विश्वब्रम्हाण्डको प्रतीकको रूपमा लिइन्छ । मण्डलहरू तन्त्रयानसँग बढी सम्बन्धित हुनआउँछ । म्ह–पूजामा आफ्नो अगाडि मण्डल बनाई त्यसको पूजा गरिन्छ । यो आफैलाई विश्वब्रम्हाण्ड मानेको हो र त्यसको प्रतीक बनाई पूजा गरेको हो । म्ह–पूजाको दिन बनाइने मण्डल पनि हरेक नेवारको घरमा फरक–फरक देखिन पाइन्छ । तर सबै कुनै न कुनै यन्त्रको आकारमा नै हुन्छ । वास्तवमा अहिलेको युगमा घरघरमा बनाइने मण्डलका प्रकार संकलन गर्नु पनि जरूरी भइसकेको छ ।
म्ह–पूजाको दिन नेपाल सम्वत्को नयाँ वर्ष शुरु हुने दिन पनि हो । नेपाल सम्वत् र म्ह–पूजाको सम्बन्ध के हो यसमा सबै विद्वानहरू एक मत हुनसकेका छैनन् । वा भनूँ यस विषयमा कुनै निक्र्यौलमा पुग्नसकिएको छैन । तर साधारणतया बुझ्न सकिन्छ कि लक्ष्मीपूजाको दिन अर्थात् नेपाल सम्वत्को अन्तिम दिन बेलुका नेवारहरू वर्षदिनको आर्थिक कारोबार बन्द गरी (अहिलेको भाषामा आर्थिक वर्षको अन्त्यमा खाता बन्द गरी) वर्षभरिको आम्दानीको निम्ति लक्ष्मीप्रति कृतज्ञता जनाउँदै आउँदो वर्षमा पनि लक्ष्मीको कृपा होस् भन्ने कामनाका साथ लक्ष्मीपूजा मनाइन्छ र अर्को दिन हर्षउमंगका साथ आफ्नो शरीर पूजा गर्दै नयाँ वर्षमा प्रवेश गर्छन् ।
तर यतिले पनि आध्यात्मिक महत्व प्रष्ट खुल्दैन । नेवारहरू मूलतः वज्रयान मान्ने भएकोले त्यसैभित्र म्ह–पूजाको अर्थ खोज्नु आवश्यक छ । यहाँनेर वज्रयानभित्र सहजयान स्थापना गर्ने महासिद्ध भगवती लक्ष्मींकरा (ई. ७२९) सम्झनपुग्छु । उनी काष्ठमण्डपको स्थापना गर्ने अर्का महासिद्ध लीलावज्रकी गुरू हुन् । भगवती लक्ष्मींकराको प्रसिद्ध वाणी छ,


“शरीरलाई पीडा दिनु आवश्यक छैन, न त व्रत बस्नु, धार्मिक रीति मान्नु, गंगा स्नान गर्नु, पवित्र बन्नु वा समाजका कुनै नियम मान्नु नै आवश्यक छ । काठ, ढुंगा वा माटोबाट बनेका भगवानका मूर्ति ढोग्नु पनि आवश्यक छैन । तर ध्यानपूर्वक आफ्नो शरीरलाई पूजा गर्नू जहाँ सबै भगवानहरु बसेका छन् ।”
भगवती लक्ष्मींकरा उडियानका राजा इन्द्रभूतिकी बहिनी हुन् । उडियानलाई कसैले अहिलेको भारतको उडिसा राज्यलाई मान्छ भने कसैले अहिलेको पाकिस्तानमा पर्ने श्वात जिल्लालाई मान्छ । बौद्धधर्मलाई टिब्बतमा स्थापना गराउने पद्मसम्भव पनि उडियानमै जन्मेको मानिन्छ । केही टिब्बती परम्परामा भने उडियानलाई पृथ्वीको भाग नभई शाम्भाला अर्थात् डाकिनीहरूको मिथकीय देशको रूपमा वर्णन गरिन्छ ।
यसरी भगवती लक्ष्मींकरा उडियानकी राजकुमारी हुन् । तर यस्तै सिद्धान्त र व्यवहारले होला उनलाई ‘पगली राजकुमारी’ पनि भनिन्छ । उनका चेला लीलावज्र साँखुमा जन्मी काष्ठमण्डप नजिकैको तरुमूल महाविहारमा बस्थे । उनी लिच्छवी राजा जयदेव द्वितीय (ई. ७१३ – ७३३) को समयका हुन् । सहजयानी दर्शनको प्रभाव नाथ सम्प्रदाय, इस्लामको सूफी रहस्यवादी परम्परा र हिन्दू सन्त परम्परामा पनि प्रशस्तै परेको कुरा इतिहास र दर्शनशास्त्रका विद्वानहरू बताउँछन् ।
बौद्ध दर्शनमा शरीरमा नै भगवानहरु भएको मान्ने प्रमाण थेरवादी बौद्धहरूले दैनिक पाठ गर्ने परित्राण सूत्रको जिनपञ्जर गाथा पनि हो । यसमा भनिएको छ, “अठाइस बुद्धहरू मेरो शिरको शीर्षभागमा छ । बुद्ध मेरो शिरमा छ, धर्म मेरो आँखामा र संघ मेरो छातीमा छ ।” यस गाथामा बुद्ध र बुद्धका प्रमुख अर्हत् शिष्यहरू शरीरका विभिन्न भागमा बसेको छ भनी पाठ गरिन्छ । जस्तो कि “आयुष्मान अनिरुद्ध मेरो हृदयमा बसेका छन्, दायाँ सारिपुत्र, बायाँ मौद्गलानन्द अनि कौण्डन्य मेरो पिठ्यूँमा बसेका छन् ।” फेरि बुद्धका सूत्रहरू पनि शरीरका विभिन्न भागमा रहेको भनिन्छ । यसरी मानवको आफ्नै शरीरमा सबै बुद्धहरू र बुद्धका उपदेशहरू भएपछि त आफ्नो शरीर पूजा गर्नु भनेकै सबैलाई पूजा गरेको ठहरिन्छ ।
बुद्धको ध्यान पनि मुख्यतः आफ्नै शरीरमा केन्द्रित गरेर गरिने हो । आनापानासति श्वासको आउजाउलाई हेरेर गरिन्छ । कायानुपस्सना त नामैले काय अर्थात् शरीरमा केन्द्रित हुने नै भयो । वेदनानुपस्सना पनि शरीरमा उत्पन्न हुने विभिन्न वेदनाहरूप्रति जागृत भएर गरिन्छ । हिँडेर गरिने चंक्रमण पनि खुट्टाको चालको ख्याल राखी गरिन्छ । थाइलैण्डमा महासति भनेर आँखा खोलेरै हातको १४ चालमा गरिने ध्यान पनि छ । वास्तवमा चेतना भनेकै बाँचुञ्जेल त शरीरमै फैलिएको हुन्छ । शरीरभन्दा पर गएर त कहाँ भेटिनु र ?
यस्तै दर्शनको प्रत्यक्ष वा परोक्ष प्रभाव अवचेतनमा परेरै होला, काठमाडौंमा जन्मे हुर्केका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नपुगे — “कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो”। अनि भन्दाभन्दै भन्न पुगे “मन्दिर आफू अपार” ।
यस्तै दर्शनको प्रभाव र विपस्सनाको अभ्यासले मैले पनि आफ्नो पुस्तक क्षितिजको स्पर्शमा ‘म्ह–पूजा’ शीर्षकमा लेख्नपुगें ः
शरीर नै सबथोक ठानी मात्र खानु–पिउनुमा लाग्नु शरीरको अनादर गर्नु हो ।
शरीरलाई जाबोभैंm सम्झी कल्पित वस्तुसँग लहसिनु पनि मनासिब होइन ।
हामी देहधारी । शरीरमै व्याप्त हाम्रो चेतना ।
शरीरको मार्ग भई जाँदा मात्र भेटिन्छ चेतना ।
जति शरीर भित्र प्रविष्ट हुन्छौं, उति नै नजिकिन्छ चेतना ।
शरीरलाई हेर्दाहेर्दै निराकारमै पनि आकार झल्किन्छ ।
शरीरमै प्रकटिन्छ देउताहरू । शरीरमै भेटिन्छ बुद्ध ।
मलाई लाग्छ, म्हपूजा आफ्नै शरीरमा सबै देवदेवीहरू रहेको कुरा वर्षमा एकपटक स्मरण गराउनको लागि गरिने हो । तर साँच्चिकै म्हपूजाको मर्म बुझ्ने हो भने वर्षैभरि शरीरका अंगप्रत्यंगमा केन्द्रित भएर ध्यान गर्नुपर्दछ । तब मात्रै आफ्नो शरीरभित्र रहेका भगवान् र विश्वब्रम्हाण्ड प्रत्यक्ष हुन्छ ।
(लेखक दर्शनका अध्येता हुनुका साथै पाँच वर्ष श्रामणेर भई थाइल्याण्डका विहारहरूमा बसेका पनि थिए । उनी विभिन्न पत्रिकामा स्तम्भकार रहेका छन् र दर्शनसम्बन्धी नेपाली पुस्तक ‘क्षितिजको स्पर्श’ र नेतृत्व सम्बन्धी अँग्रेजी पुस्तक ‘कन्सियस लीडरशिप’ का लेखक हुन् ।)