बुद्ध र महिलाका अधिकार

सूर्य घिसिङ

तथागत बुद्ध महिला मुक्तिका पहिलो प्रबर्तक हुनुहुन्थ्यो :-

“अहो ! म मुक्त नारी हुं ! मेरो मुक्ति कति धन्य छ ! पहिला म मुस्ली लिएर धान कुटथे, आज म त्यसबाट मुक्त भएको छु । मेरो दरिद्र अवस्थाको त्यो स-साना भाँडाकुँडाहरु, जसको बीचमा म झुत्रो-झाम्रे भएर बस्थे र मेरो निर्लज्ज श्रीमान् मलाई त्यो छाता भन्दा पनि तुच्छ सम्झिन्थ्यो, जसलाई उ आफ्नो जीबिकाको निम्ति बनाउथ्यो ।

 

यो बौद्ध भिक्षुणी सुमंगल माताको उदगार हो, जुन थेरिगाथा नामक ग्रन्थमा संकलित छ । थेरिगाथा बौद्ध साहित्यका एक महत्त्वपूर्ण ग्रन्थ हो । जसलाई भिक्षुणीहरु नै लेखेको हो । यो नारी स्वतन्त्रतालाई प्रकट गर्ने प्रथम ग्रन्थ हो । बुद्ध बिश्वका पहिलो धर्मगुरु हुनुहुन्छ, जसले स्त्रीहरुलाई बराबरीको हक दिनुभयो । तथागतले स्त्रीलाई दिक्षित हुने अधिकार दिएर भिक्षुणि बन्ने मौका अबसर दिनुभयो र पहिलो पटक एक पृथक र स्वतन्त्र भिक्षुणी संघको स्थापना गर्नुभयो । बुद्ध र बौद्ध धम्मका स्त्री सम्बन्धि बिचारलाई लिएर केही भ्रमहरु थिए, तर भिक्षुणी संघको स्थापना एक यस्तो क्रान्तिकारी कदम थियो, जसले स्त्रीहरुलाई स्वतन्त्रता र उनीहरुको ब्याक्तीत्व बिकासका सर्बमुखी अभिव्यक्ति मिल्यो । बुद्धका ( तत्कालीन समाजमा ) पालामा वैदिक ब्याबस्थामा स्त्रीलाई धार्मिक – आध्यात्मिक कार्यका, यज्ञोपवितको अधिकार थिएन ( आज पनि छैन ) र उनीहरुलाई केवल बिलासीका बस्तु मानिन्थ्यो । यस्तो अबस्थामा बुद्धले उनीहरुलाई बराबरीको दर्जा दिनुभएर समाजमा आफ्नो महत्व अनुभव गर्ने अबसर दिनुभयो, जसले गर्दा स्त्रीहरुमा आफैप्रती आदरको भाव जाग्यो, सामाजिक दृष्टि कोणमा पनि परिबर्तन आयो ।

 

थेरिगाथाबाट भिक्षुणीहरुको प्रतिभा, उनीहरुको राजनीतिक सोच र बुद्धका योगदानलाई थाहा पाउने छौ । सारिपुत्त र उसको बैनी चालाले ब्राम्हण कुलमा जन्म लिएर पनि ब्राम्हण धर्म र उसको संस्कारसग बिद्रोह गरेका थिए । उनीहरु ज्ञान र मुक्तिका चाहानाले बुद्धका शरणमा गएका थिए ।

थेरिगाथामा चाला भन्नुहुन्छ :-“मिथ्या मार्गलाई अबलम्बन गर्नेहरू, मिथ्या दृष्टिमा फसेका साधुहरुसग मेरो कुनै लेनदेन छैन । तिनीहरु यश मार्गबाट धेरै टाढा छन् । सत्य धम्मका सम्बन्धमा उनीहरु केहि पनि जान्दैनन् । तर शाक्य कुलमा एक बुद्धले जन्म लिनुभएको छ, उहाँ अप्रतिम पुरुष हो । उहाँले नै मलाई धम्मको उपदेश दिनुभयो, जसलाई सुनेर मैले मिथ्या दृष्टिलाई पार गरे । दु:ख के हो, दु:खको उत्पत्ती कसरी हुन्छ र दु:खका अतिक्रमण कसरी गरिन्छ ….यसका लागी तथागत बुद्धले मलाई उपसमन तिर लिएर जानेवाला आर्य आस्टांगिक मार्गको उपदेश दिनुभयो । उहाँको उपदेशलाई सुनेर मैले तीन बिद्याहरु प्राप्त गरे ।”

 

थेरिगाथाकै एक प्रसंग अनुसार :- एक दासिका पुत्री पुण्णिका, बुद्धबाट ज्ञान प्राप्त गरेपछि एक ब्राम्हणलाई बास्तबिक शुद्धताका बारेमा बताउदै भन्छिन :-“गंगामा स्नान गर्नाले पापबाट मुक्ति मिल्छ, यस्तो तिमीलाई कस्ले भन्यो ? यो त अज्ञानि र मुर्ख ब्याक्तीले दोस्रो अज्ञानी र मुर्खलाई दिइने उपदेश हो । यदि गंगाको पानीबाट शुद्ध हुनेभए तब भ्यागुतो, कछुवा, गोहि, माछा र अन्य जलचरहरु स्वर्ग जाने निस्चित भए ।”
एक अन्य प्रसंगमा भिक्षुणि मित्रा आफ्नो पुर्ब जीवन माथी चिन्तित हुँदै भन्नुहुन्छ :-“म हरेक चतुर्दसी ( अमावस्या ), पुर्णमासी र प्रत्येक पक्षको अष्टमिमा व्रत राख्थे । के का लागि ? यो सोचेर कि देब योनिलाई प्राप्त गरेर म स्वर्गमा बास गर्नेछु । त्यहीँ ब्याक्ती हुं म आज नित्य एक समय आहार ग्रहण गर्नेवाला, मुण्डन गरेको शिर र चिवर ( संघाटी आदि काषाय बस्त्र ) लगाएको छु । तर आज मलाई देव योनिको कामना छैन । स्वर्गमा बास गर्ने अभिलाषा पनि छैन । कारण, मैले हृदय ( मन ) को चिन्ता ( पिडाहरु ) लाई टाढा फ्याकिदिएको छु ।”

 

भिक्षुणी संघमा दिक्षित हुने मौका मिल्नसाथ हजारौंको संख्यामा महिलाहरू भिक्षुणी बने । भिक्षुणि संघमा हरेक बर्ग, सम्प्रदाय र हरेक स्थानका महिलाहरू – गौतमी जस्तो रानी, आम्रपाली जस्तो नर्तकी, खेमा जस्तो राजकुमारी थिए । सुमंगला, मथिका, वासंती जस्ता अनगिन्ती महिलाहरूले आध्यात्मिक जिबनको उचाइमा पुगेर आफ्नो साथै भिक्षुणी संघको नाम प्रख्यात गरे । उहाँहरुले कला, संस्कृती र साहित्य क्षेत्रमा अभुतपुर्ब प्रगति हासिल गर्नुभयो ।