बुद्धधर्म र चर्यानृत्य

रामगोपाल आशुतोष

भगवान् बुद्धको महानिर्वाणपश्चात्  विदुडभले कपिलवस्तुका शाक्यहरूको महादमन गर्न थाले । उनीहरू भिक्षुहरूलगायत शाक्य, बंगालबाट आएका ब्राह्मण र भारतका विविध थरीका मानिससहित नेपाल प्रवेश गरी नेवार सम्प्रदायमा प्रवेश गरे ।

आठौं शताब्दीदेखि बाह्रौं शताब्दीसम्म भारतमा बज्रयानको प्रचार भयो । प्रत्येक कूलको ८४ बौद्ध सिद्धहरूको वृद्धि भयो । उनीहरूले संस्कृतका तीन अपभ्रंश भाषामा दोहा र चर्यागीत रचना गरी प्रचार गरे ।

भारतमा मुसलमानहरूले ‘नालन्दा विश्वविद्यालय’ विध्वंस गरेपछि बचेका बौद्ध ग्रन्थ बोकेर नेपालमा शरण लिई बज्रयानको प्रचार गरेको इतिहास छ । तिनै सिद्धहरूको चर्यागीत अध्ययन गरी नेपालका तान्त्रिक बज्राचार्यहरूले चर्यागीतको रचना गरे ।

सुरतबज्रले पहिलो चर्यागीत रचना गरेको विश्वास गरिन्छ । सुरतबज्रदेखि सुरु भएको चर्यागीत लेखन परम्परा रत्नबज्र, ॐकारबज्र, हुंकारबज्र, शाश्वतबज्र, परमादिबज्र, अमोघबज्र, सिद्धिबज्र, हासबज्र, विलासबज्र, महासुखबज्र, श्रीबज्र, अनुपमबज्र, विक्रमबज्र, मुनबज्र, शिवबज्र, गीतबज्र, समरसबज्र, तथागतबज्र, स्वयम्भूबज्र, इन्दूबज्र, जीवचन्द्रबज्र, कुलदत्ताचार्य र अद्वयबज्र हुँदै कान्छाबज्र बज्राचार्यसम्म पुगेको बताइन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशीको पुस्तक ‘बःचाधंगु नेवाः खँग्वः धुकू’मा चर्याको अर्थ नेवार सम्प्रदायमा बौद्ध महायानीहरूको गुह्यपूजा हुने बेला गाइने धार्मिक शास्त्रीय गीत भनी उल्लेख छ ।

चर्यागीतको शाब्दिक अर्थ बौद्ध महायानी, गुभाजु, बजेजु, उराय् आदि जातिहरूको आगं (कूल) पूजा गरिने बेला गाइने गोप्य गीत वा चचागीत वा कूल वेद पनि भनिएको छ । ललितपुरमा चचालाई चच पनि भनिन्छ । बज्राचार्य गुरुजुहरूले गुह्यपूजा गर्दा घण्ट बजाउने प्रचलन छ । चचापातहरूले पूजा अनुसार ताः (एक किसिमको बाजा) बजाई सामूहिक रूपले लय हाली चर्यागीत गाउँछन् ।

त्यस्तै डा. कुमार पि. दर्शनले ‘नेपालको नृत्य शिक्षा परम्परा’मा लिच्छवी काल (सन् ४५०—७५०) मा चर्यालगायतका नृत्यहरूको द्रुत विकास र सम्बद्र्धन भएको तथ्य उल्लेख गरेका छन् । मल्ल काल (सन् १२००-१७६९) मा यो नृत्यको विकासले उच्च गति लिएको उल्लेखित छ ।

मल्ल राजा प्रताप मल्ल (सन् १६४१-१६७४) को पालामा विविध मठमन्दिरका साथै यो नृत्यले उच्चता प्राप्त गरेको बताइएको छ । त्यसैले नै मल्ल कालमा सहरका विभिन्न टोल तथा चोकहरूमा दबु (डबली) बनाइएका हुन् । एउटा मिथकअनुसार राजा प्रताप मल्लले सपनामा तीन कूलदेउताले दानवसित युद्ध गरेको देखेको र सो सपनाको चित्रण गर्न लगाई गीतमार्पmत हरेक वर्ष नृत्य गराउने परम्परा बसाएको पनि उल्लेख छ ।

के हो चर्या नृत्य ?
त्रिभंग (खुट्टा, कम्मर र शिर) मा बसेर लास्य (नारी शक्ति नृत्य) र ताण्डव (पुरुष शक्ति) मा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अंग परिचालन गरी आध्यात्मिक भावना र भक्तिरसले पूर्ण भई जुन देवीदेउताको नृत्य गर्ने हो तिनैको ध्यानभावना आपूmभित्र समाहित गरी आपैंmलाई ईश्वर मानी नाचिने नाच चर्या नृत्य हो । यो नृत्यमा देवीदेउताले जसरी नै पोसाक र गरगहना नियमानुसार पहिरिनुपर्छः चन्द्रहार, बाजु (मुकुट), घाँटीको पेटी, कम्मर पेटी, मोतीमाला, धातुको मोटो सिक्री र देवीदेउताको वर्णअनुसारको रंगीन टीका ।

चर्या नृत्यका धेरै प्रकार छन् । एउटै प्रकारका नृत्यमा पनि विविध उपनृत्यहरू हुन्छन् । तीमध्ये प्रमुख हुन् ः १. मञ्जु श्री २. बज्रयोगिनी ३. बज्रसरस्वती ४. बसुन्धरादेवी ५. पञ्चतारा ६. आर्यतारा ७. अमोघसिद्धि आर्यतारा ८. योगिनी तारा ९. कुमारी, १०. बज्रपाणि ११. पञ्चबुद्ध १२. भैरबकाली अन्नपूर्ण १३. रक्तगणेश १४. श्वेतगणेश १५. कालभैरव, १६. अस्टमात्रिका १७. डाकिनी ।

चर्या नृत्यका निश्चित आधारभूत पदज्ञान र आसन हुन्छन् । समपद, बज्रपद , मण्डलापद, त्रिभुपद, प्रत्यालिंधपद, आलिंधपद र नमामीपद गरी सात प्रमुख आसन पाइन्छन् ।
चर्या नृत्यमा आसन अति आवश्यक मुद्रा हो । सबै देवीदेउताका मुद्रा लिने बेला त्रिभंगासनमा बस्नुपर्छ । सोही आसनपछि लाश्य र ताण्डवभित्र समाविष्ट हुनु अति आवश्यक हुन्छ । त्रिभंग आसन नभए चर्या नृत्य हुँदैन । यस नृत्यका प्रायः मुद्रामा चार अलगअलग कोण अर्थात् निश्चित डिग्री निर्धारण गरिएको हुन्छ । कुनै ४५ डिग्री त कुनै ९० डिग्री अनि कुनै एक सय ४५ डिग्री कुनै एक सय ८० डिग्री ।

चर्याका प्रायः नृत्य नवरसभित्र पर्छन् । तीमध्ये वीर, भक्ति र करुण गरी तीन प्रमुख रसमा चर्या नृत्य नाचिन्छ । यस नृत्यमा सुर र तालका लागि विभिन्न बाजा बजाइन्छ । सितार, डमरु, लाला खिं, तिन्छु, डमरु, बाँसुरीलगायतका अन्य सुरमण्डल पनि प्रयोग गरिन्छ ।

साथै, यो नृत्य विभिन्न रागमा नाचिन्छ । धना श्री, जटी, गुञ्जली, गोदग्री, ललित, नट, कामोद, वसन्त, माल श्री, बाह्रमास, भैरबी, मंगल आदि रागमा नाचिने यो नृत्य नेपालको मौलिक र विश्वविख्यात नाच हो । यसका तालहरू पनि विभिन्न छन् । दुर्जमान, चस्पती, षटन्कार, प्रताल, जटी, चो, झपताल, त्रिमान, अस्ट्रा इत्यादि प्रमुख तालमा पर्छन् । यो नृत्यमा गायिने गीतलाई चचा हालेगु भनिन्छ । शास्त्रीयतामा आधारित चचा गीत संस्कृत भाषामा रचिएका छन् ।

गुरु महामञ्जु श्रीद्वारा रचित चचा गीतलाई मौलिक शिल्प र शैलीमा रूपान्तरण गर्ने श्रद्धेय पण्डित सुरतबज्र बज्राचार्य थिए । यो नृत्य रियाज गर्ने उत्तम समय बिहानीको प्रथम प्रहर मानिन्छ । नृत्य गर्नुपूर्व आधादेखि एकघन्टा अनिवार्य ध्यान गर्नुपर्छ । अनि आराध्यदेव ईश्वरको साधनामा श्लोक पढी प्रार्थना गरिन्छ ।

सम्बन्धित देवीदेउताको ईश्वरीय शक्ति, भावना, शून्यता आदि भाव आपूmभित्र समाहित गरिन्छ । बिहानी प्रथम प्रहरमा आधारभूत कसरत गरिन्छ । हातखुट्टाका औंला, कुर्कुच्चा, घुँडा, खुट्टा, कम्मर, हिप, छाती, काँध, गर्दन, मुख, ओठ, आँखा, आँखीभौं, टाउको, निधार आदि शरीरका अंगप्रत्यंगको व्यायाम गर्नुपर्छ । एकदेखिसपटकसम्म कसरत गर्दा पूरै शरीरमा स्फूर्ति बढी अनुहारमा तेज र शारीरिक सुन्दरता बढेर आउँछ ।

त्रिभंगमा बसेर लास्य र ताण्डवमा समावेश भई भावपूर्ण मुद्रामा सम्पूर्ण अंग चलाई, आध्यात्मिक भावना र भक्तिरसले पूर्ण भई जुन देवीदेउताको नृत्य गर्ने हो तिनैको ध्यानभावना आफूभित्र समाहित गरी आफैलाई ईश्वर मानी नाचिने नाच चर्या नृत्य हो ।

एक घण्टाका व्यायामपछि पाँचदेखि बीस मिनेटसम्म शरीरका विभिन्न अंगका लचकताका लागि व्यायाम गरिन्छ । त्यसपछि देवीदेउताको गुण, वर्ण, वरदान, आसन, मुद्रा, गीतको भाव, ताल, राग, वस्त्र आदिका बारेमा ध्यान दिई एकभक्त, एकचित्त रही ध्यान गर्नु अनिवार्य मानिन्छ ।

चर्या गीतको उत्पत्ति
चर्या नृत्यमा गाइने गीतलाई चचा भनिन्छ । चर्यागीत र चर्यानृत्यका विषयमा ‘हेवज्रतन्त्र’मा यसरी उल्लेख गरिएको छः
‘यदि गीतं गायते आनन्दात तहिं वज्रगीतं परमयदि आनन्द समत्मन्नो नृत्यतै मोक्षहेतुना
तर्हि वज्रपदे नाट्यं कुर्यात योगी समाहितः ।’
(आनन्दपूर्वक गीत गाउने हो भने बज्रगीत उत्तम हो । आनन्दपूर्वक नाच्ने हो भने मोक्षको निम्ति हुनुपर्छ । त्यसैले साधक योगी वज्रपद नाच्नुपर्छ ।)
यसरी बज्रायानमा वज्रगीत र वज्रनृत्यको उद्भव भयो । इतिहासदेखि नै चर्यागीत र चर्यानृत्य वज्रगीत र वज्रनृत्यको पर्यायवाची शब्दका रूपमा प्रयोग हुँदै आएको पाइन्छ ।

चर्या नृत्यको उत्पति
चर्या नृत्य आदिबुद्ध बज्रसत्वद्वारा उत्पति भएको मानिन्छ । शास्त्रमा यो प्रमाण उल्लेख पनि गरिएको छ । पछि पञ्चबुद्ध लोकेश्वर, आर्यतारा बज्रयोगिनी, मञ्जु श्री, नृत्यनाथ, कुमारी, भैरब, काली, अष्टमात्रिका, आदि देवदेवीहरूले आ–आफ्ना समयमा पाँच प्रकारका बाजा बजाई ३६ रागरागिनीका चचा गाएर यो नृत्यको विकास गरेको शास्त्रीय प्रमाण छ ।

चर्या नृत्यको प्राचीनताबारे खासै उल्लेख भएको पाइँदैन । यो नृत्य कसले, कहाँ र कहिले उत्पत्ति गर्‍यो भन्ने विषयमा अहिले पनि अनुसन्धानकै विषय हो । नेपालमा यो नृत्य प्रचलनमा आयो भन्ने सन्दर्भ चल्दा काठमाडौंस्थित साँखुमा अवस्थित बज्रयोगिनी देवीको इतिहास पढी अनुमान लगाउन सकिने संस्कृतिविद्को ठहर छ ।

किंवदन्ती अनुसार जोगदेव बज्राचार्यको समयमा कलिगत १८०१ फाल्गुण शुद्धि तृतीयाको दिन श्री बज्रयोगिनी देवीको भ्रमण हुँदा महायानी बौद्ध परम्पराअनुसार चर्या नृत्य ताल र भावमा हुने तथ्य शास्त्रमा उल्लेख छ । यसरी महायानी सम्प्रदायभित्र चर्यानृत्य विकसित भएका प्रमाणहरू भेटिन्छन् ।

फेरि, यो नृत्य किरातकालदेखि लिच्छवीकालका गुरु बज्राचार्यहरू शान्तिकराचार्य, सुरतबज्र, बन्धुदत्त आचार्य आदिले पनि चचा गीत लेखी, नाचगान गरी चर्यानृत्यको स्तरोन्नति गरेको पाइन्छ ।

महायानी सम्प्रदायभित्र चर्यानृत्यको महत्वबारे जान्न नेपालको तान्त्रिक इतिहास खोतल्न आवश्यक छ । कलिगत संवत् १८०१ म मणिचुड पर्वतमा श्री बज्रयोगिनी देवीको नृत्याभावमा वनविहार भएको बेला देब्रे हातको नागकुण्डल गहना भुइँमा खस्दा त्यहाँ एउटा कुण्ड उत्पत्ति भएको किंवदन्ती छ ।

त्यो दहलाई हाल मणिचुड कुण्ड पनि भनिन्छ । साँखु विविध मिथकको केन्द्र पनि मानिन्छ । उक्त स्थानको किंवदन्ती भारतको हस्तिनापुरसम्मको कथा जोडिएको छ । चर्यानृत्यको अध्ययन अनुसन्धान गर्ने क्रममा नेपालदेखि विश्वका विभिन्न देशका प्रचीन परिस्कृत तान्त्रिक शक्ति र विभिन्न रागरागिनीले परिस्कृत शास्त्रीय नृत्य हो भन्ने प्रमाणित हुन्छ ।

चर्यानृत्यको मौलिकता र महत्व
चर्यानृत्यको आफ्नै मौलिक महत्व छ । यसको विशेषता भन्नु संसारका कुनै पनि नृत्यसित मेल नखानु हो । अर्को विशेषता, यो नृत्य रागबाट सुरु भई श्लोकमा टुंगिन्छ । यो नृत्य सांगीतिक रसअन्तर्गत रही नाचिन्छ । चर्यानृत्य नेपाली संस्कृतिको एउटा अति विशिष्ट नमुना हो । यो राष्ट्रिय निधि एवं जीवित सम्पदा हो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा नेपालका मौलिक पहिचान उजागर गरिरहेको छ ।

अब चर्यानृत्य महायानी सम्प्रदायमा वा गुह्य पूजा गर्दा नाचिने गाइनेमा सीमित रहेन । अचेल यो नृत्यलाई परिस्कृत गरी विभिन्न सभासमारोह तथा धार्मिक सांस्कृतिक अवसरमा पनि प्रदर्शन गरिन थालेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलनमा र पाहुनपासाको सम्मानमा पनि प्रदर्शन गर्न थालिएको यो हाम्रो मौलिक नृत्य हो ।

सन्दर्भ सामाग्री/स्रोतव्यक्ति

बःचाधंगु नेवाः खँग्वः धुकू-जोशी सत्यमोहन

– डा.दर्शनकुमार पि.
चर्यागीत स्त्रोत- आशा सफु कुथी
मणिचुद राजाया बाखँ-मानन्धर सत्यनारायण
नृत्य प्रशिक्षक- महेशप्रकाश हाडा
विभिन्न पत्रपत्रिका तथा वेबसाइट

अन्नपूर्ण पोस्टमा प्रकाशित लेख साभार गरिएकाे छ ।

तस्वीर सौजन्य व्योमा कुसुम बुद्धधर्मसंघ ।