सम्यक आजीविका नै एउटा धर्म हो

चित्र शाक्य

हामी धर्म भनेको अलग्गै र हाम्रो कामकाजलाई अलग्गै मान्छौं। त्यसले हामीलाई धर्मबाट टाढा बनाएको छ। जीवनमा हामी अनेक काम गर्छौं। त्यसबाट अरूलाई पनि हित हुने वा आफ्नो चाहिं हित हुने तर अरूलाई अहित गर्ने वा नोक्सान पुर्‍याउने हुन्छ। आफ्नो हित हुने तर अरूको नोक्सान गर्ने काम पाप हो भने, आफ्नो पनि हित हुने र अरुलाई पनि फाईदा पुर्‍याउने काम धर्म हो। तर वास्तवमा हामी अघि पछि गर्ने कामलाई धर्म भन्दैनौं। बुद्धपूजा गर्ने, बसुन्धरा, अष्टमी आदिको व्रत बस्ने, सत्यनारायणको पूजा लाउने, एकादशीको, सन्तोषीमाँको साईव्रत उपवास बस्ने आदिलाई धर्म मान्छौ, वा यज्ञआदि होम, पुटिक लाउने आदिलाई धर्म मान्छौं।

 

हामीले विश्लेषण गरेर हेर्ने हो भने पूजाव्रत, होमादि कामनाको लागि गरिन्छ भने अरूको पनि हित हुने, दु:खबाट उद्धार हुने कामले प्रत्यक्ष फल दिने हुन्छ। त्यसैले प्रत्यक्ष धर्मको काम त अरू र आफ्नो भलो हुने काम नै हुन्छ। बुद्धपूजा गर्नु र सत्यनारायणको पूजा लाउनु एकै हो। बुद्धपूजा गर्नेले शील पालन गरेन भने बुद्धपूजा गरेको के अर्थ रह्यो र? त्यसैले पूजा भन्दा शील, चरित्र शुद्ध राख्नुमा सच्चा धर्म हुन्छ। रामलाल बैद्यले अरूको जिवन जोगाई दिएको भन्दा उसले गर्ने अर्को धर्म के हुन्छ त?
बुद्धले पत्तालगाएको आर्य अष्टाङ्गिक मार्गमा “सम्यक आजिविका” पनि धर्मको एक अङ्गको रूपमा रहेको छ। मानिसले गर्ने पेशा आफूलाई आम्दानी हुने मात्र नभएर अरुको पनि सकेसम्म हित र भलाई हुने हुनु पर्छ, अन्यथा अरूलाई हानी पुर्याुउने खालको चाहीं पटक्कै हुनु हुँदैन। तर नेपालमा आजकल आफ्नो र अरू दुबैको भलाई हुने काम गर्नेहरू धेरै कम छन्। बढी त आफूलाई चाहीं फाईदा हुने अरूलाई नोक्सान पुर्याउने काम गर्नेहरू नै छन्। देश विकासोन्मुख बाट उल्टो अविकसित हुँदै जानु यसको उदाहरण हो।

 

 

नेपालमा स्पष्ट देखिईराखेको कुरामा एउटा त निर्माणका कामहरूमा अनावश्यक ढिलाई, श्रोत साधनको दुरुपयोग, मौका छोपेर मात्र लाभको कुनियतले घटिया स्तरको झार टार्ने काम हुनु हो। काठमाण्डु वा अन्य केहि नगरहरू मात्र निर्माणको काम गर्ने ठाउँ हो, ती ठाउँबाट कमाउनसम्म कमाउने काम गर्नु पर्छ भन्ने मूर्खतापूर्ण विचार हुनु, निर्माणको काम राज्य भरी हुनु छ, एकलाई सिध्याएर अर्को गर्दै गएर सम्पूर्ण देशको निर्माणको कामहरु गर्नु पर्छ, त्यसरी आफ्नो फाईदा त छँदै छ, सबै क्षेत्रका जनताको पनि हित र उद्धार हुन्छ भन्ने पवित्र सोच निर्माण कम्पनी तथा ठेकदार हरुको हुन सकेको छैन। सबै ठाउँमा काम फटाफट सिद्ध्याउँदै गएर सबै क्षेत्रमा विकासको द्वार खोलीसके पछि आफूलाई काम त मर्मत सम्भारको कामले पनि कहिल्यै खाली हुँदैन भन्ने सोच जुन सकारात्मक र सम्यक आजिविकाको हुन्छ त्यो गौरवमय सोच निर्माण कार्य गर्ने ठेकदार, काम गराउने सरकार, कर्मचारी सबै भ्रष्ट भएर पापपूर्ण काममा लागेकाले बन्न सकेको छैन। यो हामी बुद्ध जन्मेको देशमा बस्नेहरुको लागि दुर्भाग्यको कुरा हो।

 

पैसा सबै क्षेत्रको विकासका कामहरु सम्पन्न गर्दै गएर पनि मनग्य कमाउन सकिन्छ। तर एउटै कामबाट दशौं थरी जुक्ति लगाएर पैसा दुहुने काम सरकार, कर्मचारी र ठकेदारहरु सबैले गरिरहेका छन्। एउटै सडक वर्षौंसम्म हिलाम्य र धुलाम्य हुने गरी अलपत्र पारेर बजेट थपी थपी श्रोत साधनको दुरूपयोग गरेर देशको विकासलाई अवरूद्ध पारिरहेको छ। यो भन्दा ठूलो पाप अरु के हुन्छ? के यहाँ धर्म र पाप भन्ने छैन? मलाई त लाग्छ धर्माधिकारीहरूले पनि जनतालाई धर्म सिकाउन यस्तो कामबाट शुरू गर्नु पर्छ।

 

एउटा मन्त्रीले सडकको खाल्टाखुल्टी हामीले बनाएको होइन भने पछि गुम्बाका लामाहरुले सडकको खाल्टा खुल्टी पुर्ने काम गरेकोलाई जति सराहना गरे पनि पुग्दैन। पछि प्रशस्त पैसाको खोलो बगाउन बहाना मिले पछि बिमस्टेक सम्मेलनलाई भनेर पैसाको खोलो बगाएर खाल्टाखुल्टी पुर्ने लज्जास्पद काम गरे। यसमा अरूलाई त कुन्नीै लुम्बिनी र बुद्धलाई चाहिं हुनसम्म लाजचाहिं यो।  भवतु सब्ब मंगलं।