पञ्चशील नै बुद्धधर्मका आधारशीला

राजेन मानन्धर

हरेक धर्मको पहिलो काम मानिसहरुको आचरणमा शुद्धता ल्याउने हुन्छ । यदि कुनै धर्मले मानिसमा सकारात्मक परिवर्तन ल्याउँदैन भने त्यो धर्म नै होइन भन्दा हुन्छ । उन्नति मरेपछि वा स्वर्ग वा नर्कमा होइन, यही जीवनमा हुनुपर्यो । जुनसुकै धर्मले पनि यति गर्न वा गराउन सकेमात्र त्यो धर्म धर्म भयो । यहाँ बुद्धधर्मले मानिसमा दिने परिवर्तनका बारेमा केही कुरा गरौं ।

 

धर्म भनको दैनिक जीवनसँग मतलब नराख्ने पण्डित्याइँ, लोकाचार र विभेद सिकाउने नियम मात्र होइन । ठुल्ठुला ज्ञानी पण्डितहरुले गर्ने जस्तो अमूर्त कुरा त सबैले गर्न सक्छ तर के सबै मानिस साँच्चै सदाचारी बन्न सक्छ ? सदाचार त्यति सजिलो उपाय हो परिवर्तनको तर यो ग्रहण गर्न त्यति सजिलो भने छैन । बुद्धधर्मले आफ्ना समस्त अनुयायीहरुलाई साधारणभन्दा साधारण पाँचवटा नियम बनाएको छ, जसले उनीहरुलाई बौद्ध बनाउँछ । यसलाई पञ्चशील भनिन्छ ।

 

सामान्यतयाः एक जना मानिस म बुद्धको शरणमा जान्छु अथवा सबैले बुझ्ने भाषामा भन्दा म बुद्धको अनुयायी बन्दछु वा म बौद्ध बन्छु भनेर बाचा गरेपछि कुनै बौद्ध भिक्षु वा भिक्षुणी वा अन्य बुद्धधर्मको गुरुबाट पालि भाषामा यस्तो भन्न लगाइन्छ ।
१. पाणातिपाता वेरमणी–सिक्खापदं समादयामि । म प्राणी हिंसा नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।
२. अदिन्नादाना वेरमणी– सिक्खापदं समादयामि । म चोरी नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।
३. कामेसु मिच्छाचारा वेरमणी– सिक्खापदं समादयामि । म व्यभिचार नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।
४. मुसावादा वेरमणी– सिक्खापदं समादयामि । म झुठो नबोल्ने नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।
५. सुरा–मेरय–मज्ज–पमादठ्ठाना वेरमणी– सिक्खापदं समादयामि । म मद्यपान तथा अन्य मादक पदार्थ ग्रहण नगर्ने नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।

 

सुन्दा सामान्य र सबै धर्ममा यही त सिकाइन्छ नि भन्ने जस्तो आभास दिने यी सामान्य जनजीवनसँग सम्बन्धित नियमहरु नै यथार्थमा बुद्धधर्म को आधारशिला हो ।

 

यसले मानिसलाई प्राणी हिंसा, चोरी, व्यभिचार, झूठ र मादक पदार्थबाट टाढा रहन मद्दत पुर्याउँछ । यति भएपछि नै धर्मलाई अवलम्बन गरेको अथवा बुद्ध धर्म बुझेको भनेर त जनाउँदैन तर यी नियमहरुमा बसेमा त्यो व्यक्तिले बुद्धधर्मको बारेमा ज्ञान लिन सक्छ भनेर संकेत मात्र गराउँछ । अथवा यति कुरालाई स्वीकार गर्न सक्यो भने उसले आफुलाई बुद्धधर्म सिक्न तयार पारेको हुन्छ ।

 

बुद्धले बौद्ध समाजमा चारवटा परिषद् वा शाखाहरुको कल्पना गर्नुभएको थियो — भिक्षु, भिक्षुणी, उपासक र उपासिका । त्यस मध्ये पहिलो दुइ वर्ग समाजबाट नै अलग्ग बस्ने भएकोले उनीहरुले समाजका राम्रा र नराम्रा कामहरुले असर गर्दैन । तर दोश्रो दुइ वर्ग समाजमै बसेर अध्ययन गरेर, आय आर्जन गरेर पारिवारिक जीवन बिताउनु पर्ने भएकोले उनीहरु हरक्षण समाजका हरेक पक्षबाट प्रभावित भइरहन्छन् । मन परेका पक्षमा आसक्ति बढ्नु अनि मन नपेरका कुराहरुबाट द्वेष उत्पन्न हुनु अझ रिस उठ्नु पनि स्वभाविक हो । यसैकारण उनीहरुलाई आफ्नो दैनिक जीवनलाई यस्ता कुराहरुबाट प्रभावित हुन नदिन वा कम भन्दा कम मात्र प्रभावित हुन दिएर सदाचारको जीवन व्यतित गर्न यी नियमहरुले मद्दत गर्दछ । यी पाँचवटा नियमहरु भनेको यिनै सर्वसाधारण वा सामाजिक जीवन बिताउने तपाइँ हामी जस्ता बुद्धधर्मका अनुयायीहरुलाई हो । समान्य गृहस्थहरुका लागि पञ्चशीलको पालन कति गर्ने भन्ने उसको जीवन शैली, क्षमता र आफुलाई परिवर्तन गर्ने चाहनामा भर पर्ने कुरा हो ।

 

त्यसकारण त कसैले पञ्चशील लिएर पनि त्यो कुनै कारणले पालना गरिएन भने त्यसलाई उल्लंघन मात्र भनिन्छ, दण्डनीय अपराध मानिँदैन । यो त आफुलाई शालीन वा सदाचारयुक्त जीवनमा ढाल्ने एक अनवरत प्रयत्न वा अभ्यासको रुपमा लिइन्छ । अझ यो भनेको संसारिक जीवनमा बस्दा सदाचारमा रहनु कति कठिन छ, कस्ता कस्ता मार वा व्यवधान आउँछ भनेर आफुलाई सिकाउँदै सम्झाउँदै अगाडि बढ्ने प्रकृया पनि हो यो ।
बौद्ध लेखहरुमा शील, समाधी र प्रज्ञा जस्ता शब्दहरु प्रायः आउने गर्दछ । यी यस्ता मान्यता हुन् जुन मार्ग भएर मानिसहरुले अन्ततः संसारको यस दुःखबाट सदाको लागि मुक्त हुन सकिन्छ भनिन्छ । अर्थात् शील पालन गरेमा समाधीमा बस्न सकिन्छ, समाधीमा बसेमात्र प्रज्ञा लाभ हुन्छ । पञ्चशीलको पालन पनि मुख्यतः मानिसहरुलाई यस्तै सदभाव र सदाचार जस्ता मान्यतातर्फ अगाडि जान प्रेरणा दिन्छ र मार्ग सहज बनाउँछ । यस्ता शीलयुक्त जीवनले समाजमा शान्ति र अहिंसा स्थापना गर्न सहयोग पुर्याउँछ । यो त हरेक धर्मावलम्बीहरुले देखेको सपनाको समाज नै भयो ।

 

यसप्रकारको प्रयासले समाजलाई धेरैजना मानिसहरुको हीत र धेरैजना मानिसहरुको सुख दिलाउने बौद्ध समाजको निर्माण गराउँछ । जब मानिसहरु प्राणी हिंसा, व्यभिचार, असत्य र मादक पदार्थबाट टाढा रहन्छ, त्यो समाज शान्ति र कलह रहित हुन्छ । यो भन्दा बढी सामान्य मानिस के नै चाहना राख्दछ र ?

 

आज जताततै हिंसा, बलात्कार, चोरी, भ्रष्टाचारका कुरा सुन्न परिरहेको छ । कल्पना गरौं, सबै मानिसले यदि यी सामान्य पाँच वटा नियम पालना गरेको भए, अथवा समाजमा प्राणी हिंसा, व्यभिचार, झूठ र मादक पदार्थ सेवनको बाटो अवलम्बन नगरेको भए सबै नभएपनि अधिकांश अपराध, झैं झगडा, दुश्मनी अनि ईष्याको नामोनिशान रहने थिएन होला । त्यसैले त पञ्चशीलको माध्यम बाट घर, समाज मात्र होइन राष्ट्र र विश्वमै शान्ति र विकास फैलाउन सकिन्छ भनेर बौद्ध दर्शनले २५०० वर्ष अगाडि नै बाटो देखाएको थियो । अहिलेको यस कहाली लाग्दो सामाजिक अवस्थामा बुद्धका यी सामान्य नियमहरुलाई सम्झे मात्र पनि केही हदसम्म देशमा शान्ति छाउने विश्वास गर्न सकिन्छ ।
बुद्धले भन्नुभएको थियो प्राणीको हिंसा नगर । बौद्ध साहित्यमा कसै प्रति कुभावना जागृत गर्नु, क्षुद्र वचनले प्रहार गर्नु समेत पनि हिंसा हो । यदि हामीले यस्ता बानी वा व्यवहार रोक्न सक्यौं भने समाजमा मनमुटाव र झैंझगडा हुँदैनथ्यो होला । मानिसका चाहनाहरु असिमित हुन्छन्, जति सम्पत्ति भएपनि पुग्दैन, आफ्नो भन्दा अरुको देखेपछि लिनु मन लाग्छ । यदि यो आफुसँग भएको भन्दा बढी संकलन गर्ने इच्छा मानिसमा नभइदिएको भए आज जताततै देखिने चोरी, डकैती, घुसखोरी र भ्रष्टाचार हुँदैनथ्यो ।

 

त्यस्तै किसिमले बुद्धले व्यभिचारलाई पनि नगर्नुपर्ने कामको रुपमा देखाउनुभएको छ । पाँच नियमहरुको पालन गरेको भए समाजमा बलात्कार व अप्राकृतिक यौन सम्बन्ध र त्यसबाट निस्कने दुखदायी परिणामहरु हामीले हेर्नु पर्ने थिएन । अझ यहाँ त बलात्कार पनि हुने र त्यसमा पनि बलात्कारीलाई बचाउनलाई नै सरकारमा बस्नेहरुले नै झुठो बोलेर समाजमा झन् ठुलो पीडा र त्रास फैलाइरहेको अवस्था छ ।

 

मनिसले आफुले गलत तगर्दै छु भन्ने होश भयो भने गल्ती गर्दैन । यस्तो होश हराउने काम धेरै जसो समयमा रक्सी जस्तो मादक पदार्थबाट हुन्छ । यदि हामी यस्ता मादक पदार्थबाट टाढा हुन सक्यौं भने हामीबाट माथि भनिएका जस्ता गलत कार्य हुन पाउँदैन । धेरै जसो अपराधको पछाडि मादक पदार्थ लुकेको हुन्छ ।

 

बुद्धले भनेजस्तै यदि मानिसहरु अरु प्राणीलाई हिंसा नगर्ने, चोरी नगर्ने, झुठो नबोल्ने, बलात्कार नगर्ने र मादक पदार्थ सेवन नगर्ने भएको भए समाज कति सुन्दर र शान्त हुने थियो, सबै मानिसहरु आफ्नो जीवन प्रति अप्रमादी वा बेहोशीरहित भएर धेरै थोरै कमाउने सामान्य जीविका चलाएर सुखपूर्वक बाँच्ने थिए ।

 

हामी नेपालीहरु सँधै बुद्ध नेपालमा जन्मेको भनेर रट लगाइरहन्छौं, छिमेकी देशलाई आरोपहरु लगाइरहन्छौं त बुद्धले सिकाउनु भएका यी सामान्य नियमहरुलाई पालना गर्दैनौं । यसका बारेमा थोरै मात्र जानकारी लिएर, यी कुराहरु मनन गर्न सकेको खण्डमा, अरुलाई सद्भाव, ममता र प्रेम बाँड्न जानेको भए नेपाली समाजमा यस्ता हिंसा, चोरी, बलात्कार तथा झैंझगडाका कुराहरु सुन्न पर्दैनथ्यो । यति गर्नलाई त आफुलाई बौद्ध हुँ भनेर पनि भन्नु पर्ने थिएन । सोचमा मात्र परिवर्तन ल्याए पुग्ने थियो । शान्त र समुन्नत समाज धेरै टाढा छैन, पञ्चशील भए पुग्छ ।