बसुन्धरा ब्रतको महत्व

विमला शाक्य

नेपाली बौद्ध समुदायमा र त्यसमा पनि विशेष गरेर काठमाडौं ललितपुर तथा भक्तपुरमा नेवार बाैद्ध  समुदायमा बसुन्धरा देवीकाे ठुलो महिमा छ । उनीहरु यस देवीलाई पृथ्वी अथवा अन्नकी देवीकाे रुपमा पुज्छन् ।

वसुन्धरा देवीको ब्रत हरेक वर्षको भाद्र कृष्ण पक्ष तृतीयाका दिन बस्ने परम्परा रहेको छ । भाद्र महिनाको कृष्ण पक्ष तृतीयाको दिन शुभारम्भ गरी श्रावण महिनाको कृष्ण पक्ष तृतीयाको दिनसम्म १२ महिनासम्म बस्नुपर्ने ब्रत भनी बौद्ध ग्रन्थमा उल्लेख छ । नेवार बौद्धहरु भाद्र महिनाको कृष्ण पक्ष तृतीयाको दिन ब्रत बस्दै आएको छ । प्रत्येक महिनाको कृष्ण पक्ष तृतीयाका दिन वसुन्धरा देवीको ब्रत बस्नुपर्ने हो । तर महिनापिच्छे बस्न नसक्नेहरु शुरुको दिन भाद्र कृष्ण पक्ष तृतीयाको दिन बस्ने गरेको पाईन्छ । प्रत्येक महिनाको कृष्ण पक्षको तृतीयामा बस्ने भएकोले गातिला ब्रत भनिएको हो ।
बौद्ध समाजमा सम्यक दान, पंचदान एवं विहारमा पुजा गर्ने धार्मिक कार्यमा समेत बसुन्धरा देवीको महत्वपूर्ण स्थान रहेको पाईन्छ । उपत्यकामा प्रचलित सम्यक दान कार्यक्रममा दीपंकर तथागतहरु मध्ये सबभन्दा अगाडि उच्च स्थानमा बसुन्धरा देवीलाई सम्मानपूर्वक विराजमान गर्ने चलन रहेको छ ।
यसैगरी बौद्धहरुले तिहारमा लक्ष्मीपूजाको दिन पनि बसुन्धरा देवीको पूजा गर्ने चलन रहेको छ । षोदशीलक्ष्मी भनेर १६ प्रकारको लक्ष्मीको रुपमा समेत पूजा गर्ने गरीन्छ । योमरी पुन्हीको दिन धान्य लक्ष्मीको रुपमा कू पुजा गर्ने चलन नेवार समाजमा रहेको पाईन्छ ।
उपत्यकामा जम्मा १२ स्थानमा बसुन्धरा देवी सिद्ध हुनु भएको भनी १२ तिर्थस्थलहरु रहेका छन् । गोदावरी, बसुपुर, धनद्व, बसुन्धरा, क्वहिटी, ई देश बोडे, तिष्टुङ, तुकंबाहा, श्रीघः, अन्नपूर्ण देवी, जलकुम्भ देवी र नयाँ सडक विशालबजारमा वर्षभरि ब्रत बस्नेहरु प्रत्येक महिनाको कृष्ण पक्षको तृतीयाको दिन ब्रत बस्ने गरिन्छ । भने भाद्र कृष्ण तृतीयाको दिन टोल टोलमा ब्रत बस्ने पनि गरिन्छ ।
बसुन्धरा ब्रत बस्दा प्राप्त हुने फल धेरै छन् । नेवाः बौद्ध समाजमा बुद्ध जननी, प्रज्ञाका मूर्ति, पृथ्वीको प्रतिकका रुपमा बसुुन्धरा देवीको पूजा तथा ब्रत बस्दै आएको पाईन्छ । बसुन्धरा देवीको ब्रत बसेमा आप्mनो मनको ईच्छा पूरा हुने साथै विभिन्न फल प्राप्त हुने हुनाले परापूर्वकालदेखि ब्रत बस्दै आएको पाइन्छ । यस ब्रत संग विभिन्न प्रचलित कथाहरु पनि पाईन्छ ।
ललितपुरमा २०६७ सालदेखि बसुन्धरा देवी ब्रत पूजा केन्द्रिय व्यवस्थापन समिति स्थापना गरी प्रत्येक वर्ष विभिन्न टोलको आयोजनामा बसुन्धरा ब्रत बस्ने र नगर परिक्रमा गर्ने गर्दै आइरहेको समितिका अध्यक्ष हेमराज शाक्य बताउनुहुन्छ । उनका अनुसार यस समितिले २५ लाखको अक्षय कोष बनाई बसुन्धरा ब्रत तथा नगर परिक्रमा निरन्तर संचालन गर्ने लक्ष राखेको छ । यसरी बौद्ध समाजमा बसुन्धरा देवीको महत्व उच्च रहेको साथै यसको ब्रत बसेमा प्राप्त हुने फलका कारण ब्रतालुहरुको संख्या बर्षैपिच्छे बढ्दै गएको पाईन्छ ।