बौद्ध पर्व मतयाःको साँस्कृतिक महत्व

विमला शाक्य
ललितपुरमा मनाइने विभिन्न जात्रा पर्वमध्ये मतयाः दीपयात्रा बौद्धहरुले मान्ने एक महत्वपूर्ण जात्रा हो । मतयाः लाई न्येकू जात्रा, श्रृंगभेरी जात्रा आदि विभिन्न नामले संज्ञा दिएतापनि यो पर्व मुख्यतया ललितपुरमा मनाईने बौद्ध पर्व हो जुन हरेक वर्ष भाद्र कृृष्ण दुतियाको दिन सम्पन्न हुन्छ । यस पर्वलाई ललितपुरका विभिन्न १० वटा टोलले संचालन गर्दै आएका छन् । सौगल, नकबहिल, मंगलबजार, चक्रबहिल, ईखाछें, बुबहाल, हौगल, ओकुबहाल, इखालखु र क्वबहाल यी १० वटा टोलले प्रत्येक वर्षमा एकपटक पालो लिने गर्दछ । यस वर्ष ललितपुरको गाःबहालमा रहेको यशोधर महाविहारले मतयाः पर्व आयोजना गरेको छ ।

 
यस जात्रामा बिहान सबेरै देखि रातीसम्म ललितपुरमा अवस्थित विभिन्न चैत्य, स्तुप, बाहा बहीहरुमा परिक्रमा गरिन्छ । यस जात्राको विशेषता भनेकै हातमा मैन बत्ती लिएर चैत्यहरु परिक्रमा गर्नु हो । बालक देखि युवा वयस्कहरु यस जात्रामा भाग लिने गर्दछन् । एक वर्ष भित्र परिवारमा कसैको मृत्यु भएमा उक्त परिवारका सदस्यहरु यसरी मतयाः पर्वमा भाग लिने गर्छन् । यसरी चैत्य परिक्रमा गरेर बत्ती, धूप बाल्ने गरेमा मृतकको आत्माले सुखावती भुवनमा वास लिन्छ भन्ने जनविश्वास रहेको छ ।

 
मतयाः पर्व ललितपुरका राजा बालार्चनदेवले आप्ना दाजु बृषदेवको नाममा ज्येष्ठवर्ण महाविहार स्थापना गरी उनकै पालादेखि शुरु भएको भनी पं. हेमराज शाक्यले सम्पादन गर्नु भएको नेपाल बौद्ध विहार व ग्रन्थ सूची मा उल्लेख गरेको पाइन्छ ।
बिहान झिसमिसे उज्यालो संगै मतयाः पर्व शुरु हुने गर्दछ । जसमा सबभन्दा पहिलो गुरुजुले पूजा शुरु गरिन्छ त्यसपछि यसमा सहभागीहरु लस्करै आप्mनो गच्छे अनुसार अक्षता, धूप बत्ती, कपूर, दक्षिणा, विभिन्न खाद्य बस्तुका साथै मृतकका नाममा छापिएका धारणी स्तोत्र चढाउने गर्दछ । ललितपुर भरिमा यस्ता चैत्यहरु जहाँ जहाँ स्थापना भएका छन् त्यहाँ त्यहाँ परिक्रमा गर्ने चलन रहेको छ ।

 

 

मतयाः पर्वमा सहभागी हुनेहरु शाकाहारी भोजन गर्दछन् भने कोही कोही निराहार परिक्रमा गर्ने गर्दछन् । मतयाःको बीचभागमा महादेवको रुप धारण गरी निराहार परिक्रमा गर्ने परम्परा पनि रहेको छ । जुन व्यक्ति हरेक मतयाःको बेला उपस्थित हुने गर्दछ । आफुले पालो लिएपछि अर्को व्यक्तिले पालो नलिएसम्म यसरी महादेवको भेषमा सहभागी हुनुपर्दछ । मतयाः पर्वमा सहभागी हुनेहरुमा ख्याः, कवं तथा विभिन्न दैत्यहरुको रुपमा प्रस्तुत हुने गर्दछन् । यसरी भगवान बुद्धलाई ध्यान गरिरहेको अवस्थामा विभिन्न मारहरु आएको प्रतिकका रुपमा यिनीहरु यस मतयाः पर्वमा सहभागी भएको मानिन्छ ।

 
मतयाः पर्वमा ललितपुरमा अवस्थित १५ वटा मुख्य महाविहारका साथै ती महाविहारका शाखा विहार जसलाई बही भनिन्छ ती बहिहरु लगायत बाटोमा अवस्थित चैत्यहरु, आवासगृहमा स्थापना गरिएका चैत्यहरु , बुद्ध, वोधिसत्वको मूर्तिहरु परिक्रमा गर्ने गर्नु पर्दछ । यसरी परिक्रमा गर्ने क्रममा विभिन्न टोलका बाजाहरुको टोली समेत सहभागी हुने गर्दछन् । यस न्येकू जात्रामा मूल बाजाहरु धाः, दमोखिं र नाय्खिं बाजाहरु हुन् भने अरु नौमती बाजाहरु धिमे, नगरा, मादल, मृदंग, झाँक्री बाजा, जोर नगरा, दह, व्या बाजा , काशिबाजा, दक्षिंबाजा, डवडव आदि १६ वटा बाजाहरु बजाएर देखाउनु पर्ने हुन्छ । यी बाजाहरु मध्ये कुनै बजाएर बाजा सहित तालमा नाच्नु पर्ने समेत हुन्छ ।

 
मतयाः पर्वमा विशेष प्रकारले बजाइने बाजाहरु मध्ये दमोखिं बाजा पनि एक हो जसमा बीचमा भैरव र दायाँ बायाँ काली र महालक्ष्मीको मुखौट भएको बाजालाई विभिन्न गरगहनाले सजाइएको हुन्छ । यी तीनवटा बाजालाई अरु दुइटा भुस्याःले साथ दिएका हुन्छन् भने विभिन्न तालमा बौद्ध गीत गाएर साथ दिइन्छ । मतयाः जात्रा हुँदा १ महिना सम्म मात्र दमोखिं बजाईने गर्दछ । मतयाः पर्वको दिन विभिन्न चोक चोकमा बसेर बाजा बजाउने गर्दछ भने बाजा बजाउँदै नगर परिक्रमा पनि गर्ने गरिन्छ ।

 
बिहान ५ बजे देखि शुरु हुने न्येकू जात्रा मतयाःको बेला , दिउँसो १२ बजे नौ बाजा सहित न्येकु जात्रा शुरु हुने राती १२ बजेसम्म संचालन हुने गर्दछ । बाजा बजाउँदै नगर परिक्रमा गर्ने बेला मूल बाटोमा जहाँ जुन जुन देवता रहने हो त्यहाँ त्यही देवताको नाममा विभिन्न राग र विभिन्न तालमा शास्त्रीय गायन र वाद्य वादन प्रदर्शन गर्नुपर्ने नियम रहेको छ । जस्तै गणेश भएको ठाउँमा गणपति ग्वारा, भगवान बुद्ध भएको ठाउँमा भगवान ग्वारा बजाउने तथा नारायण भएको ठाउँमा बैकुण्ठ ग्वारा बजाउने गरिन्छ यस हिसाबले यो पर्व बौद्ध मात्र होइन हिन्दूहरु पनि समावेश हुने पर्वको रुपमा लिइन्छ ।

 
यसैगरि अर्को महत्वपूर्ण बाजा भनेको न्येकू बाजा हो जुन रांगोको सिंङ्गले बनाइएको हुन्छ भने यसलाई आकर्षक रुपमा सजाइएको हुन्छ । यस बाजाको मतयाः पर्वसंग घनिष्ट सम्बन्ध रहेको छ । श्रृंगभेरी ब्रतकथा संग सम्बन्ध रहेको यस जात्रा पछि गुँला पर्वको बेला बुंगमति, स्वयम्भू, हनुमान ढोकामा समेत न्येकू बाजा बजाउने परम्परा रहेको छ । पहिला पहिला नारायण हिटी दरबारमा समेत न्येकू जात्राको वाद्य वादन प्रदर्शन गर्नुपर्ने परम्परा रहेको थियो भने अहिले यो चलन बन्द भएको छ । न्येकू बाजा जन आस्था तथा वाद्य यन्त्रका संगीत तरंग र संकेत त्रिरत्नको शरणमा जाने तथा दिवंगत भएका हरुलाई शुभ सन्देश सुनाउने माध्यम प्रति आजसम्म पनि जनविश्वास रहेको पाईन्छ ।

 
पाटनमा रहेका झण्डै २ हजार भन्दा बढी चैत्यहरु परिक्रमा गर्ने गरिन्छ । यसरी परिक्रमा गर्ने क्रममा स्वयंसेवकहरुले सहभागीहरुलाई जूस, खानेकुरा कसैले औषधी उपचारको समेत व्यवस्था गरेका हुन्छन् । मतयाः पर्वमा सहभागी भएकाहरु बुधबारका दिन बडेगाउँमा रहेको चैत्यहरु परिक्रमा गर्न जान्छन् भने जुगःचह्रेको दिन स्वयम्भू महाचैत्य परिक्रमा गर्न जाने परम्परा रहेको छ । त्यसपछि मात्र मतयाः पर्व समाप्त हुन्छ ।

 
यसरी विभिन्न सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्वले भरिपूर्ण मतयाः जात्राको पाटनमा विशेष महत्व रहेको छ जसले पाटनलाई सांस्कृतिक र धार्मिक नगरीको रुपमा परिचय दिन सफल भएको छ ।

फोटो मंगल्स क्लिक