बुद्ध जन्मेको लुम्बिनी वन

हिमेश

लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा बृहत विकास गर्ने नीति सरकारको छ । अहिले लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन अध्ययन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ । लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा अन्तर्राष्ट्रिय रूपमै प्रचार गर्नुपर्ने सोच फेरि चर्चामा आएको छ । लुम्बिनीबारे रहेका अन्तर्राष्ट्रिय भ्रम चिर्न यो आवश्यक देखिन्छ ।

पछिल्लो समय लुम्बिनीमात्र नभएर अन्य ऐतिहासिक क्षेत्रको पनि उत्तिकै प्रचार हुनुपर्ने आवश्यकता अनुभव गरिएको छ । लुम्बिनी त सिद्धार्थ गौतमको जन्मथल भयो । कपिलवस्तु उनको राज्य हो भने देवदह मामाघर । यस्तै रामग्राममा गौतम बुद्धको महानिर्वाणपछि अस्तु धातु राखेर बनाइएका स्तुप रहेका छन् । ती सबैको बौद्ध धर्मसँग ऐतिहासिक र सांस्कृतिक महत्त्व जोडिएको छ ।

लुम्बिनी बुद्धको जन्मस्थल हो र बुद्ध स्वयम्ले पनि कपिलवस्तु भ्रमणका बेला लुम्बिनी पटक—पटक पुगेको पाइन्छ । बुद्धले महापरिनिर्वाण अघि नै बौद्ध धर्मका लागि चार महत्त्वपूर्ण स्थान रहने बताएका थिए । त्यसमा जन्मस्थानका रूपमा लुम्बिनीको आफ्नै महत्त्व छ । अरू तीन स्थान बुद्धगया, सारनाथ र कुशीनगर हुन् । बुद्धको महापरिनिर्वाणपछि सम्भवत: त्यतिबेलाका महत्त्वपूर्ण व्यक्तिहरू लुम्बिनी पुगेको हुनुपर्छ ।

बौद्ध धर्मको इतिहासमै सर्वाधिक ठूलो महत्त्वको रूपमा मगध सम्राट अशोकको लुम्बिनी भ्रमण रहेको छ । पाली साहित्यमा धेरै स्थानमा अशोकको लुम्बिनी भ्रमणबारे चर्चा पाइन्छ । कलिङ युद्धको विभीषिकाबाट त्रसित अशोक अन्तत: बौद्ध धर्मप्रति आकर्षित भएका थिए । आफ्नो शासनको २० वर्ष पुगेको अवसरमा अशोक लुम्बिनी आएका थिए ।

त्यसैक्रममा उनले लुम्बिनीमा स्तम्भ स्थापित गरे र त्यसमा उत्कीर्ण लेख रहेको छ । अशोक स्तम्भका रूपमा चर्चित त्यसमा लेखिएको छ, ‘देवताका प्रिय प्रियदर्शी राजा अशोक आफ्नो राज्याभिषेकको बीस वर्षपछि शाक्यमुनि बुद्ध जन्मेको ठाउँमा आएर पूजा गरी त्यसको उपलक्ष्यमा शिलास्तम्भ खडा गर्नलगाई लुम्बिनी गाउँलाई करमुक्त गरिदिए ।’ चीनका दुई प्रसिद्ध यात्री ह्वेनसाङ र फाहियानले पनि लुम्बिनीको भ्रमण गरेर त्यसबारे आफ्नो यात्रा विवरणमा उल्लेख गरेका छन् ।

कपिलवस्तु राज्य र तिलौराकोट
कपिलवस्तु शाक्य जनपदको राजधानी थियो । गौतम बुद्धको जन्म यही कपिलवस्तुका शाक्य राजवंशमा भएको थियो । यहाँ नै उनले सुरुआती २९ वर्ष बिताएका थिए । पञ्चवर्गीय भिक्षुहरू पनि कपिलवस्तुकै थिए । गौतम बुद्धले सारनाथमा प्रथम उपदेश दिएका थिए । सारनाथको रूखमुनि बसेर बुद्धले पाँच गृहत्यागीलाई उपदेश दिएका थिए । पछि उनीहरू भिक्षु बने र पञ्चवर्गीय भिक्षुका नामले प्रख्यात भए ।

ती भिक्षु हुन्, कौडण्य, वप्प, भद्दिय, महानाम र अस्सजित । पञ्चवर्गीय भिक्षुमध्ये सबैभन्दा जेठा कौडण्य थिए । त्यसैले उनलाई पहिलोपल्ट भिक्षु बनाइएको थियो । यसरी बुद्ध धर्ममा पहिलो भिक्षु बन्ने कौडण्य कपिलवस्तुकै थिए । कपिलवस्तु स्वतन्त्र राज्यका रूपमा रहेको थियो । आधुनिक नेपालको लुम्बिनी कपिलवस्तु जिल्लामा पर्ने प्राचीन कपिलवस्तुको तिरौलाकोट इसापूर्व छैटौं शताब्दीतिर शाक्यहरूको राजधानीका रूपमा निकै प्रख्यात र विकसित थियो ।

पछिल्लो एक शताब्दीसम्म यो अज्ञात स्थितिमा थियो । बौद्ध साहित्यमा वर्णन गरिएअनुसार कपिलवस्तुको खोजी सुरु भएको हो । बौद्ध ग्रन्थहरूमा कपिलवस्तु सम्बन्धी धेरै विवरण पाइन्छ । इसापूर्व २४५ तिर सम्राट अशोक कपिलवस्तु आएको र उनले निग्लिहवाको स्तुप दुई गुणा ठूलो बनाएका थिए । यस्तै उनले त्यहाँ अभिलेख राखेको ऐतिहासिक रूपमा प्रमाणित भइसकेको छ ।

निग्लिहवा कपिलवस्तुबाट लगभग ६ किलोमिटरको दूरीमा छ । अशोकपछि कपिलवस्तु पुगेका फाहियानले त्यहाँ केही भिक्षु देखेका थिए । ह्वेनसाङले पनि आफ्नो यात्रा विवरणमा कपिलवस्तुबारे बयान गरेका छन् । उनले त्यसमा लुम्बिनी र कपिलवस्तुबीच ३० माइल रहेको अनुमान गरेका थिए ।

ह्वेनसाङले यात्रा विवरणमा नगरको चारैतर्फ सुरक्षा पर्खाल रहेको, पर्खालबाट भित्र प्रवेशका लागि चार ढोका रहेको र ढोकाबाहिर स्तुप रहेको उल्लेख गरेका छन् । यस्तै उनले नगरको दक्षिणतर्फ क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटीहवा, उत्तरतर्फ कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा र उत्तर—पश्चिममा स्तुपहरू रहेको सगरहवा उल्लेख गरेका छन् ।

अनि दक्षिण—पूर्वमा बुद्धको अस्ति धातु राखिएको स्थान पिपरहवा भएको उल्लेख गरेका छन् । उन्नाइसौं शताब्दीतिर बौद्ध ग्रन्थ र चिनियाँ यात्रीको वर्णनअनुसार प्राचीन कपिलवस्तुको खोजी सुरु भएको हो । सन् १८९६ मा फुहररले निग्लिहवाको अशोक स्तम्भको लिपि पढेर उतारेपछि कपिलवस्तु यतै भएको अनुमान गरिएको थियो ।

निग्लिहवाको अशोक स्तम्भमा पाली भाषा र ब्राह्मी लिपिबाट अभिलेख कुँदिएको छ र त्यसमा भनिएको छ, ‘देवताका प्यारा राजा अशोक आफ्नो राज्याभिषेकको चौधौं वर्षमा यहाँ आएर कनकमुनि बुद्धको स्तुपलाई दोब्बर बनाए र एउटा शिलालेख राख्न लगाए । फुहररले पनि कपिलवस्तुको खोज र उत्खनन भारतका अर्का विद्वान पीसी मुखर्जीले गरेको उल्लेख गरेका छन् । उनले नै तिलौराकोट नै प्राचीन कपिलवस्तु रहेको बताएका थिए ।

पछिल्लो समय डरहम विश्वविद्यालयका रोबिन कनिङघमको नेतृत्वमा लुम्बिनी र कपिलवस्तु क्षेत्रको पुरातात्त्विक अनुसन्धान चलिरहेको छ र उनीहरूले नयाँ—नयाँ तथ्य बाहिर ल्याइरहेका छन् । यसले बुद्धको जन्मस्थल र उनको जीवनबारे नेपालसँग जोडिएको तथ्य अझ आधिकारिक भएका छन् । कनिङघमको खोजलाई पछिल्लो समयको सबैभन्दा धेरै महत्त्वको पुरातात्त्विक अनुसन्धानका रूपमा व्याख्या गरिन्छ ।

बुद्धको कपिलवस्तु यात्रा
दोस्रो वर्षावासमा वैशाख पूर्णिमाकै दिन बुद्ध कपिलवस्तु पुगेका थिए । राजगृहबाट आफ्नो भिक्षु संघसहित बुद्ध कपिलवस्तु निस्केका थिए र दुई महिनाको यात्रापछि उनी आफ्नो मातृभूमि पुगे । बुद्धलाई कपिलवस्तु भ्रमणको निमन्त्रणा दिन उनका बाल्यकालका साथी कालुदायी राजा शुद्धोदनको सन्देश लिएर पुगेका थिए । कपिलवस्तुमा बुद्ध निग्रोधाराम आश्रममा बसेका थिए र शुद्धोदन उनलाई भेट्न त्यहाँ पुगेका थिए ।

यशोधरा भने बुद्धलाई भेट्न आइनन् । बुद्ध स्वयम् यशोधरालाई भेट्न पुगे । बुद्ध कपिलवस्तु पुगेको सातौं दिन यशोधराले छोरा राहुललाई अंशबन्डा माग्न पठाइन् । वर्षायामपछि बुद्ध फेरि कपिलवस्तु पुगे । त्यतिबेला बुद्धलाई आमा प्रजापतिले चिवर चढाएकी थिइन् । यो चिवर उनले आफ्नै हातले बुनेकी थिइन् । राजा शुद्धोदन सिकिस्त बिरामी पर्दा बुद्ध कपिलवस्तु पुगे । त्यसको केही दिनपछि शुद्धोदनको मृत्यु भयो ।

त्यसको केही समयपछि बुद्ध फेरि कपिलवस्तु पुगे र त्यतिबेला महानाम राजा थिए । त्यही बेला शाक्य र कोलियबीच रोहिणी नदीको पानीलाई लिएर तनाव भएको थियो । बुद्धले आफ्नो १५ औं वर्षावास पनि कपिलवस्तुमै बिताएका थिए । बुद्धले आफ्नो मृत्युको दुई वर्षअघि ठूलो दुर्भाग्यको सामना गर्नुपरेको थियो । कोशलका राजा प्रसेनजितका शाक्य रानीबाट एक छोरा थिए, जसको नाम विडुडभ थियो ।

आफ्नो कुलका लागि उनले शाक्यबाट अपमान सहनुपरेको थियो । त्यसैले उनले शाक्यमाथि बदला लिने प्रतिज्ञा गरेका थिए । त्यसैक्रममा उनी कपिलवस्तुतर्फ पुगेको थाहा पाएर बुद्धले उनलाई सुरुमा एकपल्ट रोके । पछि उनले फेरि आक्रमण गरे । आफ्नो बुबाको मृत्युपछि उनले पुरा शाक्य परिवारको नरसंहार गरेका हुन् । त्यसैक्रममा राजा महानामले आत्महत्या गरे । यसरी बुद्ध कुल वंशको नाश भएको थियो ।

‘मायादेवी सुत्केरी मार्ग’
राजा शुद्धोदनका दुई महारानी थिए । त्यसमध्ये जेठी महारानी मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिइन् । उनलाई हुर्काउने काम भने कान्छी महारानी प्रजापतिले गरेकी थिइन् । त्यतिबेला बच्चा जन्माउन माइती जाने चलन थियो । त्यसैले गर्भिणी मायादेवी आफ्नो माइत देवदह गएकी थिइन् । देवदह कोलिय राज्यको राजधानी थियो । त्यसैक्रममा लुम्बिनी वनमा आराम लिइन् र त्यहाँकै बगैंचामा छोरालाई जन्म दिइन् ।

यो ईसापूर्व ५६३ वैशाख पूर्णिमाको घटना हो । छोराको जन्मपछि उनी कपिलवस्तुस्थित तिलौराकोट राजदरबार फर्केकी थिइन् । अहिले केही निजी पर्टयन व्यवसायी यसैलाई लुम्बिनी भ्रमणमा आउनेका लागि नयाँ गन्तव्य बनाउने प्रयासमा छन् । त्यसलाई ‘मायादेवी सुत्केरी मार्ग’का रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ । यसले लुम्बिनी र कपिलवस्तु बीचको सम्बन्धलाई प्रबद्र्धन गर्न मद्दत मिल्नेछ ।

लामो सोध र अनुसन्धानपछि यो गन्तव्य पहिचान गर्ने काम पुरातत्त्वविद वसन्त बिडारीले गरेका हुन् । सिद्धार्थको जन्मपछि मायादेवीले राजदरबारसम्म तय गरेको बाटो नै ‘मायादेवी सुत्केरी मार्ग’का रूपमा प्रबद्र्धन गर्न खोजिएको हो । मायादेवी भर्खर जन्मेका सिद्धार्थ गौतमलाई लिएर लुम्बिनीबाट पडेरिया, शिशानिया, दोहनी, अरौराकोट, निग्लिहवा, तिलौरा गाउँ हुँदै तिलौराकोट दरबार पुगेकी थिइन् ।

साभार कान्तिपुर दैनिक जेष्ठ ८, २०७३