परियत्ति शिक्षा : एकजना विद्यार्थीको अनुभव

विमला शाक्य
बौद्ध परियत्ति शिक्षा अध्ययन गर्नु भनेको बुद्धले दिनु भएको उपदेश पढ्न पाउने एउटा सुवर्ण अवसर हो । जुन मैले पनि यो अवसर प्राप्त गर्न सकें । २०४० सालतिर म स्कूलमा कक्षा ७ मा पढ्दै गर्दा मेरो छिमेकी बहिनी शर्मिला शाक्य र उनका दिदी गीता शाक्य शाक्यसिंह विहारमा परियत्ति पढ्न जान्थे । उसैले मलाई पनि परियत्ति पढ्न आउनु भनेकोले म पनि परियत्ति पढ्न गएँ । यसरी म ५० वर्ष पुरानो परियत्ति शिक्षासँग सम्बन्धित भएँ ।

 

यसभन्दा पहिला म विहारमा कहिले पनि नगएको परियत्ति पढ्नका लागि विहार गएँ । हुनत बाल्यकालमा मेरो आफन्त पर्ने एकजना भिक्षुको देहावसान भएको बेला म सुमंगल विहार गएकी थिएँ ।

 

शाक्यसिंह विहारमा वि.सं २०२० सालदेखि नै परियत्ति पढ्ने विद्यार्थीहरु थिए तर कक्षा कोठामै बसी पढ्ने व्यवस्था पछि मात्र शुरु भएको रहेछ । म स्कूलमा ७ कक्षा पढ्दै गरेको र परियत्तिमा कक्षा १ मा भर्ना भए । मेरो परियत्ति कक्षा १ देखि शुरु भयो । यो मलाई स्कूलको पढाई भन्दा सजिलै लाग्यो । माघ महिनातिर कक्षा १ को जाँच हुँदो जाडाले कलम समात्नै गाह्रो भएको अहिले पनि सम्झना छ ।

 

कक्षा २को जाँचमा म बोर्ड सहित पास हुँदा विद्यार्थीहरुलाई चाँदीको फ्रेम सहित थुप्रै किताब कापीहरु उपहार दिइयो, यसले गर्दा म परियत्ति शिक्षामा अझ आकर्षित हुँदै गएँ । जाँचको समयमा बिहान ४ बजेदेखि उठेर पढ्थें स्कूलको जाडो बिदामा जाँच पर्ने भएकाले दिनभरि परित्राण, धम्मपद गाथाहरु एक एक शब्द गल्ती नहुने गरी लेखेर कण्ठ पार्थें । यसैको नतिजाले होला जाँचमा बोर्ड आउँथे ।

 

कक्षा ६ कक्षासम्म म निरन्तर बोर्ड स्थान सहित उत्तीर्ण भएँ । हामीलाई सिकाउने गुरुमांहरु ञाणवती, सत्यशीला, स्व.ञाणशीला तथा तिक्खिन्द्र भन्ते(राकेश अवाले)लाई आज पनि सम्झन्छु ।

 

कक्षा ६ सम्म पढाई सकेपछि सद्धम्मपालक कक्षा ७ देखि आपैm पढ्नु पर्ने कि त यशोधरा विद्यालयमा गएर पढ्न जानुपर्छ भनेकाले मैले रुचि राखेन अनि शाक्यसिंह विहारमै पढाउने जिम्मा दिईयो । यसरी पढाउँदै १० वर्ष पढाएको पत्तै भएन ।

 

यस बिचमा ५ वर्ष सिद्धीमंगल बुद्ध विहारमा पढाउन गएँ । पाँच वर्ष पछि त्यहाँ पढेका विद्यार्थीहरुलाई नै परियत्ति सिकाउने जिम्मा लगाउँदै हामी बिदा भयौं ।

 

प्रवेश तृतीय वर्षसम्म मात्र पढेर छुटेको मेरो परियत्ति यात्रा फेरि २०५९ सालदेखि निरन्तरता पायो । बुद्ध धर्ममा एम.ए. पढ्दै गर्दा फेरि यसलाई निरन्तरता दिएर २०७२ सालमा मैले कोविद अन्तिम वर्ष यानि १० कक्षा उत्तीर्ण गरें ।

 

कोविद पास गरेर ठूलो उपलब्धि भनेको हालै धम्माचरिय धम्मवती गुरुमांको ८५ औं जन्मोत्सवको उपलक्ष्यमा हालसम्म कोविद उत्तिर्ण भएका १४७ जना विद्यार्थीहरुलाई उहाँले सम्मान गर्नुभयो । यसबेला कोविद उपाधिको महत्व अझ बढी भएको महसुस गरें । ५५ वर्षको परियत्ति शिक्षाको इतिहासमा पहिलो पल्ट यस्तो कार्यक्रम भयो, जुन निकै सराहनीय छ ।

 

परियत्ति शिक्षा भनेको १० वर्ष पढेर वा एमए जस्तो दुई वर्ष पढेर सकिने होइन, किनकि यो बुद्धको उपदेश महासागर जस्तै छ । समुन्द्रमा जति डुबुल्की मार्यो झन् उति पढ्ने चाहना बढ्ने रहेछ । त्यसको लागि परियत्ति शिक्षा एकदम महत्वपूर्ण मानिन्छ ।

 

नेपालमा वि.सं २०१९बाट परियत्ति शुरु भएता पनि औपचारिक रुपमा २०२० सालदेखि त्रिशूलीमा श्रद्धेय बुद्धघोष महास्थविरको अथक प्रयास अनि अनागारिका सुशीला र धर्मरत्न शाक्य त्रिशूलीको मेहनतबाट संघमहानायक प्रज्ञानन्द महास्थविरको ६५औं शुभजन्मोत्सवको उपलक्ष्यमा शुरु भएको हो ।

 

हाल नेपाल भरी २२ वटा जिल्लामा १२२ वटा परियत्ति केन्द्रहरु संचालित छन् भने स्कूलहरु, संघ संस्था लगायत टोल टोलमा मिसा पुचःको आयोजनामा समेत परियत्ति केन्द्रहरु संचालन भईरहेका छन् जसले गर्दा बुद्ध शिक्षाको प्रचार प्रसार बढ्दै गएको देखिन्छ । यसरी केन्द्रहरु वृद्धि हुँदै जानुमा केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञान महास्थविरको ठूलो योगदान रहेको छ ।

आधुनिक युगमा कम्प्यूटर सिष्टमबाट परियत्ति शिक्षाको हरेक काम भईरहेका छन्् । परियत्तिका डाटाहरु अपटेड भएका छन् भने वेवसाईट मार्पmत परियत्ति सम्बन्धी हरेक कुराहरु थाहा पाउन सक्ने भएको छ ।

 

परियत्ति शिक्षा भनेकै बुद्धले ४५ वर्षसम्म गाउँ गाउँ नगर नगरमा गएर दिनु भएको उपदेशको सार हो । बुद्धको उपदेशको सारांश नै परियत्ति प्रारम्भिक प्रथम वर्षदेखि कोविद अन्तिम वर्षसम्म पढ्ने हो । बुद्ध शासनमा परियत्ति, पटिपटि र पटिवेध भनेर तीन तह छुट्याईएको छ । जसमा परियत्ति अध्ययन गर्ने, पटिपटि भन्नाले आप्mनो जीवनमा लागु गर्ने र त्यसको फल पाउनु भनेकै पटिवेध हो जसलाई निर्वाण पनि भन्न सकिन्छ ।

 

यसरी बुद्ध शिक्षा अध्ययन गर्नु भनेको आप्mनो जीवन सफल पार्नु हो । जीवनलाई दुःखबाट मुक्त गर्ने उपाय समेत परियत्ति शिक्षाले सिकाउँछ । यसलाई अध्ययन मात्र गर्ने होइन यसलाई जीवनमा उतार्न सक्नुपर्छ । परियत्ति शिक्षाले कुनै पनि मानिसलाई आप्mनो जीवन देखि निराश हुन दिंदैन, आत्मसन्तुष्टि बढ्छ जस्तै दुःखमा पनि आप्mनो मनलाई थाम्न सक्ने शक्ति दिन्छ मन कहिले पनि विचलित हुन्न —यही नै यस शिक्षाको महत्व थान्छु । जसले भोग्छ उसले मात्र थाहा पाउँछ भने जस्तै यो शिक्षालाई सही रुपमा जीवनमा प्रयोग गर्नसक्नुपर्छ । अब यसलाई संख्यात्मक रुपमा भन्दा गुणात्मक रुपमा अभिवृद्धि गर्दै लानुपर्ने आजको आवश्यकता हो ।