दुर्लभ मानव जीवन

–  मेघना श्रेष्ठ

 

मानिस एक विवेकशील र समाजमा बस्ने सामाजिक प्राणी हो। चिन्तन मनन गर्न सक्ने ज्ञान भएकोले नै उसलाई मनुष्य भनेर पनि सम्बोधन गरिन्छ। विवेक र चेतना भएकाले यस पृथ्वीमा मनुष्यले सर्वश्रेष्ठ प्राणीको उपाधि हात पारेको छ। अत: मनुष्य भएर जन्म लिनु महान उपलब्धि हो।

अब प्रश्न उठ्छ, मनुष्य भएर जन्म लिनु कसरी महान उपलब्धि हो? के यो येसैले हो कि यो निम्न योनिबाट मुक्त छ?के यो येसैले हो कि मनुष्यले प्राप्त गर्ने सुखानन्द बास्तबमा महान हो? होइन यी कुनै पनि कारणले होइन। यदि इन्द्रिय सुखलाई नै महान भन्ने हो भने देबलोकको सुखको दाँजोमा मानव सुख केहि पनि होइन। तर यहाँ सुखानन्दको आधारमा महान उपलब्धि भनिएको नभई कुशल र पुण्यकर्म गर्ने अवसर प्राप्त हुनुलाई नै महान उपलब्धि भनिएको हो। भगवान बुद्ध भन्नूहुन्छ :

       किच्छो मनुस्सपटिलाभो

                       किच्छो मच्चान`जीवितं।।           धम्मपद १४:४

अर्थात : मनुष्य योनिमा जन्मलिनु दुर्लभ छ,  जन्मेर पनि जीवित रहनु कठिन छ।

हामी मनुष्य भएर जन्म लियौं र जीवित पनि छौं। यो अत्यन्तै दुर्लभ कुरा हो। तर साच्चिकै के मानिसहरूले यस दुर्लभ जीवनको महत्त्वलाई बुझेका छन् ? सायद यस संसारमा ज्यादै थोरै संख्यामा मानिसहरु छन् जसले मनुष्य जीवनको महत्त्वलाई बुझेका छन् ।

भगवान बुद्ध भन्नूहुन्छ, मनुष्य जीवन कल्पबृक्ष समान छ। मनुष्य जीवनमा कुशल पुण्यको बिउ रोपेका कारणले त्यस ब्यक्ति पछि देवलोक, ब्रम्हलोकसम्म पनि पुगी त्यहाँको सुख ऐश्वर्य भोग गर्न सक्छन् भने श्रावकबुद्ध , प्रत्येकबुद्ध र सम्यकसम्बुद्धले पनि मनुष्य भएकै बेलामा आ-आफूले त्यस त्यस बोधि बिउलाई रोपी राम्ररी सुरक्षित गरेकाले नै महान पुद्गल भावमा पुग्न सकेका हुन् । ब्रह्म, देव, मनुष्य, लौकिक, लोकोत्तर सुख आदि जे जति सुख छन् , ती सबै मनुष्य भुमिरुपी कल्पबृक्षबाट उम्रेका फल, पात, हाँगा समान हुन् ।

हामी मानिसहरू भन्ने गर्छौं कि कुनै मानिस मरेर देवलोक वा ब्रम्हलोक पुग्यो भने त्यस ब्यक्तिको सद्गति भयो तर भगवान बुद्ध भन्नुहुन्छ कुनै देव वा ब्रम्हा मरेर मनुष्य भएर जन्म लियो भने उसको सद्गति भयो। किनभने मनुष्यमा मात्र यस्तो बिउ निहित छ, जसको कारण उसले चाहना गर्यो भने बुद्धत्व समेत पनि लाभ गर्न सक्छ। तर देवताहरू त्यसो गर्न सक्दैनन् किनभने उनीहरु तृष्णाको क्षेत्रबाट बाहिर छैनन्। उनीहरुलाई त्यहाँ कुशल कर्म गर्ने अवसर पनि हुँदैन किनभने त्यहाँ उनीहरु आफ्नो कुशल कर्मको फलमात्र भोग गर्छन् र फल भोग गर्न सकिएपछि उनीहरु दुर्गतिमा पतन पनि हुन सक्छ ।

तसर्थ मानव जीवन अत्यन्त अमुल्य छ। यसको हामीले सदुपयोग गर्नुपर्छ। यदि यसो नभई  हामीले यसको दुरुपयोग गर्यौं, अकुशल कर्म गर्यौं वा बेहोशी भयौं भने हाम्रो दुर्गति पनि निश्चित छ। मज्झिम निकाय ग्रन्थको `बाल-पण्डित -सुत्त´ देशनामा भगवान बुद्धले जुवा(बैल गाडाको गोलो चक्का) को उपमाद्वारा मनुष्य जीवन दुर्लभ भन्ने कुरा यसरी उल्लेख गर्नु भएको छ। त्यस सुत्रमा भगवान बुद्धले आज्ञा गर्नुभयो -“भिक्षुहरू ! एउटा उपमा दिन्छु, भिक्षुहरू! कुनै ब्यक्तिले बीचमा एउटा  प्वाल भएको जुवालाई जम्बुद्वीपको दक्षिणतिरको महासमुद्रमा फालिदिन्छ। त्यसलाई हावाले अथवा छालले कहिले पुर्वतिर, कहिले पश्चिमतिर, कहिले उत्तरतिर, कहिले दक्षिणतिर बहाएर लैजान्छ। उत्तरतिर महासमुद्रको बीचमा दुबै आँखा नदेख्ने एउटा अन्धो कछुवा छ। त्यो कछुवा समुद्र भित्र यता उता जहाँ मन लाग्यो त्यहीँ बिचरण गरी बस्छ। त्यो कछुवाले एक सय बर्षमा वा एक हजार बर्षमा एक पटक समुद्रको पानीको सतह बाहिर आफ्नो टाउको फुत्त उठाउँछ। भिक्षुहरू! तिमीहरू के बिचार गर्छौ कि त्यो अन्धो कछुवाले त्यसरी फुत्त टाउको उठाउँदा त्यो जुवाको प्वालमा छिर्न सक्ला?´´

भिक्षुहरूले जवाफ दिए-“जुवाको प्वाल भित्र छिर्ने सम्भावना त छैन तैपनि संसार भनेको अत्यन्त लामो भएकोले यदि त्यो अन्धो कछुवा पनि नमरेमा, त्यो जुवा पनि पानीले मक्काएन भने र अनन्त काल बितिसके पछि कुनै किसिमले वा संयोगले सायद कछुवाको टाउको जुवाको प्वालमा छिर्ने सम्भावना हुन्छ।” अनि भगवानले भन्नुभयो -“भिक्षुहरू ! बरु त्यो अन्धो कछुवाको टाउको जुवाको प्वालमा चाँडै छिर्न सक्ने सम्भावना हुन्छ, तर मनुष्यलोकबाट च्युतभई अपाय दुर्गतिमा पतन भएका सत्व फेरि मनुष्यलोकमा आउने मौका पाउनु सार्है नै कठिन तथा दुर्लभ छ। त्यो अन्धो कछुवाको टाउको जुवाको प्वालमा पर्नु भन्दा सय गुना, हजार गुना अधिक कठिन छ। किनकि अपाय भुवनमा कुशल कर्म गर्ने मौका हुँदैन। फेरि कुशल अकुशल भनेर थाहा पनि हुँदैन। आ-आफुमै बलियोले दुर्बललाई मार्ने, दु:ख कष्ट दिने, बलियोले निर्बललाई समातेर खाने गर्छन् ।” यसरी अपायभूमिमा पतन भएका प्राणीहरूको निम्ति दान, शिल, भावना भन्ने कुशल धर्मसँग यो जन्ममा भन्दा अर्को जन्ममा झन् झन् गह्रौ हुँदै जान्छ, तल तल दब्दै जान्छ, एउटा जन्मबाट अर्को जन्ममा झन् झन् अज्ञानतामा डुब्दै जान्छ। जसरी महासमुद्रमा खसेको लाखौं करोडौं ढुङ्गाका टुक्राहरू झन् झन् तल दब्दै जाने हुन्छ अथवा एक टुक्रा पनि फेरि माथि उठ्ने सम्भावना नहुने झैं हुन् ।

तसर्थ अत्यन्त दुर्लभ मनुष्य जीवन प्राप्त भएको अवस्थामा हामीले भौतिक सम्पत्ति मात्र ध्यान नदिई शील, समाधि र प्रज्ञाको अभ्यास गर्न सकिएमा मनुष्य जीवन अर्थपुर्ण हुन जान्छ। मनुष्य मात्र यस्तो प्राणी हो जसले अन्तर्मुखी भएर आफ्नो राग, द्वेष,मोहको संस्कारलाई निर्मूल गर्न सक्छ। यो काम कुनै पशुपन्छी, सरिसृप, कीतपतङ्ग कसैले पनि गर्न सक्दैन। तर हामीले मनुष्यमा मात्रै हुने यो दुर्लभ गुणको बिकास गरेनौं भने हामी पशु सरहको जीवन जिउँछौं। मनुष्य भएर जन्मेको कुनै उपयोगीता हुँदैन ।

हाम्रो पुण्यका कारण हामीलाई दुर्लभ मनुष्य जीवन प्राप्त भएको छ, दुर्लभ बुद्धशासन प्राप्त भएको छ, यश शासनमा कल्याण मित्रहरूबाट धर्मश्रवण गर्न पाएका छौ, त्यस सधर्म अनुसार चिन्तन गरेर त्यसैको आधारमा धर्म आचरण गर्ने सौभाग्य मिलेको छ। यो सबै दुर्लभ सौभाग्य हामीले पुर्वजन्मको पुण्य कर्मकै कारणले प्राप्त गरेका हौं ।

यस्तो दुर्लभ अवसर बारम्बार प्राप्त हुँदैन। हामीलाई थाहा छैन अर्को जन्म कहाँ के भएर जन्म लिने हो। मनुष्य भएर जन्म लिएता पनि बुद्धशासन प्राप्त हुने हो वा होइन। तर अहिले प्राप्त भएको छ। तसर्थ यसको खुब सदुपयोग गर्नुपर्छ। भगवान बुद्ध भन्नुहुन्छ :-

सब्ब पापस्स अकरणं – कुसलस्स उपसम्पदा

     सचित्तपरियोदपनं – एतं बुद्धान ‘ सासनं ।।                धम्मपद  १४:५

अर्थात : कुनै पनि पापकर्म नगर्नु, कुशल कर्म गर्नु, आफ्नो चित्तलाई सधैं शुद्ध राख्नु, यही बुद्धहरूको शिक्षा हो।

यश प्रकार हामीले पापकर्मबाट बच्न शीलको अभ्यास गर्यौं, कुशल कर्म गर्नका लागि समाधिको अभ्यास गर्यौं र मनलाई शुद्ध राख्न वा प्रज्ञा जगाउनका लागि विपश्यना ध्यानको अभ्यास गर्यौं भने हाम्रो मनुष्य जीवन सार्थक हुनेछ भने हामी बुद्धशासनका सच्चा अनुयायी हुनेछौं ।

लेखक मैत्रेय युवा संघ भक्तपुरसँग अावद्ध हुनुहुन्छ