धर्मचक्र प्रवर्तन दिवस– गुरु पूर्णिमा

तुल्सीकाजी मानन्धर
धर्मचक्र प्रवर्तन दिवस वा गुरु पूर्णिमा को दिन प्रत्येक नेपाली र विश्व जगतकै लागि महत्त्वपूर्ण दिन हो। प्रत्येक आषाढ पूर्णिमाको दिन हर्षाेल्लासय वातावरणमा यो पर्व मनाइन्छ।
२६०० वर्ष अगाडि नेपालको लुम्बिनीमा जन्म हुनुभएका सिद्धार्थ गौतम बुद्धले ३५ वर्षको उमेरमा भारतको बोधिगयामा सम्बोधिज्ञान लाभ भएपश्चात् भारतकै वनारस नजिकै सारनाथस्थित पञ्चवगीय भिक्षुहरूलाई पहिलो उपदेश दिनुभएको असार २८ गते २६०३ औं धर्मचक्र प्रवर्तन दिवस हो। बुद्धको उपदेशबाट संसारका मानिसहरूले सुख र शान्तिका साथ जीवन बिताउन पाइराखेका छन्। मानव जगतको दुःख अन्त्यको लागि धर्मचक्रको अवधारणा (सिद्धान्त) बाट दुःखको ‘भवचक्र’ लाई उहाँले तोड्नुभयो। अतः मानव जगतको लागि सुखद् दिन हो–’धर्मचक्र प्रवर्तन दिवस। स्वभाव धर्म, अनित्य–दुःख–अनात्मलाई उजागर गरी शील, समाधि र प्रज्ञाद्वारा मानव जीवनको दुःख अन्त्य गरी वास्तविक सुखी जीवन बिताउने उपाय प्रादुर्भाव भएको दिन हो धर्मचक्र प्रवर्तन।
धर्मचक्र प्रवर्तन दिवसका दिन बुद्धसँग सम्बन्धित पाँच वटा संयोगहरू परेका छन् –
१) बोधिसत्व सिद्धार्थले आमा मायादेवीको गर्भमा प्रवेश भएको दिन।
२) सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग (महाभिनिष्क्रमण गर्नुभएको दिन।
३) सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधिज्ञान लाभ गरी सर्वप्रथम धर्माेपदेश (धर्मचक्र प्रवर्तन) गर्नुभएको दिन।
४) बुद्धले आफ्नो क्षमता (ऋद्धि) देखाई तिर्धंकरहरूको अहङ्कारलाई दमन गर्नुभएको दिन।
५) आमा मायादेवीलाई तुषिता भुवनमा अभिधर्म (चित्तसम्बन्धी ज्ञान) देशना गर्नुभएको दिन।
त्यस्तै तीन महिनासम्म वर्षायाममा विहार–विहारमा भिक्षुहरूलाई ‘वर्षावास’ राखी विशेष अध्ययन मनन एवम् धर्माेपदेश गर्ने चलन बुद्धले यसै दिनदेखि सुरु गर्नुभएको थियो। यस्तै भगवान बुद्धको महापरिनिर्वाणपछि भिक्षु महाकाश्यप महास्थविरको नेतृत्वमा भारतको राजगृहको सप्तपर्णि गुफामा प्रथम संगान्यना पनि यही दिनमा सुरु भएको थियो। यसरी सर्वज्ञ बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण संयोगहरू परेकोले धर्मचक्र दिवसको विशेष महत्त्व छ।
धर्मचक्र प्रवर्तनको दिनलाई ‘गुरु पूर्णिमा’ पनि भनिन्छ। प्रत्येक मानिसको जीवनमा गुरुको ठूलो भूमिका र योगदान रहेको हुन्छ। गुरु शब्दको अर्थ अज्ञान, अविद्या र अन्धकार हटाई ज्ञान, विद्या र प्रकाश दिने व्यक्तिको रुपमा लिइन्छ। आफ्नो शिष्यलाई असल शिक्षा दिई नैतिकवान, आज्ञाकारी र प्रज्ञावान बनाउने व्यक्तिको रुपमा मानिन्छ।
प्रायः सबैको जीवनमा आ–आफ्नो पहिला गुरु आमाबाबुलाई मानिन्छ।  छोराछोरीलाई आमाबाबुले हुर्काईबढाई पालनपोषण गरेको हुन्छ। त्यस्तै शिक्षा दीक्षा शिल्प विद्यादि सिक्न विद्यालय पठाउँछ। यसबाट हामी आत्मनिर्भर बन्न सक्षम हुन्छौं। प्रत्येक गुरुले आफ्ना शिष्यहरूलाई आफ्नै छोराछोरी सम्झी विनाभेदभाव शिक्षादीक्षालगायत शिल्पादि, मैत्रीकरुणा राखी सिकाई दक्ष बनाउँछन्। यसैक्रममा संगीत, वाद्यवादन, गायन, नृत्यकला, अभिनय, चित्रकला, वास्तुशास्त्र, स्वास्थ्य, इतिहास, भूगोल, कृषि, पाकशिक्षा, सिकर्मी–डकर्मी, लोहकर्मी आदि शिल्प विद्या गुरुबाटै सिकी सक्षम व्यक्ति बन्छन्।
आमा–बाबु र गुरुको गुण अविस्मरणीय हुन्छ। त्यसैले प्रत्येक व्यक्तिले आमाबाबु र गुरुको गुण सधैंभरि स्मरण गरी राख्नुपर्दछ। उहाँहरूबाट प्राप्त उपदेश (शिक्षा) लाई हामीले जहिले पनि सही सदुपयोग गर्न जान्नुपर्दछ। उहाँहरूको सम्मानार्थ हाम्रो देशमा पनि मातृ औंशीको दिनमा आमाको मुख हेर्ने, पितृ औंशीको दिनमा बाबुको मुख हेर्ने र गुरु पूर्णिमाको दिनमा गुरुलाई सम्मान स्वरुप मिठाइ, फलफूल, लुगाफाटा आदि दिई आशीर्वाद लिने चरल अद्यापि छ। तरउहाँहरूको गुण स्मरण सो एक दिनमात्र गरेर पुग्दैन। उहाँहरूको त्याग र योगदानलाई सम्झी बेलाबखत सम्मान गर्नुपर्दछ। कोही कोही मानिसहरू आमाबाबुको गुण र महत्त्व नबुझ्ने र स्वार्थका कारण वृद्ध आमा–बाबुलाई उपचार गर्न भनी वृद्धाश्रममा छोडी दिनेहरू पनि छन्। आमा बाबुले वृद्ध वैशको सहाराको आशा राखी सन्तानलाई हुर्काइबढाइको हुन्छ। कोही कोही सन्तानहरू विभिन्न बहाना गरी वृद्ध आमाबाबुको सेवा गर्न फुर्सद निकाल्दैनन्। फलस्वरुप वृद्ध आमाबाबु एक्लो जीवन बिताउन बाध्य हुन्छ।
सबैले आमा बाबु र गुरुको आदर्शलाई बुझेर सही विचार र सही जीवनयापन गर्न सकोस्।

साभार मजदुर दैनिक