मंगल सुत्रको अर्थ

प्रस्तुति  : बहुसुत्र र धम्म देसना 


देवता र मानिसहरुले बाह्र वर्षसम्म विचार गर्दा पनि टुङ्गो लगाउन नसकिएका अड्तीस मंगल-सुत्र देवाधिदेव हुनुभएका बुद्धले सम्पूर्ण पाप नाश हुने मंगल उपदेश गर्नु भयो । त्यहि मंगलिक उपदेश सम्पूर्ण सत्वलोकको हितार्थ स्मरण गरौँ । यसलाई पाठ गरौँ ।

एकदिन भगवान बुद्ध श्रावस्तीको अनाथपिण्डिक महाजनले बनाएको जेतवनाराममा विहार गरिरहनु भएको थियो । त्यस बखत एक देवता रात्रीको प्रहरपछि मध्ये रात्रीको प्रहरमा आफ्नो दिब्य प्रकाशद्द्वारा सिंगो जेतवन जाज्वल्यमान हुने गरी प्रकाशित गर्दै भगवान बुद्ध उपस्थित रहनुभएको ठाउँमा पुगेर अभिवादन पछि एक योग्य ठाउँमा बसे । समीपमा बसिरहेका त्यस देवताले भगवान बुद्धलाई गाथाद्वारा यसरी भने-

धेरै देवताहरु र मनुष्यहरू संगै बसेर धेरै वादविवाद गरे तर पनि टुंगो नलागेकाले भो भगवान यहाँबाट मंगल बारे उपदेश दिनुहोस् ।
त्यसपछि भगवान बुद्धबाट उपदेश भयो-

धेरै देवताहरु र मनुष्य हरुले मनमा राम्रो भाव राखेर चिन्तन गरेको कुरा मंगल हुन् , ती उत्तम मंगल हुन् । १

मुर्खहरुको संगत नगर्नु, पण्डित हरुको संगत गर्नु पुज्यहरुको पूजा गर्नु, यी उत्तम मंगल हुन् । २

अनुकुल भएको स्थानमा निवास गर्नु, पूर्वजन्मको संचित पुण्य हुनु, आफुलाई सम्यक, मार्गमा लानु, यी उत्तम मंगल हुन् । ३

बहुश्रुत हुनु, शिल्प-विद्या सिक्नु, विनयमा सुशिक्षित हुनु, सुभाषित हुनु, यो उत्तम मंगल हुन् । ४

आमा-बुवाको सेवा गर्नु स्त्री, छोरा छोरीहरुको पालन-पोषण गर्नु, गालमाल हुने नराम्रो काम नगर्नु, यी उत्तम मंगल हुन् । ५

दान दिनु धर्माचरण गर्नु, आफ्ना ज्ञातिवन्धुहरुको संग्रह गर्नु निदाष काम गर्नु, यी उत्तम मंगल हुन् । ६
काय, वाक् र चित्तलाई पापबाट टाढा राख्नु मद्यपान नगर्नु, धर्म कार्यमा अप्रमादी हुनु, यी उत्तम मंगल हुन् । ७

गौरब राख्नु विनम्र हुनु सन्तुष्ट हुनु, कृतज्ञ हुनु, समय समयमा धर्मको कथा सुन्नु, यी उत्तम मंगल हुन् । ८

शान्तिशील हुनु आज्ञाकारी हुनु, श्रमणहरुको दर्शन गर्नु, समय समयमा धार्मिक छलफल गर्नु, यी उत्तम मंगल हुन् । ९

तपस्या गर्नु अथवा असल शुभकार्यको लागि आउने कष्ट सहनु, ब्राह्मचर्य पालन गर्नु, चार आर्यसत्य धर्मलाई देख्नु बुझ्नु, निर्वाणको साक्षात्कार गर्नु, यी मंगल हुन् । १०

लाभ-अलाभ, यश- अपयश, निन्दा-प्रशंसा, सुख-दु:खको आठ लोक-धर्म बुझी यसबाट चित्त विचलित नगर्नु, निशोकी हुनु, राग द्धोष मोहरुपी धुलोबाट बच्नु, निर्भय हुनु, यी उत्तम मंगल हुन् । ११

यस्तो अड्तीस प्रकारका मंगल कर्म गर्दा सर्वत्र अपराजित भई सर्वत्र कल्याण प्राप्त हुने छ । यी नै देवता र मनुष्यहरुको निम्ति उत्तम मंगल हुन् । १२

मंगल सुत्र समाप्त