बोधि र बोधिसत्व

चित्र शाक्य
हामीले ३ प्रकारका बोधि र अलिकति बोधिसत्वका बारेमा पनि जानकारी लियौं। अब यी बोधिहरू र बोधिसत्वका बारेमा बौद्धमार्गी भित्रै पनि विभिन्न धारणाहरू पाइन्छन्।त्यसबारे केहि छलफल गरौं।

 


सम्यकसम्बुद्धले आफूले पूर्णरूपमा ज्ञानप्राप्त गरेको हुन्छ। उहाँमा सर्वज्ञताको ज्ञान भएकोले अरूलाई पनि चित्त शुद्ध गर्ने र प्रज्ञा अभिबृद्धि गर्ने तरिका र बाटो देखाउने क्षमता हुन्छ। प्रत्येक बुद्धले बुद्धत्व त प्राप्त गर्छ तर अरुलाई सिकाउने क्षमता हुँदैन। प्रत्येक बुद्ध त्यो बेला मात्र उत्पन्न हुन सक्छ जुन बेला बुद्धशासन हुँदैन, कुनै गुरू हुँदैनन् र आफै बुद्धत्व लाभ गर्छ। तर आफूले कसरि बुद्धत्व लाभ गरेको भन्ने उसलाई थाहा हुँदैन।
यो कुरालाई सम्झाउन म के भन्ने गर्छु भने, प्रत्येक बुद्ध भनेको डा. जेनर जस्तो हो जसले विफरको खोप पत्ता लगायो। तर उसलाई तत्कालिन शिक्षविद, शिक्षाधिकारी वा विश्वविद्यालयले पीएचडीको डिग्री दिन अस्विकार गर्‍यो। किनभने विफरको खोपको सैद्धान्तिक व्याख्या माग्दा दिन सकेन वा त्यसको थेसीस पेश गर्न सकेन। उसमा त्यस सम्बन्धि क्लासिकल ज्ञान थिएन। एउटा फिलिप नामको केटोलाई गाईको विफरको रस झिकेर ईन्जेक्सन दियो। फिलिपलाई ईन्जेक्सन दिएको ठाउँमा विफर आयो निको भयो।त्यसपछि विफर आएको मानिससंगै सुताई दियो। तर उसमा विफर सरेन।त्यसपछि फिलिपलाई कहिल्यै विफर आएन।अब जेनरले गाईको विफरको खोप लगाए पछि त्यस मानिसलाई विफर किन आउँदैन भन्ने प्रविधिकरूपले व्याख्या गर्नु पर्थ्यो। तर उसले सकेन। उसबाट विफरको खोपको आविष्कार अचानक हुन गएको हो। यस्तै अचानकमा प्रत्येक बुद्धले बुद्धत्व प्राप्त गरेको हुन्छ।

 


अर्हतले पनि निर्वाण प्राप्त गरेकाले उसलाई अर्हतबुद्ध पनि भन्ने गरिन्छ।अर्हतले सम्यक सम्बुद्धको मार्गदर्शन अनुसार चलेर सम्पूर्ण क्लेश प्रहाण गरेर निर्वाणको साक्षात्कार गरी जन्म-मरणको साङ्लो चूँडालेर फेरी यो संसारमा आउन नपर्ने हुन्छ।अब अर्हतले सम्यक सम्बुद्धले जस्तै अरूलाई मार्ग दर्शन गर्न सक्दैन। यो कुरालाई धेरैले बुझ्दैन। विहार गुम्बाहरूमा गुरूहरुले सिकाई रहेकै छ भन्छन्। जुन उहाँहरूले सिकाउनु भयो त्यो उहाँहरूको ज्ञान होइन। त्यो त बुद्धले उनीहरूमा आफ्नो ज्ञान ट्रान्सफर गरेको मात्र हो। अर्हतहरूमा मौलिक ज्ञान हुँदैन।जस्तो गौत्तमबुद्धले कृषागौत्तमीलाई उनको मरेको छोरो वचाउन आजसम्‍म कोहि नमरेको घरबाट एकमुठी तोरी ल्याउन अह्रायो। आफ्ना सबै परिवार गुमाएका पटाचारालाई विक्षिप्त मनस्थिति वा वौलाहीको निर्वस्त्र अवस्थामा उहाँको चरणमा पर्न आएको बेला ” होसमा आउ बहिनी !” भन्नु भयो। आफ्नो सबै गुमाएँ अब मेरो भन्ने कोहि छैन भनेर शोक मग्न भएको बेला ” बहिनी ” भन्ने सम्बोधन सुनेर एक्कासी होसमा आयो।कुन व्यक्ति कुन हालतमा छ, उसलाई कसरी ठिक अवस्थामा ल्याउन सकिन्छ, त्यो सम्यक सम्बुद्धले मात्र जान्दछ।

 

 

अब यी तीन बुद्धहरूमा प्रत्येक बुद्ध विशेष समयमा मात्र उत्पन्न हुने हुनाले चर्चाको विषय बनेको छैन। सम्यक सम्बुद्ध र अर्हतबुद्धको बारेमा धेरै चर्चा छ, अझ अस्वस्थ आरोप प्रत्यारोप पनि हुने गर्छ। सम्यक सम्बुद्धले आफू बुद्ध भएर निर्वाण प्राप्त गरे पछि अरूलाई पनि चित्त शुद्ध गरेर निर्वाण प्राप्त गराउँछ। तर अर्हत आफू मात्र निर्वाण प्राप्त गर्दछ। त्यति मैं उसको भूमिका सकिन्छ। अर्हत स्वार्थि हुन्छ। त्यसैले हामी अर्हत बनेर स्वार्थि हुने होइन सम्यक सम्बुद्धत्व प्राप्त गरेर अरूलाई पनि निर्वाण लाभी बनाउनु पर्छ भन्छ। आफ्नो घरवार, श्रीसम्पत्ति सबै त्यागेर लोभ लिप्सामा नटाँसीएर जन्म-मरणबाट छुट्कारा पाउने व्यक्ति ‘ अर्हत् ‘ स्वार्थी? के को लागी स्वार्थी? उसले आफ्नो लागी पाउनु के बाँकी छ?

 
सम्यक सम्बुद्ध एक समयमा एकजना भए पुग्छ, त्यस्पछि हजारौं वर्षसम्म पनि अर्को बुद्धको आवश्यक्ता पर्दैन।यस्तोमा अर्हतलाई स्वार्थी मानेर निस्वार्थी बन्ने धुनमा यस ब्रम्हाण्डमा भएका सबै जीवहरु सम्यक सम्बुद्ध बन्न खोजेर यस ब्रम्हाण्डमा जीवहरूले कहिले निर्वाण प्राप्त गर्न भ्याउला? यो कुरा त केवल दर्शनमा मात्र अटाउने र सुहाउने कुरा हुन आउँछ। जसले पूर्वजन्मको कुशल कर्मको पुण्यले कष्टकर बोधिचर्या गरेर तीस पारमिता पूरा गरेर सम्यक सम्बुद्धत्व प्राप्त गर्ने क्षमतामा पुग्ने गुण आफूमा भएको अनुभव गर्छ उसले सम्यक सम्बुद्ध हुने नै कोशिश गरोस, तर अर्हतलाई पनि स्वार्थि भनेर खसाल्न जरूरी छैन। यो आरोप कुनै बोधिसत्वले लगाएको होइन, कुनै बुद्धले पनि लगाएको होइन, केवल गफ मैं मस्त हुने, केही विधिबाट कुनै लाभ लिन नसकेकाहरुको आरोप हो। किनभने बोधिसत्वले पनि बुद्धत्व प्राप्त गरेर अरूलाई अर्हत बनाउन सघाउने नै हो। तब त उ त्यो विघ्न कष्ट सहेर बुद्धत्व प्राप्त गरेको, स्वार्थीहरूको उत्पादन गर्न हो त? अब त्यो बोधिसत्वले वा बुद्धले अर्हतलाई स्वार्थी भन्छ?

 
सत्य कुरा मात्र गरौं सत्य कुरा मात्र सुनौं। बुद्धशिक्षाका अधिकारीहरू ( बुद्ध, बोधिसत्व, अर्हत्) हाम्रा राजनैतिक नेताहरू जस्तै एकले अर्कोलाई खसाल्ने र, आफू ठूलो बन्न अरूलाई सानो बनाउने नीच हरकत गर्दैनन् यो भनिरहनु पर्छ कि पर्दैन।त्यसैले परस्पर सदभाव राखेर कुराले होइन क्षमताको विकास गरेर आफूलाई मिल्दो बाटोमा ईमान्दारिताका साथ अगाडी बढ्नु हामी सबैको कर्तव्य हो।

 
हामीलाई थाहा छ, सम्यक सम्बुद्ध सबै भन्दा माथि छ, उहाँ भन्दा माथि जाने ठाउँ छैन। तर सम्यक सम्बुद्ध भन्दा ठूला पनि उभ्याईएको पाइन्छ। अनि त्यो चाहिं बुद्ध हुने क्षमता राख्छ, सर्वज्ञ हो तर यस ब्रम्हाण्डका सबै जीवहरूलाई निर्वाण लाभ नगराई निर्वाण लाभ नगर्ने प्रण गरेर बसेको छ भनिन्छ। ठीक छ उहाँमा करूणा असिमित छ, राम्रो छ, तर उहाँका अनुसार सबैलाई निर्वाण लाभ गराए पछि उहाँले पनि निर्वाण लाभ गरेर सम्यक सम्बुद्धत्व प्राप्त गर्नु हुन्छ, तर आफ्नो पनि अन्तीम लक्ष निर्वाण लाभ गरी बुद्धत्व हासील गर्ने हो भने निर्वाण प्राप्त नगर्दै निर्वाण प्राप्त गर्ने भन्दा ठूलो कसरी हुन्छ? बुद्ध नहुँदै बुद्ध भन्दा ठूलो कसरी हुन्छ?

 

यो मेरो विचार अरूले जस्तै विवादको लागी ल्याएको होइन। सुझबुझ राखेर यस संसारमा कुनै पनि बहानाले अल्झिएर रुमल्लितएर रहने होइन, छिटो मुक्ति वा निर्वाण प्राप्त गर्ने हाम्रो लक्ष हुनुपर्छ। भवतु सब्ब मङ्गलं।