छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविर

कोण्डन्य

सन्दर्भ ः ९२ औं जन्मोत्सव

स्थविरवाद बुद्धधर्म प्रचारप्रसार भई पुनर्जागरणको इतिहास सँगसँगै देखिएका भिक्षुहरु मध्ये एक श्रद्धेय भिक्षु अश्वघोष महास्थविर हुनुहुन्छ । उहाँले प्रव्रजित जीवनयापन गर्नुभएको ७ दशक नाघिसकेको छ ।

 

ललितपुर ओकुबहाल निवासी आमा लक्ष्मीमाया शाक्य र पिता चन्द्रज्योति शाक्यको कोखबाट बि.सं. १९८३ (ने.सं. १९४६) मा जन्मिएका बुद्धरत्न शाक्यलाई झण्डै १६ वर्षको उमेरमै धर्माध्ययनको लागि भिक्षु धर्मालोक र भिक्षु अमृतानन्दलाई जिम्मा लगाइयो । पछि सन् १९४४ मा कुशीनगरमा ऊ. चन्द्रमुनि महास्थविरको उपाध्यायत्वमा तथा भिक्षु अमृतानन्दको आचार्यत्वमा श्रामणेर अश्वघोष नामले प्रव्रजित हुनुभयो ।

 
आमा लक्ष्मीमाया शाक्यको प्रेरणाले प्रव्रजित भएका उहाँ आचार्य महानायक डा. भिक्षु अमृतानन्द महास्थविरका प्रथम शिष्य हुन् ।

 

श्रामणेर प्रव्रज्या लगत्तै प्रसिद्ध भारतीय भिक्षु धर्मरक्षितसँगै पालि र हिन्दी भाषा सिकी उहाँसँगै केही महिनापछि दक्षिणी श्रीलंकाको मातरमा अवस्थित महामहिन्द्र परिवेण (तालिम केन्द्र) मा अध्ययन गर्नुभयो । सोही परिवेणका प्रधानाचार्य धर्मकीर्ति श्री धम्मावास नायक महास्थविरको उपाध्यायत्वमा १ मई १९४९ का दिन उपसम्पदा दीक्षा प्राप्तगरी पूर्ण रुपमा भिक्षु हुनुभयो ।

 

 

 
८ वर्षपछि अर्थात् बि.सं. २००८ सालमा अग्रश्रावक सारिपुत्र र मौदगल्यायनको पवित्र अस्थिधातु नेपालमा दर्शनार्थ ल्याइएको अवसरमा निमन्त्रित व्यत्तित्वको रुपमा भिक्षु अश्वघोष नेपाल फर्कनुभयो । उहाँसँगै आनन्दकुटी विहारको सीमाग्रहमा २००८ कार्तिक महिनामा उपसम्पदा दीक्षा प्राप्त भिक्षु कुमार काश्यप पनि श्रीलंका जानुभयो । केही वर्षपछि भिक्षु अश्वघोष भारतमा फर्किनुभई एस.एल.सी. अध्ययन गर्दै रहँदा परीक्षाकै समयमा ४ फागुण २००९ का दिन उहाँका माता लक्ष्मीमाया शाक्य परलोक भएको समाचारले उहाँलाई परीक्षाकै समयमा दुःखित तुल्याइदियो । उहाँले सारनाथ–बनारसमा बस्नुभई एस.एल.सी देखि बि.ए. सम्म अध्ययन गर्नुभयो र टि.वि. रोगका कारण अध्ययन पूर्ण गर्न सक्नुभएन । उपचारार्थ उहाँ पेकिङग (बेइजिङग) जानुभयो । केही वर्ष उतै बस्नुभयो ।

 

 

माओत्सेतुगको सांस्कृतिक क्रान्तिपछि विकास कार्यमा द्रूतगतिमा अगागि बढिरहेको तत्कालीन चिनीया जनता र कम्युनिष्ट शासनबाट भिक्षु अश्वघोष अत्यन्त प्रभावित भए । चीनबाट फर्किसकेपछि आनन्दकुटी विद्यापीठमा झण्डै १० वर्ष सेवा गर्नुभयो । आनन्दकुटी विद्यापीठका सुपरिवेक्षक समेत हुनुभयो । उहाँले विभिन्न मुलुकहरुको भ्रमण तथा सम्मेलनहरुमा भाग लिन जानुभयो । २०२९ साल घटस्थापनका दिन आनन्दकुटी विहार गुठीको स्थापना भएपछि भिक्षु अश्वघोषले न्हुच्छे बहादुर वज्राचार्य र वटुकृष्ण भूषण सँग सहकार्य गरी “आनन्दभूमि” बौद्ध मासिकको सम्पादक हुनुभयो । उहाँले “आनन्दभूमि” मा सम्पादक, प्रधान–सम्पादक भई २० औं वर्ष सेवा गर्नुभयो ।

 

यसरी नै धर्मकीर्ति विहारबाट प्रकाशित हुने “धर्मकीर्ति” मासिकमा पनि उहाँ शुरूवातदेखि वर्तमानसम्म प्रधान–सम्पादकको रुपमा सेवा गरिरहनुभएको छ, साथै उहाँले बुद्धधर्म र दर्शनसम्बन्धी स–साना ८० भन्दा बढी पुस्तक प्रकाशन गर्नुभइसकेको छ ।

 
हाल बनेपास्थित ध्यानकुटी विहार र संघाराम विहारमा बस्नुहुने भिक्षु अश्वघोष महास्थविरले बनेपास्थित दछुटोलमा “ध्यानकुटी विहार” २०२८ सालमै निर्माण गर्नुभएको थियो । २०३८ सालमा भिक्षु मैत्री, दिवंगत द्वारिकादास श्रेष्ठ र उपासिका दिवंगत अनागारिका धर्मरक्षिता (रत्नमाया शाक्य) को सहयोगले क्षेत्रपाटी–ढल्कोमा “संघाराम भिक्षु तालिम” स्थापना गरी नेपालको पुनर्जागरित बुद्धशासनमा पहिलोपटक श्रामणेर–भिक्षु तालिम केन्द्रको प्रारम्भ गर्नुभयो । उहाँकै शब्दमा भन्नुपर्दा उहाँको तालिम मिशन सोचेझंै सफल हुन नसकेपछि ध्यानकुटी विहारमा पनि तालिम केन्द्रलाई निरन्तरता दिने प्रयास भएको थियो । वर्तमान नेपालमा सबैभन्दा बढी शिष्य हुने उहाँ श्रद्धेय भन्तेका शिष्यहरु अधिकांश श्रीलंकाबाट अध्ययन गरेका छन् । अहिले उहाँका शिष्यहरुले सक्दो बुद्धशासनिक क्षेत्रमा क्रिया कलापहरुलाई अगाडि बढाइराखेका छन्, जुन उहाँको लागि धर्मप्रीतिको विषय भएको छ । नेपालमा ४६ सालको जन आन्दोलनपछि माथिल्लो सदन राष्ट्रिय सभामा पनि दुई वर्ष माननीय हुनुहुने उहाँ एमालेको नौ महिना शासनमा लुम्बिनी विकास कोषका उपाध्यक्ष हुनुभयो भने उहाँले धर्मोदयसभाका सम्मानित अध्यक्ष पदभार सम्हालिसक्नुभएको छ ।

 
सन् २००० मा म्यानमार सरकारबाट “अग्गमहासद्धम्मजोतिकधज ” पद्वीद्वारा विभूषित भन्तेले प्रव्रजित–श्रामणेरहरुलाई तालिम गर्दै धेरै अनुभव सँगाल्नु भएको छ । नेपाल भाषा परिषद्, काठमाडौंले ने.सं. ११२८ को भाषाथुवाः मानार्थ उपाधिले सम्मानित गरिएको थियो ।

 
स्मरणीय रहोस् वर्तमान नेपालका पूज्यपाद संघनायक भिक्षु अश्वघोष महास्थविर र आचार्य भिक्षु कुमार काश्यप महास्थविरको ७७ औं वर्षमा प्रवेशको उपलक्ष्यमा सुखी होतु नेपालले भव्यताका साथ वि.सं. २०६० मा ऐतिहासिक रुपमा १११ जनालाई सप्ताहब्यापी दुर्लभ शतकुलपुत्र प्रव्रज्या समारोह सफलतापूर्वक आयोजना गरिएको थियो । उहाँको ५० औं प्रव्रजित दिवसको अवसरमा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीले विविध धार्मिक, सामाजिक गतिविधिको संचालन गरेको थियो ।

 
उहाँ नेपालका पूज्यपाद ९२ वर्षीय संघनायक अश्वघोष महास्थविरको सुख शान्ति, समृद्धि, दिर्घजीवी र निरोगी भैरहोस भन्ने प्रार्थना सहित उहाँले अझै पुस्तक लेखन, धर्मदेशना गर्ने, विविध धार्मिक कार्यक्रमको निमन्त्रणामा जाने कार्यलाई निरन्तरता दिइरहनुभएको छ, हाल बनेपास्थित ध्यानकुटी विहारमा स्वास्थ्यलाई ख्याल गरी बाह्य कार्यक्रममा सहभागी नभई त्यहीं आराम गरिरहनुभएको छ ।

बनेपाको ध्यानकुटी विहारमा  बस्दै आउनुभएका नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थविर ९२ वर्षको हुनुभयो ।

अानन्दभूमीमा प्रकाशित लेखकाे सार संक्षेप