बुद्ध, अम्बेडकर र प्रतिभा

-सुरेश परियार

केही वर्षयता नेपालमा बुद्धपूर्णिमाको अवसर पारेर प्रत्यक्ष–परोक्ष “बुद्ध र उनको धम्म” को चर्चाहरु पत्रपत्रिकामा देखापरे । भारतीय संविधानका रचयिता, नेता एवं विद्वान डा. भीमराव अम्बेडकरको यो पुस्तक मूलतः गौतम बुद्धको जीवनी हो । यसको लेखनी बुँदागत किसिमको छ । बुद्धको परम्परागत जीवनीमा उल्लेख गरिने खासगरी चारवटा असंगतिलाई समाधान गर्ने हेतुले “बुद्ध र उनको धम्म” लेखिएको डा.अम्बेडकरको जिकिर छ । एक वृद्ध, रोगी र मृत व्यक्तिसंगको साक्षात्कारले बुद्धलाई गृहत्याग गर्न प्रेरित गरेको कथा प्रचलित छ । २९ वर्षसम्म बुद्धले यस्ता मानिस देखेनन् भन्नु पत्यारिलो छैन भन्दै अम्बेडकरले अर्कै घटनाक्रम पुस्तकमा प्रस्तुत गरे । पुस्तकले अघि सारेको यहीँ नयाँ भाष्यले यसलाई चर्चित बनायो । तर यस लेखको विषय भने अलि फरक छ ।

 
“बुद्ध र उनको धम्म” मा बुद्धको जीवनीलाई संगतिपूर्ण बनाउँदै गर्दा अम्बेडकरले अनेक असंगतिपूर्ण गल्ती गर्न पुगेका छन् । निश्चय नै बौद्ध दर्शन आफैमा क्रान्तिकारी दर्शन थियो । बुद्धले जातिभेद, लिङ्गभेदविरोधी अर्थात् रुढीवादविरोधी चेतनाको निर्माण गर्न सघायो । यस अर्थमा बुद्ध स्तुत्य छन् । तर अम्बेडकरले बुद्धको स्तुतिमा यति आलंकारिक बान्की तयार पारेका छन् कि लाग्छ बुद्ध कुनै अलौकिक व्यक्ति थिए ।
बुद्धको जन्मलाई अलौकिकता दिन धेरै कथाहरु यसै पनि बुनिएका छन् । बुद्ध जन्मनुभन्दा पहिले ऋषिहरुले गरेका भविष्यवाणी, जन्मँदाबित्तिकै सात पाइला हिँडेका किस्सा, आदि । अम्बेडकरले अतार्किक वा असंगत देखिने यस्ता किस्सालाई आफ्नो कृतिमा त्याग्ने साहस देखाएका छैनन् । उनी लेख्छन् – बुद्ध जन्मिनुभन्दा पहिले सुमेधा नामक बोधिसत्व महामायाको सपनामा आएर “म पृथ्वीमा अन्तिमपटक जन्मिने निर्णय लिएको छु । के हजुर मेरी आमा बन्न राजी हुनुहुन्छ ?” महामाया बिउँझिन् । अर्को दिन दरबारमा रानीको सपनाको बारेमा सोधपुछ गर्न केही ब्राह्मणहरु डाकिन्छन् ।

 

ब्राह्मणहरुको धर्म नै ‘भाग्य’, ‘साइत’, आदि सुनाएर जीविकोपार्जन गर्नु हो । एक रानीको सपनाको भयंकर अर्थ लगाउनुभन्दा सुखद् अर्थ लगाउनुमै आम्दानी बढी हुने हुनाले उनीहरुले छोरा जन्मिने भविष्यवाणी गर्छन् । अम्बेडकर अघि बढेर असित ऋषिको भविष्यवाणीको झल्को पनि ब्राह्मणको मुखारबिन्दबाटै दिन लगाउँछन् । ब्राह्मणहरु भन्छन् – चिन्तित नहुनुस् । छोरा जन्मिनेछन् । गृहस्थ जीवन व्यतित गरेमा उनी चक्रवर्ती राजा बन्नेछन् । घरबार छोडेर सन्यासी बनेमा बुद्ध बनेर संसारको अन्धकार नाश गर्नेछन् ।

बुद्धको बाल्यकाललाई चमात्कारी देखाउँदा अम्बेडकरले अन्यायपूर्ण एवं खोटपूर्ण हिन्दु मानसिकतालाई त्याग्न सकेका छैनन् । यो दुःखद् कुरा हो ।

बुद्धको जन्मलाई पनि अम्बेडकरले महामानवीय गुणले युक्त पार्न कुनै कसर छोडेका छैनन् । उनी लेख्छन् – बच्चा जन्मँदा असित नामका ऋषि हिमालयमा बस्थे । असितले आकाशमा देवताहरुले ‘बुद्ध’ शब्द पुकार्दै कुराकानी गरेको सुने । उनले देवताहरु प्रसन्न भई यताउता गरिरहेको देखे । र, आफ्नो दिव्य आँखाले सम्पूर्ण जम्बुद्विपमा हेर्दा शुद्धोधनकहाँ सर्वप्रतिभाले धपधपाउँदो शिशुको जन्म भएको देखे ।
असित ऋषि आफ्ना भतिजासित शुद्धोधनको दरबारमा जान्छन् । असितले देखे बालक महापुरुषका ३२ लक्षण र ८० अनुव्यञ्जनले युक्त छन् । उसको शरीर शुक्र र ब्रह्माको शरीरभन्दा दीप्त छ र उसको तेजोमण्डल उनीहरुको भन्दा लाख गुना तेजिलो छ । ऋषिको मुखबाट अनायासै निस्कन्छ, “निसन्देह यो चमत्कारी पुरुष हो ।” र उनले प्रख्यात भविष्यवाणी गर्छन् – यो शिशु महान व्यक्ति बन्नेछ । कि त चक्रवर्ती सम्राट अथवा महाज्ञानी बन्नेछन् । उनले शिशु बुद्ध नै बन्ने दाबी गर्छन् । बालकको नाम सिद्धार्थ गौतम राखिन्छ । सिद्धार्थ सात दिनको पुग्दा महामायाको निधन हुन्छ । जन्मदै दिव्य पुरुष भनी प्रस्तुत गरिएका सिद्धार्थको शिक्षा–दीक्षाको क्रममा आएका शिक्षकलाई उच्च कुलगोत्रका भाषाविद् र वैयाकरण, वेद, वेदांग तथा उपनिषदका मर्मज्ञ भनी अम्बेडकर चित्रण गर्छन् । उनले बालक सिद्धार्थलाई करुणामयी, शारीरिक श्रमलाई सम्मान गर्ने, शोषण र काटमार नरुचाउने बालकको रुपमा प्रस्तुत गरेका छन् ।

 
गौतम बुद्धको जन्मको पृष्ठभूमि, जन्म र बाल्यकाललाई अम्बेडकरले जसरी परम्परागत कथामा केही थपघट गरेर प्रस्तुत गरेका छन् त्यो न्यायसंगत छैन । यो बुद्धकै शिक्षाको पनि विपरित छ । बुद्धको समय प्राचीन गणतन्त्रहरुको पतन र राजतन्त्रहरुको उदयतिरको हो । त्यसैले उनको बारेमा लेखिएका कथाहरुमा सामन्ती साहित्य लेखनको प्रभाव पर्नु स्वाभाविक हो । सामन्ती साहित्यमा एकातिर आम जनताको जीवनलाई उति वास्ता गरिन्न भने अर्कोतिर राजामहाराजाका सन्तानको स्तुतिमा अतिशयोक्तिपूर्ण घटनाहरु गढिने गरिन्छ । नेपालमै पनि पृथ्वीनारायण शाहको जीवनीमा यस्ता उपकथाहरु जोडिएर आएका छन् । हरेक कुरामा शंका गर्नुपर्ने शिक्षा दिने बुद्धको बारेमा लेख्दा पनि यो कुरा ध्यानमा राख्न जरुरी छ ।

आजपनि समाजमा प्रतिभासम्बन्धी पुरानो मानसिकताको अन्त्य भएको छैन । प्रतिभालाई जात, धर्म, क्षेत्र वा लिङ्ग विशेषको पेवा ठानिन्छ । साधारण जनताका छोराछोरी अगाडि बढेमा अचम्म मानिन्छ । उचित वातावरण र कर्मको बलमा संसार जस्तोसुकै मानिस पनि प्रतिभाशाली बन्न सक्छ ।

अम्बेडकरको पुस्तकबाट माथि उद्धृत विचारले अन्धविश्वास र जातीय भावनालाई प्रतिबिम्बित गर्छन् । बोधिसत्वले अन्तिमपटक जन्म लिँदैछु भन्नुले पुनर्जन्ममा विश्वास गर्ने विचारलाई मलजल गर्छ । जबकि अम्बेडकर स्वयंले बुद्ध परम्परागत अर्थमा पुनर्जन्ममा विश्वास गर्दैनथे पनि पुस्तकमा उल्लेख गरेका छन् । पुनर्जन्मको परम्परागत अर्थले जातीय विभाजन एवं उत्पीडनलाई सही ठह¥याउँछ । त्यस्तै उच्च कुलगोत्रका शिक्षकको उल्लेखले पनि यसै विचारलाई दर्शाएको छ । अम्बेडकरले एक कलेजमा पढाउन जाँदा उनका विद्यार्थीहरुले यहीँ विचारका कारण आफूलाई होच्याएको बिर्सन नहुने थियो । त्यसैगरी बुद्धको जन्मपूर्व देवताहरु प्रसन्न भई बुद्धको नाम लिइरहेको प्रसंग आफैमा हाँस्यास्पद छ । किनभने ती देवताहरु कुन धर्मका देवता थिए ? त्यस समयमा हिन्दु देवता नै हुनुपर्छ । त्यसो हो भने हिन्दु देवताले कसरी आफ्नै धर्ममाथि प्रहार गर्ने बुद्धको जन्ममा खुसी मनाए होलान् ? सोचनीय छ । यसरी बुद्धको बाल्यकाललाई चमात्कारी देखाउँदा अम्बेडकरले अन्यायपूर्ण एवं खोटपूर्ण हिन्दु मानसिकतालाई त्याग्न सकेका छैनन् । यो दुःखद् कुरा हो ।

 
जन्मले नै कसैले महामानवीय गुण बोकेर आएको हुन्न । यो कुरा स्वयं अम्बेडकरको जीवनले पनि पुष्टि गर्छ । उनी महाराष्ट्रको एउटा साधरण गाउँमा एक कथित अछुत परिवारमा जन्मिएका थिए । उनलाई पढाउने उनको बुवाको तीव्र इच्छा र बरोडाका राजा तथा राजकुमारको सहयोग नभएको भए उनको त्यो हदको व्यक्तित्व बन्न सम्भव थिएन । उनले जन्मजात महानता बोकेर आएका थिएनन् । हिन्दु धर्मशास्त्रअनुसार त उनलाई ज्ञानको अधिकारसम्म थिएन । तर अध्ययन एवं चिन्तनले उनी प्रतिभाशाली विद्वान तथा ज्ञानी बने । उनले हिन्दु धर्मले प्रश्रय दिएको वर्णाश्रम व्यवस्थालाई उदाङ्ग्याउन कम्मर कसेर लागिपरे । समाजबाट जातीय छुवाछुत अन्त्य गर्न आफ्नो जीवन समर्पित गरे । सारमा अम्बेडकरको व्यक्ति उनको कुलगोत्र, ईश्वरीय बरदान, भाग्य वा जन्मले नभई उनको आफ्नै मिहिनेत र परिवेशले निर्माण गरेको थियो । संसारमा अधिकांश प्रतिभाशालीहरुको जीवनले पनि यहीँ पुष्टि गर्छ । जन्मले माइकल फाराडे लोहार हुनुपथ्र्यो । आइन्सटाइन बुद्धु हुनुपथ्र्यो ।

 
आजपनि समाजमा प्रतिभासम्बन्धी पुरानो मानसिकताको अन्त्य भएको छैन । प्रतिभालाई जात, धर्म, क्षेत्र वा लिङ्ग विशेषको पेवा ठानिन्छ । साधारण जनताका छोराछोरी अगाडि बढेमा अचम्म मानिन्छ । उचित वातावरण र कर्मको बलमा संसार जस्तोसुकै मानिस पनि प्रतिभाशाली बन्न सक्छ । यसमा शंकै छैन । धम्मपदबाट बुद्धको यसै आशयको वचनसंगै लेखको बिट मार्छु —

न जच्चा वसलो होती, न जच्चा होती ब्राह्मणो ।
कम्मुना वसलो होती, कम्मुना होती ब्राह्मणो ।।

 

अनलाइन मजदुरबाट साभार