लुम्बिनीको पवित्र उद्यान र सुन्दरी प्रतियोगिता

राजेन मानन्धर

एकजना थिए हुयेन साङ जो आज भन्दा १३८० वर्ष अगाडि भगवान बुद्ध त्यस ठाउँमा जन्मेका थिए भन्ने सुनेकै भरमा चीन देखि ७ वर्ष लड्दैपडदै हिँडेर यहाँ लुम्बिनी आए र आफ्नो माथा टेकेर गए । अर्को हामी नेपाली छौं जो त्यस पवित्र उद्यानलाई सुन्दरी प्रतियोगिता गर्ने अखडा बनाउन लागिपरेका छौं । भन्नुस्, बुद्ध कहाँ जन्मेको थियो?

 

 

यहाँ बुद्धभूमिको पवित्र उद्यानको छेउमा दिनहुँ हेरिहँदा भावविभोर बनाउने दृष्यहरु यस्ता हुन्छन् – कोही पानी, चामल, फूल, अत्तर चढाउँछन््, कोही पैतालादेखि निधारसम्म भुँइ छुवाएर दण्डवत गर्दै परिक्रमा गर्छन् । किन नगरुन्? यो भुँइ नै यस्तो छ । यहाँसम्म नआएकाहरुको कुरा छोडौं, आएकाहरुले पनि आफैलाई सोधौं, हामीले के गर्यौं त?

 

 

यो १२२ वर्षमा पनि हामी नेपालीहरुले जतिसुकै बुद्ध नेपालमा जन्मेको भनेर उफ्रेपनि, छिमेकी राष्ट्रमाथि धारेहात लगाएपनि, वा वल्र्ड रेकर्ड बनाएपनि, एउटा साझा, पवित्र, श्रद्धापूर्ण, सम्मानजनक र नीतिगत धारणा बनाउसकेका छैनौं । अहिले पनि हामी सबै अन्धाले हाँती छामेजस्तो गरिरहन्छौं । कसले भन्ने यहाँ के गर्दा ठिक र के गर्दा बेठिक हुन्छ भनेर ?

 

अब अहिलेको प्रसंगमा । करिब छ महिना जति अगाडि लुम्बिनीमा मिस लुम्बिनी भन्ने सुन्दरी प्रतियोगिता भएको रहेछ । त्यसको एक चरणमा आयोजकले लुम्बिनीको पवित्र उद्यानमा ती प्रतियोगी सुन्दरीहरुलाई विभिन्न मुद्रामा नचाएर पुरा गरे । विश्वका बौद्धहरुको आराधनाको केन्द्रविन्दुमा यस्तो किन गर्नुपर्यो, गर्न कसको अनुमति लिएको थियो, कसरी अनुमति दियो, यो कसले देख्यो, कसले कस्तो प्रतिक्रिया जनायो भन्ने अहिलेको प्रश्न रहेन । दुइदिन अगाडि मैले यूट्युबमा लुम्बिनीसम्बन्धी अपलोड गरिएका भिडिओहरु खोज्ने क्रममा ड्रिम्स इभेन्ट एण्ड इन्टरटेन्मेन्टद्वारा डिसेम्बर २, २०१७मा अपलोड गरिएको मिस लुम्बिनी २०७४ को पवित्र उद्यानमा मायादेवी मन्दिरको छेवैमा कोरियोग्राफी गरिएको एक दृष्य देखें जहाँ एक दर्जन जति सुन्दरी प्रतियोगीहरु फोटोसेसन र जामा उचाल्दै नृत्य गरिरहेका थिए । यस्तो इभेन्ट लुकेर छिपेर, अनुमति नलिई गर्न मिल्नै कुरै थिएन । एउटा भिडिओ क्यामेरा लान अनुमति लिनुपर्ने वा दस्तुर तिर्नुपर्ने अनि शरीर, झोला जाँच गर्ने, मेटर डिटेक्टरको सुरक्षाढोका पार गर्नुपर्ने, चौबिसै घण्टा सुरक्षा गार्ड हुने ठाउँमा त्यो छायांकन गरिएको थियो । अझ मैले हेर्दासम्म ८ हजार जनाले उक्त भिडिओ हेरिसकेको थियो, ६९ जनाले मनपराइसकेको थियो । मलाई व्यक्तिगत रुपमा आपत्तिजनक लाग्यो । तत्कालै त्यसको एक स्क्रिनशट सहित यहाँ लुम्बिनीमा यस्तो हुन थालेछ भनेर फेसबुकमा पोस्ट गरें । धेरैले आश्चर्य व्यक्त गरे, खेद व्यक्त गरे र विरोध जनाए । सबैले लुम्बिनी विकास कोषको उत्तरको प्रतीक्षा गरे, जुन स्वभाविक थियो ।

 

 

यस सुन्दरी प्रतियोगिता भन्दा पनि लुम्बिनी विकास कोषको उत्तर बढी अर्थपूर्ण थियो । कोषका प्रमुख सुचना अधिकृत हरि राईले कमेन्ट मार्फत भन्नुभयो, “लुम्बिनीमा कुनै पनि प्रकारको नृत्यलाई अनुमति दिइँदैन, र लुम्बिनी विकास कोषले कहिल्यै यस्तो कृयाकलापलाई अनुमति दिएको छैन । यो कुनै नृत्य प्रतियोगिता होइन । यो सामान्य धार्मिक स्तोत्रपाठ र भक्तिपूर्ण प्रस्तुति होला । कृपया प्रमाण र आधार नलिई दोष लगाउनेबाट टाढा रहनुहोला । लुम्बिनी विकास कोष ।” यसमाथि रश्मिला प्रजापतिले टिप्पणी गरेपछि उहाँले फेरि थप्नु भयो, “के तपाइँ टेबुलमा थुुप्रै फूलहरुका साथ बौद्ध पूजाको तयारी देख्नु हुन्न? के तपाइँ कुनै नृत्य वातावरण र मानिस तथा बाद्ययन्त्रहरु देख्नुहुन्छ? त्यो पवित्र क्षेत्र भनेको २४ घण्टा सिसी क्यामराको सुरक्षामा रहन्छ, तपाइँको जानकारीको लागि । धन्यवाद ।”

 

विकास कोषको यस आधिकारिक जवाफ आइसकेपछि कोषमा धाएर जानकारी लिइरहनु जरुरी भएन । मैत्री भिक्षुले लुम्बिनी विकास कोषमा रेकर्ड छैन भन्नु र कोषले त्यस्तो अनुमति दिइएको छैन भन्नु अनि युट्युबमा घामको उज्यालोमा भड्किलो लुगा लगाएका महिलाहरुले जिउ मर्काई मर्र्र्काई भावभंगिमा सहित त्यस विभिन्न देशका रिम्पोछे, धर्मगुरुहरुले पलेँटी कसेर पूजापाठ गर्ने ठाउँमा नृत्य गरेको दृष्य देखिरहनुको बिचमा तालमेल खोज्नु पर्ने आवश्यकता महशुस गरें ।

 

 

कुरा सुन्दरी प्रतियोगिताकै हुन्छ । म सुन्दरी प्रतियोगिताको विरोधी होइन (कुनैबेला विरोध गर्नेहरुले नै आफ्ना छोरीहरु पठाउन थालेका छन् भन्ने सुनेको पनि यहाँ प्रासंगिक हुन्छ) । वयस्क महिलाहरु आफुखुशी आफ्नो शरीर कहाँ कसरी कति प्रयोग गर्ने वा गराउने भन्ने विषयमा स्वतन्त्र हुन्छन् । फेरि यस्ता प्रतियोगितामा बुद्धीको चयन हुन्छ भनेपनि परिणाम आजसम्म छर्लङ्ग छ, म त्यता जान चाहन्न । कुरा शरीरको । बुद्धधर्ममा शरीर गौण हुन्छ, यो त ध्यानभावना गर्ने र पुण्य कमाउने साधन मात्र हो भन्छन् योगीहरु । त्यसैले त शरीरलाई मासु हाडको थुप्रो अनि कुहिएर जाने देह भनेर याद दिलाइन्छ, अनि सँधै अनित्य अनित्य भनेर सम्झाइन्छ । जतिसुकै सुन्दर शरीर किन नहोस् समय आएपछि नचाउरिएको र अन्तमा खरानी भएर नगएको शरीर कस्को छ ? अनि यस्तै शरीरको नुमाइस, त्यो पनि टाउकोले छोएर श्रद्धा गर्नुपर्ने पवित्र बुद्धभूमिमा ? को कति कहाँ चुक्यो? आज सुन्दरी प्रतियोगिताको शुटिङ हुन सक्छ भने भोलि यहाँ रोमान्टिक फिल्म वा वयस्क फिल्मको पनि शुटिङ नहोला भनेर भन्न सकिन्न ।

 

 

यसबारे यस कार्यक्रममा आयोजकले मेसेज पठाएर सोध्नुभएको थियो – “यो प्रोग्रामले कसरी लुम्बिनीको मर्यादालाई गिराउने काम गरेको छ, कृपया बताउनु सक्नुहुन्छ ?” भनेर । “हामी पनि नेपाली नागरिक नै हौ अनि हामीलाई नि थाहा छ के गर्दा ठिक र के गर्दा बेठिक । हामीले कुनै पनि त्यस्तो काम गरेको छैन जस्ले गर्दा लम्बिनीको नाम बदनाम होस्” भन्ने उहाँको तर्क थियो । व्यक्तिगत आएका मेसेजको जवाफ दिनु आवश्यक ठानिन र मेरो यसका आयोजक सँग कुनै गुनासो पनि छैन ।

 

 

हामी सबैको सरोकार भनेको लुम्बिनी हो र यसको विकास गर्ने जिम्मा लुम्बिनी विकास कोषको हो । तसर्थ प्रश्न पनि त्यतै तेर्सिन्छ । वर्षको छ करोड बजेट ल्याएर बुद्ध जयन्ति मनाउन सक्ने कोषले के पैसै नभएर दस्तुर लिएर त्यहाँ सुन्दरी प्रतियोगिता गराएको थियो र भन्ने प्रश्न पहिलो हो । त्यस पछाडि यदि त्यहाँका अधिकृतले भनेको जस्तो त्यहाँ त्यस्तो कुनै अुनमति दिइएको छैन भने कसरी दिन दहाडै यस्तो कार्य गर्न सम्भव भयो भन्ने दोश्रो प्रश्न ठडिन्छ । अब कोषमा यसको कुनै रेकर्ड नभएको भए यो झन् रहस्यमय बनेको छ अनि सिसि क्यामरामा पनि केही नदेखिएकै हो भने यसमा कोको जिम्मेवार हुनुपर्नेहो सबैले पहिल्यै नाम हाजिर गराए राम्रो ।

 

 

मैले सुन्दरी प्रतियोगिता भनेर लेख्दा समेत कोष त्यो नृत्य प्रतियोगिता होइन, सामान्य धार्मिक स्तोत्रपाठ र भक्तिपूर्ण प्रस्तुति होला भनेर आफ्नो जिम्माभित्रको अतिसंवेदनशील उद्यानमा त्यस्तो अञ्चलव्यापी भएको ग्ल्यामरस प्रतियोगिता भएको बारेमा अनभिज्ञता प्रस्तुत गर्नुलाई पनि सामान्य मान्न सकिन्न । अझ कृपया प्रमाण र आधार नलिई दोष लगाउनेबाट टाढा रहनुहोला भन्ने नम्र चेतावनीलाई के भन्ने ।

 

तीनवटा कुरा — त्यो नृत्य प्रतियोगिता हो कि होइन भन्ने सवाल नै होइन, मैले सुन्दरी प्रतियोगिता भनेको थिएँ, त्यहाँ कोरियोग्राफ गरिएको एक चरणको प्रस्तुति थियो । त्यो अधिकृतले भनेको जस्तो धार्मिक स्तोत्रपाठ र भक्तिपूर्ण प्रस्तुति पक्कै थिएन (सुन्दरी प्रतियोगितालाई अहिलेसम्म धार्मिक प्रस्तुती कतै भनिएको छैन)। धार्मिक कृयाकलाप गर्न नेपालीहरुले नजानेपनि थाइल्याण्ड, बर्मा, क्याम्बोडिया जस्ता देशका महिलाहरु सेतो माथिदेखि तलसम्म छोपिने लुगा लगाएर आउने गरेको कोषका कर्मचारीहरुले देखेकै होलान् । दोश्रो, त्यहाँ के भएको थियो भनेर सिसि क्यामेराले किन देखेन? यदि त्यस्तो निगरानी गर्न नसक्ने (केही महिना अगाडि मात्र मानवअवशेष गाडेको प्रसंगलाई समेत जोडेर भन्दा) सिसि क्यामेराको अर्थ नै पनि के रह्यो र । तेश्रो, यस्तो झकिझकाउ कार्यक्रम भइसक्दा पनि, यसको अफिसियल भिडिओ नै युट्युबमा राखेको छ महिना बितिसक्दा र यसलाई हेर्नेहरु ८ हजार नाघिसक्दा पनि कोषले नभएको, नदेखेको, नथाहापाएको अझ आधारहिन आरोप लगाएको जस्तो वक्तव्य आउनु दुखद हो ।

 

 

अब लुम्बिनी विकासको पालो हो — कि यो सबै कपोलकल्पित हो, त्यस्तो कार्यक्रम त्यहाँ भएकै छैन भन्नु पर्यो, कि यस्तो गर्न, गराउन कोषको ऐन नियमले दिन्छ त्यसैले नियम दस्तुर लिएर गराएको भन्नु पर्यो, कि लुकेर छिपेर गरेको हो भन्नुपर्यो, कि भ्रष्टाचार भएको थियो, हामी मध्ये कतिले गल्ती गरेका थियौं भनेर स्वीकार गर्नुपर्यो ।

 

 

अन्तमा, कोषले अब यसउप्रान्त समस्त नेपालीहरुले बुद्ध नेपालमा जन्मेको भनेर गर्व गर्ने ठाउँ, विश्वका करोडौं बौद्धहरुको आस्थाको धरोहर, अनि सरकारले ने विश्वशान्तिको मुहान भनेर प्रचार गरिएको पवित्र बुद्धजन्मभूमिमा यस्तो अवांछनीय कृयाकलाप हुनेछैन, गराइने छैन भनेर जनतालाई विश्वस्त गराइनुको विकल्प छैन ।

 

ज्ञडण्टद्दण्