विश्वमा बुद्धधर्मको बिस्तार

प्रस्तुतकर्ता– शाक्य सुरेन 

विश्वमा बुद्धधर्म – एक विहंगम दृष्टि (३)

नेपाल
बौद्धधर्मका संस्थापक शाक्यमुनिको आफ्नो जन्मस्थान, आफ्नो घरको नाताले नेपाल सरकारको बौद्ध देशहरुमा अद्धितीय स्थान छ । कपिलबस्तुमा शाक्य राजा सुद्धोधनका पुत्र सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५४४ मा लुम्बिनीमा भएको थियो । लुम्बिनी बगैंचा कपिलबस्तुबाट २४ कि.मि. टाढा पर्दछ । सिद्धार्थ बुद्ध बनेर धर्म प्रवर्तन पछि कपिलबस्तुमा फर्के, त्यतिखेर आफ्नो छोरा राहुललाई पनि शिष्य बनाए । राजा अशोकको पालामा लुम्बिनीमा यात्रा गरी बुद्धजन्मस्थल चिन्ह स्वरुप अशोकस्तम्भ राखे । अशोककी छोरी चारुमती काठमाण्डौ (तत्कालीन नेपाल मण्डल) को किराँती राजा जीतेदस्तीको छोरासंग बिवाह गरिदिए । त्यतिखेर अशोकले नेपाल मण्डलमा थुप्रै मठ मन्दिरहरु बनाउन लगाए, जुन अझ पनि सुरक्षित छन् । भनिन्छ कपिलबस्तुका शाक्यहरुलाई बिडूडभले रक्तपातपूर्ण दमन गर्दा शाक्य र कोलीयहरु काठमाण्डौ आएका थिए । इस्बी सन्को पहिलो शताब्दीताका मूलसर्वास्तिवाद निकायका भिक्षुहरुको लागि हिंड्दा जुत्ता लगाउन नहुने नियम लागू गरिएको थियो, यहाँ हिउँ लाग्ने चीसो जलबायुको कारण पछि जुत्ता लगाउन पाउने गरी नियम संशोधन गरिएको थियो । ईशाको चौंथो शताब्दीतिर आचार्य बसुबन्धु धर्मप्रचारको लागि नेपाल–यात्रा गरेका थिए ।

 
लिच्छबीहरुको शासनकालमा काठमाण्डौमा बुद्धधर्मको राम्रोसंग उत्थान भएको थियो । यहीबेला राजा अंशुवर्माले आफ्ना छोरी भृकृटी बुद्धधर्म प्रचारार्थ तिब्बतका राजा श्रङचङ्गगम्पोसंग बिहे गरिदिए । यही बेलाको मानदेव गृह इतिहासको गर्भको एउटा कौतुहल बिषय बनेको छ । मुसलमानहरुले बंगालमा आक्रमण गरेपछि बौद्ध भिक्षुहरुले मूल्यवान हस्त लिखित गन्थहरुसहित नेपालमा सुरक्षाको लागि शरण लिए ।
नेपालको बुद्धधर्ममा दीपंकरबुद्ध र स्वयम्भूको ठूलो स्थान छ । बिपश्वी बुद्धले बीजारोपण गरी उत्पत्ति भएको स्वयम्भू ज्योतिरुप आदिबुद्ध हो । विपश्वी पछि शिखी कनकमुनि, कश्यप बुद्ध पनि नेपालमा आएको बिश्वास छ । नेपालको बुद्धधर्ममा महायानी बज्रयानी धर्म हिन्दूधर्मसंग समन्वय भएर हुर्केको देखिन्छ । यहा“को बुद्धधर्म अरु ठाउँको बज्रयानी धर्मभन्दा फरक भएकोले बिदेशी लेखकहरु यसलाई “नेवार बुद्धिज्म” भन्ने गर्दछन्, जसमा पंचमकार (मद्य,मांस,स्त्री ….) होमको प्रयोग हुन्छ । गुह्य आगम, चक्रसंवर, नवग्रन्थको स्थान यस धर्ममा छ । राजा भीम मल्लको पालामा ८ जना कालिगढको समूहसहित कलाकर अरनिको चीनमा गएका थिए ।

 

 

पहाडी भेकमा शेर्पा, लामा, गुरुङ्ग, तामाङ्गहरुको समुदायमा तिब्बतसंग मिल्दोजुल्दो महायानी बुद्धधर्म छन् । यिनीहरु निंगमा, कग्र्युद्, सक्य्, गेलुग्, बोन सम्प्रदायका छन् । यिनीहरुको मन्दिरलाई गुम्बा र चैत्यलाई माने (मणि) भनिन्छ । यिनीहरुको गुम्बामा अति कलापूर्ण चित्र अंकित हुन्छ । यिनीहरुको मर्दा÷पर्दाको संस्कार ज्यादै खर्चिलो र भब्य हुन्छ । यिनीहरु आफ्ना पूर्खालाई पनि देवताको रुपमा मान्ने चलन छ । नेपालमा गुम्बा समितिमा दर्ता भएका मात्र १३३३ वटा गुम्बाहरु छन् । यसमध्येमा धेरै गुम्बाहरु भएको जिल्लामा काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ, काठमाण्डौं, ललितपुर, सोलोखुम्बु, ओखलढु“गा, गोरखा, लम्जुङ, डोल्पा आदि पर्दछ । कर्णाली भेकका खस, क्षेत्रीहरु पनि एक समय महायानी बौद्ध थिए, पछि हिन्दू धर्ममा परिवर्तन भए । मगर समाज र थारु समाज पनि आफ्नो पुर्खौली धर्म बुद्धधर्ममा फर्कन जागरण अभियानमा लागिरहेका छन् ।

 

 

नेपालमा पुनर्जागरणकालको कुरा गर्दा सन् १८९५ मा डा. फुहररले लुम्बिनीको अशोक स्तम्भ पत्ता लगाए । बि.सं. १९८१ मा खामबाट क्यान्छे लामा काठमाण्डौ आउँदा बुद्धधर्मको नयाँ लहर आए । राणाहरुलाई बुद्धधर्म सह्य थिएन । भिक्षु महाप्रज्ञाले केरुङ्गबाट क्रान्तिको सूत्रपात गरिसकेको थियो । नेपालमा भिक्षु बन्ने लहरलाई रोक्न महायानी भिक्षुहरु महाप्रज्ञा, महाचन्द्र, महाज्ञान, महावीर्य र महाक्षान्तिलाई देशबाट निस्कासित गरे । धर्मादित्य धर्माचार्यले भारतमा बसी बुद्धधर्म, हिमालयन बौद्ध र “बुद्धधर्म व नेपालभाषा” नामको पत्रिका निकाले । २००० सालमा आठजना भिक्षु÷श्रामणेरहरु १) भिक्षु प्रज्ञानन्द २) भिक्षु धर्मालोक ३) भिक्षु सुबोधानन्द ४) भिक्षु प्रज्ञारश्मी ५) श्रामणेर प्रज्ञारस ६) श्रामणेर रत्नज्योति ७) श्रामणेर अग्गधम्म र ८) श्रामणेर कुमारकाश्यपलाई देश निकाला गरे । सन् १०४४ मा धर्मोदयको स्थापना भयो । सन् १९४६ मा भिक्षु अमृतानन्दको प्रयत्नमा लंकाका भिक्षु नारद महास्थविरको नेतृत्वमा भिक्षु प्रियदर्शी, डा. रत्नसूर्य, प्रो. आर्यपालको शिष्ट मण्डल नेपाल आए, जस्को कारण प्रधानमंत्री पद्म संम्शेरले “आ–आफ्नो धर्म आ–आफुले पालन गर्नु” हुकुम भए । यहाँ जुद्ध सम्शेरको पालामा सरकारको अधीनमा रहेका सम्पूर्ण बौद्ध ग्रन्थहरु सतकमा फालिदिएको कुरा बिर्सन सकिन्न ।

 

 

२००८ साल कार्तिक २० गते भगवान बुद्धका अग्रश्रावक सारीपुत्र र मौद्गल्यायनका अस्तिधातु यात्रा काठमाण्डौमा भब्यताका साथ गरे । सन् १९५६मा राजा महेन्द्रको पालामा “धर्मोदय सभा”को आयोजनामा नेपालमा चतुर्थ बिश्व बौद्ध सम्मेलन र सन् १९८६ मा पन्ध्रौं बिश्व बौद्ध सम्मेलन सम्पन्न भए ।

 

 

भारत
आजको बिशाल भारत बुद्धकालीन समयमा साना साना देशहरुमा बिभाजित थिए । बुद्धको जन्मस्थल लुम्बिनी कपिलबस्तु गणतन्त्र, कोलीय गणतन्त्रको सामुहिक अधीनमा रहेको वन थियो । बोधिज्ञान प्राप्त गरेको मगध छुट्टै साम्राज्य थियो । धर्मचक्र प्रवर्तन गरेको स्थान सारनाथ एउटा स्वतन्त्र देश थियो, पछि मगधको अधीनमा बाराणसी हुन गयो । बुद्धको महापरिनिर्वाण मल्ल गणराज्यको कुशीनगरमा भएको थियो । बुद्धको महापरिनिर्वाण पछि कपिलबस्तु पनि कुनै बेला कोशलमा गाभिई ठूलो भएको थियो भने कुनैबेला हिमवन्त प्रदेश नेपालमा गाभिएको थियो । बर्तमान अवस्थामा सुद्धोदन महाराजको दरबार भएको कपिलबस्तु (तिलौराकोट) नेपाल सिमानाभित्र पर्दछ भने केही भाग भारतमा पर्दछ । त्यसै कारण कपिलबस्तु भारतमा हो कि नेपालमा भनी यदाकदा बिवाद भैरहन्छ ।

भगवान बुद्धको परिनिर्वाण पछि पहिलो र दोश्रो शताब्दीसम्म अन्य संन्यास धर्मभन्दा छुट्टै राख्न सकिने अबस्था थिएन । मौर्यकालमा यो महत्वपूर्ण धर्मको रुपमा अघि बढ्यो । आरम्भमा मगध र कोशलसम्म मात्र थियो, दोश्रो संगायनामा वान्थेय अवंती, कौशाम्बी, संकाश्य र कन्नौजदेखि सहभागी बोलाइयो र मथुरा बौद्धहरुको केन्द्र हुन गयो ।

यो कालखण्डमा बुद्धधर्म स्थीर थिएन । एकातिर बुद्धधर्म क्रमिक बिकासतिर लम्कनु, अर्कोतिर भौगोलिक कारणले बिभिन्न मतमतान्तरबिच आपसी घुलमिलमा कमी हुनुको कारण स्थानिक प्रभावमा आ–आफ्नो स्वरुप लिन थालेको थियो ।

थुंगकालदेखि भारतमा बुद्धधर्मले राज आश्रय पाउन छोड्यो । पुस्यमित्र थुंगले बुद्धधर्मलाई लखेट्न थाले । तर जनताको अगाध प्रेमको कारण मुर्झाउन पाएन । भरहूत–स्तूप, कार्लेका गुफाहरु, सांचीको स्तूप थुंग–कण्व कालकै हुन । यतिखेर बुद्धधर्म जनसाधारणको त भयो, तर मूर्ति–पूजा झैं उपासना–तत्वले प्रश्रय पाउन थाल्यो ।
यो समयमा उत्तरमा ग्रिकहरुले बुद्धधर्म अपनाए । मिलिन्द राजा बुद्धधर्मको प्रचारक थियो । भारतमा ग्रिकहरुले बौद्धकलाको एउटा नया शैली नै प्रचलनमा ल्याएको थियो ।

अशोकको राज्यकालमा बुद्धधर्म भारतमा यति तीब्रगतिले बिस्तार हुदै गयो कि भौगोलिक कारणले गर्दा १८ पन्थ बन्न गयो । महासांघिकहरुले ८ वटा बिभिन्न निकायहरु चलाए । यसमा एक ब्यबहारिक, लोकोत्तरवाद, अपरशैल र उत्तरशैल प्रमुख थियो । स्थविरवाद पनि सर्वास्तिवाद र मूलसर्वास्तिवादमा बिभाजित भए । यो निकाय पछि दक्षिणतिर फैलिए । उत्तरमा महासाधिकले जडा गाड््यो, उनीहरु आफूलाई महाकाश्यपले चलाएको धर्म भनी मान्दथे । स्थविरवाद थुंगकालदेखि कुषाणकालसम्म (३०० ईसापूर्वदेखि २०० ईस्बी) सम्म फलफुले ।

कनिष्कको राज्यकाल बुद्धधर्मको इतिहासमा एउटा महत्वपूर्ण घटना हो । यही कालमा यूनानी बौद्धकला शाखा बिकसित भयो । बौद्ध भिक्षुहरुले बुद्धधर्मलाई मध्य एशिया र चीनसम्म पुयाए । महायानको बिकास यही समयमा भएको थियो ।

गुप्तवंशको समयमा बुद्धधर्मलाई एउटा नया प्रेरणा मिलेको थियो । मथुरा, सारनाथ, नालंदा, अजंता, बाघ र धान्यकटकमा पाईने बौद्धकलाका अवशेषहरु यही कालका हुन् । फाहियान चन्द्रगुप्तको राज्यकालमा भारतमा आएको थियो । उद्दियन, गंधार, मथुरा, कन्नौज, कौशल, मगधमा बुद्धधर्मको समृद्धपन यही बेला भएको थियो । नालंदा बिश्वबिद्यालयको स्थापना पनि राजाको आश्रयबाट संभव भएको थियो ।

सातांै सदीको मध्यमा बुद्धधर्म भारतमा उत्कर्षमा पुगेको थियो भने पतनको शुरुवात पनि भैसकेको थियो । सम्राट हर्षबर्धनले आफ्नो राज्यकालको अन्तिम दिनमा महायान बुद्धधर्म स्वीकारेको थियो । हर्षबर्धनको राज्यकाल पछि एउटा यस्तो अराजक अवस्था आयो जुन बुद्धधर्मजस्तोको लागि अनुकूल थिएन । आठौं सदीको अन्ततिर चौरासी सिद्धहरुको क्रम शुरु भयो । यही बुद्धधर्मको हिसाबले अन्तिम अबस्थाको चरम रुप हो । यही बेला तन्त्र, मन्त्र, धारणी र सुरासुन्दरी बुद्धधर्ममा प्रवेश गरे । तेहौ शताब्दीमा तुर्किसहरुको प्रहारले भारतबाट बुद्धको नाउमा रहेको धर्म लुप्त प्रायः भयो ।

 

एशियाई स्वतन्त्र संग्रामको नयाँ जागरणसंगै भारतमा बुद्धधर्म पुनजागरण फेरि शुरु भयो । अनागारिक धर्मपालको सक्रियतामा ईस्वी सन् १८९१मा “महाबोधिसभा” स्थापना भई “महाबोधि” अंग्रेजीमा प्रकाशन भयो । भिक्षु धम्मानन्द कौशाम्बी, बोधानन्द महास्थविरहरु उदय भए । ऊ. चन्द्रमणि महास्थविर बर्माबाट भारतमा आए । राहुल सांकृत्यायन, जगदीश काश्यप र भदन्त आनन्द कौशल्यायनहरुले ठूलो योगदान पु¥याए । यसरी नै डा. भिमराव अम्बेडकरको नेतृत्व भारतको इतिहासमा नमेटिने गरी अंकित छ ।

क्रमशः

लेखक हाल यशाेधरा बाैद्ध विद्यालयको संचालक समितिकाे अध्यक्ष हुनुहुन्छ