लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन : एक समीक्षा

राजमाया पुतवार
सरकारलाई लुम्बिनीमा बुद्ध जयन्ती मनाउनु थियो मनायो । हामी बुद्ध धर्मावलम्बी पनि भएको नाताले लुम्बिनीप्रति विशेष श्रद्धा छ, गइरहन्छौं तीर्थ सम्झेर । यसमा पनि बुद्धले जन्म लिएको, बोधीज्ञान प्राप्त गरेको अनि महानिर्वाण पाएको शुभसंयोगको दिन बैशाख पुर्णिमाको दिन नै लुम्बिनीमा पाइला टेकेर भगवान बुद्धका ज्ञानलाई सम्झेर केही क्षण मौन बस्नु अनि विश्वमा आएर आफ्नो ज्ञान कुनै जाति, वर्ण, राष्ट्रलाई मात्र नभएर असिमित मानिसहरुका लागि सिकाएर गएको भनेर सम्झनु पनि हाम्रो लागि गौरवको कुुरा हो । यस वर्ष पनि समय मिलाएर हामी तीन दिनकाे लागि लुम्बिनी पुग्यौं ।

 

हुन त हामी पुण्य कमाउन गएका थियौं । त्यसमा त कसैले बाधा गरेन । हामी खुशी नै छौं । तर लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदै गर्दा त्यहाँको सरकारी समारोहमा भाग लिइरहँदा बटुलेका केही अनुभवहरुलाई यहाँहरु समक्ष राख्नु श्रेयष्कर सम्झन्छु ।

१. सम्मेलन
यो वर्ष पनि लुम्बिनीमा बुद्ध जयन्ती पारेर अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलन भन्नाले देश र विदेशमा विभिन्न विद्वानहरुले आफुले बुद्धधर्मको बारेमा गरेका अनुसन्धानको आधारमा तयार पारेका कार्यपत्रहरु प्रस्तुत गर्ने, टिप्पणीकारले टिप्पणी गर्ने तथा अन्य सहभागीहरुले प्रश्न गरेर अन्तरक्रिया गर्नुपर्ने थियो । हामी जसैतसै कार्यक्रम स्थल चीनियाँ मन्दिरमा पुग्दा हामीलाई भित्र जान दिइएन । मन्त्री आउने भएकोले सुरक्षाको लागि भनेर हामी बौद्धहरुलाई बौद्ध मन्दिरमा प्रवेश निषेध गर्यो । हामी त हामी अन्य लामा गुरुहरु तथा बौद्ध विद्वानहरु समेत भित्र जान नपाएर बाहिर घाममा डढिएर बसेका थिए ।

बाहिर सुरक्षा कर्मीको कडा चेक जाँच थियो, भित्र मात्र पास बाँडिरको थियो । कस्तो अचम्म । भित्र जान नपाइने भएपनि भित्र गएर पास लिने कसरी ? मान्छेहरु हुलमुल गर्दै सरकारले बनाएको नियम बमोजिम पास पास गर्दै भित्र गइरहेका थिए । यहाँ सम्म कि यस सम्मेलनको जिम्मा लिएका लुम्बिनी बौद्ध विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरु समेत भित्र जान पाइएन भनेर गुनासो गरिरहेका थिए । पछि उनीहरु सबैलाई पर्यवेक्षकको पास उपलब्ध गराइयो ।

मन्त्री आउने भएपछि धार्मिक कार्यक्रम होस् कि प्राविधिक कार्यक्रम होस् कार्यकर्ताको चुरीफुरी हेर्न मात्र ठिक्क हुन्छ नेपालमा । यस प्रकारका मानिसहरु जो कहिल्यै बौद्ध कार्यक्रममा तथा शैक्षिक वा प्राज्ञिक कार्यक्रमहरुमा भेटिँदैनन्, उनीहरुको त्यहाँ बोलाबाला थियो ।

भित्र छिर्ने बितिक्कै पहिलो गाँसमा ढुंगा भनेजस्तो भयो । त्यहाँ आयोजकहरुले सबैलाई धाकाको गलबन्दी बाँडिरहेको थियो । हामीलाई थाहा छ, प्रधानमन्त्रीलाई बौद्धहरुको पवित्र सम्मानजनक साँस्कृतिक वस्तु खादादेखि एलर्जी छ । त्यसो हो भने केही नदिँदा पनि हुन्थ्यो नि, यहाँ प्रधानमन्त्रीको राजीखुशीले बाहेक मानिसले आफ्नो धर्म पनि मान्न पाइँदैन भने । अझ म त भन्छु, आफुलाई मन नपर्ने संस्कार बोेकेका बौद्धहरुको माझमा प्रधानमन्त्रीलाई आउनुपर्ने नै किन? प्रधानमन्त्रीको अर्को काम हुँदैन?

केही साथीहरुले तत्कालै फेसबुकबाट असन्तुष्टी जाहेर गरिहाले । तर बुद्धधर्म विरोधी सरकारलाई जनताको असन्तुष्टीले केही फरक पार्ने भए पो ।

त्यहाँ मुख्य आयोजक बनेको लुम्बिनी विकास कोष तथा सम्मलेलनको व्यवस्था गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयको बिच समन्वयको अभाव तड्कारै देखिन्थ्यो । मानौं त्यो कुनै बौद्धिक वा प्राज्ञिक कार्यक्रम थिएन, राजनीतिक भेला मात्र थियो । कार्यकर्ताहरुले पास पाए, झोला पाए, गलबन्दी पाए । अनि अन्य बौद्धहरुलाई अटेर गरेर ठाउँ ओगट्ने मौका पनि पाए ।

राजनीतिक भाषण भइरहेको बेलामा हलमा मानिसहरु खचाखच थियो । कुरा बुझेर वा नबुझेरै पनि तिनीहरु नेताका भाषणैपिच्छे ताली बजाइरहेका थिए । भाषण गर्न को जान्दैन यो देशमा । भाषण गर्नेले भने जति गरेको भए देश उहिल्यै कोरिया भइसक्यो । अनि बोल्नेले पनि कति बोल्ने । बौद्धहरुको सम्मेलनमा आउन पाए भने नेपालका सबै नेताहरु बौद्ध विद्वान हुन्छ यहाँ ।

अनि उद्घाटन सत्र सकिनासाथ सहभागी मध्ये तीन चौथाइ मन्त्रीहरुका पछि पछि हल छोडे । मानौं उनीहरुलाई त्यो बौद्धिक सम्मेलन हो र त्यहाँ देश विदेशबाट आएका विद्वानहरुले कार्यपत्र पस्तुत गर्दैछन् गहन छलफल हुँदैछ भन्ने कुनै मतलब छैन ।

२‍ शिलान्यास :

दाश्रो दिन बिहानै स्याल्फा रिम्पोछेज्यूको ध्यानकेन्द्रको शिलान्यास थियो । दौडेर गएँ । त्यहाँ सस्कृति मन्त्री रवीन्द्र अधिकारी आउनुपर्ने थियो । ढिलै भएपनि आए, शुभकार्यमा हात हाले । तर सबैलाई अचम्भित र आक्रोशित हुने गरी उनले आफुलाई चढाएको खादालाई पटुकाजस्तो कम्मर मुनि बाँधे । यो कस्तो सभ्यता? कस्तो नैतिकता ? थाहा छ, उनी हिन्दू हुन् र यो जन्ममा बौद्ध बन्ने कोशिस गर्ने पनि छैन तर बौद्धहरुले बोलाएको कार्यक्रममा आएर सबैको मानलाई अपमान हुने गरी उनीहरुको साँस्कृतिक वस्तुको यसरी अवहेलना गर्ने अधिकार कसैलाई पनि छैन । जहाँ संस्कृति मन्त्री नै जनताको संस्कृतिको सार्वजनिक अपमान गर्दै हिँड्छ उसले कस्तो संस्कृतिको रक्षा गर्ला?

३ समापन :

सेमिनारको समापन स्थलमा पनि त्यही सुरक्षा जाँचको झमेला थियो । प्रत्येक सहभागीहरुको शरीर तथा झोलाको मिहिन जाँच हुँदै थियो । अरु धार्मिक कार्यक्रममा जाँच नचाहिने, अनि मन्त्री आउने बेलामा मात्र सबै जाँच चाहिने । जनता मात्र हुने भए कुनै जाँच हुन्थ्यो त्यहाँ? अनि यदि हाम्रा मन्त्रीहरु बौद्ध मार्गीहरुदेखि डराउँछन् भने किन यस्तो भिडमा आउँछन्?

यस्तो तामझाममा विदेशी पाहुनाहरुको आमन्त्रण गरिएको कार्यक्रममा पनि प्रधानमन्त्री दुई घण्टा ढिलो आउनु सामान्य थियो । अनि प्रधानमन्त्रीले बोल्दा बोल्दै झण्डै दश मिनेट विद्युत आपूर्ति नभएर बोल्नु नपाउनु पनि आयोजकको लागि सामान्य नै थियो । प्रधानमन्त्रीले बोल्न पाएदेखि के । कुन विद्वानले लेखिदिएको भाषण होला सारा बौद्ध दर्शन नै बिछाइदिए । सबैलाई थाहा छ हाम्रो देशको प्रधानमन्त्रीले कति पढेको छ अनि उनलाई बुद्ध धर्म र दर्शनको बारेमा कति ज्ञान छ भनेर । तैपनि उनलाई सबैको अगाडि अरुले लेखिदिएको ज्ञानगुणका कुरा छाँटेर तमाशा हुन किन मनलागेको होला भनेर म गुनगुनाइरहें । भासन सकिएपछि प्रधान मन्त्री हिँडे भने उनी सँगै उनकै चाकरीमा आएकाहरुको भिड पनि छाँया जस्तै सँगसँगै हिँडे । यो राजनीतिक कार्यक्रमलाई बौद्ध धार्मिक कार्यक्रमको खोल किन ओढाइयो भन्ने मात्र मेरो प्रश्न हो ।

बौद्ध सम्मेलन नेपालकै प्रतिष्ठा हुनुपर्ने थियो विदेशी बौद्ध विद्वानहरुका माझ । तर त्यहाँ नेपाल सरकार र नेपाली जनताले देखाएको व्यवहार र कार्यशैलीले नेपालमा बौद्ध र बौद्धिक गतिविधि हुनु लज्जाको विषय हो भनेर मात्र प्रष्ट्याएको महशुस भयो । हुन त दुई वर्ष अगाडि गरिएको सम्मेलन पनि यस्तै भएको थियो भनेर सुनेको थिएँ । हामी नेपालीहरु आफैले गरेको गल्तीबाट सिक्न सक्दैनौं कि जस्तो लाग्छ । तैपनि यस्तो गल्ती कमजोरी हामीबाट नहोस् नेपाली जनतालाई लज्जित हुने काम कसैबाट नहोस् भन्ने कामना गर्दछु ।