सिद्धार्थले त्यागेको कपिलवस्तु दरवारको ढोकाको अवशेष

राजेन मानन्धर

नेपालको तराई क्षेत्रको पश्चिमी भागमा अवस्थित र अहिलेको सीमांकान अनुसार प्रदेश नं ५मा परेको कपिलवस्तु जिल्ला नेपालकै धेरै पुरातात्विक अवशेषहरुको दृष्टिमा धनी जिल्ला हो । नेपालमा प्राचीन कालमा मानव सभ्यता मौलाएका केही विशिष्ट जिल्लाहरु मध्ये यो पनि एक हो भन्दा यहाँका बासिन्दाहरु गौरवान्वित हुनुपर्दछ ।

यस जिल्लामा अवस्थित केही प्रमुख पुरातात्विक सम्पदा क्षेत्रहरु यस प्रकार छन् ः तिलौराकोट, कुदान, निगलिहवा, सगरहवा, गोटिहवा, दोहनी, पिपरी, सिँहखोर, हरदेवा, बभनीकोट, बिजुवा, धमनीहवा जोडी स्तुप, अरौँराकोट, सिसहनिया, लोहसोडिया, औरहिया आदि । यी स्थलहरुमा कुनै पनि कम महत्वपूर्ण स्थलहरु होइनन् तर त्यसका महत्वसम्म पनि उजागर गर्ने जमर्को गरिनसकेकोले यो लेख यहाँ भएका सयौं पुरातात्विक सम्पदा क्षेत्रमध्ये एक तिलौराकोटमा हाल भइरहेको उत्खनन् तथा यसबाट देखिन थालेका सुखद परिणामहरुमा यो लेख केन्द्रित छ ।
बुद्ध नेपालमा जन्मेका हुन् — यसमा हामीलाई खुशी र गर्व छ । तर बुद्ध जन्मेको लुम्बिनीको हविगत हामी मध्ये धेरैलाई थाहै छैन । लुम्बिनी बगैंचा त राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग र सद्भावको कारणले केही विकास भएको छ तर लुम्बिनी जस्तै बुद्धको जन्म र जीवनसँग सम्बन्धित त्यतिकै महत्वपूर्ण र ऐतिहासिक स्थलहरुको भने विकास त परै जाओस् पहिचान पनि सही ढंगबाट हुन सकिरहेको छैन ।

अब लुम्बिनी बगैंचाको मात्र होइन वृहत लुम्बिनी क्षेत्रको नै विकास गरौं भन्ने योजनाहरु आइरहेका छन् । तर ती योजना, नारा वा सपनाले दशकौं पार गरिसक्दा पनि यथार्थमा भने तिनले मूर्त रुप पाउने सम्भावना पनि बोकिसकेका हुँदैनन् ।
बुद्धको जीवनमा उहाँको जन्म जतिकै अर्को महत्वपूर्ण पाइला भनेको उहाँको महाभिनिष्क्रमण हो, अर्थात् २९ वर्षसम्म दरवारको वैभव, राजा सुद्धोदनले आफ्नो लागि दिएको विलासी जीवन, चक्रवर्ती राजा हुने सम्भावना, अनि श्रीमति तथा छोराको जन्मसँगै जागृत हुनुपर्ने तृष्णालाई समेत चटक्क छोडेर राजदरवार नै त्यागेर सन्यासी भई ज्ञानको खोजीमा लाग्नु । यदि उहाँले यी सबै सुख सयल छोडेर ज्ञानको खोजी नगर्नुभएको भए लुम्बिनीमा जन्मेकै कारणले मात्र पनि आज हामी उहाँलाई बुद्ध भनेर श्रद्धा र आदर गर्ने थिएनौं । यो तथ्यलाई आत्मसात् गर्न सकेमा मात्र हामी कपिलवस्तु र त्यहाँको दरवारको, अझ विशेष गरेर पूर्वी ढोकाको गरिमा बुझ्न सक्छौं ।

पहिले पहिले बुद्धको जन्म लुम्बिनीमा जन्मेको थियो भन्ने प्रसंग विभिन्न धर्मग्रन्थहरुमा पढिन्थ्यो, तर यो यस क्षेत्रमा पर्दछ भन्ने आँकलनसम्म मात्र पनि बुद्धधर्मका अनुयायीहरुलाई थिएन । तर पनि संसारभरीका मानिसमा भगवान बुद्धप्रति श्रद्धा अगाध नै थियो । अब बुद्धको जन्म भएको लुम्बिनी यही हो भनेर प्रमाणित भएको पनि १२० वर्ष भइसक्यो । त्यसबेलादेखि यहाँ वा यस क्षेत्रको वरिपरी अनवरत रुपमा नै कसैनकसैले कतैनकतै उत्खनन् र अनुसन्धान गरिरहेको छ । कसले के पत्ता लगाए, कस्तो प्रतिवेदन दिए भन्ने हिसाबकिताब समेत नभएको जस्तो भइसक्यो । यस्तो अवस्थामा पनि अब यस क्षेत्रमा कतै कुनै ट्रेन्च बनाई उत्खनन् गरी यहाँको त्यो गौरवमय इतिहासमा केही पन्नाहरु थप्न पाउँला भनेर अध्ययन अनुसन्धान गर्ने काम विश्वकै केही सिद्धहस्त पुरातत्वविद्हरुले छोडेका छैनन् । यसअर्थमा हामीले भन्दा पनि उनीहरुले हाम्रो भनी हामीले गर्व गर्दै आएको लुम्बिनी क्षेत्रको महत्व बुझेको छ भन्दा अत्युक्ति नहोला ।

अब कपिलवस्तु अथवा आजभोलिको तिलौराकोटको पुरातत्विक अनुसन्धानको बारेमा केही कुरा गरौं । यसलाई प्राचीन कालको शाक्यहरुको राज्य कपिलवस्तुको राजधानीको रुपमा चिनिन्छ । एघारौं वा बाह्रौं शताब्दी इशापूर्वमा बसिसकेको देखिएको राज्यमा कुनै बेला अस्सीहजार बासिन्दा थिए भनिन्छ । प्राचीन ग्रन्थहरुमा पनि धेरै ठाउँमा यसको उल्लेख उन्नत, विकसित र सुन्दर नगर भनेर गरिएको पाइन्छ ।

सन् १८९८मा भारतका पुरातत्वविद् डा. पिसि मुखर्जीले अहिले तिलौराकोट भनेर चिनिने स्थल नै बुद्धकालको शुद्धोधन महाराजाको राज्य कपिलवस्तु हो भनी देखाएका थिए । यस अर्थमा लुम्बिनी पत्ता लगाएको थोरै समय पछि नै कपिलवस्तु पनि पत्ता लाग्यो । बुद्धको जन्म महत्वपूर्ण हो भने सिद्धार्थले २९ वर्षसम्म हुर्केको सम्पूर्ण ज्ञान आर्जन गरेको, जीवनलाई बुझेको र आफुलाई भविष्यमा बुद्धको रुपमा स्थापित पार्न आधार बनाएको यस कपिलवस्तुको दरवार पनि त्यतिकै महत्वपूर्ण हुनुपर्ने थियो । अनुसन्धान नभएको भनुं भने सन् १९६२मा देवारा मित्राले यहाँ अनुसन्धान गरिन् । त्यस्तै सन् १९६७ देखि नै पुरातत्व विभागकै सक्रियातामा यहाँ प्रोफेसर नकामुरा, तारानन्द मिश्र तथा बाबुकृष्ण रिजाल अलगायतका पुरातत्वविद्हरुले काम नगरेको पनि होइन ।

सय वर्ष अघि डा. पिसि मुखर्जीले उनको बुद्धि व प्रविधिले जति गर्न सक्यो त्यो आज पनि प्रशंसनीय भइरहेको छ । तर यस बिच १९६२मा मात्र अर्की भारतीय पुरातत्वविद् देवाला मित्राले यसै ठाउँमा उत्खनन् गरी यहाँ केही पुराना पुरातात्विक वस्तुहरु देखाएर यो प्राचीन वस्ती होइन भनी विवादास्पद प्रतिवेदन दिइन् । यसबाट धेरै पुरातत्वविद्हरु निराश भए तर त्यसको आधिकारिकता कसैले खोजेन, प्रतिरोध गरेन । अथवा उक्त गलत प्रतिवेदनलाई नेपालका पुरातत्वविद्हरुले एक किसिमबाट स्वीकार नै गरे ।

यसैबिच हालै धेरैपल्ट ठुलो योजनाका साथ अत्याधुनिक प्रविधि प्रयोग गरेर उत्खनन गर्नुपर्यो भन्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल सरकारलाई सुझाव, अझ दबाव नै पनि नदिएको होइन । तर कुरा र काममा भने तालमेल मिल्न दशकौं लाग्दो रहेछ । आखिरमा सबै कुरा मिलिसकेपछिको यस अन्तर्राष्ट्रिय स्तरको उत्खननले यहाँ राजकुमार सिद्धार्थले सम्बोधि ज्ञान प्राप्त गर्नको लागि कपिलवस्तु राजदरवार छोडेको अथवा महाभिनिष्क्रमण गरेको पूर्वी ढोकाका अवशेषहरु भेटिएको संकेत देखिन थालेका छन् । धेरै वर्षको उत्खनन्पछि एक सुखद परिणाम आउन थालेको छ । बादलले ढाकेको इतिहास खुलेर घाम लाग्ने संकेत आएको अवस्था छ ।

पुरातत्व विभाग, लुम्बिनी विकास कोष तथा बेलायतको डुरह्याम विश्वविद्यालको सहकार्यमा यसवर्ष २०१८को जनवरीदेखि शुरुभएको उत्खनन् परियोजनाले राजा शुद्धोदनको राजदरवार भनेर चिनाइएको कपिलवस्तुमा इशापूर्व छैठौं शताब्दी अथवा बुद्धको जीवनकालसम्मको इतिहासको ढोका खाल्ने सकारात्मक संकेत देखिँदैछ भनेर त्यस कार्यमा संलग्न विशेषज्ञहरुले भनेका छन् । यसमा डुरह्याम विश्वविद्यालयका प्राफेसर रविन कनिङघम, पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषप्रसाद अचार्य, एवं पुरातत्व विभागका पुरातत्व अधिकृत राम कुँवर लगायतको सक्रिय सहभगिता छ भने त्रिभुवन विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरुको पनि पर्यवेक्षणमा यो उत्खनन् भइरहेको छ ।

गत सन् २०१४ देखि नै हरेक वर्ष कपिलवस्तुमा गरिँदै आएको उत्खनन् कार्यले यस वर्ष केही ठोस परिणाम ल्याउने देखिएको छ । त्यहाँ फिल्डमा संलग्न विज्ञहरुको धारणामा यसवर्षको प्रोजेक्टको अन्त अन्त सम्ममा कुनै नयाँ र ऐतिहासिक भन्न लायकका उपलब्धि देखिने भएको छ अर्थात् शुद्धोदन महाराजको दरवार र त्यसमा पनि पूर्वी ढोका यही हो भनेर घोषणा गर्ने सम्भावना देखिएको छ ।

केही वर्ष देखि यहाँको उत्खनन् परियोजनाको नेतृत्व दिँदै आउनुभएका डुरह्याम विश्वविद्यालयया प्राध्यापक रबिन कनिङघमले अहिलेको उत्खनन् कार्यले सिद्धार्थ राजकुमारले गृहत्याग गर्नुभएको शुद्धोदन महाराजको दरवारकोपूर्वी ढोका भनेर इंगित गरिएको स्थानमा इँटाले बनाइएका संरचनाको केही अवशेष भेटिएको बताउनुभएको छ ।

यस अध्ययनका लागि उक्त संरचनाको पूर्वी क्षेत्रमा उक्त समुहले ९०० वर्गमिटर क्षेत्रमा १०० वर्गमिटरको ट्रेन्च अथवा खाल्डो खनेर काम थालिसकेको छ । त्यस्तै उनीहरुले दक्षिण तिर पनि ४०० वर्गमिटर क्षेत्रमा अर्को खाल्डो पनि खनेर काम गरिरहेको छ । यस्तै प्रकारले त्यहाँ स्थानीय मानिसहले समाइमाई भनेर पुज्ने ठाउँमा पनि ९० वर्गमिटरको खाल्डो खनेको देखिन्छ ।

कनिङघमले त कपिलवस्तु अथवा अहिलेको तिलौराकोट भन्ने स्थान बुद्धकालमा मात्र होइन त्यो भन्दा पनि धेरै पहिला ने योजनाबद्ध तरिकाले बनाइएको भनी बताउनुभएको छ । इसापूर्वको आठौं शताब्दीमा नै त्यहाँ मानवबस्ती थियो भन्ने समेत उहाँको दाबी छ ।

कस्तो सर्भेक्षण भएको थियो?

आजभोलि तौलिहवा भनेर चिनिने मुस्लिमहरुको बाहुल्य भएको सानो शहर, जुन कपिलवस्तु जिल्लाको सदरमुकाम पनि हो, त्यो भन्दा करिब ३ किलोमिटर उत्तरमा पर्ने तिलौराकोटमा पहिल्यै यो समुहले जिओफिजिकल सर्भेक्षण गरेको थियो । यसका निमित्त उनीहरुले म्याग्नाटोमिटर भन्ने यन्त्रको प्रयोग गरेका थिए । यसलाई परिणाममुखी भौतिक सर्भेक्षण प्रविधि पनि भनिन्छ । यसको प्रयोग गरेर यसले जमिन भित्रको बस्तुको चुम्बकीय चार्जको मापन गर्दछ । यो भनेको जमिन नखनी त्यसभित्र माटो मात्र छ कि अथवा इटा वा ढुंगा पनि छ भनेर परिक्षण गर्यो । यसरी काम गर्दै उनीहरुले जमिन भित्र भएको पर्खालहरुको नक्सांकन नै गरे । यस अन्तरविधागत विधि अथवा मल्टिडिसिप्लिनरी विधि प्रयोग गरेर गरिने यस्तो पुरातात्विक अन्वेषणले विभिन्न कोणबाट उत्खनन् क्षेत्रको अध्ययन गरी परिणाम प्रतिवेदन प्रकाशित गर्दछ । अब पुरातात्विक उत्खनन् भनेको पहिलो जस्तो जहाँ जहाँ मन लाग्यो खनेर खोज्दै जाने होइन, त्यही नक्साले जहाँ जहाँ जमिन मुनि इँटा भनेर देखाउँछ त्यहाँ त्यहाँ मात्र खने पुग्ने भयो । यसै माटोले छोपेको जमिन भित्रको इटाको संरचनाको नक्साको आधारमा अहिले उनीहरुले उत्खनन् गरिरहेका छन् । यो उत्खनन् त्यसैको आधारमा गरिएको हुनाले जमिन भित्र संरचना भएको स्थानमा मात्र उत्खनन् गर्दा भयो र यसको परिणाम पनि चाँडै देखिने भयो ।

यस प्रतिवेदन अनुसार यहाँ बुद्धकालमा तत्कालिन दरवारको चारैतिर पर्खाल, बाटो र मानव बस्ती भएको तथा पर्खालभन्दा बाहिर खानीको काम गर्ने स्थान भएको संकेत भेटिएको थियो ।
के के पत्ता लाग्दै छ त?

डुरह्याम विश्वविद्यालयका सहकुलपति समेत भएका प्रोफेसर कनिङम सहितको समुहले यहाँ गत चार वर्षदेखि काम गरिरहेको छ र यसको उद्देश्य भनेको यस प्राचीन नगरको बारेमा अझ बढी थाहा पाउनु हो । अहिले यहाँ भएका सबै पुरातात्विक वस्तुहरु जमिन भन्दा मुनि छन् । उनीहरु यस क्षेत्रको इतिहास थाहा पाउन र कसरी नगरको विस्तार गरिएको छ भन्ने थाहा पाउन पुरातत्वशास्त्र तथा बैज्ञानिक प्रविधिको प्रयोग गरिरहेका छन् ।

जब हामी बुद्धकालको समयको कपिलवस्तुको कुरा गर्छौं, त्यबेला इँटाको प्रयोग हुँदैनथ्यो । त्यसबेला छैठौ शताब्दी ईशापूर्व सम्म पनि माटाको गाह्रो बनाई काठको खम्बा राखेर पर्खाल बनाइन्थ्यो । अहिले देखिने संरचना भन्दा साडे तीन मीटर मुनि गएर हेर्यो भने त्यहाँ धेरै पहिलेका संरचनाहरु पाइन्छन् । यी चाहीँ माटो र काठ प्रयोग गरेर बनाइएका हुन् । त्यहाँ त्यसबेलाको माटो माटो जस्तै छ र अहिले काठ भने कुहिएर त्यो ठाउँमा प्वाल मात्र बाँकी छन् । यो भनेको बुद्धकालको संरचना हो र यो माटो र काठ प्रयोग गरेर बनाइएका छन् । त्यसैले यसलाई अनुसन्धानकर्ताहरुले धेरै महत्वपूर्ण स्थल मानेका छन् । त्यस्तै समइमाई मन्दिरको छेउमा पाइएको संरचना त आठौं शताब्दी ईशापूर्वको हो जसलाई यहाँकै यहाँको सबैभन्दा पुरानो संरचना भन्न सकिन्छ ।

अब यहाँ देखिने इँटा प्रयोग भएको संरचनाहरु भने पछि बनेका हुन् । तिनीहरु कुषाण युगका, अर्थात् पहिलो, दोश्रो र तेश्रो शताब्दी इस्वीका हुन् । यहाँ यो स्पष्ट छ कि यो कुषाण कालको एक महत्वपूण क्षेत्र हो ।
हुन त यो नगर पहिलो पल्ट १८९०को दशकमा पत्ता लागेको थियो । त्यसबेला यो नगर किल्लाले घेरिएको थियो भन्ने मात्र थाहा थियो तर यहाँका पर्खालहरुका बारेमा निकै थोरै मात्र बुझिएको थियो । अहिले भने उनीहरु पुरा नगरको बारेमा अध्ययन गर्दैछन् । त्यो ३५० मी लम्बाइ र १०० मीटर चौडा छ भन्ने गरिन्थ्यो ।

दुई वर्ष अगाडि उनीहरुले पुरै नगरको सर्भे गरेका थिए । यसबाट निकालिएको नक्सामा कालो धर्काको लहरहरु देखिन्छ जसले त्यहाँ पर्खाल भएको देखाउँछ । त्यस्तै सेता धर्काहरु पनि देखिन्छन् । ती धर्काहरु बाटाहरु हुन् । यसले के देखाउँछ भने पूरा तिलौराकोट बाटोको व्यवस्था गरेर बनाइएको प्राचीन नगर थियो । यो निकै विशेषप्रकारको नगर योजना हो ।

चीनियाँ यात्री, पिसि मुखर्जी र कनिङघम

यही ठाउँमा दरवारको अवशेष भेटिन्छ भन्ने उनीहरुको पूर्वानुमान हचुवा ढंगले गरिएको थिएन । सबैभन्दा पहिला उनीहरुले इस्वी ५०६मा यहाँ आएका चीनियाँ यात्री फाहियान तथा इस्वी ६३६मा आएका चीनियाँ यात्री हुयेनसाङका विवरणलाई आधार बनाए । उनीहरुले सुद्धोदन महाराजको दरवार भनेर देखाएको ठाउँको अवस्थिति त्यहीँ थियो । त्यसैको आधारमा नै भारतका पिसि मुखर्जीले अध्ययन गरेरै यो ठाउँ पत्ता लगाएका थिए । अनि अहिलेको अध्येताहरुले पनि यसैलाई आधार मानेको भन्ने उनीहरुको भनाइ छ ।
चीनियाँ यात्रीहरुको वर्णन, पिसि मुखर्जी अनुसन्धान तथा कनिङघमको नेतृत्वमा भइरहको उत्खनन्मा एक किसिममा रेखात्मक सम्बन्ध देखिन्छ । चीनिया यात्रीहरुले १५०० वर्ष पहिला मनगढन्ते वर्णन गरेका थिएनन् होला । यसले नै पिसि मुखर्जीलाई अनुसन्धान गर्न सघायो भने अब यी दुबैको आधारमा कनिङघमको समुहलाई आधुनिक यन्त्र प्रयोग गरेर उत्खनन् गर्न सघायो ।

यो साँच्चै राजा शुद्धोदनको दरवार होला ?

अब यही साँच्चै हामीले धर्मग्रन्थहरुमा पढेको जस्तो सिद्धार्थ राजकुमारका बुबा राजा शुद्धोदनको दरवार थियो कि थिएन, यहीँ सिद्धार्थले २९ वर्ष बिताएर महाअभिनिष्क्रमण गरेको थियो कि थिएन भन्ने भने प्रश्न नै छ । कनिङघमको उत्तर यस्तो छ — यो क्षेत्र नगर क्षेत्र हो र यसको बिचमार दरवारी क्षेत्र छ । यसको अवस्थितिलाई फाहियान र हुयनसाङले पाँचौं र सातौं शताब्दीतिर गरेका राजा सुद्धोदनको दरवारको वर्णनसँग तुलना गरेर हेर्दा यसको अवस्थिति, पुरातत्वविद् पिसि मुखर्जीको अनुमान र अहिले पत्ता लागेको पर्खालको संरचनामा विश्वासै गर्न गाह्रो हुने गरी समानता भेटिएको छ । यसैको आधारमा हामीले यसलाई दरवार भनिरहेका छौं ।
यो सबै पुरातात्विक क्षेत्र हो । यसको बिचमा एउटा लगभग १०० मिटर लम्बाइ र १०० मिटर चौडाइ भएको धेरै ठुलो पर्खालले घोरिएको क्षेत्र छ । । यो हेर्दा शहरको केन्द्र अथवा चौबाटो जस्तो देखाउँछ । यस अर्थमा यो सबै नगर क्षेत्र थियो अनि यो चाहीँ यहाँको प्रशासनिक केन्द्र थियो । यसलाई उनीहरुले दरवारी क्षेत्र भन्ने नाम दिएका छन् ।
यो नियोजित नगर र यसको बिचमा दरवारी क्षेत्र छ । जुनबेला यो सबै भारतीय पुरातात्विक सर्भेक्षणका पिसि मुखर्जीले पहिलो पल्ट पत्ता लगाएका थिए , उनी पूरा विश्वस्त थिए कि यहाँ यो जस्तो योजनावद्ध नगर थियो । उनले यहाँको बस्ती किल्लाबाट घेरिएको देखाए, स्तुप देखाए । यहाँको भूबनोट र उनको रेकर्ड हेरेर यसलाई चीनिया यात्रीहरु फाहियान र हुयनसाङको वर्णनसँग तुलना गरे । त्यसमा बिचमा दरवार, पर्खालले घेरिएको नगर र चारतिर स्तुप भएको वर्णन गरिएका छन् । सन् १८९९मा उनी यो ठाउँ तिलौराकोट जस्तो वर्णनमा देखिएको कुनै अरु नगर थिएन भनेर विश्वस्त थिए ।
यो क्षेत्र राजा सुद्धोदनको दरवारै हो भन्ने एउटा आधार १५०० वर्ष अगाडि चीनियाँ यात्रीहरुको वर्णन पनि हो । यसैको आधारमा हेर्दा यसको अवस्थिति ती चीनियाँ यात्रीहरुले दिएको वर्णन र यहाँको भौगोलिक अवस्थितमा बलियो समानता छ ।
र अहिलेका पर्खालहरु तिनै प्राचीन माटोको संरचनाहरु माथि बनाएको हुनाले यसले पनि प्राचीन नगरविकासको स्वरुपको संकेत पहिचान गर्न मद्दत गर्नेछ भने अनुसन्धानकर्ताहरु विश्वास गर्छन् । यस्ता अध्ययनहरुले पहिले तिलौराकोट क्षेत्रमा विभिन्न समयकालमा बसोबास गर्ने मानिसहरुको क्रियाकलाप तथा सभ्यताकै बारेमा केही प्रमाण भेटिने दाबी पनि उनीहरुको छ ।
यसरी हेर्दा यहाँ ईशापूर्व छैठौं र आठौं शताब्दीमा मानव सभ्यताको विकास भइसकेको देखिन्छ । सिद्धार्थ र शाक्यवंशलाई बिर्सेर पनि यो एक महत्वपूर्ण पुरातात्विक उपलब्धि मान्नुपर्दछ । यो बुद्ध हुर्केको स्थल भएर मात्र होइन यसले २८ सय वर्ष पुरानो मानव सभ्यतालाई प्रतिविम्बित पनि गरिरहेको छ । यसैकारण पनि होला यो स्थानमा विश्वभरीका अनुसन्धानकर्ताहरुको रुची बढेको । तर नेपाल सरकारको सोच, आर्थिक अभाव र राजनीतिक अस्थिरता एवं स्थानीय जनताले यसको महत्व नबुझेको कारणले यो स्थान आजसम्म पनि अपहेलित नै भइरहनु नेपालको लागि दुखको विषय हो ।
तर पनि अन्त जस्तो यहाँ पनि शंका गर्नेहरु छन् । यता नेपालमा नै यो सुद्धोदनको दरवार होइन भन्ने धारणा बनाएकाहरु छन् भने भारतको पिपरहवालाई सुद्धोदनको दरवार हो भनेर प्रचार गर्नेहरु पनि उता छन् । यस अवस्थामा हामी मनगढन्त कुरा मात्र नगरेर र गलत कुरा गरेर नाफा खोज्ने भन्दा पनि सत्य तथ्य खोज्नेहरुलाई जिम्मा दिएर उनीहरुले प्रस्तुत गर्ने प्रतिवेदनलाई विश्वास गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।
अन्तमा :

समस्याहरु नभएकै होइनन् । एकातिर हामी मध्ये कतिजनालाई भारतले बुद्ध भारतमा जन्मेको भनेकोमा रिस छ, कतिलाई भारतले पिपरहवामा नक्कली कपिलवस्तु बनायो भन्ने झोंक छ । तर यहाँ कसैले हाम्रो सक्कली कपिलवस्तुमा झारपात सम्म उखेल्न जान भ्याएको छैन । विदेशी श्रद्धालु तीर्थयात्रुहरु कपिलवस्तु कस्तो भव्य होला भनेर जान्छन् तर त्यहाँको बेहाल अवस्था देखेर आँखा भरी आँसु लिएर जान्छन् । नारा, भाषण र विश्व रेकर्ड बनाउने बाहेक यहाँ गर्नुपर्ने थुप्रै काम बाँकी छ । जति पर्यटक लुम्बिनी पुुग्छन् त्यसको आधा चौथाइ पनि कपिलवस्तु पुगेका हुँदैनन् । किन?

स्थानीय जनतालाई यसको कुनै मतलब भएको वा उनीहरुले यस प्राचीन सम्पदालाई आफ्नो मानेको जस्तो देखिँदैन । स्थानीय जनता बेलामा सचेत भएको भए यहाँ उत्खनन् गरेर यहाँका पुरातात्विक वस्तुहरु पारी लगे भन्ने आरोप लगाएर बस्नुपर्ने अवस्था आउने थिएन । उत्खनन्का बारेमा स्थानीयलाई थाहा नदिएको हो कि स्थानीयले उत्खनन् हुँदा चासो नराखेको हो त्यस्को पनि उचीत विश्लेषण हुन बाँकी छ । यस्तो कार्यमा स्थानीयको उत्साह त के उपस्थितिले पनि धेरै फरक पार्न सक्थ्यो । तीर्थस्थल भनेर श्रद्धा नै नराखेपनि पनि सुनको अण्डा पार्ने कुखुरी मात्रै भएपनि सम्झिदिए पुग्छ तिलौराकोटबासीले ।

उक्त पुरातात्विक क्षेत्र अहिले जनताको जमिन बनेको छ । यसको अधिग्रहणको कुरा चल्दा मुआब्जाको लागि, जमिन फुक्क गराउनको लागि प्रशानमा गएर तालाबन्दी नै गर्नु पनि केही हदसम्म जायज नै हो । यसले कसको के हो र कसको के होइन भनेर सबैलाई थाहा दिएको छ । तथापि विरोधको लागि विरोध गर्ने त धेरै भए तर यो के हो भनेर सोधखोज गर्ने कमै देखिए, अनसुन्धानकर्ताहरुको गुनासो यहाँ पनि छ । अब त स्थानीय सरकार बनेको छ, यस्ता प्राज्ञिक वैज्ञानिक परियोजनाहरुमा कसरी अफ्नो पनि जिम्मेवारी बढाउने भन्ने विषयमा चिन्तन सरकारी र स्थानीय सरकारको पक्षबाट पनि हुन जरुरी भइसक्यो ।

कसले जिम्मा लिने ? सबैलाई थाहा छ — यहाँ विकास गरेर अर्थ आर्जनै पनि गर्न सकिन्छ, यहाँ पर्यटकहरुको कमी हुने छैन । हिजोअस्ति मात्रै पनि यहाँ राजकुमार सिद्धार्थले अभिनिष्क्रमण गरेको द्वारसँगै उनले चढेको कन्थक घोडाको विशाल मूर्तिसहितको पार्क बनाउने कुरा चलेको थियो, यदि जमिनमुनिको पुरातात्विक अवशेषलाई असर नपार्ने गरी अस्थायी पार्क बनाउने हो भने यसलाई सकारात्मक रुपमा लिनुपर्छ । स्वदेशी वा विदेशीहरु एक दिन बस्लान्, श्रद्धा सुमन चढाउलान्, खाजा यहीँ खालान्, यहाँको पुरातात्विक सम्पदासँग साक्षात्कार नै गरेर जालान् । भारतलाई वा अरु कुनै देशलाई पनि गाली गरेर हामी ठुलो बन्दैनौं, विकास गर्नुपर्ने सम्पदा त हाम्रै धरती भित्र छ । कपिलवस्तुलाई विकास गर्न हामीलाई कसले रोकेको छ?

कतै यो सुद्धोदनको दरवार हो भन्नेमै शंका छ, कतै स्थानीय जनता यस उत्खनन्बाट खुशी नभएका कुराहरु पनि छन् । उता सरकारले यहाँ गर्छु भनेजस्तो विकास निर्माण हेर्न नपाएपछि यसले हाम्रो विकास गर्दैन भन्ने भावनाले स्थानीय बासिन्दामा ठाउँ लिन पाएको कुरा छ ।

तर पनि यतिसम्मको उपलब्धि पछि अब कपिलवस्तुलाई पनि विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने भन्ने मागले मूर्त रुप लिनै लाग्दा यहाँको यस्तो महत्वपूर्ण पुरातात्विक अवशेष भेटिनु भनेको नेपालमा अनि विश्वमै पनि बौद्धहरुको लागि मात्र होइन सबै धर्मावलम्बीहरुभित्रै पनि मानव सभ्यताको पदचिन्हमा गौरव गर्नेहरुको लागि खुशी बाँड्ने खबर हो भन्न सकिन्छ ।

साभार नेपाल सम्पदा संघकाे स्मारिका २०१८