नेपालमा परियत्ति शिक्षाको संरक्षण र विकास

संगीना वज्राचार्य
भगवान बुद्धले आफ्नो जीवनकालमा भिक्षुहरू गृहस्थहरूलाई दिनुभएको शिक्षा नै परियत्ति शिक्षा हो । यो एक पुस्ताबाट अर्को पुस्तामा बुद्धका मौलिक उपदेशहरू विस्तारै विस्तारै सिकाउँदै लगेको शिक्षा हो । गौतम बुद्धको जन्म भएको लुम्बिनी, त्यस्तै उहाँको जीवनसंग सम्बद्ध कपिलवस्तु, देवदह भएको नेपालमा बुद्धको उपदेशलाई अध्ययन गराउने काम समय समयमा पहिला हुँदै आएको कुरा इतिहासबाट थाहा पाइन्छ । पुरानो युगमा मौखिकरूपले धर्मको प्रचार प्रसार हुँदै गएको भए पनि लिच्छवी युगमा नेपालमा धेरै बुद्ध धर्म, बौद्ध दर्शन र बौद्ध कलाको अध्ययन अध्यापनको केन्द्र भएको पाइन्छ । मध्य युगमा पनि धेरै बौद्ध विहारहरूमा पनि बौद्ध धर्मको ज्ञान दिने, आचरण र व्यवहार सिकाउँने व्यवस्था भइराखेको पाइन्छ ।

 
एसियामा फेरी संस्कृति र सभ्यताको पुनर्जागरण आयो । त्यसको प्रभावले नेपालमा पनि पर्यो । नेपालमा थेरवादी बुद्धधर्मको शुरूआत राणा शासनको समयमा हुनगयो । वि.सं. २००१ सालमा तत्कालीन राणा शासनले नेपालमा भएका आठ जना भिक्षु श्रामणेरहरूलाई नेपालमा बुद्धधर्मको प्रचार प्रसार गरेको आरोप लगाई देश निकाला गरी बुद्धधर्मको इतिहास नै लोप गराउँने काम गरे । तर पनि नेपाली भिक्षुहरूले भारतमा बसेर भए पनि धर्म जागरण गराउने काम गरिराखे । सन् १९४३ मा भिक्षु अमृतानन्द महास्थविरको विशेष प्रयासले श्रीलंकाका प्रसिद्ध बौद्ध विद्वान नारद महास्थविर नेतृत्वमा एक शिष्टमण्डल नेपाल पाल्नुभयो । उहाँहरूले तत्कालीन राणा शासक पद्म शम्सेरलाई अनुरोध गरे अनुसार भिक्षुहरू पुनः नेपालमा फर्किन पाउनु भयो । यस सफलतालाई थेरवाद बुद्धधर्मको पुनर्जागणमा नौलो आयाम गरिएको मान्न सकिन्छ । यहि बेलादेखि नेपालमा थेरवादको पुनःविकास हुन पुग्यो ।

 

 

सन् १९५१ मा “अखिल नेपाल भिक्षु महासंघ” को स्थापन भयो । भिक्षु महासंघबाट धर्मदेशनाबाट विहार विहारमा अध्ययन अध्यापन गराएर भिक्षु श्रामणेरहरूको संख्या बढ्दै गयो । यसै सिलशिलामा थेरवादी विहारहरू निर्माण र बौद्ध मार्ग मान्नेहरूको संख्या पनि निकै बढ्न पुग्यो । यसै गरी श्रीलंका, बर्मा र थाइलैण्डबाट नेपालका भिक्षु श्रामणेरहरूलाई बुद्धधर्म अध्ययन गर्न छात्रवृत्ति प्रदान गरेर नेपालको बुद्धधर्म इतिहासमा कहिल्यै नर्बिसने छाप राखिदिनु भयो । यसमा धेरै समयदेखि कुशिनगर भारतमा बसिरहनु भएका ऊ. चन्द्रमणि महास्थविरले बुद्धधर्म प्रचार प्रसारको काममा धेरै सहयोग गर्नु भएको थियो ।

 
नेपालमा स्र्वप्रथम परियत्ति शिक्षा थालनी गर्ने श्रेय आचार्य भिक्षु बुद्धघोष महास्थविर वि.सं. २०१९ सालमा नुवाकोट जिल्लाको त्रिशुली बजार स्थित सुगतपुर विहारमा वर्षावास बस्नुभएको अवसरमा अनागारिका सुशिला र उपासक धर्मरत्न शाक्यले बुद्धजन्मभूमि नेपालमा पनि अन्य एशियाली बौद्ध देशहरूमा जस्तै बुद्धधर्म अध्ययन गर्ने व्यवस्था नहुँदा नेपाली बौद्ध भिक्षु, श्रामणेर, अनागारिकाहरू विदेशमा दुःख, कष्ट भोगी अध्ययन गर्न जानुपर्ने भएकोले स्वदेशमा नै परियत्ति शिक्षाको अध्ययन अध्यापनको व्यवस्थाको लागि आग्रह गरे अनुसार म्यान्मार देशको प्रचलित पाठ्यक्रम हरी नेपालमा भएका बुद्धधर्म सम्बन्धी पुस्तकहरूको आधारमा कक्षा १ देखि कक्षा ५ सम्मको परीक्षा राम्रो नतीजा ल्याउने विद्यार्थीहरू, उपासक उपासिकाहरूको अनुरोध बमोजिम बौद्ध परियत्ति शिक्षा काईक्रमलाई विकास भिक्षु बुद्धघोष महास्थविरले अखिल नेपाल भिक्षु महासंघमा प्रस्ताव राख्नुभयो ।

 

भिक्षु महासंघबाट संशोधन गरिएको पाठ्यक्रमलाई “अखिल नेपाल भिक्षु महासंघ” को निर्णय अनुसार वि.सं. २०२० साल अक्षय तृतीयाको दिन संघमहानायक भिक्षु प्रज्ञानन्द महास्थविरको ६४ वर्ष लागेको शुभ जन्मोत्सवको उपलक्ष्यमा नेपाल अधिराज्यमा भएका सबै केन्द्रहरूमा बिहानको ८ः४५ बजे नेपाल बौद्ध परियत्ति शिक्षाको अध्ययन औपचारिक रूपबाट प्रारम्भ गरिएको थियो । उक्त समाचार रेडियो नेपालबाट पनि त्यही समयमा प्रसारण गरिएको थियो । यसरी बुद्धघोष महास्थविर नेपाल बोद्ध परियत्ति शिक्षाका संस्थापक हुनुहुन्छ । वहाँले वि.सं. २०१९ साल देखि १६ महिनासम्म यस सुगतपुर विहारमा स्थिर बास गर्नुभई परिक्षा नियन्त्रक, शिक्षाध्यक्ष भई योगदान पुराउनु भएको थियो ।

 
शुरूमा सद्धम्म पालक उपाधिसम्म अध्यापन गरिने नेपाल बौद्ध परियत्ति शिक्षामा सो तह उर्तीण गरेका विद्यार्थी भएपछि यसको शिक्षण तथा व्यवस्थापनमा सुदृदिकरण भएपछि वि.सं. २०२३ फाल्गुन १ गते सद्धम्म कोविद अन्तिम वर्ष सम्म विस्तार गरियो । यसरी स्थापनाको ५ बर्ष भित्र नै नेपाल बौद्ध परियत्ति शिक्षको १० वर्ष पाठ्यक्रमको तर्जुमा भयो । समय र परिस्थितिको माग अनुरूप उक्त पाठ्यक्रम पटक पटक परिवर्तन एवं परिमार्जन पनि गरीएको छ ।

 
नेपालमा बर्षेनी परियत्ति शिक्षाको परीक्षा व्यवस्थित र सुसंगठित रूपमा संचालन हुँदै आइरहेको छ । उखिल नेपाल भिक्षु महासंघले नेपाल बौद्ध परियत्ति शिक्षा नियमावली २०५८ स्वीकृत गरी लागू गरिएको छ । उक्त नियमावली अनुसार नेपाल बोद्ध परियत्ति शिक्षा संरचना अखिल नेपाल बौद्ध भिक्षु महासंघद्वारा नेपाल भर यस प्रकारको शिक्षा संचालन गरिदैँ आएको छ ।