प्रत्येक बुद्धको भिक्षाटन शैली

अम्बिका श्रेष्ठ
प्रत्येक बुद्धको भिक्षाटनभित्र पनि एक विशेष शैली छ, त्यसमा खास आशय र अवधारणा रहेको पाइन्छ । उहां भिक्षा पात्र लिएर वस्ती वस्तीमा जानुहुन्छ तर भिक्षा भने माग्नुहुन्न, जसले इच्छाले जे दिन्छ त्यही लिनुहुन्छ । वास्तबमा उहांले भिक्षा लिने पनि आफ्नो जीविकाका लागि भन्दा पनि बढी अरुहरुलाई पुण्य प्राप्त गर्ने अवशर दिनका लागि हो भन्ने अवधारणा रहेको छ । यस किसिमको भिक्षाटनलाई कतिपय विद्वानहरुले विशेष गरी भारतका विद्वान्हरुले भिक्षा दिनेको दृष्टिकोणबाट व्यँख्या गरेको पाइन्छ । सत्पात्रलाई दान दिन पाइयो भने वा भिक्षा दिन पाइयो भने त्यसको फल महान हुन्छ भन्ने विश्वास लिइन्छ । यही विश्वास लिई बसेकाका हितलाई ध्यानमा राखेर प्रत्येक बुद्धले भिक्षा दिनेहरुलाई चाहेको फल प्राप्त गर्ने अवशर दिइएको पनि व्याख्या गरिन्छ ।

पुण्य प्रदान गर्न भिक्षा ः नराम्रो जीवन व्यतित गरिरहेकाहरुलाई त्यो नराम्रोपनबाट बाहिर ल्याउने पुण्य दिनका निमित्त प्रत्येक बुद्ध तिनलाई भिक्षा दिने अवशर र नराम्रोबाट छुटकारा लिने अवशर दिनका लागि भिक्षा लिनु हुन्छ । यो उहांको ती नराम्रो जीवन जिउनेहरुलाई त्यसबाट बाहिर ल्याउने एक प्रयास हो, यसमा उहांको करुणा भाव झल्कन्छ । भिक्षाटनलाई करुणासंग गांसेर हेर्ने अवधारणा निकै नै गंभीर हो । विभिन्न कारणबाट नराम्रो जीवनमा परेकालाई उतार्नका निमित्त तिनबाट भिक्षा लिई तिनलाई आफ्नो नराम्रो जीवनप्रतिको चेतना जगाउनु भनेको अति नै महान कार्य हो ।

भिक्षाअघिको सोचः यहांनिर यो स्पष्ट पार्नु आवश्यक छ कि प्रत्येक बुद्ध भिक्षाटनमा जानुअघि कुन व्यक्तिलाई नराम्रो कामबाट उद्धार हुने अवशर दिनु उचित छ भन्नेमा विचार गरेर मात्र उसको नजीक गएर उसलाई भिक्षा दिने अवशर प्रदान गर्नुहुन्छ । भिक्षाटनभित्र रहेको यो गंभीर रहस्यलाई मनन गर्नु आवश्यक छ । यसमा प्रत्येक बुद्धको विवेकशीलता, करुणा तथा समाजलाई नराम्रो जीवनबाट उतार्ने सतर्कता सबैको संकेत मिल्छ । साथै भिक्षा दिने प्रक्रियाभित्र रहेका अनेक आयामलाई पनि ध्यान दिनु आवश्यक छ ।

भिक्षा दिनेको आशय ः भिक्षा दिने आशय, प्रत्रिया र शैलीमा उसले भिक्षाबाट प्राप्त गर्ने फलको मात्रा निर्धारण हुने सन्दर्भ प्रत्येक बुद्धको भिक्षाटनको एक विशेषता हो । दान दिने प्रक्रिया पूर्ण भएमा वा त्यो दोषरहित भएमा त्यसबाट मिल्ने फल उत्कृष्ट हुने, त्यसो नभएमा भने फलप्राप्तिमा कमी आउने हुन्छ । दान दिनेले राख्ने फलको इच्छा भौतिकदेखि, विलासिताका विषयदेखि आध्यात्मिक विषयसम्म, दुःखबाट मुक्ति देखि खास मोक्षसम्म रहेको हुन्छ ।

भिक्षापछिको कामनाः भिक्षा लिइसकेपछि प्रत्येक बुद्धले धन्यवाद दिई, दाताको मनोकामना पूरा होेस् भन्ने वाक्यांश उच्चारण गर्नुहुन्छ, खास खास परिस्थितिमा दातासमक्ष राम्रो काम गर्नु पर्ने भन्ने संक्षेप उपदेश दिनुहुन्छ, अनि उहां कि अर्को भिक्षाटनको क्रम शुरु गर्नु हुन्छ कि आकाशमार्गबाट आफ्नो वासस्थानमा फर्कनु हुन्छ ।

दानको महिमा ः भिक्षा दिनु वा दान दिनु भनेको सर्वसाधारणका लागि अत्यन्त महान कार्य हो भन्ने अवधारणा पनि यसमा लुकेको छ । दानलाई दिने आशयका आधारमा अवलोकन गरिएको पाइन्छ जुन आशयलाई तीन प्रमुख आयाममा हेरिएको छ । पूर्ण फल प्राप्त गर्नका निमित्त दान दिने विचार तीन आयाममा पूर्ण र राम्रो हुनुपर्छ — दिने इच्छा, दिने प्रक्रिया, र दिएपछिका विचार, विशेष गरी दान दिएपछिको पछूतो हुनुहुंदैन, भएमा यो निकृष्ट हुनजान्छ र यसबाट फल प्राप्त हुनसक्दैन । यी तीन एक अर्थमा अन्योन्याश्रित पनि छन् । एकको सकारात्मकताले अर्काेलाई सकारात्मक तुल्याउंदै जान्छ ।

जातक कथा र भिक्षा ः जातकमा अनेक कथा छन् जसले भिक्षा दिने वा दान प्रक्रियालाई विविध आयाममा अवलोकन गरिएको छ । बनारसमा ब्रम्हदत्त राजा हुंदा एक महाजन थिए, उनी अति नै असहयोगी, र कसैलाई केही दिंदैनथे । एक दिन राजाको दर्शनमा जाने क्रममा उनले प्रत्येक बुद्ध तागरासिखिन भिक्षाटनमा रहेको देखे, भिक्षा प्राप्त गर्नु भयो भनी सोद्धा नपाएको थाहा पाएर उनले आफ्नो नोकरलाई प्रत्येक बुद्धलाई घरमा लगेर यथोचित ढंगमा भोजन गराउन भने । नोकरले त्यसै गरे । पछि फर्कंदा प्रत्येक बुद्धलाई भोजन गरेको हो भनी सोधे । उनको भिक्षा पात्र हेर्दा उनलाई लाग्यो मैले यो खाना नोकरलाई खुवाएको भए उसले बढी काम गथ्र्याे र मलाई लाभ हुन्थ्यो, प्रत्येक बुद्धलाई खुवाएकोले मलाई नोक्सान भयो, दानपछिको यो विचारले उसलाई केही धन प्राप्त भए पनि नोक्सान भएको भन्ने भावले पीडा दियो, उसले दानको उचित फल प्राप्त गर्न सकेन ।

संयुक्त निकायको एक कथाले पनि दानपछिको कुभावनाले गर्दा दानबाट फल प्राप्त गर्न नसकेको कुरा स्पष्ट पार्छ । एक गृहस्थले प्रत्येक बुद्ध तागरासिखिनलाई दान दिएपछि कुभावनाले गर्दा प्राप्त धनदौलत भोग गर्न पाएनन्, उनले स्वर्गमा सात पल्ट जन्मन पनि पाएनन् ।

भिक्षा फल प्राप्ति अप्राप्ति कथा ः प्रत्येक बुद्धलाई दान दिएर फल प्राप्त गरे नगरेको विषयमा आधारित अन्य कथा पनि छन् जसलाई थेरा अपादान थेरी अपादानमा उल्लेख गरिएको छ जसमा दानका तीन आयामलाई राम्ररी उल्लेख गरिएको छ ।

मूलतः के दान दिइन्छ भन्ने कुराको त्यति धेरै महत्व हुंदैन । फल प्राप्ति वा अप्राप्तिका लागि दान दिनेको आशय, दिने प्रक्रिया र दिएपछिको भावनामा सबै कुरा भर पर्छ । प्रत्येक बुद्धको भिक्षाटनसंगसंबद्ध सन्दर्भमा उहांले कसलाई के फल दिने भन्ने कुरा अनि उसले कसरी दान दिएको हुन्छ भन्ने कुरा गांसिएको हुन्छ । भिक्षाटन स्वयंमा एक शिक्षाको रुपमा देखा पर्छ । यो सर्वसाधारणप्रतिको करुणा भावसंग आबद्ध छ । साथै सर्वसाधारणको दान दिने मनको स्थितिसंग पनि संबन्धित छ ।
लेखिका लुम्बिनी बौद्ध विश्वविद्यालय, थेरवाद बुद्धिस्ट एकेडमीबाट स्नातकोत्तर हुनुहुन्छ ।