सम्राट अशोकको लुम्बिनी मोह

डा. गौतम वीर वज्राचार्य

“आनन्द । श्रद्धालु कुलपुत्रहरुका निमित्त तथागत उत्पन्न भएको स्थान दर्शनीय र संवेजनीय स्थान हुनेछ ।” बस्तुतः बुद्धको यिनै बाक्यले सम्राटलाई लुम्बिनीप्रति मोह जाग्यो र अन्ततः बुद्ध जन्मथलोको दर्शन गर्न लालायित हुनपुगे । बुद्धपथमा समर्पित भैसकेका सम्राटको धर्मयात्रा राज्याभिषेकको दशौं वर्षपछि मात्र आरम्भ गरेको उल्लेख छ ।

 

 

धर्मयात्रा यश आरमका लागि थिएन, बुद्ध शासनको सम्बोधि मार्गलाई जनजनमा प्रसार गर्ने लक्ष्य सहित थालिएको थियो । सम्राटलाई शासन सुख भन्दा यस्तो धर्म यात्रामा अतिरिक्त सुख प्राप्त हुने गरेको वर्णन शहवाजगढीको आठौं शिलालेखमा उल्लेख छ । यसो त शिलालेखमा परेको “निक्रमि सबोधि । तेनद धंमयत्र ।” को अथ्र्याइलाई बोधिसत्वले बुद्धत्वलाभ गरेको स्थान बुद्धगयामा सम्राटले प्रथम धर्मयात्रा गरेको ठान्नेहरु पनि छन् । तर यसलाई सहजै पुष्टि गर्न सकिने आधारहरु देखिँदैनन् । विद्यमान बुद्धगयास्थित अशोक स्तम्भमा यस्ता कुनै कुराकौ उल्लेख भएको पाइँदैन । अशोक स्तम्भ अभिलेख विहीन मौन मुद्रामा उभिएको छ ।

 

लुम्बिनी उपस्थितिमा तिनै सम्राटले ठुलो गौरवको महशुस गर्दै बुद्ध जन्मथलो बारे सबैले थाहा पाउन भन्दै अभिलेख सहितको स्तम्भ ठड्याउन लगाए । यस्तै शहवाजगढीको आठौं शिलालेखको … “निक्रमि सबोधि …” वाक्यांशले बुद्धगया धर्मयात्राको प्रथम प्रस्थान विन्दु ठानीहाल्नु उपयुक्त नहोला । बरु “निक्रमि सबोधि …” वाक्यांशले बुद्धको ज्ञानमार्ग तर्फ सम्राट अशोकको अग्रसरतालाई बोध गराउँदै छ ।

 

 

बुद्ध र बुद्ध शासनको सत्य तथ्य पहिचानको लागि बौद्ध साहित्य भरपर्दो आधार हो । यी यस्ता भरपर्दो अधार मध्ये दिव्यावदान साहित्य पनि एक हुन् । दिव्यावदान साहित्यको एक स्थानमा भनिएको छ …“अथ स्थविरोपगूतो राजामनमशोकं सर्वप्रथमेन लुम्बिनीवनं प्रवेशयित्वा…” अर्थात् भदन्त उपगुप्तको अगुवाईमा सम्राट अशोक सर्वप्रथम लुम्बिनीमा आइपुगेका थिए । अशोकको शहवाजगढीको आठौं स्तम्भको शिलालेखमा उल्लिखित वाक्यांश “निक्रमि सबोधि तेनद धंमयत्र” लाई समायोजन गरी हेर्दा सम्राट अशोकको धर्मयात्राको पहिलो गन्तव्य लुम्बिनी भएको स्पष्टै बुझ्न सकिन्छ ।

 

 

राज्याभिषेकको दशौं वर्षको उपलक्ष्यमा भदन्त उपगुप्तको अगुवाईमा सर्वप्रथम सम्राट अशोक राजदरवारका पदाधिकारी, सैनिक गणको दलबलसहित लुम्बिनीमा आई पुगेका थिए । उपगुप्तले “अस्मिन महाराज प्रदेशे भवगान जातः” भी सांकेतिक शिला देखाउँदै तथागतको जन्म भएको स्थान किटान गरिदिएका थिए । सम्राट अशोकले सांकेतिक शिलामाथि श्रद्धासुमन व्यक्त गरे ।

 

 

सम्राट अशोकको लुम्बिनी मोहको कारण राज्यभिषेकको बीसौं वर्षको उपलक्ष्यमा दोस्रो पटक उनको आगमन भएको थियो । यसै समय धर्मयात्राको चिरस्मरण तथा तथागतको जन्म पहिचानका लागि “हिद बुधे जाते सक्य मुनी ती” अभिलेख सहित स्तम्भ ठड्याउन लगाएका थिए । यसरी एकै स्तम्भको दुई दुई स्थानमा बुद्धको जन्मको बारे उल्लेख गरिनु र साहित्यले “अथ स्थबिरोपगप्तो राजानमशोकं सर्वप्रथमेन लुम्बिनीवन प्रवेशयित्वा” वाक्यांश उल्लेख गरिनुले सम्राटको पहिलो धर्मयात्राको शुरुवात राज्याभिषेकको दशौं वर्षमा र राज्याभिषेकको बीस वर्षमा दोस्रो पटक लुम्बिनी आगमन भएको बुझिन्छ ।

 

 

दोस्रो पटकको लुम्बिनी आगमनमा राज्याभिषेकको चौधौं वर्षमा निग्लिहवाको कनकमुनि बुद्ध र गोटिहवाको क्रकुछन्द बुद्धको स्तुपालाई आकारमा दुई गुणा बढाइसकेको स्थानमा राज्याभिषेकको बीस वर्षमा अभिलेखसहित स्तम्भ ठड्याउन लगाएका थिए । हाल गोटिहवाको स्तम्भ अभिलेखीय भाग देख्नमा नआए तापनि निग्लिहवाको झैं ३० फिट अग्लो सिंह मूर्ति सहितको अभिलेखलाई व्होयनसाङ्गले देखेका थिए । वस्तुतः शिलास्तम्भको अलावा ती क्षेत्रमा उपलब्ध भएका आधार सामाग्रलाई केलाएर हेरियो भने सम्राट अशोकको लुम्बिनी आगमन एक भन्दा बढी पटक भएको सहजै अनुमान लगाउन सकिन्छ ।