मनको तालिम : ध्यान गर्ने मस्तिष्कको अनुसन्धान

घनश्याम खड्का
काठमाडौ — मानिसलाई रिस किन उठछ अनि मस्तिष्कको कुन खास तन्तुबाट त्यसको निर्माण हुन्छ ? वैज्ञानिकहरूले यसबारेमा अध्ययन गरिरहेका छन् ।

रिस कसरी हटाउने ? डर कसरी भगाउने ? चिन्ता कसरी लखेट्ने ? रिसाएपिच्छे, डराएपिच्छे र चिन्ताएपिच्छे सबैले यसबारे धेरै पटक यस्तो सोचेको हुनुपर्छ । न्युरो साइन्सका अध्येता अमेरिकी मनोविद् रिचार्ड डेभिडको मनमा पनि यस्तै विचार आउँथ्यो । उत्तर पाउन उनले माकुराको जालोझैं जेलिएको मस्तिष्कका सूक्ष्म तन्तुहरूको अध्ययन गरे । न्युरो साइन्सले हालसम्म पत्ता लगाएको तथ्यअनुसार रिस मस्तिष्कको एउटा निश्चित तन्तुबाट उठ्छ जसको नाम हो, अमागडाला ।
खासमा अमागडालाको काम सोचविचारै नगरेर शरीरलाई क्रिया अवस्थामा ल्याउनुसँग सम्बन्धित छ । आगोमा हात पर्दा तत्काल झिक्न आदेश दिने काम अमागडालाले नै गर्छ । भुसुनो भन्ने चिन्दा नचिन्दै त्यसलाई पस्न नदिन परेला बन्द पार्ने काम पनि यसैको हो । खराब अवस्थामा जीउलाई बचाउने यस्ता कामका लागि अमागडालाले सोच्ने र विचार गर्ने स्नायु तन्तु सेरेबल कोर्टेक्सलाई खबरै नगरेर काम गर्ने गर्छ ।
कसैलाई ऋण दिन पर्दा दिउँ कि नदिउँ वा रुघा लागेका बेला आइसक्रिम खाउँ कि नखाउँ भनेर चाहिँ सोचिविचारी निर्णय दिने तन्तु सेरेबल कोर्टेक्स हो । आगोबाट हात झिक्दा वा धूलोबाट बचाउन आँखा चिम्म पार्दा सेरेबलसम्म खबर लगेर उसले सोचविचार गरेर आदेश दिउन्जेल धेरै ढिलो भइसक्ने हुनाले अमागडालाले तुरुन्त काम गर्नु जीवनको सुरक्षाका लागि धेरै राम्रो हो । तर यही अमागडाला रिस, चिन्ता र डरजस्ता जीवनविरोधी संवेगहरूको उत्पादनमा पनि संलग्न छ भन्ने स्नायु विज्ञानको खोज थियो ।
त्यसैले त झडङ्ग रिस उठ्छ । रिसकै झोंकमा मान्छेले गर्नु नगर्नु गर्छ । यसको खबर रिस मरेपछि मात्रै निकै ढिलो सेरेबल कर्टेक्सले थाहा पाउँछ । सोचविचार गर्ने क्षमताको कर्टेक्स तन्तुले पत्तो पाउन्जेल रिसले काम तमाम गरिसकेको हुन्छ । विचरो कर्टेक्सले त्यसको विरोध त गर्छ तर भइसकेको कामलाई रोक्नचाहिँ सक्दैन । त्यसैले अक्सर रिसको झोंकमा केही गरेपछि अलिक बेरमा पश्चाताप हुने गरेको हो ।
एकातिर रिसले गरेको हानि अर्कातिर त्यसको पश्चातापको समेत ग्लानि । यसको सिकारमा पर्नेहरू भावनात्मक अन्योलमा निकैबेर छटपटिरहेका हुन्छन् । रिचार्डले निष्कर्ष निकाले, ‘यस्तो हो भने त मान्छे कहिल्यै रिस, डर र चिन्ताबाट मुक्त हुनै नसक्ने भयो । रिसले त एउटा दुश्चक्रमा मान्छेलाई पारेको पार्‍यै पो गर्ने भो ।’ यो अमागडालालाई रिस उठेका बेला जथाभावी गर्न आदेश नदिने कुनै उपाय हुन सक्दैन ? रिचार्डले धेरै सोधखोज गरे ।
उनले देखे, गुम्बामा तपस्या गरेर बस्ने भिक्षुहरूको अनुहारमा रिस, चिन्ता र डरको सानो धर्काे पनि छैन । जस्तै परिस्थितिमा पनि उनीहरू कसरी शान्त हुन सकेका ? रिचार्डले सन् २००५ मा यसबारे अध्ययन थाले । उनको प्रयोगका लागि एक जना भिक्षु छानिए, योङ्गी मिङ्युर रिम्पोछे । गोरखाको उत्तरी भेग निब्रु गाउँमा जन्मेका मिङयुरले झन्डै दशकअघि भएको रिचार्डको अनुसन्धान सुरु हुने बेलामै ३० हजार घन्टाभन्दा बढी समय ध्यानमा बिताइसकेका थिए ।
रिचार्डले उनै मिङयुरको मस्तिष्कको अनुसन्धान गरे । सूक्ष्म चुम्बकीय विद्युत् प्रवाह गरिएको यन्त्र मिङयुरको टाउकामा जडान गरेर रिचार्डले उनलाई ध्यानमा बसाए । ध्यानमा बस्दा उनको मस्तिष्कमा उत्पन्न हुने तरङ्गलाई एउटा ठूलो मोटिटरमा उतारेर वैज्ञानिकहरू त्यसको अध्ययन पनि गर्दै थिए । गहिरो शान्तिको अवस्थामा पुगेका बेला मात्रै निक्लने गामा नामको विद्युत् प्रवाह उनको मस्तिष्कमा तुरुन्तै देखियो ।
रिम्पोछेको मस्तिष्कको भिडियो एक्सरे निकालियो । त्यसमा देखिएको नतिजा न्युरो साइन्सको हालसम्मको मान्यतालाई हल्लाउने खालको थियो । रिम्पोछेको मस्तिष्कमा नयाँ तन्तुहरू पलाएको देखियो । तिनको मुख्य काम रिस, चिन्ता, डरजस्ता दुःख दिने संवेगहरू उठ्नु र अमागडालाले पत्तो पाउनु अघि नै तिनलाई चिन्नु थियो । रिम्पोछेमा रिस उठे पनि त्यसले उनको स्नायु तन्तुमा कत्ति पनि पनि फरक नपारेको तथ्य सत्य भए नभएको हेर्न रिचार्डले बारम्बार प्रयोग गरे ।
र, हरेक प्रयोगबाट उही नतिजा निक्लियो, रिम्पोछेको मस्तिष्कमा नयाँ तन्तु पलाएको छ, जसले अमागडालालाई जथाभावी काम गर्नबाट रोक्छ । त्यसपछि रिचार्डले एउटा पुस्तकै लेखे, ‘टे्रन योर माइन्ड एन्ड चेन्ज योर ब्रेन ।’ उनको निष्कर्ष के भने, मनलाई तालिम दिएर मस्तिष्कको काम गर्ने तरिकालाई नै बदल्न सकिन्छ । पछिल्लो समय मनोविज्ञानमा रिचार्डको खोजको खुब प्रयोग भइरहेको छ । रिचार्डको सारा तथ्यको स्रोत हाम्रा रिम्पोछे भारतको सुविधासम्पन्न गुम्बालाई छाडेर यतिखेर नेपालकै पहाडी गुफाहरूमा ध्यानस्थ जीवन बिताइरहेका छन् ।
रिम्पोछेमाथिको प्रयोगदेखि रिचार्ड डेभिडसनसम्मको निष्कर्षलाई नेपालका एक युवाले गहिरो गरेर अध्ययन थालेका छन् । आऔं, भेटौं मौसम शाक्यलाई । बुद्धिजममा पीएचडी गर्न लागिपरेका शाक्य युवा पुस्तालाई निराशा, रिस र चिन्ताबाट मुक्त हुन मनको तालिम पनि दिँदै हिँडिरहेका छन् । जस्तो कि भर्खरै उनले एक हूल कलेजियरिनलाई यसबारे सिकाए । ‘मन सारा विचार र भावनाहरूको स्रोत हो,’ मौसम भन्छन्, ‘यसलाई प्रयोग गर्न जाने शान्ति र आनन्द मिल्छ नजाने दुःखै दुःखले घेर्छ ।’
मन भन्नु नै मस्तिष्कले जम्मा पार्ने सूचना र विचारहरूको संग्रह हो । अनेक विचार, भाव र तर्कना मनमा फुत्तफुत्त आइरन्छन् । एकाग्र भएर त्यसमाथि ध्यान गर्दा मस्तिष्क निर्मल र शान्त हुन्छ । त्यतिखेर विचारको धमिलो पोखरी थेगि्रएर शान्त र निर्मल तलाउजस्तो हुन पुग्छ । यसैलाई मौसमले क्लारिटी अफ माइन्ड अर्थात् मनको स्वच्छता भन्ने गरेका छन् । ‘मनले सोच्ने काम मात्रै गर्छ भन्ने हामी ठान्छौं जो गलत छ,’ मौसमले मनको अरू पक्षलाई उजिल्याए, ‘मनले अनुभव पनि गर्छ, हामीलाई सचेत पनि पार्छ र कुराहरू पनि बुझाउँछ ।’
मनको यी चारै पक्ष प्रकाशित नभएसम्म एक खालको छटपटीले सताइरहन्छ । हामी मनलाई खुसी पार्न सिनेमा हेर्नेदेखि पहाड चढ्नेसम्मका काम गर्छाैं । धन जम्मा पार्नेदेखि दान दिनेसम्मका कर्म मनलाई खुसी पार्नकै लागि गरिन्छन् । मानिसहरू मन दुःखे रुन्छन्, झगडा गर्छन् । मुद्दा मामिलामा पनि होमिन्छन् । तर जति नै गरे पनि मन भने ठुस्किरहन्छ । मौसमले मन शान्त पार्न यसका चारै पक्षलाई उजिल्याउन युवाहरूलाई परामर्श दिने अभियानै थालेका छन् ।
मन खुसी हुन आनन्द मात्रै भएर मनलाई पुग्दैन, स्वच्छता पनि चाहिन्छ भन्छन् उनी । ‘आनन्द त रक्सी पिउँदा वा चरेस तान्दा पनि आउँछ,’ उनी मुस्कुराए, ‘तर यस्तोमा स्वच्छता रहँदैन, मन जाग्दैन बरु उल्टो बेहोस हुन्छ ।’ त्यसैले रक्सीले छाडेपछि मन झनै दुविधामा पर्छ र दुःखको अझै गाढा अनुभव हुन्छ । अनि त्यसबाट छुट्न फेरि रक्सी नै खान पर्ने बाध्यतामा मानिस पुग्छ । यसरी कुलतको एउटा चक्रले घेर्छ र जीवनको सारा आनन्द समाप्त हुन्छ ।
ध्यान नै मनलाई जागृत, स्वच्छ र शान्त पार्ने एकमात्र विधि हो । किनभने यसले मस्तिष्कको काम गर्न सक्ने क्षमतामै परिवर्तन ल्याउँछ । यिनै कुरा मौसम अब धेरैभन्दा धेरै मानिसका माझमा पुगेर भन्न र गरेर देखाउन चाहन्छन् । अचेल लामो तपस्यामा बसेका अर्का रिम्पोछे ‘विद्याधर महायोगी आचार्य श्रीधर राणा’ को सम्पर्कमा १० वर्षअघि आएपछि मौसममा यस्ता कुराप्रति उनमा रुचि पलाएको थियो ।
नत्र रिचार्ड डेभिडसनको मिङ्युर रिम्पोछेमाथिको प्रयोगका बारेमा सायद उनलाई
थाहै हुने थिएन । मिङ्युरका दाजु अर्का प्रसिद्ध बौद्ध भिक्षु छेक्नी रिम्पोछेसँग उनको भेटै हुने थिए । रिम्पोछेहरूसँगको संगत र अध्ययनले मिलेको अनुभवसहितको मन शान्त पार्ने तालिम मौसम फुर्सदले मिलेसम्म मान्छेहरूलाई सिकाइरहेका छन् । यसमा रुचि छ कि ?

साभार कान्तिपुर दैनिक

https://www.buddhistdoor.net/features/science-and-meditation-new-developments-in-buddhist-research