कुशल या अकुशल कर्मको फल

चित्र शाक्य

अर्कोजन्ममा यो जन्ममा गरेको कुशल या अकुशल कर्मको फल यो जन्ममा काम गर्नेले पाउँछ कि अर्कैले पाउँछ? जसले विउ रोप्छ उसैले नै फल पाउँछ भन्नु एक अतिमा जानु हो भने रोप्ने र फल पाउने विल्कूलै फरक हुन्छ भन्नु अर्को अतिमा जानु हो। यी दुईवटा अतिहरुलाई हटाएर बुद्धले कारण र प्रभावको माध्यमबाट मध्यम मार्गको शिक्षा दिनु हुन्छ।विशुद्धि मार्गमा भिक्षु बुद्धघोष लेख्‍नु हुन्छ ” न त उही हो न त अर्कै हो” ( न च सो न च अञ्ञ)। पुतलीको विकासको उदाहरण यसमा उपयुक्त हुन सक्छ।

 
पुतलीको प्रारम्भिक अवस्था फुल(अण्ड) हुन्छ।पछि यो झुसिलकीरो(Larva) हुन्छ।पछि यो (Pupa)अवस्थामा विकसित हुन्छ र अन्तमा पुतली बन्छ। यो प्रविधि एक जीवन अवधिमा चल्छ। त्यो पुतली न त उही झुसिलकिरो हो न त त्यो देखि विल्कुल फरक हो।यहाँ पनि एउटा जीवनको धारा छ र निरन्तरता छ।

 
भन्ते नागसेनले यस कुरालाई एउटा रातभरी बलिरहेको दियोको उपमा दिएर सम्झाउँनु हुन्छ। पहिलो पाल्ट बत्ती बलेको देख्दाको दियोको ज्वाला र सबैभन्दा पछि देखेको ज्वाला उही होइन, तर पनि त्यो बत्ती रातभरी बलिरहेको छ, उही र एउटै बत्तीको आधारमा।त्यो बत्तीको ज्वाला वा लप्का जस्तै त्यहाँ जीवनको निरन्तरता छ, प्रत्येक आउने नयाँ लप्का पुरानोमा आधारित हुँदै बल्छ।

 
अब एउटा प्रश्न उठाउँन सक्छ, के यदि आत्मा नै छैन भने नैतिक उत्तरदायित्व हुन सक्छ? हुन्छ, किनभने त्यहाँ प्रविधिको प्रवाहमा निरन्तरता वा उस्तै पहिचान हुन्छ जुन उस्तै व्यक्तित्वमा प्रतिस्थापित हुन्छ। उदाहरणको लागी, एउटा बच्चा मानिस बन्छ। त्यो पछिको न त ठ्याक्कै उहि हो किनकि शरीरको अणु (cell) पूर्णरूपले परिवर्तन भईसकेको हुन्छ- न त पूरै फरक हो, उहि जीवनको धारा (stream) भएकोले।कुनै हालतमा पनि त्यो मानिसले बालक अवस्थामा गरेको कामको लागी जिम्मेवारी लिनै पर्छ। चाहे त्यो जीवनधारा यहाँ टुटेर वा मृत्यु भएर अन्तै पुनर्जन्म भएको होस्।आवश्यक तत्व चाहीं निरन्तरता हो।मानौं कि एउटा मानिस उसको अन्तिम पूर्वजन्ममा A हो र अहिले उ B हो। A को मृत्यु पछि भौतिक गाडी(शारिरीक) कर्मिक शक्तिको बाह्य रूप छुट्दछ र B को जन्ममा एउटा नयाँ ताजा भौतिक गाडी उत्पन्नं हुन्छ।देखिने भौतिक परिवर्तनको बावजूद अदृश्य चेतनाको धारा वा खोला (चित्तसन्तति) बग्ने निरन्तरता जारी रहन्छ, मृत्युले व्यवधान नगरीकन नै सबै त्यसका प्रभावहरू मृत्यु पछि पनि जारी रहेको चेतनाका खोलाहरू बाट प्राप्त गर्दै निरन्तरता कायम राख्छ। स्पष्टरूपमा कुरा गर्दा के B ले उसको विगत A का कामहरूको उत्तरदायित्व लिनु पर्दैन?
(अब यहाँनिर म तलका शब्दहरूले हाम्रो मनमस्तिष्कमा पर्ने भ्रमलाई चिर्न चाहन्छु।)

 
हामीले हिन्दू मान्यताबाट धेरै सुनिरहेको हुनाले यो बुद्धको तथ्य कुराहरू बुझ्नु गाह्रो परिरहेको हुनुपर्छ। विशेष गरेर नेपालमा राणाहरूले हिन्दू धारणा अनुरूप शासन गर्न खोजेर बुद्धशिक्षालाई दबाउन हर प्रयत्न गरेकोले हामीले बुद्धशिक्षा कम मात्र सुन्न अध्ययन गर्न पायौं। त्यसैले हाम्रो दिमागमा हिन्दू मान्यता नै जमिराखेकोले बुद्धशिक्षाका यी सत्य तथ्य कुराहरू नौलो लाग्नाले एकै चोटी धेरै एकैपाल्ट पढ्नु सुन्नु भन्दा टुक्रा टुक्रा पारेर विस्तारै बुझ्दै जानु उपयुक्त भएकोले आजलाई यसको व्याख्या यहिं रोकेर बाँकी भोलि दिने विचार गरेको छु। बुद्धले मध्यम मार्गको उपदेश यसकारणले दिनु भएको हो कि ‘सत्य’ हामीले सुनेको मानेको दुई अतिहरूको बिचमा छ । जस्तो कि कोही सबैका हर्ता, कर्ता, धर्ता ईश्वर छ भन्छन् भने अर्को त्यस्तो ईश्वर केही छैन, हामीले यो जन्ममा जे गरे पनि त्यसको फल भोग्नु् पर्दैन, पुनर्जन्म भन्ने छैन भन्छन् । ती दुबै अति हुन् र असत्य छन् । त्यस बिचमा रहेको सत्यलाई नबुझे र अनुभव नगरेमा हामी असत्य नै धारण गरेर मिथ्या दृष्टिमा परिराख्छौं।

 

त्यसैले मध्यम मार्गलाई विशेषरूपले बुझ्न सक्नु पर्दछ।यो बौद्धको कुरा हो भनेर सोच्यौं भने त्यहाँ पनि हामी असत्यमा पर्छौं ।यो एउटा विशुद्ध सत्य हो। बौद्धले सुने पनि सत्य हो, हिन्दू, मुस्लिम, ईसाई जसले सुने पनि सत्य हो।वास्तवमा हामी कोहि पनि न त बौद्ध हौं, न हिन्दू, न मुसलमान, न ईसाई हौं। सत्यको खोजी गर्नेले आफूले त्यस्तो कुनै ब्राण्ड भिरेर हिंडदैन । खोजी गर्नेले नितान्त तटस्थ रहेर वास्तविक सत्यलाई पहिल्याउनु पर्छ । हामी भन्छौं बुद्ध हिन्दू थियो, उ हिन्दू भएको भए हिन्दू दर्शन छँदै थियो । उसले अरू खोज्नु किन पर्थ्यो । उ विशुद्ध थियो। सत्यको खोजी गर्योे र भेट्टाए पछि उ मुक्त पनि भयो र यस्तो अमूल्य ज्ञान अरूलाई पनि वताउँछु, सिकाउँछु भनेर चारैतिर चहारेर मानिसलाई सिकाए, मुक्त बनाए । हामी पनि उहाँको मार्गदर्शनमा अभ्यास गरेर मुक्त हुन सक्छौं, निर्वाण प्राप्त गर्न सक्छौं।) भवतु सब्ब मंगलं।