बुद्ध र ब्राह्मण

– डा. केशवमान शाक्य
बुद्धले ब्राह्मणवादको विरोध गरे, तर संघमा ब्राह्मणहरूलाई नै उच्च स्थान दिए । ती होनहार ब्राह्मणहरूको प्रवेश नभएको भए बुद्ध धर्म शायद आजको स्थानसम्म आइपुग्दैनथ्यो होला । धेरैलाई थाहा नहोला– कपिलवस्तुका पाँच ब्राह्मण नै बुद्ध धर्मका प्रथम भिक्षुहरू थिए ।

कपिलवस्तु गणराज्यमा क्षेत्रीय कुलका शाक्यवंशी राजा शुद्धोदनको छोरो जन्मेको समाचार सुनेर हेर्न आउने प्रथम व्यक्ति हिमालयमा तपस्यारत शाक्य राजपुरोहित असित कालदेवल ब्राह्मण थिए । असित ऋषिको साथमा उनकै भान्जा नालक पनि थिए । ऋषिलाई ढोगाउन खोज्दा बत्तीस लक्षण युक्त, असाधारण गुणले सोभित बालकलाई उल्टै ऋषिले ढोगे । बालकलाई हेरेपछि असित ऋषि शुरुमा हाँसे अनि रोए । हाँस्नुको कारण थियो– पृथ्वीमा यस्तो बालक जन्मेको छ, जो गृहस्थ भए चक्रवर्ती राजा र गृहत्याग गरे बुद्ध बन्नेछ, संसारलाई दुःखबाट मुक्त गर्ने विश्वगुरु हुनेछ । ऋषि अनि रोए, किनकि बालक बुद्ध बनेर ज्ञान बाँड्ने बेलामा उनको देहान्त भइसक्नेछ, ज्ञान प्राप्तिको अवसर पाइने छैन । असित ऋषिले तत्क्षण चौरासी करोड धनका स्वामी भान्जा नालकलाई बालकले बुद्धत्व प्राप्त गरेपछि उपदेश लिन काषायबस्त्र पहिरनमा गृहत्याग गर्न लगाई तपस्याका लागि हिमालय पठाए । पछि नालकसँग भेट हुँदा बुद्धबाट नालकोवाद भन्ने सूत्र देशना (उपदेश) भएको थियो ।
बालकको नामकरण बेला कपिलवस्तुका राम, धज, लक्षण, मन्ती, भोज, सुयाम, सुदत्त र कौण्डन्य नामका आठ ज्योतिष ब्राह्मणहरू भेला भएका थिए । तीमध्ये सात जनाले दुई औंला ठड्याएर बालक चक्रवर्ती राजा वा बुद्ध बन्ने सङ्केत गरे । तर, सबभन्दा कान्छा कौण्डन्यले एउटा मात्र औंलो ठड्याउँदै बालक सर्वअर्थ सिद्ध गर्ने बुद्ध नै बन्ने ठोकुवाका साथ सिद्धार्थ गौतम नामकरण गरेका थिए । गौतम (उत्तम गाई) नाउँ हो, थर होइन, बुबाको नाउँ शुद्धोदन (पवित्र भात) भए जस्तै । राजकुमार सिद्धार्थले २९ वर्षमा गृहत्याग गर्दा ती आठ ज्योतिष ब्राह्मणमध्ये कौण्डन्य मात्र जीवित थिए । राजकुमारले गृहत्याग गरेको सुन्नेबित्तिकै दिवङ्गत सात ब्राह्मणका छोराहरू वप्प, भद्दिय, महानाम र अस्सजिले पनि कौण्डन्यसँगै गृहत्याग गरी प्रवजित (भिक्षु) बनी साथमा लागे ।

 

 

बुद्ध धर्मको प्रवर्धन गरेर नेपाललाई विश्वका शान्तिपे्रमीहरूको गन्तव्यस्थल बनाउन यो देशका बाहुन, क्षत्री, दलित, जनजाति, मधेशी सबैले मुदिता चित्तले श्रद्धापूर्वक योगदान दिनुपर्छ ।

 

 

सिद्धार्थले ३५ वर्षको उमेरमा बोधगयामा बुद्धत्व प्राप्त गर्दा ती पाँच ब्राह्मण सारनाथमा बसेका थिए । बुद्धले तिनैलाई पहिलो उपदेश दिएकाले उनीहरू नै बुद्धधर्मका प्रथम भिक्षुहरू हुन् । बुद्ध धर्मका प्रथम दुई सूत्र धर्मचक्रप्रवर्तन र अनात्मलक्षण तीनै पाँच ब्राह्मणलाई देशना गर्दा स्थापित भएका हुन् । धर्मचक्रप्रवर्तन सूत्रको उपदेशको आधारमा नै बुद्ध धर्मलाई चार आर्य सत्य र आठ आर्य मार्ग निर्दिष्ट गरिएको मध्यम मार्ग भनिएको हो । अनात्मलक्षण सूत्रको आधारमा बुद्ध धर्मले ईश्वरवादी आत्मा र नित्यता मान्दैन भनेको हो । बुद्धले देह त्याग्नुअघि भने अनुसार बुद्ध धर्मावलम्बीले दर्शन गर्न योग्य चार तीर्थस्थलमा बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, महापरिनिर्वाण भएको कुशीनगर र पाँच ब्राह्मणलाई पहिलो धर्म देशना गरेको सारनाथ हुन् ।

 

 

सिद्धार्थ गौतम बुद्ध बन्ने भविष्यवाणी गर्ने र गृहत्यागपछि साथ लागेर प्रेरणा दिनुबाटै बुद्धको प्रादुर्भाव र विस्तारमा ब्राह्मणहरूको देन स्पष्ट हुन्छ । बुद्ध जन्माउने महान् कार्यमा समाहित प्रथम भिक्षु पाँचै ब्राह्मण कपिलवस्तु अर्थात् आजको नेपालकै थिए । वर्तमान नेपालका ब्राह्मणहरूले यो तथ्यलाई मनन् गर्दै गर्व र जिम्मेवारी ग्रहण गर्नुपर्छ ।

 

 

संघ निर्माणमा ब्राह्मण

वैशाख पूर्णिमाका दिन बोधगयामा बुद्धत्व प्राप्त गरेको दुई महिनापछि आषाढ पूर्णिमामा बनारस सारनाथ पुगेका बुद्धले पाँच ब्राह्मणहरूलाई भिक्षु बनाएर संघ निर्माण थालेका थिए । सारनाथको त्यही बसाइमा बुद्धले एक जना महाजनका छोरा यशकुमारसहित ५५ जनालाई पनि भिक्षु बनाए । ती भिक्षुलाई बुद्धले ‘चरथ भिक्खवे चारिकं बहुजन हिताय बहुजनसुखाय लोकानुकम्पाय’ भन्ने वाक्य उद्घोष गरी धर्म प्रचारमा पठाए । त्यसपछि सरासर गया गएका बुद्ध प्रख्यात तीन भाइ जटाधारी ब्राह्मणहरू उरुबेल काश्यप, नदी काश्यप र गया काश्यपसहित १००० शिष्यका साथ बसे । बुद्धले तिनलाई प्रज्ञासँगै हजारौं ऋद्धि (अलौकिक शक्ति) देखाउँदै धर्म देशना गरी प्रदीक्षित बौद्ध भिक्षु बनाए । यसरी शुरुमै १००० ब्राह्मण भिक्षु बनेकाले बुद्ध धर्मको प्रवाह सशक्त हुनपुग्यो ।

राजगृह नगर (तत्कालीन मगधको राजधानी)मा एक दिन कपिलवस्तुका प्रथम पाँच भिक्षुमध्ये सबैभन्दा कान्छो अस्सजि भिक्षाटनमा गएको देख्दा प्रभावित भएका उपतिस्स ब्राह्मण र कोलित ब्राह्मण परिव्राजक (साधु) पनि बुद्धकहाँ गएर सारीपुत्र र मौदगल्याण नामका भिक्षु बने । धनी र प्रख्यात परिवारका होनहार सारीपुत्र र मौदगल्याण बुद्ध धर्ममा दीक्षित भएपछि बुद्धका अग्रश्रावक (अग्रपङ्तिका भिक्षु) बने । मौदगल्याण ऋद्धि (अलौकिकता) र सारीपुत्र प्रज्ञा (ज्ञान)तर्फका अग्रश्रावक भिक्षुका रूपमा प्रतिष्ठित भए । बुद्ध बिहारहरूमा बुद्धको प्रतिमाको दायाँ बायाँ उभिएका दुई भिक्षु मूर्तिहरू उनीहरूकै हुन् ।

 

 

सारीपुत्र र मौदगल्याणपछि बुद्ध जत्तिकै मर्यादा प्राप्त भिक्षु महाकाश्यप पनि धेरै धनी ब्राह्मण परिवारका थिए । धुताङ्गधारीहरूमा श्रेष्ठ महाकाश्यप बुद्ध जस्तै रुप र तेज भएकाले कतिपय मानिस झ्ुक्किन्थे पनि । एकपटक बुद्धले महाकाश्यपसँग चीवर (बस्त्र) साटेका थिए । बुद्धको महापरिनिर्वाण हुँदा महाकाश्यपले नै दागबत्ती दिएका थिए । महाकाश्यप बुद्धका उत्तराधिकारी जस्तै थिए । बुद्धको परिनिर्वाण भएको दुई महिनापछि राजगिरको सप्तपर्णि गुफामा मगध नरेश अजातशत्रुको संरक्षकत्वमा भएको शीर्षस्थ ५०० अरहत (मोक्षप्राप्त) भिक्षु सहभागी प्रथम धर्मसंगायना (धर्मसभा) को अध्यक्षता महाकाश्यपले गरेका थिए । सोही संगायनामा सम्पादन भएका सूत्र, विनय र अभिधर्म थेरवाद बुद्ध धर्मको मौलिक धर्मग्रन्थ हो ।

बुद्धकालीन ५० शीर्षस्थ भिक्षुमध्ये २५ जना ब्राह्मण कुलका हुन् भन्नेमा विद्वान्हरू एकमत छन् । ती भिक्षुहरूको महŒवपूर्ण योगदानकै परिणामस्वरुप बुद्ध धर्म र संघको रूपमा विकसित भयो । अजित, अस्सलायन, उदायी, काशीभद्र, गणक, गापक, घोतमुख, तिस्समेत्तेय, देवहित, धनञ्जानी, नगरविन्देयक, नन्द, परासरिय, पिङ्गलकोच्च, बाभरी, मागण्डिय, लोहिच्च, वेरञ्जा, संगरव, सलवासी, सिक्खमोग्गलाण, सुधिका, सेला, हुन्हुंका, हेमक, उपशिव, कप्पो, घोतक, जातुकण्णिक, पुण्णक, पोशाल, भद्रवुध, मेतग्गु, मोघ, मोघराज, बच्छगोत्त, सुन्दरिक, पच्चनिकसात, पिप्पली, कुण्डधान, राध, पिण्डोल, शोभित, सागत, खदिररेवत, पिलिन्दवत्स, वंगिश, वक्कली, उपसेन आदि संघ निर्माणमा सर्वाधिक उल्लेख्य ब्राह्मण भिक्षुहरू हुन् ।

 

 

अन्य ब्राह्मण

बुद्ध धर्ममा गृहस्थ र अन्य परिव्राजक ब्राह्मणहरूको योगदान पनि विशिष्ट छ । सिद्धार्थ गौतमले गृहत्याग गरेपछि आलारकालम र उद्दकरामपुत्र नामका दुई पण्डितको आश्रममा ज्ञान सिकेका थिए । बुद्धत्व प्राप्तिपछि बुद्धले कृतज्ञता स्वरुप सबभन्दा पहिले आलारकालम र उद्दकरामपुत्रसँगै ज्ञान बाँड्न चाहेकोमा उनीहरूको देहान्त भइसकेकाले सारनाथ गएका थिए ।

बुद्धको दाहसंस्कारबाट उत्पन्न अस्थिधातुको लागि भएको झ्गडा मिलाउने पनि ब्राह्मण नै थिए, कुशीनगरका राज पुरोहित द्रोण ब्राह्मण । उनले बुद्धिमत्तापूर्वक ८ भागमा बाँडेको अस्थिधातु लगेर स्तूप बनाई अनुष्ठान गर्नेहरू थिए— मगध नरेश अजातशत्रु, वैशालीका लिच्छवि राजा, कपिलवस्तुका शाक्य राजा, अल्लकप्पका बुलय राजा, रामग्राम (अहिलेको नवलपरासी)का कोलीय राजा, बेठदीपक नगरका ब्राह्मण, पावा नगरका मल्ल राजा र कुशीनगरका मल्ल राजाहरू । द्रोण ब्राह्मणले भने अस्थिधातु भाग लगाउन प्रयोग भएको कुम्भ (मानो) राखेर स्तूप बनाए । पिप्पलीवनका मौर्यहरू ढिलो आइपुगेकाले अस्थिको भाग नपाएपछि चितामा बाँकी रहेको गोल (अँगार) लगेर मोरनगर (हालको वीरगञ्ज आसपास) मा स्तूप बनाए ।

 

 

बुद्धत्व प्राप्तिपछि बुद्धले ४५ वर्षसम्म गाउँ, नगर, निगम र देश–देशावर घुमेर दिएका उपदेशहरू सङ्ग्रह गर्ने प्रयत्न पाली भाषाको त्रिपिटक (सूत्रपिटक, विनय पिटक र अभिधम्म पिटक) मा भएको पाइन्छ । त्रिपिटकमा ८४,००० धर्म स्कन्ध छन्, जसमा सयौं ब्राह्मणहरूको नाउँ र उनीहरूसँग भएका शास्त्रार्थबाट निस्केका निचोडहरू लिपिबद्ध छन् । सूत्रपिटकको २० पोठी (ग्रन्थ) मध्ये ५०० पृष्ठको एक पोठी ‘दीघनिकाय’ मात्र हेर्दा पनि बुद्धसँग शास्त्रार्थ गरेका थुप्रै ब्राह्मणहरू भेटिन्छन् ।

 

 

नालन्दा नजिक सुप्पिय ब्राह्मणसँगको शास्त्रार्थपश्चात् ब्रह्मजाल सूत्रमा ६२ दार्शनिक मत जन्मेको थियो । इच्छानंगलमा पुष्करसाती र अम्बठ्ट ब्राह्मणसँगको शास्त्रार्थ पछि बनेको अम्बठ्ट सूत्रमा शाक्यहरूको उत्पत्तिको वर्णन छ । यसैगरी, अङ्गदेशको चम्पानगरमा षोणदण्ड ब्राह्मणसँगको शास्त्रार्थपछि बनेको षोणदण्ड सूत्रमा ब्राह्मण को हो भन्ने उल्लेख छ भने मगधदेशको खाणुमतका कूटदण्ट ब्राह्मणसँगको शास्त्रार्थबाट सिर्जित कूटदण्ट सूत्रमा राज्यमा अशान्ति मच्चिने कारण र निराकरणहरू छन् । कोशलदेशको मनसाकटमा चंकी, तारुक्ष, जानुश्रोणी, तोदेय्यलगायतका ब्राह्मणहरूसँगको शास्त्रार्थबाट बनेको तेविज्ज सूत्रमा ब्रह्माबारे, राजगृहको गृद्धकूट पर्वतमा मगधमहात्य वर्षाकार ब्राह्मणसँगको शास्त्रार्थपश्चात् बनेको महापरिनिर्वाण सूत्रमा ‘वैशालीका लिच्छविहरूलाई मगधले युद्धमा हराउन नसकेको कारण सात अपरिहानीय धर्मबारे, कोशलदेशको श्रावस्ती पूर्वाराम बिहारमा वाशिष्ठ र भारद्वाज ब्राह्मणहरूसँगको शास्त्रार्थबाट बनेको अग्गञ्ञ सूत्रमा क्षत्री जातिको उत्पत्ति र श्रेष्ठताका साथै राजाको उत्पत्तिबारे बुद्धबाट भएका देशनाहरूमा ब्राह्मणहरूको चिन्तन बुझन सकिन्छ ।

 

 

अन्त्यमा

नेपालको लुम्बिनीमा शाक्यमुनि बुद्ध जन्मे । कनकमुनि र क्रकुछन्द बुद्ध पनि कपिलवस्तुमै जन्मे । काठमाडौं उपत्यका नागपोखरी हुँदा विपस्सी बुद्धले तपस्या गरेको र स्वयम्भूमा फुलाएको कमलमा ज्योति उत्पन्न भएको किम्बदन्ती छ । हजार वर्षअघि हिमाली भेगमा पद्मसम्भवले बज्रयान धर्म फैलाएका थिए । २६०० वर्षको इतिहासको कालखण्डमा नेपालको पहिचानमा बुद्ध र बुद्ध धर्म अभिन्न अङ्ग भइसकेको छ । नेपालमा बुद्ध धर्मको प्रवर्धन हुँदा विश्वका बुद्ध धर्मावलम्बी र शान्तिपे्रमीहरूको गन्तव्यस्थल हुनेछ, यो देश । यसका लागि बाहुन, क्षत्री, दलित, जनजाति, मधेशी सबैले मुदिता चित्तले श्रद्धापूर्वक योगदान दिनुपर्नेछ ।

यसमा पनि बुद्ध धर्मको स्थापना र विकासमा अग्रणी भूमिका खेलेका ब्राह्मणहरू नेपालको राज्य सञ्चालनमा सङ्ख्या र स्थान दुवै रूपमा निर्णायक छन् । त्यसैले, उनीहरूको भूमिकाले विशेष महत्व राख्दछ । आज धर्मनिरपेक्ष राष्ट्र नेपालमा हिन्दू र बौद्धको विभाजित मानसिकता त्यागेर पुर्खाले सुम्पेको दायित्व निर्वाह गर्नु सबैका लागि सर्वाधिक महत्वको विषय हुन आएको छ ।

(शाक्य धर्मोदय सभाका आजीवन सदस्य हुन् ।)

 

http://jheegu.com/180503b/