लुम्बिनीमा ट्याम्पु आतंक

राजमाया पुतवार

हामी सबै बुद्ध नेपालमा जन्मेका हुन् भन्नेहरु । बुद्धको नाममा भारतसँग युद्ध गर्न पनि पछि नपर्नेहरु । बुद्ध नेपालमा जन्मेको भनेर भन्न पाएपछि हुरुक्कै हुने हामीहरुलाई कसैकसैले पीठ पछाडि तिमीहरु खाली बुद्ध नेपालमा जन्मेको भनेर भन्न जानेका छौ, कहिल्यै लुम्बिनी घुम्नु भएको छ? भनेर कर्के नजर लगाएर सोधेको छ । यही कारणले यो महिना हामीले सपरिवार लुम्बिनीमा जाने चाँजोपाँजो मिलायौं । घरमा कुराकानी गर्यौं, केटाकेटीको स्कुल छुट्टी पनि मिलायौं । अनि लाग्यौं हामी बुद्धको जन्मभूमितर्फ ।
दिनभरीको नेपाली राजमार्गको यात्रा । त्यो पनि माइक्रो बसमा । बेलुका पख पुगेर थकाई मार्यौं । दिनभरीको यात्राले थकान महशुस हुनु स्वभाविक थियो ।

भोलिपल्ट बिहानै मयादेवीको मन्दिर जाने तरखर गर्यौं । चिया नास्ता सकेर हामी सबै लुम्बिनीको गुरुयोजना क्षेत्र भित्र जान हिँड्यौं । त्यहाँ भित्र जाने ठाउँमा लस्करै खुल्ला प्रकारका विद्युतीय ट्याम्पुहरु राखेका रहेछन् । हामीलाई खुशी लाग्यो लुम्बिनी भ्रमण गर्न आउने पर्यटकहरुका लागि यस्तो राम्रो व्यवस्था गरेको देखेर । हिँड्न नसक्नेहरुका लागि त यो झन् नभइनहुने कुरा थियो ।

“मायादेवी मन्दिर र अन्य विभिन्न देशहरु घुमाउनु पर्यो, कति पैसा लिने ?” त्यहाँ लाइन मिलाएर राखेका ट्याम्पु मध्येको एउटा ड्राइभरलाई सोध्यौं । काठमाडौंमा ट्याक्सीहरुको जस्तो पहिले नै भाउ मिलाउनुपर्ने त होला भन्ने लागेको त थियो ।

एउटाले अगाडि आएर भन्यो , “जुनमा चढेपनि सबैठाउँमा घुमाइदिन्छौं आठ सय लाग्छ ।”

इति भनेपछि बुझिहाल्यौं, यहाँ पनि सिन्डिकेटको राज छ । कसैले कममा लाँदैन अनि चाहे पनि जान सक्दैन । हामीले पनि सोच्यौं सबै ठाउँमा प्याकेजमा घुमाइदिन्छु भनेपछि आठ सय धेरै होइन, एक दिन त लाग्छ होला । मनमा यति धेरै पैसा खर्च किन गर्ने भन्ने त भएको थियो तर फेरि यस्तो महान् पवित्रस्थलमा आउँदा नि मनलागी खर्च गर्न पाइएन भने केका लागि कमाउने भन्ने पनि भयो । अनि हामी सबै परिवार तीनवटा ट्याम्पुमा मिलेर बस्यौं ।

खुल्ला प्रकारको जताबाट पनि हावा छिर्ने ट्याम्पु रामै्र लाग्यो । विस्तारै जाँदो रहेछ, तर इन्जिनको आवाज नआउने भएको ले वातावरणको शान्ति बिथोलेन । यस अर्थमा हामीलाई यो राम्रो लाग्यो ।

हामी ट्याम्पुमा बसेर चीनियाँ, कोरियन, जर्मन, फ्रेन्च, नेपाली र अन्य एक दुइटा मन्दिरहरु सरसरी घुम्न भ्यायौं । ट्याम्पु ड्राइभरहरुले हतार गरे । छिटो गर भ्याउँदैन भन्न थाले ।

पछि मात्र थाहा भयो । यो त २ घण्टाको लागि मात्र रहेछ । आठ सय रुपैंयामा जहाँ जति समय बसेपनि दुईघण्टा भित्र फर्काएर लाने रहेछ । उनीहरुले नबुझाएको हो कि, हामीले नबुझेको हो पत्तै भएन । समयको प्याकेज थियो भने किन पहिल्यै स्पष्टसँग भनेन ? यति धेरै ट्याम्पु व्यवसायीहरु भएको ठाउँमा ट्याम्पु चढ्नेहरुका लागि सामान्य नियमहरु भएको कुनै सूचना किन टाँसिएन? सम्बन्धित निकायहरु के हेरिबसेको थियो? मेरो मथिङगलमा यी सबै प्रश्नहरु फनफनी घुम्न थाले ।

कुरा गर्दा गर्दै उनीहरुले समय सिद्धियो भन्न थाले । यति मात्र त हिँडेर आउँदा नै चाँडैं घुम्न सकिन्थ्यो भन्ने थाहा भयो । अब के गर्ने? हामी आत्तियौं । उनीहरुले कचकच गर्न थालिसके बच्चाहरुले पुरा घुमाएन भनेर रोइलो गर्न थाले । हामीलाई पनि राम्रो लागेन आधा लुम्बिनी हेरेर जान । हामीले अनुरोध गर्यौं ती ड्राइभर भाइहरुलाई कि अलिकति पैसा थपिउिँला अरु पनि ठाउँमा लैजाउ भनेर । हामीलाई शान्ति स्तुपा सम्म त लगे अनि फेरि फर्काएर डुंगा चढ्ने ठाउँमा लगिदियो, अरु थुप्रै मन्दिरहरु त हेर्न पनि पाइएन । हामीले भैगो तपाइँहरु जानुस् कति पैसा लिने हो भनेर सोध्दा होटलसम्म पुर्याइदिन्छौं भने । हामी डुंगा चढेर एक घण्टा बितायौं ।

त्यसपछि उहाँहरुले हामीलाई नजिकैको महिलवारको होटलमा ल्याइदिए । अनि उनीहरुले आफ्नो सक्कली अनुहार देखाउन थाले ।

उनीहरु त यति घण्टा भयो भनेर हामीले जाउ भनेको समय सबै जोडेर २ हजार मागे । केही भन्न पनि सकेनौं हामीले हामीलाई राम्रो लागेको सुविधा भनेको यो ट्याम्पु यति महँगो होला भनेर ।

हामीसँग उनीहरु करिब ४ घण्टा बसे होला अनि हामी ६ किलोमिटर पनि घुमेनौं । यतिको लागि २ हजार ? फेरि उनीहरुले मन्दिरको क्षेत्रसम्म लगेर छोडिदिने बाहेक केही पनि गरेन । हामी आफै मन्दिरहरु खोजेर घुमेर फर्कन्थ्यौं, उनीहरु एउटा कुनामा हामीलाई पर्खेर बस्थे । यति महँगो सेवा थियो त्यो ? यो त काठमाडौंको ट्याक्सी भन्दा पनि महँगो भयो । उनीहरु यस्तो त दिनको ३÷४ पल्ट गर्नसक्थे अनि दिनको आम्दानी ८ हजार हुनसक्थ्यो । यसो भनेको उनीहरुको मासिक आम्दानी २लाख ४० हजार रुपैंया । कमाउनेहरुले जति सुकै कमाउन् तर हामीलाई दिइएको सेवा र सुविधाको तुलनामा हामीसंग मागिएको रकम अचाक्लै धेरै भयो भन्ने मात्र हाम्रो गुनासो हो । यो त सिधै आतंक भयो, लुम्बिनीमा ट्याम्पु आतंक ।

कति बहस गर्दा पनि उनीहरु २ हजार भन्दा कम गर्न मानेनन् । न हामीलाई पहिले यति सेवाको यति पैसा लिने भनेर भनेको भए हामी कि त्यो सेवा नै खरिद गर्दैनथ्यौं या यति नै हो हामीले तिर्ने पैसा भनेर मानसिक रुपमा तयार हुन्थ्यौं । पहिला यति नै हो भनेर हामीले सोध्दा भन्ने र सेवा लिइसकेपछि यति नै चाहिन्छ भनेर माग गरेकोले हामीले आफुहरु ठगिएको अनुभव गर्यौं । हामीले अलिकति घटाइदेउ, यो त अति भयो भनेर अनुरोध गर्दा त्यहाँ उभिएका सबै ड्राइभरहरुले हमला नै गर्न आउला जस्तो गरी आक्रमक व्यवहार गरे, पैसा लिन्न फालिदिन्छु भनेर नाटक गरे । अन्ततः हामी ४ घण्टामा ६ किलोमिटर यात्रा गरेको २ हजार तिरेर फर्कन बाध्य भयौं ।

अचम्म लाग्छ लुम्बिनीमा ट्याम्पु व्यवसाय चलाएर बस्नेहरु किन त्यहाँ घुम्न आउने सबै यात्रुहरुको घरमा रुखको पैसा छ अनि भनेजति पैसा तिर्छन् भन्ने सोच राख्छन् ? नेपालका तीर्थस्थलहरुमा नेपाली तीर्थयात्रीहरुको औसत पैसा खर्च गर्ने क्षमता यति हो भन्ने हेक्का स्थानीय भनाउँदा ती ट्याम्पु व्यवसायीहरुलाई हुँदैन? स्पष्ट छ यहाँ सिन्डिकेट छ अनि सामान्य नियम र प्रतिस्पर्धाको व्यवसाय चल्दैन । के प्रहरी र लुम्बिनी विकास कोष लगायतका स्थानीय व्यवसायी संस्था संगठनहरुलाई यस्तो दिनदहाडै हुने गरेको लुटको बारेमा थाहा छैन? यस्तो देख्दा देख्दै कारवाही नहुने अवस्थामा हामी सर्वसाधारणहरु ती ट्याम्पु ड्राइभरहरुले आफ्नो कमाइको केही भाग ती माथिल्ला निकायका कर्मचारीहरुकहाँ सम्म पुर्याउँछन् भनेर भन्नुपर्ने हुन्छ ।

हुन त धर्म गर्न जाँदा यस्तो ठगियो भन्ने कुरा लेख्न नहुने थियो । तर पनि लुम्बिनी जस्तो पवित्र तीर्थस्थल यस्तो अस्तव्यस्थ हुनु कदापि सह्य हुँदैन । सम्बन्धित निकायको ध्यान जाओस् भनेर यति लेख्ने कोशिस गरेको हो । धन्यवाद ।