चार करोडको टहरा र सरकारी बुद्ध जयन्ती

राजमाया पुतवार

चार नेपालका बौद्धहरुले बुद्धको जन्म, सम्बोधी ज्ञान प्राप्त गर्नुभएको र निर्वाण पद प्राप्त गर्नुभएको बुद्ध जयन्ती अर्थात् स्वांया पुन्हि मानउँदै आइरहेको हिजोआज मात्र होइन । अहिले यति मात्र भएर पुगेन, योभन्दा ठुलो स्तरमा बुद्धजयन्ती मनाउनु पर्यो भन्ने मागलाई ध्यानमा राखेर राजा त्रिभुवनलाई आनन्दकुटी विहारमा प्रमुख अतिथि बनाएर नै कार्यक्रम गर्ने परम्परा चल्यो । यति भएपछि नेपालमा बुद्धधर्मको विकास भयो, अब राजकीय संरक्षण प्राप्त भयो भनेर एकखाले बौद्धहरु खुशीले गदगद् भएका पनि थिए ।

हामीलाई याद छ दिनभरि स्वयम्भुमा भीडभाड भइरन्थ्यो । बिहानैदेखि थेरवादीहरु, महायानीहरु अनि वज्रयानीहरु त्यहाँ भेला भइरहन्थ्यो, आआफ्नो तरिकाले भगवान बुद्धलाई श्रद्धा चढाइरहन्थ्यो । अनि दिउँसो राजाको सबारी हुने समय भया ेकि त्यहाँ पुलिसहरुको सक्रियता बढ्थ्यो, मानिसहरुलाई यताउति गर्न दिँदैनथ्यो, कोही यता पर्थे, कोही उता पर्थे, धर्म गर्न आएका बौद्धहरुको बिजोग हुन्थ्यो । तैपनि हाम्रा बौद्ध भिक्षुहरु अनि बुद्धर्धको प्रचारप्रसारको जिम्मा लिएर बसेका संघसंस्थाका नेताहरु गमक्क फुल्थे, हामीलाई चाहिने यही हो, एकदिन भएपनि राष्ट्राध्यक्षलाई स्वयम्भुका बौद्धहरुको सभामा प्रमुख अथिति बनाएर बिराजमान गराउन सक्यौं भनेर । न त्यो राजाले पञ्चशील लिन्थ्यो, न भिक्षुभिक्षुणीहरुलाई कुनै आदर गथ्र्यो, न त कहिल्यै बुद्धशिक्षाप्रति आस्था देखाउँथ्यो, नत भत्केका बिग्रेका बौद्धस्मारकहरुको जीर्णोद्धार गर्न दुइचार पैसा नै राज्यको धुकुटीबाट निकाल्ने बचन दिन्थ्यो । हामीहरुलाई हातमा लाग्यो फुस्सा गरेर जान्थ्यो तर पनि हामी बौद्धहरुको नाक हाँत्तीको सुँड जत्रो हुन्थ्यो ।

युद्धकालमा पनि यस्ता राजनीतिक व्यक्तिहरु भेटिने भएकोले त्यसबेला बुद्धजयन्तीको कार्यक्रमको महत्व हुने कुरा अहिले सम्झिन्छु । अरुबेला देखादेख पनि नहुने नेताहरु एकै मञ्चमा बस्ने मौका मात्र बन्थ्यो यस्तो पवित्र दिनको समारोह पनि । उनीहरु एकपछि अर्को पालैपालो भनेर जान्थे, बुद्धको जन्मभूमिमा युद्ध भइराख्नु उचीत होइन, बुद्धको शान्तिको सन्देश मनन गरौं भनेर (अनि त्यसको भोलिपल्टदेखि दिनहुँ दर्जनौं लास गाउँ गाउँमा लहरै लम्पसार गरेर राखेको दृष्य टेलिभिजनले देखाउँथ्यो) । त्यस्ता कार्यक्रमहरुमा पत्रकारहरु त पुग्थे तर उनीहरुको ध्यान बुद्धजयन्ती समारोहमा होइन नेताहरुको भासनमा मात्र केन्द्रीत हुन्थ्यो । त्यस्तो दिन पनि हामीले हेरेका थियौं ।

यस्तै प्रकारले नेपालमै जन्मेका भगवान बुद्धलाई सम्झिने बुद्धजयन्तीको दिनमा राज्यले आफ्नो उपस्थिति देखाउने रुची देखाए पनि, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सरकारले बुद्धधर्मलाई उचीत आदर दिएको छ र बौद्धहरुको हक हितको लागि केही गर्दै छ भन्ने सन्देश दिने जति कोशिस भइरहेपनि यस्तो भने हुनसकेको छैन । फलस्वरुप नेपालका बौद्धहरुले सरकारमा बस्नेहरुलाई मन पर्ने धर्मलाई जति सम्मान र अनुदान लिन पाइरहेको छैन ।

४७ सालमा संविधानमा धर्मनिरपेक्षता लेखाउनको लागि बौद्धहरुको गरेको आन्दोलनलाई हामीले बिर्सेका छैनौं । अझ अन्तरिम संविधानमा धर्म निरपेक्ष भनेर लेखिसकेको पनि अहिले आएर सनातन धर्मलाई मात्र विशेष संरक्षण हुने किसिमको व्याख्या गरिएको छ । यति भएर पनि हामी बौद्धहरुले यो होश राख्न सकिरहेका छैनौं, अथवा चाल पाएर पनि यसको प्रत्युत्तरमा कुनै किसिमको आत्मरक्षाको योजना समेत बनाइरहेका छैनौं । हामी बौद्धहरुलाई यसरी अर्काको अगाडि देखाउने शोपिस जस्तो मात्र बनाएर राज्यले बौद्धहरुको नाममा देशको ढुकुटीमै हमला गरेपनि यो हामी बौद्धहरुलाई स्वीकार्य भइरहेको छ ।

नेपालको माथिल्लो तहका नेताहरु सबै हिन्दु धर्मावलम्बी नै हुन्छन्, यो भनिराख्नुपर्ने कुरा होइन । समाजवाद भन्नुस् वा साम्यवाद, उनीहरुले धर्मलाई अफिम अफिम भनेर जतिसुकै भासन गरेपनि उनीहरुको आफ्नो वैदिक धर्मप्रति उनीहरुको आस्था रहेको बेलाबखतमा सञ्चार माध्यमहरुले देखाइनै रहेको हुन्छ, त्यसैले उनीहरु बुद्धधर्म विदेशीहरुलाई बेच्ने सामाग्री भन्दा बढी केही मान्दैनन् । जुन व्यक्ति प्रधानमन्त्रीको पद ग्रहण गर्नको लागि कालो बोकाको बलि दिएर गृह प्रवेश गर्छ उसले बुद्धधर्मको कार्यक्रममा आएर बुद्धधर्मकोे महत्व बताउन आउने भनेको आफुप्रति नै व्यंग्य हो ।

वर्तमान अवस्थामा पनि यो परिवेशमा अलिकति पनि परिवर्तन आएको छैन । दुई वर्ष अगाडि मात्र सरकाले सन् २०१६मा अन्तर्राष्ट्रिय रुपमा लुम्बिनीमा २८ देशका प्रतिनिधिहरु सहभागी गराएर काठमाडौंको सोल्टी होटल र लुम्बिनीमा धुमधामका साथ बुद्ध जयन्ती मनायो (बौद्धहरुलाई नै प्रवेश गर्न नदिएको उक्त सम्मेलनको समीक्षा अहिले नगरौं)। त्यसलाई भव्य सफलता भनियो । सात करोड खर्च गरेको भनिएको उक्त सम्मेलनको उपलब्धि के भयो, खर्च विवरण खोइ भनेर भनेर नेपालकै कुनै बौद्ध संघसंस्थाले सोधेको अनि सरकाले उत्तर दिएको थाहा पाउने अवसर प्राप्त भएको छैन । सरकारका लागि यस्तो अवसर भनेको बुद्धको नाममा यति पैसा खर्च भयो भनेर देखाउने अनि त्यो सबै आफ्नो पार्टीका कार्यकर्ताहरुको खल्ती भर्ने बाहेक अरु केही तात्विक उपलब्धि भएको बौद्धहरुले देख्न पाएको छैन ।

यही पृष्ठभूमिमा यो वर्ष पनि सरकारले छ करोड रुपैंया खर्च गरेर लुम्बिनीमा बुद्धजयन्ती मनायो । म एक सहभागी भएको नाताले आफुले देखेका केही कुरा समीक्षात्मक ढंगले राख्ने अनुमति चाहन्छु । सुन्दा त एकदम राम्रो लागेको थिया,े सरकारले बौद्धहरुको यस पर्वका लागि यति धेरै पैसा खर्च गर्न लागेको भनेर । हुन पनि राज्यबाट केही पाएको अनुभूति गर्न नपाएका बौद्धहरु यति धेरै जिम्मेवारी लिएर बुद्धजयन्ती मनाउन लागेको सुन्दा हर्षित हुनु स्वाभाविक थियो । यो समाचार विश्वमा समेत चर्चाको विषय बन्यो होला, नेपाल सरकार बुद्धधर्म व बौद्ध जनताको मन राख्न भएपनि बुद्धको दर्शनको गाम्भीर्य बुझेर वा यस त्रिसंयोग दिवसलाई हृदयंगम गरेर यो अभिभारा बोकेकोमा । तर दुःखको कुरा, भित्री यथार्थ अर्कै थियो ।

यसवर्ष बुद्धजयन्ती समारोहको लागि सरकारले छ करोड बजेट त छुट्यायो तर कसैलाई नसोधी खबरै नगरी त्यसको चार करोड रुपैंया भने आफ्नै सेनाको खल्तीमा राखिदिएको छ, यसबापत सेनाले त्यहाँ एउटा बडेमानको टहरा बनाइदिने शर्तमा । तीन हजार मानिस अट्ने भनिएको अस्थायी टहरा यो एक वर्ष भन्दा बढी काम लाग्ने छैन, न त्यो फुकालेर फेरी कुनै बेलामा आवश्यकता अनुसार पुनः प्रयोग गर्न सकिने नै छ । टहरा बनाउने जस्ता ससाना चारपाटे डण्डीहरुको को संरचना बनाएर जिप्समको बोर्डले मोडेर त्यसमाथि जस्ताको पाताको छानाअनि स रकारी कार्यलयमा जस्तो टुङरुङ्ग झुण्डिएको पंखाले त्यसको लागतको अनुमान गराइदिन्छ । एक वर्ष यता त त्यहाँ कुनै राजकीय कार्यक्रम हुने सम्भावना नै छैन अनि त्यस पछि भने त्यहाँको हावाहुरीले थलथलिएपछि अर्को कार्यक्रमको बेलासम्म यो टहरा किलोको भाउमा कवाडीलाई बेच्नलाई मात्र ठिक्क हुने अवस्था देख्दछु ।

किन चाहियो चार करोड पर्ने टहरा ? लुम्बिनी भन्ने स्थान बुद्धको जन्मभूमि भनेर प्रख्यात भएपनि त्यहाँ सामान्य आधारभूत स्वास्थ्य सेवा समेत पाइ्ँदैन, बच्चाहरु पढ्नलाई स्तरीय स्कुलहरु छैनन् । त्यस्तो अत्यावश्यक स्वास्थ्य केन्द्र मात्र भइदिएको भए लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. भद्ररत्न वज्राचार्यको केही महिना अघि त्यसरी देहान्त हुने थिएन होला । त्यहाँ तत्काल चाहिने भनेको एक साधारण अस्पताल हो । सामान्य मानिसलाई थाहा छ चार करोडमा नेपालमा एक व्यवस्थित सानो स्थायी अस्पताल बन्न सक्छ । तर नेपाल सरकारले बुद्ध जयन्तीको लागि त्यहाँ बालुवामा पानी राख्ने जस्तो टहरा नै बनाउने रोज्यो । किन बनायो टहरा ? धेरैलाई थाहा छ, परार त्यहाँ बुद्ध जयन्ती समारोहमा हुरी बतास आएर सबै कार्यक्रम चौपट भयो । त्यसबेलामा पनि केपि ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले जोशिलो भाषणमा चाँडै नै त्यहाँ पक्की सभागृह बनाउने घोषणा गर्नुभयो । यो बुद्ध जयन्तीमा पनि आफै प्रधानमन्त्रीको हैसियतले भाषण गर्नुपर्ने अवस्था आएपछि आफ्नो इज्जत जोगाउन भएपनि चार करोडको टहरा रातारात बनाउने निर्देशन दिनुभयो । होइन भने लुम्बिनी भनेकै विश्वका बौद्धहरु शान्त भएर ध्यान गर्ने भनिसकेपछि त्यहाँ यस्तो हजारौं मानिस जम्मा पारेर होहल्लाबाजी हुने कार्यक्रमको कल्पना पनि कसैले गरेको हुँदैन । आधा शताब्दीमा पनि पुरा नहुने जापानी आर्किटेक्ट केन्जो तान्गेको गुरुयोजनामा यस्तो संरचना बन्नै सक्दैन ।

राज्यले कुनै ठुलो स्तरको निर्माण कार्य गर्न केही निश्चित प्रक्रिया पुरा गर्नुपर्छ । सरकारले हतार हतार केही बनायो भने भष्ट्राचारको मुद्दा खेप्नुपर्छ । तर यहाँ यस्तो केही प्रक्रियामा नगई एक निर्णयको भरका अमुक निर्माण कम्पनी (यहाँको अवस्थामा नेपाली सेना)लाई सिधा जिम्मा दिइयो भन्ने प्रश्न आउनु स्वभाविक हो । यसको कारण यही हुनसक्छ कि राज्यलाई जसरी भएपनि सेनाको खल्तीमा पैसा पुर्याइदिनुपरेको छ । यहाँ न टेण्डरको कुरा आयो, न घटाघटको कुरा आयो, न त गुणस्तरकै कुरा आयो । भोलि आधा पैसा कसैले खल्तीमा राखेको भएपनि खरदार, सुब्बालाई समातेर समाचार बन्ने अख्तियारले यहाँ कति भ्रष्टाचार भयो भनेर हात हाल्न पाउँदैन । यति धेरै फाइदा हुने भएकोले नै सेनाले टहरा बनाउन पाएको हो , त्यो पनि बुद्धजयन्तीको हुलमुलमा । बुद्ध जयन्ती त एउटा निहुँ मात्र हो, सरकार, सरकारी मानिसलाई त केही बनाउन परेको छ यहाँ ।

बुद्ध र बौद्धहरु सबैका लागि देखाउने कुरा भएको छ । बुद्ध देखाएर माग्ने, खर्च गर्ने अनि भ्रष्टाचार गर्ने त सरकारको नियत नै जस्तो देखिन्छ । उनीहरुले बुद्धको नाममा यो गर्ने त्यो गर्ने भनिरहँदा कसैले उनीहरुलाई आधारभूत बुद्ध शिक्षा मात्र दिन सकेको भए उनीहले यस्तो भ्रष्टाचारमा मुछिने काम गर्ने थिएन । नेपालमा बौद्धहरुको संख्या कम हुनु अनि नेपाल भ्रष्टाचारको सूचिमा पर्नु कुनै संयोग होइन ।

हेलिकेप्टरबाट ओर्लने बितिकै एकघण्टाको रमाइलो हेरेर जाने व्यक्तिका लागि यति तामझाम गरेर करोडौं खर्च गर्नुभन्दा त्यो पैसा गाउँ गाउँमा भत्केका गुम्बाहरु बनाउन, लामा गुरुहरुको स्वास्थ्य उपचारको लागि, अथवा बौद्ध समुदायमा शिक्षाको ज्योति बाल्नको लागि नै खर्च गर्दा के सरकार आलोचनाको पात्र बन्नुपर्ने थियो र? बुद्ध जयन्ती आइन्दा सरकारको खर्चगर्ने बहाना नहोस् । यो हामी सबै बौद्धतर्फबाट सरकारलाई अनुरोध पनि भयो । सबैको मंगल होस् ।