ध्यान गर्नेहरुका लागि बुद्ध शिक्षा

सम्यक सम्बाेधि प्राणपुत्र

ध्यान गर्नेले बुद्ध शिक्षा अनुसार बुझ्नु पर्ने न्यूनतम कुरा–
१.स्मृति– होश । होश आउदा मात्र हामीलाइ जानकारी हुन्छ । वेहोशीमा केही पनि जानकारी हुदैन । होश आउदा मन बिग्रदैन । बिग्रेको पनि होश आउना साथ सुध्रिन्छ ।

होशको मापदण्ड वा पहिचान– होश आउदा अनुहार शान्त हुन्छ । वेहोशीमा हास्ने, मुस्काउने, निधार खुम्चाउने, अनुहार अंध्यारो पार्ने आदि हुन्छ । यसैल होश छ छैन भनेर थाहा पाउन अनुहार हेरेर मानिसमा होश छ छैन थाहा हुन्छ । शान्त भए छ, शान्त छैन भने छैन । यसलै दिनभरीमा कति सेकेन्ड अनुहार शान्त राख्न सकिन्छ राख्ने कोशिस गर्नु पर्छ ।

२.समाधि– एकाग्रता, लगनशीलता । तर होश नआइकन एकाग्रता हुदैन । एकाग्रता नभएसम्म कल्पना आइ रहन्छ । यसको लागी शरीर याद गरेमा कल्पना कम भएर जान्छ । शरीरमा अन्य साना ठूलो जस्तो सुकै घटना होस सुरु भएदेखि समाप्त नभएसम्म थाहा पाउनु पर्छ । जब जब कल्पना बढछ शरीर बिर्सिन थाल्छ । आंखाले पनि देख्दैन, कानले पनि सुन्दैन आदि आदि । यसैले कल्पना गरेर बाटोमा हिडदा अनेक दुर्घटना हुन्छ । आजकाल बाटोमा हिडदा पनि मोबाइमा व्यस्त भएको कारण नदेखेको, नसुेनेको कारण दुर्घटना बढेको छ ।

समाधिको मापदण्ड वा पहिचान– समाधिमा शरीर स्पष्ट थाहा हुन्छ । शरीर थाहा हुनासाथ कल्पना कम भएर मन शान्त भएको अनुभव हुन्छ ।

३.प्रज्ञा– एकचित्त भएको अवस्थामा त्यहां के भइ रहेछ भनेर जानकारी नै प्रज्ञा हो । यसलै एकचित्त बनाइसके पछि त्यहां के हुदैछ, कसरी हुदैछ, कति बेर हुदैछ आदि लगातार थाहापाउने कोशिस गर्नु पर्छ । यसले जुन अनुभूति (प्रज्ञा) आउछ यसले हाम्रा भ्रम निवारण गर्छ ।

प्रज्ञाको मापदण्ड वा पहिचान– प्रज्ञा हुदा मनमा जस्तो विचार आए तापनि, शरीरमा जस्तो सुकै पीडा, सुख भए तापनि प्रतिकृया गर्दैन । अनुहार मन दुबै शान्त, स्थिर संयमित बनाउछ । किनकि प्रज्ञा उत्पन्न भए पछि जे चिज पनि अनित्य (क्षणिक), दुक्खदायी, र मेरौ अधिनमा नभएको भनेर अनासक्त भाव विकास गर्छ ।

अब एक दिनमा ८६,४०० सेकेन्डमध्ये कति सेकेन्ड स्मृति (होश) छ, कति समाधि छ, कति प्रज्ञा छ त्यसको मूल्याकन गर्नु पर्छ । बांकि समय बेहोशको, समाधि नभएको, प्रज्ञा नभएको समय हो । यसको मतलब हामी दिनभरी बेहोशी भएर, एकाग्रता नभइ, चञ्चल भएर, प्रज्ञारहित भएर, मूर्ख भएर जीवन बिताउछौ । अर्थात मानिसका रूपमा पशुको जीवन बिताउछौं ।

अब आफैले मूल्यांकन गरौं हामी पशुपतिको देशको पशु (परतन्त्र, कल्पनाको संसारमा डुबेको) भएर जीवन बिताइ रहेका छौं स्वयम्भूको आंखा खोलेको पति (स्वामि, मालिक, आत्मनिर्भर) भएर बांची रहेको छौं ?