बुद्ध दर्शनले ममा सेवाको भावना जगायो

अष्टलक्ष्मी शाक्य
हामी शाक्य परिवार भएकाले बुद्ध धर्मप्रति आस्था र विश्वास रहेको थियो । बेला बेला भिक्षुहरुलाई बोलाएर परित्राण गर्ने र भोजन गराउने काम हाम्रो घरमा भइरहन्थ्यो । खास गरी आमा नै ती सबै काममा सक्रिय रहनु हुन्थ्यो । आमाकै योजनाले ती कामहरु हुन्थे । बुबाले समर्थन गर्नुहुन्थ्यो र खर्चको चाँजोपाँजो मिलाइ दिनु हुन्थ्यो ।

 

आमाले हामीलाई बुद्धको उपदेश सिक्न विहारमा पठाउनु हुन्थ्यो । म पनि गण विहारमा धेरै समयसम्म जाने गरेकी थिएँ । बुद्धको उपदेश र जीवन पढेर निःस्वार्थ भावना ममा जागेको थियो । त्यही बेला भारतका विभिन्न ठाउँहरुमा तीर्थस्थल घुम्नका लागि सामुहिक रुपमा विहारबाट लगिएको थियो । म र बहिनी सुनिता महिना दिनसम्म भ्रमणमा गएका थियौं । यही बुद्धको शिक्षाबाट हाम्रो सिङ्गो परिवारमा इमान बचाउने र दुखीलाई सेवा गर्ने भावना अहिले पनि जीवितै छ ।

(लेखकको “मेरो पाइला मेरो अनुभव पुस्तक”बाट साभार गरिएको)