कसरी बन्यो त्रिपिटक ?

हिमेशरत्न वज्राचार्य – 

‘जे भयो, राम्रै भयो । गुरु भएनन् भने विद्यार्थीलाई आफ्नो इच्छाअनुसार काम गर्ने छुट मिल्छ । अहिले यस्तै भएको छ ।’बौद्ध धर्मको इतिहासको यो चर्चित भनाइ हो । भलै यो दुर्वचन हो ।  बुद्ध महापरिनिर्वाणको एक साता नबित्दै बुद्धले निर्वाण प्राप्त गरेको सुनेर सुभद्र नामका भिक्षुले बोलेको वचन हो, यो । बुद्धको निधनमा खुसी व्यक्त गर्ने अरू कोही थिएनन्, बुद्धले निर्माण गरेको संघभित्रबाट यो विचार थियो । बुद्धले यस्तो गर्नु, यस्तो नगर्नू भनेर मात्र उपदेश दिएकोमा सुभद्र दिक्क थिए । उनी बुढेसकालमा भिक्षु बनेका थिए ।

बुद्धको जीवनकालमै उनको निर्वाणपछि धर्म लोप हुनेछ भन्ने एकखाले आशंका थियो । यस्तोमा सुभद्रको यो विचार । बुद्धका खास शिष्यमा पर्छन्, महाकाश्यप । सुभद्रको भनाइबाट उनलाई चिन्ता हुनु स्वाभाविक थियो । उनीजस्तै अरू अनुयायीलाई लागेको थियो, अब बुद्ध वचनलाई कसले सम्हाल्ने हो त ? एक पुस्ताबाट अर्को पुस्ता बुद्ध वचनलाई कसरी हस्तान्तरण गर्ने त ? उनीहरूको यो चिन्ता भावनात्मक मात्र थिएन ।
यस्तोमा महाकाश्यपसँगै सबै प्रमुख भिक्षुहरूले निर्णय गरे, संघको भेला बोलाउने । बौद्ध धर्मको इतिहासमा यस्ता केही खास खास भेला बोलाइएको छ र यसैले बौद्ध धर्मको इतिहास तयार पार्न मद्दत गरेको छ । यी भेला बौद्ध साहित्यमा संगायना नामले चर्चित छन् । बुद्धले बुद्धत्व प्राप्तिदेखि निर्वाणसम्म उपदेश थिए । उनले ती उपदेश शिष्यलाई मात्र दिएका थिएनन् । सर्वसाधारणका लागि पनि थिए ती ।

उनले आफूले स्थापना गरेको संघ सञ्चालनका लागि नियम पनि बनाए । बुद्धको जीवनकालमा उनका उपदेश मौखिक थिए । त्यसलाई लिखित राख्ने चलन थिएन । उनले ती सबै उपदेश एकै स्थानमा पनि दिएका थिएनन् । बुद्धका वचनमा दुविधा हुँदा उनी आपैंmले समाधान पनि गर्थे । बुद्धले आफ्नो जीवनको अन्त्यतिर निर्वाणपछि धर्म र विनय नै प्रमुख हुने बताएका थिए । निर्वाणको यति धेरै वर्षपछि ती उपदेश जीवन्त रहनु इतिहासको दृष्टिकोणमा अद्वितीय छ ।
बुद्ध वचनको संग्रहका रूपमा हामीसँग बृहत् त्रिपिटक छ । मौखिक रूपमा हजारौं वर्षदेखि प्रवाहित बौद्ध वचन त्रिपिटकमा प्रमाणित रूपमा संग्रहित छन् । यही त्रिपिटकले अहिलेको लिखित स्वरूप कसरी लियो र अहिलेसम्म आइपुग्न के कस्तो यात्रा तय भएको थियो त ? यी प्रश्न उत्तिकै महत्त्वपूर्ण छन् । इतिहास यहींनिर रोमाञ्चक हुन्छ ।

केही बौद्ध भेला अहिले मात्र होइन, जहिले पनि सम्झनलायक यसैको सेरोफेरोमा हुने गर्छ । ती बौद्ध भेला बौद्ध धर्मको इतिहासमा सर्वाधिक महत्त्वपूर्ण छन् । स्वाभाविक रूपमा ती भेला नबसेको भए, बौद्ध धर्मको स्वरूप अहिलको जस्तो हुने थिएन । बौद्ध धर्मको इतिहास अध्ययन सुरु भएको पनि धेरै भएको छैन, सन् १८०० यता मात्र हो । इतिहास अध्ययनमा धार्मिक इतिहासलाई पनि प्रमुख विधा मानिन्छ । इतिहासको यो विधामा धेरैको रुचि पाइन्छ ।

बौद्ध धर्मको इतिहासको प्रमुख स्रोत त्रिपिटक नै हो । पाली भाषाको त्रिपिटक सबैभन्दा प्रमाणित मानिन्छ । त्रिपिटकमा सूत्र पिटक, विनय पिटक र अभिधर्म पिटक छन् । यसको अध्ययनबाट तत्कालीन समय परिस्थितिबारे पर्याप्त जानकारी लिन सकिन्छ । बुद्ध परम्पराअनुसार बुद्धको निर्वाणपछि प्रथम संगायनाको आयोजना भएको थियो । माथि उल्लेख भएका तिनै सुभद्रको अमांगलिक घोषणा नै पहिलो त्यस भेलाको तत्कालीन कारण बनेको थियो ।

बुद्ध निर्वाणका बेला महाकाश्यप कुशीनगरमा थिएनन् । उनी पावाबाट त्यसतर्फ आइरहेका थिए । एक नग्न साधुले बुद्ध निर्वाणको खबर सुनाए । त्यो सुनेर खुसी हुँदै सुभद्रले अब सबैलाई आराम हुने, कोही पनि कचकच गरिरहने व्यक्ति नहुने दुर्वचन बोलेका थिए । खासमा बुद्धले आफ्नो जीवनकालमै धर्मलाई शुद्ध रूपमा चिरस्थायी राख्न संगायनाको आदेश दिएका थिए । यस्तो भेला त्यो समयको माग पनि थियो । कारण धेरै छन् ।

जस्तो, बुद्ध जीवनकालमै त्यस्ता व्यक्ति थिए, जसले बुद्धलाई मान्दैनथे । जस्तो देवदत्त । उनी त्यस्तो पहिलो व्यक्ति हुन्, जसले बौद्ध संघमा पहिलोपल्ट फुट ल्याए । संघभित्र पनि अनेक प्रकारका भिक्षु थिए । उनीहरूको सोच पनि फरक–फरक थियो । यस्ता केही भिक्षु पनि थिए, जो बुद्धले बनाएका नियम तोड्न खुसी हुन्थे ।

एकपल्ट संघमा कति धेरै विवाद भयो भने बुद्ध आपैंmले त्यसको समाधान गर्न सकेका थिएनन् । यस्तै बुद्धले आफ्नो निर्वाणपछि कसैलाई उत्तराधिकारी तोकेका थिएनन् । बुद्ध धर्म नै प्रमुख हुने जिकिर गर्थे । अनि सबैभन्दा महत्त्वपूर्ण तथ्य त्यति बेलासम्म बुद्धका उपदेश उनका शिष्य र अनुयायीमाझ ताजै थियो ।

प्रथम संगायनाको वातावरण तय भयो । त्यस भेलाका सभापति महाकाश्यप आपैं बने । स्थान भने राजगृह थियो । त्यहाँ सबै सुविधा उपलब्ध गराइएको थियो । आनन्दसँगै भेलामा पाँच सय भिक्षु सहभागी थिए । त्यही भेलामा धर्म र विनय निश्चित भएको थियो । मौखिक परम्परामा रहेका बुद्ध वचनलाई सुरक्षित र चिरस्थायी राख्न पर्याप्त सतर्कता अपनाइएको थियो । पहिलो संगायनाबाट संकलित बुद्ध वचनलाई सानो सानो भागमा विभाजन गरिएको थियो र त्यसलाई मौखिक रूपमा सुरक्षित राख्ने काम फरक फरक समूहलाई दिइएको थियो ।

भिक्षुहरूले आफ्नो भागमा आएका धर्म र विनयका अंशलाई पाठ गर्न सुरु गरे र भाणक परम्परा सुरु भयो । यसरी बुद्ध वचन सुरक्षित रहन थाल्यो । तर बुद्धको निर्वाणको ठीक सय वर्षपछि फेरि विवाद उठ्यो– बुद्धले खासमा भनेका के थिए ? यस्तै अन्योलबीच वैशालीमा दोस्रो संगायना भयो । तेस्रो संगायना राजा अशोकको पालामा भएको थियो । अशोकको समयसम्ममा बौद्ध धर्ममा यति धेरै फरक सम्प्रदाय अस्तित्वमा आइसकेका थिए कि बुद्ध वचनलाई फरक समूहले फरक व्याख्या गर्न थालेका थिए । यस्तोमा बुद्ध वचनमा एकरूपता आवश्यक थियो ।

यो भेला नौ महिनासम्म चलेको थियो र यससँगै त्रिपिटकको संकलन काम पूरा भयो । तेस्रो संगायनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष के भने यसको समाप्तिमा अशोकले बौद्ध धर्मको प्रचारका लागि आफ्नो दूतहरू विभिन्न देशमा पठाए । अशोकका छोरा महेन्द्र आपैं श्रीलंका पुगे । त्यही श्रीलंकामा त्रिपिटकलाई लिखित रूप दिइयो, जुन अहिलेसम्म हामीसँग सुरक्षित छ ।

साभार कान्तिपुर दैनिक