लुम्बिनी र कपिलवस्तुको पहिचान

– तारानन्द मिश्र

शाक्यमुनि गौतम बुद्धको जन्म थेरवाद मत अनुसार ६२३ इसापूर्वमा भएको हो। तर, केही बौद्ध मत र विश्लेषकका अनुसार उहाँको जन्म ५६५ इसापूर्व आसपास भएको भन्ने छ। जन्ममितिबारे विवाद भए पनि उहाँको जन्म नेपालको लुम्बिनीमा भएकामा भने  कुनै विवाद छैन। बौद्ध धर्मग्रन्थ महापरिनिर्वाण सूत्र र अशोक स्तम्भमै बुद्ध जन्मस्थल लुम्बिनी भनेर प्रस्ट उल्लेख छ। कुनै पनि पुरातात्त्विक अभिलेखमा उहाँको जन्मस्थानबारे मत बाझिएको छैन ।

खास गरी राणाकालमा ‘सी क्लास’का राणाहरूलाई केन्द्रबाट धपाउने क्रममा पाल्पा पुर्‍याइएका खड्गशमशेर जबराको विशेष सक्रियतामा बि्रटिस इन्डिया सरकारका पुरातत्त्वविद् जर्मन मूलका फुररले सन् १८९७ मा लुम्बिनीमा पहिलोपटक उत्खनन गरेका हुन्।  र, त्यहीँ उनले शिलालेखसमेतको अशोक स्तम्भ पत्ता लगाएका थिए। त्यस उत्खननका निम्ति राणा सरकारले आर्थिक व्ययभार वहन गरेको थियो। जबकि, त्यसपूर्व विदेशी सहयोगमा मात्रै उत्खननको काम हुन्थ्यो।

तर, तिनै फुररले त्यस उत्खननको एक वर्षअघि नेपाल आएर भारतीय आर्थिक सहयोगमा सगरहवा, निग्लिहवा र तिलौराकोटको उत्खनन गर्दा कनकमुनि बुद्धको परिनिर्वाण चैत्य पत्ता लागेको भनी झूटो विवरण दिएकाले उनी विवादमा परेका थिए। त्यसै गरी  भीनसेन्ट स्मिथ र इन्जिनियर पेपेले निग्लिहवामै आएर फुररले प्राप्त भग्नावशेष काटेर फाल्नेजस्तो पुरातात्त्विक दृष्टिले गर्नै नहुने काम गरेको भनी लिखित रिपोर्ट दिएपछि फुररको बदमासी सार्वजनिक भएको थियो। त्यसपछि फुररलाई बि्रटिस इन्डिया सरकारले  जागिरबाटै खोसुवा गरेर पीसी मुखर्जीलाई त्यस कामको जिम्मेवारी सुम्पिएको थियो। उनैले कपिलवस्तु नै तिलौराकोट नगर हो भनेर प्रमाणित गरेका हुन् । पेपेकोे पिपरहवामा ठूलो जमिनदारी थियो र उनकै नाममा पेपेगन्ज नाम रहन पुगेको थियो।

स्मिथ ठूला अध्येता हुन्। उनले केही राम्रा पुस्तक पनि प्रकाशित गरेका छन्।  तर, उनले चिनियाँ सेन साईले हेरेको कपिलवस्तु तिलौराकोट भएको र चिनियाँ यात्री फाइयानले हेरेको कपिलवस्तु पिपरहवा भएको रिपोर्ट दिएपछि उनी पनि विवादमा परेका थिए।

विसं ०१७ मा भारतीय पुरातत्त्वविद् श्रीमती देवाला मित्राले पनि फुररकै रिपोर्टलाई पछ्याउँदै तिलौराकोटको उत्खनन गर्दा इसापूर्व तेस्रो शताब्दीअघिको कुनै वस्तु र अवशेष पाइएन भनेर लिखित रिपोर्ट दिइन्। त्यसपछि तिलौराकोटबारे विवाद थप उत्कर्षमा  पुग्यो। मित्राले नै पहिलोपटक तिलौराकोटलाई कपिलवस्तु सहर होइन भनेर किटानी गर्दै भारतीय भूमि पिपरहवा, जुन हाम्रो चाकरचौरा छोटी भन्सारबाट झन्डै एक किलोमिटर दक्षिणतर्फ भारतीय भूमिमा पर्छ, त्यहाँ उत्खनन गर्नुपर्ने लिखित रिपोर्ट दिएकी थिइन्।  मित्राले उत्खनन गर्ने क्रममा प्राप्त वस्तु र सामग्री आधा भारत र आधा नेपालले बाँडचुँड गर्ने सम्झौता भएको थियो। सोही अनुसार बाँडिएका ती सामग्री हाम्रो पुरातत्त्व विभागमा सुरक्षित छन्।

नेपालको पुरातत्त्व विभागको जिम्मेवारी रमेशजंग थापाको काँधमा आएको केही समयपछि ०२३ सालतिर उहाँले नै ती सामग्री अध्ययनका निम्ति मलाई लगाउनुभयो। त्यस क्रममा महत्त्वपूर्ण पुरातात्त्विक तथ्य पत्ता लगाउन सकिने निष्कर्ष निस्किएपछि थप खोज  अनुसन्धानका निम्ति बाटो खुलेको थियो। ०२३ सालको अन्त्यतिर मेरै नेतृत्वमा नेपाली पुरातत्त्वविद्को टोली खटाएर तिलौराकोटको थप अनुसन्धानको काम अघि बढाइयो। त्यस क्रममा तिलौराकोटमा कालो रंगले चित्रण गरेको खैरो भाँडा -पेन्टेट ग्रेवर) प्राप्त भयो,  जुन कम्तीमा इसापूर्व सात सय वर्षअघिको थियो।

त्यसै गरी, लुम्बिनी विकास कोषको प्रथम श्रेणीको अधिकृत भएर उत्खननको काम गर्दा मैले नै रिपु मल्लकालीन मन्दिरभित्र रहेको बुद्धको मूर्ति र एउटा अभिलेख सैनामैना क्षेत्रमा फेला पारेको थिएँ। सैनामैना क्षेत्र बुद्धले प्रवचन दिने स्थलका रूपमा चर्चित छ।  गौतम बुद्धलाई भगवान् महावीरको निधनको खबर सेवक आनन्दले सैनामैना क्षेत्रमै दिएको भन्ने छ। तर, त्यस्तो महत्त्वपूर्ण क्षेत्र अहिले नाश हुने चरणमा पुगेको छ। बस्ती विस्तारले त्यो ऐतिहासिक भूमि अतिक्रमित भएको छ। त्यसैले त्यहाँ फेला पारेको बुद्ध मूतिर् लाई लुम्बिनीमा ल्याएर संरक्षण गर्ने काम भएको हो।

हाम्रो टोलीले उत्खननकै क्रममा तिलौराकोटको पूर्वी र पश्चिमी द्वार पत्ता लगाएको थियो। नगर त्याग गर्दा गौतम बुद्धले पूर्वी द्वार प्रयोग गरी बाहिरिएको र फर्केर एकपटक पुलुक्क भित्र हेरेको भनी चैत्य बनाइएको थियो, जुन अद्यापि त्यहाँ छ। चारैतिर माटोको  पर्खालका साथै काठका खम्बा पनि भेट्यौँ। त्यसमुनि इसापूर्व दोस्रो शताब्दीको माटोको पर्खाल थियो। त्यसलाई पानीबाट बचाउन केही पाको इँटको पनि प्रयोग गरिएको थियो। इसापूर्व पहिलो शताब्दी अर्थात् कुशान कालको पर्खाल पनि त्यहाँ भेट्टाएका थियौँ। यी  सबै सामग्री प्रसिद्ध भारतीय पुरातत्त्वविद् बीबी लाललाई लगेर देखाउँदा वास्तविक रूपमा त्यो इसापूर्व सातौँ शताब्दीअघिकै अवशेष भएको प्रमाणित भएको थियो।

यसरी हाम्रो टोलीले उत्खनन गरेर दिएको रिपोर्टलाई सबैतिरबाट मान्यता प्राप्त भएपछि आधिकारिक रूपमा तिलौराकोट नै वास्तविक कपिलवस्तु भएको तथ्य उजागर भएको थियो। अहिले आएर लन्डनको डुरहम विश्वविद्यालय र हाम्रो पुरातत्त्व विभागले संयुक्त  रूपमा थप अनुसन्धान अघि बढाएका छन् र मित्राले खनेको खाल्टो पुनः खन्ने काम पूरा भएको छ। सोही खाल्टोबाट बुद्धकालका माटोका पर्खाल भेटिएका छन्। पूर्वी द्वारको एक हजार फिटपूर्व विभिन्न विहार र चैत्यहरू भेटिएका छन्। गोटीहवा उत्खननका क्रममा  बुद्धकालभन्दा अघिका अवशेषहरू फेला परेका थिए। त्यसपूर्व पुरातत्त्वविद् वैदरले गोटीहवा र तिलौराकोटको केही अध्ययन गरेका थिए।

बुद्ध जन्मस्थल लुम्बिनीका बारेमा कुनै विवाद नभए पनि तिलौराकोटका बारेमा भने भारतीय पुरातत्त्वविद्हरूले बेलाबखत विवाद झिक्ने गरेका छन्। खोज, अनुसन्धान र अभिलेखहरूले प्रमाणित गरेको कुरालाई नजरअन्दाज गर्नु र अभिलेखादि नष्ट गरेर सही र  तथ्यपरक कुरालाई अस्वीकार गर्नु मूर्खतासिवाय केही होइन।

 साभार : नेपाल साप्ताहिक पुस २७, २०७१,  प्रस्तुति: ईश्वरी ज्ञवाली