लुम्बिनीका विहारहरु

भिक्षु निग्रोध
लुम्बिनीमा गुरुयोजना विपरीत पनि काम भए, कोषको विहार नियमावली पनि खासै पालना भएन भन्ने विषयमा म यही भन्न चाहन्छु कि सरकारका तर्फबाट पनि लुम्बिनी गुरुयोजनाको ट्रयाक भन्दा बाहिर गएर काम भयो भन्ने कुराहरु आएका छन् । वर्षौंदेखि भइरहेका कामहरु र अब हुने कामहरु पनि गुरुयोजनाअनुसार हुनुपर्छ र बन्नुपर्छ ।

 

जेजति कारणले गुरुयोजनाभन्दा बाहिर गएर काम भएका छन् त्यसमा अब पुनरावलोकन गर्न वा के कसरी सुधार्न सकिन्छ त्यस विषयमा पनि हामीले ध्यान दिनेछौं । हामी छलफलकै क्रममा छौं । यसमा सरोकारवाला पक्ष समन्वय गरेर अघि बढ्ने हो । लुम्बिनीमा जे जति संरचना बनेका छन् ती सबै एकखालको सहमतिकै आधारमा बनेका छन् । विहार क्षेत्रमा निश्चित मापदण्ड र नियम पालना गर्नेगरी नै हामीले जग्गा दिएका छौं । विदेशीहरुले बनाएका विहारहरुको विषयमा पनि कुरा उठ्ने गरेका छन् । हामीले जति समय दिएर अनुगमन गर्नुपर्ने थियो त्यो विविध कारणले हुन सकिरहेको छैन ।

 

हामी आगामी दिनमा नियमित अनुगमन गर्ने र नियमन गर्ने छौं । तर जति कुराहरु जसरी बाहिर आएका छन् ती सबै सही हुन् जस्तो मलाई लाग्दैन । आफ्नो देश छाडेर लुम्बिनीलाई माया गरेर लगानी जुटाएर यहाँ आएर विहार बनाउने सबैलाई एउटै दृष्टिबाट हेरिनु हुँदैन । एकाध घटनालाई आधार मानेर विश्लेषण गर्नुहुन्न । विहारहरुले पनि कतिपय काम राम्रा पनि गरेका छन् । त्यसको सराहना गर्न सक्नुपर्छ । केही कामहरुमा ढिलाई भएका छन्, ती कामहरु समयमै गर्न र सही ढंगले गर्नका लागि हामीले उत्प्रेरणा दिने काम हाम्रो तर्फबाट हुनुपर्छ ।

 

विदेशी पर्यटकहरुलाई लुम्बिनी आउने वातावरण बनाउनका लागि विहारहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । विहारलाई होटल जस्तै गरी व्यवसायिक बनाउन खोजियो भन्ने कुरामा चाहिँ हामीले यसको अनुगमन गर्छौं । कतै गलत कुराहरु फैलाइएका हुनसक्छन् । कतै सही पनि हुनसक्छन् । त्यसलाई ठीक बाटोमा हिड्न र नियमहरु पालना गर्न हामीले झक्झक्याउने हो । विदेशीहरुले बनाएका विहारमा आएर विदेशी बसे भन्ने कुरामा चाहिँ म के भन्छु भने उनीहरुलाई बस्नकै लागि बनाएको विहारमा उनीहरु बसे भनेर आलोचना गर्नु ठीक होइन । जस्तो थाईल्याण्डबाट आएका भिक्षुहरु वा पर्यटक त्यहीँअनुसारको वातावरण यहाँ चाहन्छन्, हामीकहाँ त्यस्तो विविधता भएका र उनीहरुको स्तर मिल्ने खालका होटलहरु बनिसकेका छैनन् । त्यसैले पनि हामीले अहिले पर्यटकलाई सहज हुने वातावरण बनाउनुपर्छ ।

 

पछि हामीकहाँ राम्रा र विविधता भएका होटलहरु खुल्दै गए भने बस्ने उनीहरु नै हुन् । हामी विविधता दिन र राम्रा होटलहरु सञ्चालन गर्न तर्फ लागौं । साँच्चै भन्ने हो भने भैरहवा विमानस्थ लबनेर सकिएपछि हामीकहाँ चीनबाट पर्यटकहरु आउन थाले भने लुम्बिनीमा बस्ने ठाउँ नै हुनेछैन । हामीले यतातिर सोंचेर काम गर्नुपर्छ । आलोचना मात्रै गर्ने काम नगर्ने गर्दा हामी बिग्रिएका छौं । हाम्रो होटल स्तरीय बनाउँदैनौं अनि विहारले यसो गर्यो र उसो गर्यो भनेर आफुकहाँ ती मान्छे आइदिए हुन्थ्यो भन्छौं । अनि उनीहरु कसरी आउन सक्छन् । अर्को कुरा विहारहरुमा त हामी नेपालीहरु, अझ स्थानीयले नै रोजगार पाएका छन् । जहाँसम्म नियम कानुनको कुरा छ, त्यो जोसुकै भएपनि पालना गर्नुपर्छ, हामीले लागू गर्छौं ।

भिक्षु नग्रोध लुम्बिनी विकास कोषकाे उपाध्यक्ष रहिरहँदा लुम्बिनी टाइम्स डटकममा प्रकाशित भन्तेको अन्तरवार्तामा अाधारित लेख ।