लुम्बिनी दिवसका बारेमा केही कुरा

सम्यक सम्बोधी प्राणपुत्र

नेपालमा विजया दशमीको दिन हिंसामाथि अहिंसाको विजय भनेर उत्सव मनाइन्छ । तर लुम्बिनी दिवसको सन्दर्भमा सत्यमाथि असत्यको विजय गरिरहेका छन् ।

बुद्धको जन्मभूमिमा बुद्धको जन्मदिन मनाऔं भनेर नारायणगढदेखि प्रचार गरेको अहिले करिब ३० वर्षभन्दा ज्यादा भयो । अन्य विहार लगायत धरानको ठूलो विहार मानिने बुद्धविहारले पनि मानेन । पछि सानो विहार मानिने स्वयम्भू चैत्य विहारले बुद्धको जन्मदिन मनाउन थाल्यो । करिब १० वर्षसम्म बुद्धको जन्मदिन २६.. औं बुद्ध जयन्ती मनाएछ । तर अहिले यो क्रम टुटेको रहेछ ।

कारण– आजकाल धरानको २ विहार र ३ गुम्बा गरी सामूहिक रूपमा बैशाख पूर्णिमा मनाउछन रे । सामूहिक रूपमा मनाउदा स्वयम्भू चैत्य विहारले मनाएको २६.. औं बुद्ध जयन्तीलाई स्वीकार नगरी उही पुरानो २५.. औं बुद्ध जयन्ती नै मनाएछन् । यसरी सत्यमाथि असत्यको विजय भएछ । र सत्यवादी पनि असत्यवादीसंग डराएर पुच्छर लुकाएर बसेछ । आफू सत्य भए पछि सिंह गर्जना गर्न सकेन छ ।

यसैगरी पाल्पाका चिर्तुंगधार, बौद्ध गुम्बाका मगरहरूले बुद्ध जन्म वर्ष राखेर लुम्बिनी दिवस मनाउदै आएका छन । अहिले पनि २६४२ औं लुम्बिनी दिवस मनाउने छन् । तर त्यही पाल्पा, तानसेनका बौद्धहरु २५६२ औं बृद्धको मृत्युदिवस मनाउदै आएका छन् । मगरहरूले ६,७ वर्ष अघिदेखि सुधारेर बुद्ध जन्म वर्ष मनाएको देख्दादेख्दै पनि जो चोर उसैको ठूलो सोर भने जस्तै गरी पाल्पाका परम्परावादी बौद्धहरू आफू २५६२ औं मृत्यु दिवस मनाएर सत्यमार्गमा हिड्ने मगरमाथि रोब जमाउदै छन् । यो हो दोस्रो सत्य माथि असत्यको बिजय भइरहेको उदाहरण ।

४ वर्ष अघि उर्लाबारीमा बस्दा उर्लाबारीको स्वयम्भू चैत्य विहारले पनि बुद्ध जन्मदिन मान्न सुरु गऱ्यो । यसको लागि विराटनगर, धरान, बिर्तामोडमा पनि अनुरोध गरियो । तर उर्लाबारीले गरेको सत्य उदाहरण स्वीकार गरेन र आफ्नो पुरानो असत्य लेढें ढिपी परम्परालाई अझै कायम गरी रहेका छन् ।

लुम्बिनी विकास कोषले लुम्बिनी अञ्चल भरीका विहार, गुम्बाहरूलाइ लुम्बिनी दिवस मनाउन अनुरोध पत्र पठाउदो रहेछ । तर लुम्बिनी अञ्चलमा नै बसेर, कोही कोही लुम्बिनीमा गएर लुम्बिनी दिवस मनाउछन् । तापनि अन्य कसैले पनि सत्य र सुधार भएको लुम्बिनी दिवस मनाउदैनन् । उही पुरानो असत्य २५.. बुद्ध जयन्ती मनाउदै आइरहेका छन् ।

पोखरामा यस विषयमा प्रचार भए पछि बुद्धको जन्मदिन मनाउन तयार भएको थियो । यही कुरा बागलुंग र बेनीमा सुनाएपछि बेनी  ले पहिलो पल्ट बुद्धको जन्मदिन मनाउन थाल्यो । तर पोखराले पछि आफ्नो निर्णय बदलियो । कारण बुझ्दा काठमाण्डौका केही बौद्धले त्यस्तो गतल काम गर्ने हो, २५.. नै मान्नु पर्छ भन्यो रे । यसरी पोखराले सत्यमार्गमा हिडन खोज्दा काठमाण्डौका केही असत्यवादीले शोषण गरेछ ।

यसै गरी बुटवलको अन्तरराष्ट्रिय उदय परियत्ति विहारमा २२ विहार बौद्ध संस्थाहरूले बुद्धको जन्मदिन मनाउने निर्णय गरे । तर पनि त्यस विहारले बुद्धको जन्मदिन मनाएन । कारण सोध्दा लुम्बिनीको कुनै ठूलो भिक्षुले बुद्धको जन्मदिन मनाउन लागेकोमा गाली गऱ्यो रे भनेर भिक्षु ज्ञानेन्द्रले भन्नुभयो ।

यस्तो छ हाम्रो देशको चलन । अन्यले सुधारेर सत्यमामर्गमा हिडेको पनि देख्दैन, सुन्दैनन, चिन्तन गर्देनन । गर्नेलाइ पनि गर्न दिदैन । आफ्नो असत्य कुराको पोल खुल्ला भन्ने डरले सत्यमार्गमा हिडन लागेकोलाइ पनि हकार पकार गरेर दमन गरिन्छ । बरू आफ्नै असत्य कुरालाइ सत्य बनाएर नाटक, ढोंग गरेर सांढे भएर हिडछन् ।