कहाँ छैनन् बुद्ध ?

तुफान न्यौपाने

श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष १८औं सार्क शिखर सम्मेलनमा भाग लिन ९ मंसीर २०७१ काठमाडौं उत्रेलगत्तै लुम्बिनीतिर उडे। १० मंसीरको सार्क उद्घाटन मन्तव्यमा राजापाक्षको प्रस्ताव थियो– दक्षिण एशियाको दिगो विकास र आर्थिक समृद्धिका लागि ‘बुद्धिष्ट कल्चरल ट्रेल’। नेपाली मनोविज्ञान ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानमै रहेको समयमा यस्तो प्रस्ताव कसै न कसैले ल्याउनुपर्थ्यो, जुन श्रीलंकाका राष्ट्रपतिबाट आयो।

 
आफ्नो पूर्व निर्धारित लुम्बिनी भ्रमण कार्यक्रम स्थगित भएकोप्रति काठमाडौं उत्रेकै दिन अपशोच व्यक्त गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्क उद्घाटन भाषणमा लुम्बिनीलाई एशियाली सम्पदा बनाउनुपर्ने कुरा भन्न छुटाएनन्। सार्क शिखर सम्मेलनका अर्का नेता भूटानी प्रधानमन्त्री छिरिङ तोब्गेले पनि ‘बुद्ध सर्किट’ को विकासमा जोड दिए। चीनले यसअघि नै तिब्बतलाई रेलमार्गले लुम्बिनीसँग जोड्ने इच्छा देखाइसकेको छ भने थाइल्याण्ड, म्यानमार, जापान, दक्षिण कोरियालगायत देशहरूको चासोले पनि लुम्बिनीको सम्भावना देखाइरहेकै छ।

 
सन् १८९६ को उत्खनन्मा ईसापूर्व २४९ मा लुम्बिनी आएका मौर्य सम्राट अशोकले अभिलेख कुँदाएर गाडेको शिलास्तम्भ भेटिएपछि सिद्धार्थ गौतम बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाणित भएको थियो। पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान बृद्धिष्ट फाउन्डेसनले १९९२―९६ मा गरेको उत्खनन्ले अर्को महत्वपूर्ण प्रमाण ‘मार्कर स्टोन’ भेट्यो।

 
साझा पहिचान बुद्धको जीवनसँग जोडिएका प्रमुख चार स्थानमध्ये बोधगया, सारनाथ तथा कुशीनगर भारतमा पर्छन्। ती क्षेत्रको विकासमा गरेको लगानीले ‘बुद्धिजम’ भारतीय पहिचानको रूपमा स्थापित हुँदैछ। उता, अफगानिस्तानमा अतिवादी इस्लामिक समूह तालिवानले ध्वस्त पारेको बामियान बुद्ध सम्पदाको पुनर्निर्माण/संरक्षणलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले गति दिएको छ। पाँचौं शताब्दीमा बौद्ध सभ्यताको केन्द्र बनेको बामियानको पहाडमा छैटौं शताब्दीमा बुद्धका विशाल मूर्तिहरू निर्माण गरिएका थिए। पाकिस्तानको पनि गान्धार क्षेत्र प्राचीन बुद्धभूमि नै हो। त्यो क्षेत्रको बौद्ध इतिहास र लाहोर संग्रहालयका बुद्ध मूर्तिहरूले पाकिस्तान र लुम्बिनीको प्राचीन सम्बन्ध देखाउँछन्। भारतलाई अरू कुराहरूले पनि नेपालसँग जोडेको छ, श्रीलंकालगायतका अरू दक्षिण एशियाली मुलुकहरूलाई नेपालसँग जोड्ने एक मात्र पुरानो सूत्र ‘बुद्धिजम्’ हो।

 
गौतम बुद्धको महापरिनिर्वाणपश्चात् आठ स्थानमा राखिएको अस्तु (नेपालको रामग्राम बाहेक) लाई सम्राट अशोकले  विभिन्न देशहरूमा पुर्यालएका थिए। त्यसरी एशियाभरि बौद्धप्रार्थना स्थल, स्तूप, विहार आदि व्यापक बन्यो। यो इतिहासले बुद्ध जन्मस्थल लुम्बिनी उहिल्यै दक्षिण एशियाको साझा पहिचानको थलो भएको देखाउँछ। १८औं सार्क सम्मेलनमा भएको नेपाल–भारत पर्यटन सम्झाैतामा ‘बुद्ध सर्किट’ पर्नु र ३६ बुँदे काठमाडौं घोषणापत्रमा मुख्य बौद्ध स्थलहरूलाई जोड्ने ‘सांस्कृतिक मार्ग’ विकास गर्न सार्क राष्ट्रहरू सहमत हुनुले दक्षिण एशियाको यो साझा पहिचानले पखेटा फिजाउने माहोल बनाएको छ।

 
बुद्धिष्ट सर्किट
महापरिनिर्वाण अघि गौतम बुद्धले शिष्य आनन्दलाई ‘बौद्धहरू उच्च आस्थाका साथ म जन्मेको लुम्बिनी, ज्ञानप्राप्त गरेको बोधगया, पहिलो धार्मिक प्रवचन दिएको सारनाथ र महापरिनिर्वाण प्राप्त गर्ने कुशीनगर पुग्नेछन्’ भनेको बौद्ध साहित्यहरूमा उल्लेख छ। अहिले यी चार स्थान निःसन्देह रूपमा बौद्ध धर्मका ‘चार धाम’ बनेका छन्। संसारभरका बौद्ध धर्मावलम्बीहरूले जीवनमा कम्तीमा एक पटक पुग्न चाहने यी स्थललाई ‘बुद्धिष्ट सर्किट’ मा जोड्ने अवधारणा पुरानै भए पनि अहिलेसम्म ठोस काम भएको छैन। दुई देशमा पर्ने भएकोले नेपाल र भारतको संयुक्त प्रयासविना यो ‘बुद्धिष्ट सर्किट’ को विकास सम्भव छैन।

 
प्रधानमन्त्री सुशील कोइरालाले २०–२१ फागुन २०७० मा म्यान्मारमा भएको बिमस्टेक सम्मेलनमा बौद्ध धर्मावलम्बीहरूको बाहुल्य भएको मुलुकहरूलाई ‘बुद्धिष्ट सर्किट’ ले जोड्ने प्रस्ताव राखेका थिए। तत्कालीन भारतीय पर्यटनमन्त्री सुबोधकान्त साहेले पनि १४ असोज २०६९ मा बनारसमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा लुम्बिनी समेटिने ‘बुद्धिष्ट सर्किट’ बनाउने घोषणा गरेका थिए। भारतले अहिले १२औं पञ्चवर्षीय योजना (२०१२―२०१७) अन्तर्गत बोधगया, सारनाथ र कुशीनगर जोड्ने ७०० किलोमीटर लामो सडक धमाधम बनाइरहेको छ। भारतका बनारस, बोधगया, दिल्ली र कलकत्ताका अन्तर्राष्ट्रिय विमानस्थलमार्फत पर्यटक सीधै आउँछन्। सरावस्ती र कुशीनगरमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछन्।

 

उत्खनन् नभएकोले रामग्रामको स्तूपभित्रको बुद्ध अस्तु संसारकै लागि कौतुहल बनेको छ। रामग्रामसहितका यो क्षेत्रका प्राचीन बौद्धस्थलहरू प्राचीन कपिलवस्तु (तिलौराकोट), कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, क्रकुछन्दमुनि बुद्धको जन्मस्थल गोटिहवा, कश्यप बुद्धको कर्मथलो र गौतम बुद्धको मावली देवदह, बुद्धत्व प्राप्तिपछि बुद्ध आएर बसेको कुदान ७० किमी भित्रै पर्छन्। यी क्षेत्रलाई समेटेर ‘नेपाल बुद्धिष्ट सर्किट’ बनाउन सकिन्छ। यो सर्किटलाई काठमाडौं हुँदै हिमाली क्षेत्रसम्म पुर्यासउँदा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूले अत्यन्तै श्रद्धाका साथ पूजा अर्चना गर्ने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, मुक्तिनाथ, मनकामना, नमोबुद्ध लगायत स्थान समेट्न सकिन्छ।
भारतसँग मिलेर अन्तर्राष्ट्रिय ‘सर्किट’ बनाउँदा युनेस्कोको सहयोग लिन सकिन्छ भने आन्तरिक सर्किट नेपाल आफैंले बनाउन सक्छ। लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर विश्व सम्पदा सूचीमा भएकाले यसको विकासमा युनेस्कोको समन्वय अनिवार्य हुन्छ। यो सर्किटमा चीन, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, श्रीलंका, भियतनामलगायतका देशका बौद्ध धर्मावलम्बीहरू आउन तयार छन्। आर्थिक उन्नति गरिरहेका ती देशमा घुम्ने संस्कृति पनि बढेको छ। लुम्बिनीको पर्यटन सम्भावना देखाउन पछिल्लो तीन वर्षमा आएका चिनियाँहरूको संख्या काफी छ।

 
लुम्बिनीमा अहिले नै वार्षिक करीब आठ लाख स्वदेशी–विदेशी पर्यटक पुग्छन्। तीमध्ये करीब डेढलाख तेस्रो मुलुकका छन् भने बाँकी नेपाल र भारतका। तेस्रो मुलुकका मध्ये ७० प्रतिशत भारतहुँदै आउँछन्। पूर्व संस्कृति सचिव मोदराज डोटेल भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शुरू भएपछि विश्वभरका बौद्ध तीर्थयात्रीहरू सीधै लुम्बिनी आएर भारतका बौद्ध स्थलहरूतिर लाग्ने बताउँछन्। भैरहवामा सन् २०१७ को अन्तिमतिरबाट सञ्चालनमा आउने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको छ। पर्यटन व्यवसायी पाण्डे अन्तर्राष्ट्रिय उडान शुरू भएपछि दिल्लीपछिका नयाँ ‘गेट वे’ हरू खुल्ने बताउँछन्, जसबाट पूरा नेपाल लाभान्वित हुन्छ।

 
त्यसका लागि राष्ट्रिय ध्वजावाहकलाई पनि भरपर्दो बनाउनुपर्ने हुन्छ नै। भैरहवामा अन्तर्राष्ट्रिय उडानको सन्दर्भमा स्थानीय सडक विस्तारका साथै स्तरीय होटल तथा योग–ध्यान केन्द्रहरू अनिवार्य हुनपुगेको छ। त्यसका लागि शान्ति र हरियाली आवश्यक हुन्छ। सिसौले भरिएको लुम्बिनीमा प्राचीन वनको झ्ल्को दिने रैथाने रूखहरू हुर्काउन ढिलो भइसकेको छ। लुम्बिनी पुग्ने पर्यटकहरूलाई आसपासका अन्य ऐतिहासिक क्षेत्रमा पुर्याएउन सक्दा स्थानीयको जीवनमा परिवर्तन आउँछ।

 
राष्ट्रसंघ र लुम्बिनी
१९६७ मा लुम्बिनी पुगेका राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनी विकासका लागि १९७० मा १३ राष्ट्रलाई समेटेर ‘युनाइटेड नेशन कमिटी फर द डेपलपमेन्ट अफ लुम्बिनी’ गठन गरेका थिए। शुरूमा नेपालसहित भारत, अफगानिस्तान, कम्बोडिया, इन्डोनेसिया, जापान, लाओस, मलेशिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका र थाइल्याण्ड रहेको समितिमा पछि बंगलादेश, भूटान र दक्षिण कोरिया थपिए। संयुक्त राष्ट्रसंघमा कुनै एक स्थानको मात्र प्रवर्द्धन गर्ने गरी बनेको यही एउटा समिति हो। यही राष्ट्रसंघीय समितिको पहलमा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टांगेले १९७८ मा लुम्बिनीको गुरुयोजना बनाएका थिए, जस अनुसार अहिले लुम्बिनीमा विभिन्न बौद्ध संरचना बनिरहेका छन्।

 
अन्तर्राष्ट्रिय शान्ति वर्षको अवसरमा १९८६ देखि अखण्ड शान्तिदीप बल्न थालेको लुम्बिनीलाई युनेस्कोले १९९७ मा विश्व सम्पदा सूचीमा समावेश गर्योप। बर्माका ऊ थान्त महासचिव रहेको बेला राष्ट्रसंघले सक्रिय चासो नराखेको भए लुम्बिनी आजको स्वरूपमा हुने थिएन। अध्येता बसन्त महर्जनको बुझाइमा, राष्ट्रसंघले लुम्बिनीलाई धार्मिक मात्र नभई विश्व शान्तिको स्रोतको रूपमा लिएको छ। राष्ट्रसंघको लुम्बिनी समिति भने अहिले निष्त्रि्कय छ। राजनीतिक अलमलमा परेको नेपालले पनि त्यता ध्यान दिएको छैन।

 

 

 
लुम्बिनी विकास कोष
राजा त्रिभुवनले २००८ सालमा रु.१० हजार बजेट छुट्याएर लुम्बिनीको संरक्षण र विकासका लागि बडाहाकीमको नेतृत्वमा प्रशासनिक समिति बनाएका थिए। त्यो समितिले एक भिक्षु र एक माली नियुक्त गरेको थियो। ३० कात्तिक―६ मंसीर २०१३ मा काठमाडौंमा भएको चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलनले बुद्ध जन्मस्थलको संरक्षण र विकासका लागि आवाज उठाएपछि राजा महेन्द्रले मायादेवी मन्दिरको जीर्णोद्धार, भैरहवा―लुम्बिनी सडक र बिहार निर्माणका लागि रु.२१ लाख दिएका थिए।

 
तत्कालीन महासचिव ऊ थान्तले राष्ट्रसंघमै लुम्बिनी विकास समिति बनाएको चार वर्षपछि २०३१ सालमा नेपालमा लुम्बिनी विकास समिति बन्यो। लोकदर्शन बज्राचार्य अध्यक्ष रहेको उक्त समितिले प्रा. टांगेको गुरुयोजना कार्यान्वयन गर्न ७७७ हेक्टर (११४७.२६४ बिघा) जग्गा अधिग्रहण गरेर ६ लाख बिरुवा पनि रोप्यो। भैरहवा―लुम्बिनी सडक र पुल पनि त्यही समितिको पालामा बन्यो। २०४२ मा लुम्बिनी विकास कोष ऐन बनेपछि भने २०४७ सम्म तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह कोषका अध्यक्ष बने।

 
प्रजातन्त्र पुनर्स्थापनापछिको व्यवस्था अनुसार, पर्यटन तथा संस्कृति मन्त्री अध्यक्ष रहने कोषमा अहिलेसम्म १२ जना उपाध्यक्षले राजनीतिक नियुक्ति पाए। त्यसयताको कुनै पनि समितिले लोकदर्शन बज्राचार्यको पालामा जति काम गरेनन्। सरकार परिवर्तन हुँदासाथ कोषको नेतृत्व पनि फेरिंदा १२ मध्ये तीन उपाध्यक्षले मात्र कार्यकाल पूरा गर्न पाए। त्यसमाथि, कुनै योग्यता वा अनुभवको साटो पार्टीको झ्ण्डा बोकेको आधारमा उपाध्यक्ष, कोषाध्यक्ष, योजना प्रमुख र सदस्य सचिव नियुक्त हुने रोग त छँदै थियो।

 
राजनीतिक नियुक्ति लिनेहरू नियुक्ति दिनेप्रति मात्र वफादार हुने संस्कारले कोषलाई पङ्गु बनायो। सन् १९८५ मा गुरुयोजनाको पहिलो चरण सक्ने लक्ष्य त्यसको ३० वर्षमा समेत पूरा नहुनु यसैको परिणाम हो। नियमित हुने घोषणा गरिएको विश्व बौद्ध सम्मेलन २००४ यता भएको छैन। गुरुयोजना र युनेस्कोको निर्देशिका विपरीत लुम्बिनीमा थुप्रै संरचना बनाइएका छन्। थाइल्याण्डको थाई पुङ थाई नामक संस्थाले राखेको बेबी बुद्धको मूर्ति यसको पछिल्लो उदाहरण हो। कोषका उपाध्यक्ष कर्मस्याङ्बो शेर्पाले आफ्नो अघिल्लो कार्यकाल सकिन लाग्दा विना बैठक स्वीकृति दिएपछि थाई मन्त्री नै आएर उक्त मूर्ति स्थापना गरेका थिए। पोखरीमा मोटरबोट चलाउन दिने पदाधिकारीहरूले लुम्बिनीको धार्मिक महत्व नै नबुझे झैं लाग्छ। आफ्नो जिम्मेवारीमा पर्ने कपिलवस्तु र नवलपरासीका विभिन्न ९ क्षेत्रमा केही काम नगरेको कोष भैरहवा―लुम्बिनी क्षेत्रमा एक दर्जनभन्दा बढी सिमेन्ट उद्योग खुल्दा रमिते झैं देखिएको छ।

 

लुम्बिनी चलाउनेहरू
लुम्बिनी विकास कोषमा हरेक वर्ष अचम्म लाग्दा प्रस्तावहरू आइरहन्छन्। यस्ता प्रस्ताव राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई रिझाएर युनेस्कोको मापदण्ड मिच्न समेत नहच्कनेहरूबाट आउने गरेका कोषका कर्मचारी बताउँछन्। उनीहरूका अनुसार, केहीअघि जापानीहरूको एउटा टोली पूरै लुम्बिनीलाई लिजमा माग्न आएका थिए। तिब्बतीहरूको अर्को समूहले लुम्बिनीमा स्वयम्भूमा जस्तै घुमाउने माने राख्ने प्रस्ताव ल्याएका थिए। लुम्बिनीको ‘सेक्रेड जोन’ मै हात हाल्न आउनेहरू पनि छन्।

 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि यस्तै प्रस्तावकमा पर्छन्, जसले २०६८ मा एशिया प्यासिफिक एक्स्चेन्ज एण्ड को–अपरेशन फाउन्डेसन (एपेक) नामक शंकास्पद संस्थाको नाममा लुम्बिनीलाई हातमा लिने प्रयास गरेका थिए। आफ्नो सहभागिता रहेको आमहत्याको प्रायश्चित गर्न ईसापूर्व २४९ मा लुम्बिनी आएका सम्राट अशोकले ठडाएको शिलास्तम्भले कालान्तरमा लुम्बिनीलाई बुद्ध जन्मस्थल प्रमाणित गर्योर। आफ्नो नेतृत्वमा भएको हिंसात्मक आन्दोलनबाट भएको १४ हजार व्यक्तिको मरणप्रति जवाफदेही नभएका दाहालले भने एपेकमार्फत हुने लगानीको लोभ देखाएर लुम्बिनीलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजे।

 

बुद्धः मिथ र यथार्थ
विभिन्न धर्म प्रवर्तकहरूमध्ये सिद्धार्थ गौतम ऐतिहासिक पात्र हुन्। उनको जन्म, बुद्धत्व प्राप्ति, धर्म प्रचार र महापरिनिर्वाणका गतिविधि इतिहासमा लिपिबद्ध छन्। तर, महापरिनिर्वाणपछि श्रद्धालुहरू बढेसँगै किम्बदन्ती पनि बन्दै आए। सिद्धार्थ गौतमको जन्ममितिबारे नै फरक धारणा पाइन्छ। इतिहासकार तथा पुरातत्वविद्हरू ईसापूर्व ५६३ मा उनी जन्मिएको मान्छन्, तर बौद्ध धर्मावलम्बीहरूले आफ्नो देशकाल अनुसार फरक समय मान्दै आएका छन्। श्रीलंकालीहरू ईसापूर्व ६२३ मा बुद्ध जन्मेको मान्छन् भने चिनियाँहरूको अर्कै मिति छ। श्रीलंकालीहरू बुद्ध तीन पटक श्रीलंका पुगेको दाबी गर्छन् भने बर्मेली र काठमाडौंका बौद्धधर्मावलम्बीहरू पनि आ–आफ्नो ठाउँमा बुद्ध आएको मान्छन्।
मायादेवी मन्दिर छेउको पुरानो पीपल रूखबारे पनि प्रशस्तै भ्रम देखिन्छ। पुरातात्विक कुरामा असर पार्ने हुँदा मन्दिर र अशोक स्तम्भसम्म पुगेका रूखको जरा काटिएको थियो। केही वनस्पतिविद्ले त्यसबाटै ‘टिस्यू कल्चर’ गरेर बिरुवा निकाले। त्यही रूखमुनि मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएको मान्नेहरू पनि थिए। त्यसरी रुख काटेको विवाद अदालतसम्म पुग्यो। तर, सिद्धार्थको जन्म पीपलको होइन सालको रूखमुनि भएको थियो। कतिपयले उक्त सालको रूखलाई बोधिवृक्ष भनेर प्रचार गरेका छन्। तर, सिद्धार्थले ध्यान गरेको बोधगयास्थित रूखलाई बोधिवृक्षको रूपमा लिइन्छ।

 

लुम्बिनी पुग्ने कोरियाली र जापानीहरू शुभ हुने विश्वासले मन्दिर अगाडिको पोखरीबाट पानी र स्तूपको माटो लिएर जान्छन्। थाईहरू लुम्बिनीमा श्रद्धा लागेको ठाउँमा सुनको जलप लगाइदिन्छन्।
कक्रुछन्दमुनि बुद्धको जन्मस्थल मानिने गोटिहवामा सम्राट अशोकले राखेको स्तम्भ फुटेको अवस्थामा छ। स्थानीयहरू त्यसलाई ‘फुटेश्वर महादेव’ भन्दै पूजा गर्छन्। शिवरात्रिमा त्यहाँ भक्तजनहरूको भीड लाग्छ। तिलौराकोटदेखि एक किमी उत्तरमा रहेका जोडी स्तूपलाई मायादेवी र शुद्धोधनको स्तूपको रूपमा पूजा गर्नेहरू पनि छन्। मायादेवी मन्दिरभित्रको बुद्ध जन्माउँदै गर्दाको मायादेवीको मूर्तिलाई कुनै समय वनदेवी (काली) भनेर बलि दिइन्थ्यो। लुम्बिनी पत्ता लागेको दुई वर्षपछि सन् १८९८ मा मात्र बलि रोकिएको थियो। तिलौराकोट उत्खनन् गर्दा भेटिएका इँटाका गाराको भग्नावशेषलाई लामो समय बुद्धकालीन इँटा भन्दै प्रसार गरियो तर त्यो क्षेत्रमा बुद्धभन्दा करीब हजार वर्षपछि मात्रै इँटा प्रयोगमा आएको थियो।

 

खोइ कृतज्ञता
संयुक्त राष्ट्रसंघले सन् १९७० मा ‘युनाइटेड नेशन कमिटी फर द डेपलपमेन्ट अफ लुम्बिनी’ गठन गरेपछि तत्कालीन श्री ५ को सरकारले लुम्बिनीको एकीकृत विकास र संरक्षणका लागि गुरुयोजना बनाउने स्वीकृति दियो। गुरूयोजना बनाउने जिम्मा जापानका वास्तुकलाविद् प्राध्यापक केन्जो टांगे (सन् १९१३―२००५) ले लिए। १९७२ देखि काम शुरू गरेका टांगेले ६ वर्षमा गुरूयोजना पेश गरे। गुरूयोजनाले तीन क्षेत्र प्रस्ताव गरेको छ। सबभन्दा भित्र ‘सेक्रेड जोन’ नामकरण गरिएको विश्व सम्पदा सूचीमा परेको मायादेवी मन्दिर छ। त्यस बाहिर ‘मोनास्टिक जोन’ र सबभन्दा बाहिर ‘न्यू लुम्बिनी भिलेज’ छ।

१९८५ मा निर्माण सकिनुपर्ने गुरूयोजनाको काम अझै सकिएको छैन। लुम्बिनीको विकास र संरक्षणको आगामी कार्य पनि प्रा. टांगेकै गुरूयोजनाको बाटो अनुरूप मात्रै सम्भव हुन्छ। नेपालका लागि यत्रो काम गरेका टांगेलाई मरणोपरान्त नेपाली नागरिकता प्रदान गरेर सम्मान गर्न सकिन्छ।

हिमाल साप्ताहिक / लुम्बिनी टाइम्स डटकमबाट  साभार