नेपालका बौद्ध विहारका बुद्धमूर्तिहरू

अनिता मानन्धर
बुद्धमूर्तिको उत्पत्ति
बुद्धमूर्ति तथा बुद्धको चित्र बुद्धकालीन अवस्थामा नै बनेको कुरा कोही कोही विद्वानहरूले दावी गर्छन् । तर मूल पाली त्रिपिटकमा बुद्धमूर्ति सम्बन्धमा मौन देखिन्छ तर बुद्धमूर्तिको चर्चा नभएको भने होइन । भगवान् बुद्ध स्वयम्ले पनि कतै आफ्नो मूर्ति नबनाउनु भन्ने उल्लेख गर्नु भएको छैन ।
दीघनिकायको महापरिनिर्वाण सूत्रअनुसार आनन्द स्थविरले तथागतको शरीरको पूजा बारेमा सोध्नु हुँदा भिक्षुहरू विनयमा अडिक रहेर क्लेशलाई निर्मूल पार्नुमा लाग्नु पर्नेमा जोड दिनु भएको छ । बुद्धको शरीर पूजा गर्ने काम, गृहस्थहरूको हो भन्ने भाव बुद्धले व्यक्त गर्नु भएको पाइन्छ ।
पालि जातक अट्ठकथाको कलिङ्गबोधि जातकमा उल्लेख भएअनुसार आनन्दस्थविरले चैत्य कति प्रकारको बनाउन सकिन्छ भनेर भगवान् बुद्धलाई सोध्नुभएको थियो । बुद्धले तीन प्रकारका चैत्य बनाउन सकिन्छ भन्नुभयो । ती हुन्ः– (१) शारीरिक, (२) परिभोग, (३) उद्देशिक चैत्य ।
१) शारीरिक चैत्य बुद्धको जीवनकालमा बनाउन सकिदैन किनकि त्यस चैत्यमा अस्तिधातु राख्नु पर्ने हुन्छ ।
२) परिभोग चैत्य भनेको तथागतले परिभोग गर्नुभएको महाबोधी (वोधि वृक्ष) हो जुन कि बाचुन्जेल पनि र निर्वाणपछि पनि चैत्य नै भईरहन्छ ।
३) उद्देशिक चैत्यलाई अवास्तविक भन्नुभएको छ । यो उद्देश्य चैत्य बुद्धलाई उद्देश्य गरेर मात्र बनाएको भन्नुभएको छ ।
निधिकण्ड सूत्र, खद्दक पाठको अर्थ कथामा तीन प्रकारको चैत्यको वर्णन गरिएको छ । ‘चेतियं तिविधं होति परिभोग, चेतियं, उद्दिस्सक चेतियं, धातुक चेतियन्ति’ बोधि वृक्षलाई परिभोग चैत्य भनिन्छ । बुद्ध प्रतिमालाई उद्देश्य चैत्य (बुद्ध पतिमा उहिस्सक चेतियं) भनिन्छ । धातु राखेर बनाएको चैत्यलाई सधातुक चैत्य (धातु गब्भथूपा सधातुका धातुक चेतियं) भनिन्छ । यसरी अट्ठकथामा बुद्धमूर्तिको चर्चा भएको छ ।
संस्कृत बौद्ध साहित्यमा बुद्धमूर्तिको विषयमा थुप्रै कुराहरू उल्लेख छन् । महायानी ग्रन्थ सद्र्धमपुण्डरिकवैपुल्य सूत्रमा पनि मूर्ति बनाउने सम्बन्धमा उल्लेख गरिएको छ । जसले अंगले युक्त गरी वा सम्पूर्ण ३२ लक्षणयुक्त बुद्धमूर्ति बनाउँछन्, बनाउन लगाउँछन्, चित्र लेख्छन् वा लेख्न लगाउँछन् ती व्यक्तिले बोधिज्ञान लाभ गर्न सक्छन् भनिएको छ ।
बुद्धकालमा नै बुद्धको मूर्ति उत्पत्ति भइसकेको भनिएतापनि ती मूर्तिहरू तथा मूर्तिका अवशेष फेला परेका छैनन् । जीवित इतिहासलाई नियाल्दा भगवान् बुद्धको महापरिनिर्वाणको लगत्तैपछि वहाँको अस्तिधातु राखेर दशवटा विशाल स्तूपको निर्माण भएको थियो । बुद्धको गुणको स्मरणार्थ भगवान् बुद्धप्रति श्रद्धाको कारणले गर्दा स्तूपको निर्माण भएको थियो । महापरिनिर्वाण सूत्रअनुसार पनि सम्यक्सम्बुद्ध, प्रत्येक बुद्ध, अर्हत र चक्रवर्ती राजाको अस्तिधातु राखी चैत्य वा स्तूप बनाउन भगवान् बुद्धले अनुमति दिनु भएको थियो ।
भगवान् बुद्धको महापरिनिर्वाणको करिब २१८ वर्षपछि मौर्य सम्राट अशोकको उदय भएको थियो । बौद्ध कला निर्माण कार्यमा यस मौर्यकालको उल्लेखनीय योगदान रहेको छ । अशोकले ८४००० स्तूपहरू बनाएका थिए । वहाँले स्थापना गर्नु भएको शिलास्तम्भको शीर्ष भागमा राखिएका विभिन्न पशुहरू सिंह, हात्ती, बृष, धर्मचक्र, घोडा, घोप्ट्याएको कमलको पूmल आदि प्रतिकात्मक रूपमा राखिएका छन् । अशोकले बनाउनु भएको स्तूपमा गवाक्षहरू भएतापनि मूर्ति छैनन् । तर अशोकको समयमा मानव मूर्ति लगायत यक्ष यक्षणीको मूर्तिको विकास भएको थियो । यस समयसम्म प्रतिक कला ९क्थmदयष्अि ब्चत० को विकास भएको थियो । बुद्धमूर्तिको निर्माण भएको देखिदैन ।
मौर्य वंशका राजा वृहद्रथलाई उनकै पुरोहित तथा सेनापति पुण्यमित्रले मारेपछि शुंग वंशको स्थापना भयो । शुंगकालमा पनि भरहुत स्तूपको निर्माण तथा तोरण र पिलरमा विभिन्न मूर्तिहरू कुँडिएको छ । मायादेवी, हात्ती, बोधिसत्व तथा जातक कथाअनुसारको मूर्तिहरू, यक्ष यक्षिणी, नाग नागिनी आदि निर्माण गरिएको थियो । त्यसबेलासम्म पनि बुद्धमूर्तिको प्रादुर्भाव भएको थिएन । यस शुंगकालमा विदेशी शासकहरूले भारतमा जस्तै— यवन, पल्लव, हुण तथा शक–कुषाणहरूले पटक पटक आक्रमण गरेको थियो । त्यस यवन शासकहरूमा मिलिन्द राजा पनि एक थियो । बुद्धधर्मबाट प्रभावित भई सो धर्म अपनाएपछि बुद्धको धर्मचक्र प्रवर्तनको प्रतिक धर्मचक्र चिन्ह राखेर वहाँले मुद्रा समेत निकालेको थियो ।
उन्नाइसौं शताब्दीसम्म विद्वानहरूले बुद्धमूर्तिको उत्पत्ति राजा कनिष्कको पालमा भएको अनुमान गरे भने हाल आएर कनिष्कभन्दा अगाडिकै बुद्धमूर्तिहरू फेला परे । बुद्धमूर्तिको उत्पत्ति इसा पूर्व प्रथम शताब्दीतिर भएको कुरा एस.एल. हाण्टिङ्गटनले चर्चा गर्नुभएको छ । मथुरामा ई.पू. प्रथम शताब्दीका बुद्धमूर्तिहरू पाइएका छन् । तर राजा कनिष्कको पालामा इस्वी प्रथम शताब्दीदेखि गन्धार र मथुरा शैलीका थुप्रै बुद्धमूर्तिहरू बनेका थिए । उनको पालमा गन्धार र मथुरा दुवै राजधानीमा कला केन्द्र स्थापना गरेका थिए । गन्धार क्षेत्रमा विकास भएको कलालाई गन्धार कलाशैली तथा मथुरा क्षेत्रमा विकास भएको कलालाई मथुरा कलाशैली भनिन्छ । त्यस्तै गुप्तकाल, पालकालमा पनि आफ्नै ढंगका कलाशैलीको विकास भएका थयो । गुप्तकाललाई भारतीय कला इतिहासमा स्वर्णयुग नै भनिन्छ । पालकालपछि सेनकाल आउँछ । कसै कसैले यो समयको कलालाई पालसेन कलाशैली पनि भन्ने गरिन्छ । पालसेनहरूको अन्त्य पछि मुस्लिमकालमा बौद्ध कलाको विकास हुन सकेन ।
४.२ नेपालमा बुद्धमूर्ति
नेपालमा बुद्ध बोधिसत्वहरूको मूर्तिको इतिहास इसाको प्रथम–दोस्रो शताब्दीदेखि सुरु हुन्छ । हाँडीगाउँमा प्राप्त शिरविहिन खण्डित एउटा प्रस्तरको मूर्तिलाई यक्ष बोधिसत्वको संज्ञा दिइएको छ । यस मूर्तिलाई इसाको प्रथमदेखि दोस्रो शताब्दीको अनुमान गरिएको यो मूर्ति हाल राष्ट्रिय संग्रहालयमा राखिएको छ । भिक्षु सुदर्शन महास्थविरले यो मूर्तिलाई इस्वीको दोस्रो शताब्दीको बोधिसत्वको मूर्ति मानेको छ ।
डेनियल राइटको वंशावलीमा राजा वृषदेवको पालामा गोदावरीको नजिकै बन्देगाउँ हाल बरे गाउँमा पंचबुद्धको मूर्ति स्थापना गरेको उल्लेख गरिएको छ । त्यस्तै जयदेव द्वितीयाको पशुपतिको अभिलेखमा राजा बृषदेवलाई सुगतशासन पक्षपाती भनी उल्लेख गरिएको छ । यसैले राजा बृषदेवले बुद्धधर्मप्रति निकै आस्था राखी विहार बनाउनु भएकोमा बुद्धमूर्ति स्थापना गराउनुमा कुनै आशंका छैन । राजा बृषदेवको राज्यकाल ३९०–४१५ ई. अन्दाजी मान्न सकिन्छ ।
अभिलेख प्रमाणअनुसार राजा मानदेवको ई.सं. ४६४ को चांगुनारायणको अभिलेखभन्दा पुरानो मानिएको चाहबहिलको एउटा अभिलेखमा किन्नरी जातक उत्कीर्ण गरिएको चैत्य बनाएको र भिक्षु संघलाई भोजन गराउन र महामुनि (शाक्यमुनि बुद्धको पूजा गर्न अठ्ठाइस मानिका कुत आउने खेत दान दिएको वर्णन छ । यसबाट राजा मानदेव अगाडि नै बुद्धमूर्ति नेपाली विहारमा भएको प्रमाणित हुन्छ ।
छैठौं शताब्दीदेखि नेपालमा ढलान गरेर बनाइएका धातुका मूर्ति पाइएका छन् । पाटनबाट छैठौं शताब्दीको एउटा धातुको बुद्धमूर्ति प्राप्त भएको छ । उभिएको यस ढलोटको बुद्धमूर्तिको उचाई १८ इन्चको छ भने यसको पादपिठमा कुँडिएको अभिलेखमा यंगाल विहारका एक शाक्य भिक्षुणीले उपहार दिनुभएको कुरा उल्लेख गरिएको छ । यो मूर्ति ई.सं. ५९१ को हो । मेरी स्लसरले यस मूर्तिको बारे ल्भउब िःबलमबबि, ख्य िक्ष्क्ष् मा फोटोसहित चर्चा गरेको छ ।

 

नेपालको थेरवादी बौद्ध विहारहरू
नेपालमा बुद्धधर्मको प्रचार प्रसार बुद्धकालमै भएको भन्ने धेरै इतिहासकारहरको भनाइ छ । बुद्धधर्मको प्रचारको केन्द्र विहारहरु नै हुने गरेकोले नेपालमा पनि किरातकालदेखि नै बौद्ध विहारहरू भएको अनुमान गरिएको छ । ती मध्ये साँखुको गु‘ विहार नेपालको सर्व प्राचिन विहार मानिन्छ । किरातकालीन भाषा परिवारको नामबाट यो विहारको नामाकरण भएकोले यो विहार किरातकालीन मानिएको हो । सम्राट अशोकको छोरी चारुमतीले नेपाल उपत्यकामा आएर चावही बनाएको चर्चा नेपालको वंशावलीमा गरिएका छन् ।
ऐतिहासिक प्रमाणको आधारमा ‘सुगत शासन पक्षपाती’ भनिएका राजा वृषदेवको समयमा पनि नेपालमा विहार भएको हुनु पर्ने अनुमान गरेका छन् किनभने विना बौद्ध विहार कुनै राजा सुगत–शासनको पक्षपाती हुनै सक्दैन भनी भिक्षु सुदर्शन महास्थविरले लेख्नु भएको छ । उनकै नाती मानदेवले मान विहार बनाएको इतिहासकारहरूको भनाइ छ । लिच्छविकालीन अभिलेखबाट लिच्छवि युगमा थुप्रै विहार रहेको स्पष्ट पार्छ । लिच्छविकालमा शासक पक्षबाट नै विहारको निर्माण संरक्षण, सम्वद्र्धन भएको कुरा लिच्छविकालीन अभिलेखबाट पुष्टि हुन्छ । लिच्छविकाललाई बुद्ध धर्मको स्वर्णयुग पनि भनिन्छ ।
समयको अन्तरालमा विभिन्न कारणले गर्दा वज्रयान र तन्त्रयानको बिगबिगी बढेपनि थेरवादमा आधारित बुद्ध धर्मको ह्रास हुन पुग्यो । भिक्षुहरूको नामनिसान हरायो, खाली भित्तामा राखेको मूर्तिको रूपमा मात्र थियो । पछि राणा शासनको अन्तसँगै थेरवाद बुद्ध धर्मको पुनरुत्थानपछि थेरवाद विहारहरू विस्तारै निर्माण हुन थाले । भिक्षु तथा अनगारिकाहरूले धेरै सङ्घर्ष गरेर विहारको स्थापना भएको इतिहास जीवितै छ ।
सर्वप्रथम नेपालमा थेरवादी भिक्षु हुनु भएका भिक्षु महाप्रज्ञां थिए भने सर्वप्रथम काठमाडौं उपत्यकामा प्रवेश गर्ने भिक्षु प्रज्ञानन्द थिए । भिक्षु प्रज्ञानन्द सर्वप्रथम श्रामणेर प्रवज्या लिएर काठमाडौं उपत्यकामा आउनु हुँदा स्वयम्भूस्थित प्राचिन किम्दोल विहारमा बस्नु भएको थियो । अरु थेरवाद विहारहरूको निर्माण नभएसम्म काठमाडौं उपत्यकामा एक मात्र भिक्षुहरू तथा अनगारिकाहरू बस्नको लागि वासस्थान त्यही किण्डोल विहार थियो । समयको गतिसँगै आवश्यकता र श्रद्धावान उपासक उपासिकाहरूको श्रद्धाबाट अहिलेसम्म नेपाल अधिराज्यभरी जम्मा १२२ वटा विहारहरू बनीसकेका छन् ।

 विहार सङ्ख्या
काठमाडौं जिल्ला ३४
ललितपुर जिल्ला २६
भक्तपुर जिल्ला ४
उपत्यका बाहिर ५८
जम्मा १२२

काठमाडौं उपत्यकामा जम्मा ६४ वटा विहार छन् भने उपत्यका बाहिर ५८ वटा विहारहरू छन् । लभगग ९० वर्ष अगाडि मात्र नेपालमा पुनरागमन भएको थेरवादको विकास र प्रचारप्रसार यसप्रकार हुँदै जानुलाई नेपालका बौद्धजनहरुले सकारात्मक रुपमा लिएको पाइन्छ । विहारको संख्या बढ्दै जानु भनेको त्यहाँ बुद्धमूर्तिहरुको पनि संख्या बढ्नु हो किन भने विहारमा कमसेकम एउटा बुद्धमूर्ति हुनु आवश्यक छ । त्यही बुद्ध मूर्तिको अगाडि त्यहाँका भिक्षु अनागारिका तथा उपासक उपासिकाहरुले बुद्ध धर्म र संघमा शरण गमनको कार्य गर्ने गर्दछ । यस लेखका विशेष गरी ती थेरवाद विहारमहरुमा भएको बुद्ध मूर्तिहरुको संक्षेपमा अध्ययन गरिन्छ ।

 

लेखक लुम्बिनी बाैद्ध विश्वविद्यालयबाट थेरवाद बुद्धधर्ममा स्नातकाेत्तर हुनुहुन्छ ।