प्रत्येक बुद्ध : एक संक्षिप्त परिचय

अम्बिका श्रेष्ठ
प्रत्येक बुद्ध एक त्यस्तो महान नाम हो जुन बुद्ध चिन्तनमा, बुद्ध धर्ममा, बौद्ध दर्शनमा समय समयमा ठाउं ठाउंमा उच्चारण गरिन्छ । यो नाम उच्चारण गर्दा सबैका मनमा श्रद्धा, आदरभाव रहेको अनुभव हुन्छ । तर पनि प्रत्येक बुद्धका विषयमा ग्रन्थहरुमा लेखहरुमा विविध गहन बौद्ध बहसमा अति नै सीमित जानकारी चर्चा तथा व्याख्या गरिएको भेटिएको छ । बौद्ध विद्वान्हरुले कतिपय स्थानमा खुलेर नै भन्नु भएको छ कि प्रत्येक बुद्धको विषयमा अनुसन्धान तथा अन्वेषण कम मात्रामा भयो, यसप्रति अभिरुचि लिएर सोध खोज गर्ने, महिमा वर्णन गर्ने दिशामा अहिले प्रयास गर्नु आवश्यक भएको छ ।

प्राचीन कालदेखि अझ भनौं भगवान् बुद्ध स्वयंले प्रत्येक बुद्धकाबारेमा उल्लेख भएको शास्त्रीय प्रमाण छ । प्रत्येक बुद्धको स्वभाव, ज्ञान प्राप्त गर्ने शैली तथा जीवन चर्याका बारेमा अनेक सन्दर्भमा भगवान् बुद्धबाट नै पहिलो उद्घोष भएको हो । तर कालान्तरमा लेखिएका ग्रन्थ तथा भाष्य वा टिप्पणीमा प्रत्येक बुद्धलाई उल्लेख गर्ने, बढी व्याख्या नगर्ने, र त्यसमा बढी केन्द्रित भएर बहस चिन्तन नगर्ने क्रम बढेको पाइन्छ । यसैले गर्दा अहिले प्रत्येक बुद्धका विषयमा प्राचीन श्रोत खोज्नु पर्यो भने निकै नै अप्ठेरो भइहाल्छ । प्रत्येक बुद्धका विषयमा आधिकारिक रुपमा पुस्तक नै रचना गर्नु हुने रिया क्लोपेनबोर्गले पनि यो कुरा उल्लेख गर्नु भएको छ । बौद्ध दर्शनमा वा बौद्ध सिद्धान्तमा कलम चलाउने वा गंभीर शोध गर्नेहरु पनि बौद्ध दर्शनको एक महत्पूर्ण आयाम —प्रत्येक बुद्ध —तर्फ आकर्षित हुन सकेको पाइन्न । बृहत् बौद्ध सम्मेलनहरुमा प्रस्तुत हुने अत्यन्त गहन शोध तथा प्रस्तुतिमा पनि प्रत्येक बुद्धविषयक सन्दर्भ त्यति राखिने गरिएको पाइन्न ।

नेपालको सन्दर्भमा भन्ने हो भने त बौद्ध चिन्तन तथा बहसलाई व्यापक पार्नु पर्ने आवश्यकता छ । यसभित्रका गहन सन्देश वर्तमान समयका समाज, व्यक्ति तथा राज्य संचालन गर्ने सबैका लागि उपयोगी हुने स्पष्ट छ । बुद्ध बचनभित्रको मर्मलाई राम्र्ररी बुभ्mने हो भने ती त वास्तबमा जीवनका लागि, मान्छेलाई मान्छेको रुपमा विकसित गर्नका लागि, समाजलाई शान्त, स्थीर तथा प्रगतिशील बनाउनका लागि रहेछ भन्ने कुराको बोध हुन्छ । तर पनि बौद्ध चिन्तन देशमा विस्तरित हुन सकेको पाइन्न ।
बौद्ध दर्शनको वृहत् परिवेशमा प्रत्येक बुद्ध एक अति नै महत्वपूर्ण स्तम्भ हो । विशेष गरी प्रत्येक बुद्धले प्रतिनिधित्व गर्नु हुने त्याग भाव, अन्तरदृष्टिबाट ज्ञान प्राप्त गर्ने प्रक्रिया, र सांसारिक संसर्ग तथा बिलासबाट टाढा रहने भाव तथा अभ्यास अति नै महत्वपूर्ण छन् । त्यति नै सारगर्भित छ ः प्रत्येक बुद्धको जीवन शैली, अभ्यास, व्यक्तित्व एवं व्यवहार स्वयंबाट मानवजातिका लागि एक उदाहरण तथा अनमोल सन्देश निरन्तर गइरहने सिलसिला ।

बौद्ध दर्शन र चिन्तनमा प्रत्येक बुद्धको महत्वपूर्ण स्थान रहिआएको छ । उहां त्यागी, निर्लिप्त, उद्धारक, ध्यानी, आत्मचिन्तक र अन्तर्मुखी स्वयं प्रयासको महान प्रतीक हुनुहुन्छ । उहांको विषयमा बौद्ध ग्रन्थहरु, भाष्य तथा अन्य प्रकाशन, कथा, सूत्र, गाथा आदिमा पनि प्रत्यक्ष परोक्ष उल्लेख भएको पाइन्छ । व्यवहारिक जीवनमा पनि प्रत्येक बुद्धलाई औंल्याउने प्रसंगहरु समय समयमा आउंछ नै ।

प्रत्येक बुद्धलाई अवलोकन गर्न पनि त्यति सहज छैन, कतै कथाभित्रबाट, कतै सूत्रबाट त कतै कसैको अनुभव वा लेख वा संकलनबाट उहांका विषयमा जानकारी बटुल्नु पर्ने स्थिति छ । उहांको स्व प्रयासमा, विना शिक्षक वा गुरु ज्ञान प्राप्त गर्ने विधि, चतुर्आर्य सत्य पहिल्याउने आधार, त्याग भावना, धार्मिक जीवनप्रतिको निष्ठा, भिक्षाटन गर्ने तर नमाग्ने, भिक्षापात्रलाई नै कुनै दोषमा परेकालाई उद्धार गर्ने साधन बनाउने शैली तथा ध्यानमा लीन हुने प्रवृत्ति निकै नै मननीय छ । भगवान् बुद्ध स्वयंले उल्लेख गर्नु भएको महान व्यक्तित्वमध्ये एक प्रत्येक बुद्ध पनि हुनुहुन्छ । प्रत्येक बुद्ध शिक्षा उपदेश नदिने तर आफ्नो व्यक्तित्व तथा दैनिक चर्यालाई उपदेशको संकेत बनाउने गर्नुहुन्छ । भगवान् बुद्धलेजस्तै उपदेश दिने क्षमता उहांमा हुंदैन, यसैले बौद्ध चिन्तनमा उहांको स्थान भगवान् बुद्धपछि र अन्य श्रावकहरुभन्दा माथि आउंछ । बुद्ध नभएको बेलामा प्रत्येक बुद्धको उदय हुन्छ र वास्तबमा प्रत्येक बुद्धका कारण संसारमा बुद्धको निरन्तरता रहिरहन्छ । प्रत्येक बुद्ध भएका धेरैको अनुभवमा कसैले त्यागलाई, कसैले करुणालाई त कसैले निर्लिप्ततालाई त कसैले अहिंसालाई मध्यजनजरमा राखी ध्यान गरेर ज्ञान प्राप्त गरी निर्वाण प्राप्त गरेको कुरा ज्ञात हुन्छ । वर्तमान समयमा उहांबारे जानकारी उपलब्ध गराउन उहांका विषयमा विविध शोध तथा अध्ययन हुनु आवश्यक छ ।

बौद्ध चिन्तनमा वा बौद्ध दर्शनमा प्रत्येक बुद्धको आफ्नै सारपूर्ण स्थान छ । आफ्नो प्रयासले ज्ञान हासिल गर्ने, आफ्नै प्रयासमा निर्वाण प्राप्त गर्ने र आफ्नो जीवन शैली तथा चर्याबाट नै परोक्ष रुपमा उपदेश उपलब्ध गराउनु उहांको विशेषता हो । त्याग, तथा करुणा भावको आयामबाट हेर्ने हो भने पनि प्रत्येक बुद्धमा अनुपम विशेषता पाइन्छ । मानवजातिका लागि उहांको उदाहरण निकै प्रेरणादायी रहेको छ । बुद्धत्व प्राप्त गर्ने विकल्पका विषयमा ज्ञान दिन तथा त्यसका लागि गर्नु पर्ने अनुष्ठान, अभ्यास र ध्यानका विविध आयाममा जानकारी दिन प्रत्येक बुद्धको सारपूर्ण अध्ययन गर्नु जरुरी हुन्छ ।

प्रत्येक बुद्धका हर पक्ष महत्वपूर्ण छन् । तिनमा प्राथमिकता तोक्न अप्ठेरो छ । तर पनि विवेचनाका निमित्त वा विचार विमर्शका लागि केही आधारभूत बुंदालाई विशेष गरी उल्लेख गर्न सकिन्छ । ती हुन् ः स्वयं प्रयासमा ज्ञान प्राप्ति, बुद्ध शून्य अवधिमा उदय, आत्मअनुभूति जन्य चर्या, स्वयं नै उपदेश, संघ नहुने तथा एकाकी जीवन । यिनमा आधार गरेर अनेक कथा सूत्र विकसित भएका छन् ।

बौद्ध चिन्तनमा संलग्न, विज्ञहरु, बौद्ध विषयका विद्यार्थीहरु एवं बौद्ध प्रवचनमा सक्रिय व्यक्तिहरुसंग वार्ता गर्दा, प्रश्नावलीका आधारमा उहांहरुको अवधारणा संकलन गर्दा प्रत्येक बुद्धको विषयलाई बौद्ध विचार विमर्शमा सघन रुपमा नै चर्चा गर्नु आवश्यक छ । प्रत्येक बुद्धलाई नसमेट्दा बौद्ध दर्शनका एक महत्वपूर्ण आयाम नै किनारामा पर्न जाने देखिन्छ । यसैले प्रत्येक बुद्धकाबारेमा सर्वसाधारण र विद्वान्हरुकामाझ निरन्तर छलफल चिन्तन मनन अनुसन्धान कार्य कायम राख्नु अनिवार्य छ ।
लेखिका लुम्बिनी बौद्ध विश्वविद्यालयबाट थेरवाद बुद्धधर्ममा स्नातकोत्तर हुनुहुन्छ ।