संघं सरणं गच्छामि भन्नुकाे अर्थ

सम्यक सम्बोधी प्राणपुत्र

तेस्रो स्वधर्म वा जीवन सफल गर्ने तेस्रो सूत्र– संघं सरणं गच्छामि– म सत्यमा प्रतिष्ठित हुन प्रत्येक जीवनमा कम्तिमा एकपल्ट भिक्षु वा अनगारिका हुने दर्शनसम्मत शिक्षाको शरणमा जान्छु ।

यसको दुई पक्ष छ : १ भौतिक पक्ष । २.आध्यात्मिक पक्ष ।
१ भौतिक पक्ष– सत्य अनुभूतिबाट प्राप्त सत्यमा प्रतिपन्न हुन अभ्यास गरे तापनि सहजै पूर्ण वा सफलता प्राप्त नहुन सक्छ । पूर्णता प्राप्त गर्न बारम्बार अभ्यासको आवश्यकता पर्छ । भनिएको छ– अभ्यासले मानिसलाई पूर्णता प्राप्त गराउँछ । अभ्यास गर्दा गर्दा थाकेर वा निराश भएर वा कुनै कारणवश आफ्नो अभ्यासमा कमी वा शिथिलता ल्याएमा अभ्यासको पूर्णतामा कमी आउँदा सत्यमा प्रतिपन्न नहुन सक्छ ।

जस्तै– मादक पदार्थ सेवन गर्नु हानि कारक भनेर थाहा पाएर सेवन गर्न छोडेको व्यक्तिले कुनै साथीको लागि वा सामाजिक परम्पराको कारणले ‘एक पल्ट त हो नि’ भन्दै मादक पदार्थ सेवन गरेमा अभ्यासमा त्रुटि भएको भनिन्छ वा सत्यमा प्रतिपन्न नभएको भनिन्छ । ‘चाहे जे सुकै होस् साथी रिसाअोस् वा परम्परा तोडियोस् तर मादक पदार्थ म कहिले पनि सेवन गर्दिन’ भनेर अठोटकासाथ अभ्यासलाई पूर्ण गरेमा, वा एक पल्ट पनि त्रुटि नगरिकन पूर्ण गरेमा सत्यमा प्रतिपन्न भएको भनिन्छ ।
सत्यमा प्रतिपन्न हुने अर्थमा नै मार्ग फल प्राप्त आर्य पुद्गललाई सुप्रतिपन्न अृजु प्रतिपन्न आदि परिचय दिइएको छ । आर्य पुद्गलहरू मार्ग फलमा पाइला टेकिसके पछि वा प्रतिपन्न भए पछि फेरि फेरि मार्ग फलबाट च्यूत हुने भन्ने हुंदैन । वा फेरि पुथुजन हुने र पुथुजनले गर्ने गल्तीहरू गर्ने भन्ने हुंदैन ।
यसरी नै मार्ग फल प्राप्त आर्य पुद्गल सत्यमा प्रतिपन्न भएको अर्थमा नै आफ्नो अनुभवमा आधारित ज्ञानमा प्रतिपन्न हुनु नै संघको सरणमा जानु हो ।
यसैले सत्यानुभूति गरेको विषयमा प्रतिष्ठित नभएसम्म निरन्तर अभ्यास आचरण गरिरहनु वा संघं सरणं गच्छामि भन्नु नै मासिनको (भौतिक) तेस्रो स्वधर्म हो । यदि निरन्तर आचरण नगरिए अभ्यास आचरणको कमीले अन्तिम चरणमा पुगेर पनि असफल हुन सक्छ । यसो भएमा भयावह हुनेछ । अर्थात् लक्ष्य प्राप्तिको लागि अन्तिम चरणसम्म संघर्ष गरिरहनु जीवन सफलताको तेस्रो सूत्र हो ।
२.आध्यात्मि पक्ष–
संघको सरणमा जान वा सत्यमा प्रतिपन्न हुने मानव जीवनको रहस्य बारे दर्शन वा भित्री ज्ञानको उत्पत्ति गर्न आवश्यक छ ।
दश कुसल सहित अट्ठसील वा उपोसथ व्रत पालनले मानिसमा हुने बाह्य तृष्णा, जस्तै– काम तृष्णा आदि तृष्णालाई वशमा राख्न सक्छ । तर भित्र सत्काय दृष्टिको कारणले म, मेरो भन्ने आसक्तिलाई उपोसथ व्रतले पनि वशमा राख्न सम्भव नहुन सक्छ । सत्यमा प्रतिपन्न हुनमा बांधा दिने भित्री आसक्तिको दर्शन वा जानकारी गरेर त्यसको त्याग वा निवारण गर्न सकेमा मात्र भित्री आसक्तिले दिन सक्ने बाधाबाट सुरक्षित भई सत्यमा वास्तविक रूपले प्रतिपन्न हुन सकिन्छ ।
यसैको लागि मेरो घर, मेरो परिवार, मेरो यशकीर्ति, मेरो योग्यता, मेरो सामाजिक कर्तव्य भनेर आसक्त भएर बहिरमुखी भएर बस्ने आसक्तिलाई तोडेर– यस संसारमा मेरो अध्यात्मिक उत्थानको लागि म मात्रै छु  म मेरो मालिक हुँ। अरूले मेरो आध्यात्मिक उत्थानको लागि केही गर्न सक्दैन । दुख पाउँदा आफैले सहनु पर्छ । मानसिक सुख कसैलाई बांड्न सकिदैन । मृत्यु हुंदा आफै एक्लै सारा छोडेर जानुपर्छ आदि आदि यथार्थता वा दुख सत्यलाई स्वीकार गरेर सामाजिक आसक्ति वा तृष्णालाई त्याग गर्न एकान्तवासको आवश्यकता पर्छ ।
वास्तवमा जीवन के हो ? दुक्ख आर्य सत्य किन भनिएको हो ? दुक्ख समुदय कसरी उत्पत्ति हुन्छ ? दुक्ख निरोध किन हुन्छ ? दुक्ख निरोधगामी मार्गको चक्रमा कसरी प्राणी आउँछन्, फस्छन् ? र यसबाट मुक्ति पाउँछन् ? यी मेरा आफन्तहरू– के जन्म जन्ममा मेरै आफन्त थिए ? आदि आदिको जवाफ वा समाधान खोज्नु नै दर्शन भनिन्छ । यसको लागि आर्य गवेसण गर्नु पर्छ । यसै आर्य गवेसण गर्नको लागि यी सारा बाहिरी आसक्ति वा बहिरमूखी शिक्षाप्रतिको तृष्णालाई त्यागेर एकान्तवास हुनु पर्छ । एकान्तवास हुने पद्धति मध्ये मध्यम मार्गीय एकान्तवास भिक्खु जीवन नै हो ।
जीवनको रहस्य थाहा पाउन, त्यसप्रतिको सूक्ष्म भित्री तृष्णालाई चिन्न दर्शन सम्मत शिक्षाको सरण जानु नै संघ सरणं गच्छामि भन्नु विवेकीहरूको आदर्श वा कर्तव्य हो । यही नै विवेकीको (आध्यात्मिक) तेश्रो स्वधर्म हो । अर्थात् अस्थायी मात्र भएर पनि गृहत्याग जीवन अनपनाएर जीवनको सार अनात्म वा अनासक्त स्वभावको जानकारी लिनु जीवन सफलताको तेस्रो वा सूत्र हो ।