बुद्धकाे अाँखामा हाेलीः मूर्खहरूकाे पर्व

बसन्त महर्जन

होलीका बेलामा त बुद्धलाई खुल्लमखुल्ला नै गालीगलौज तथा नानाभातीका शब्दहरूले लान्छना पनि लगाउँथे । मान्छेहरू सात दिनसम्म आ–आफ्नो अनुहार वा पूरै शरीरमा गोबर, कालो रंग, खरानी आदि दलेर छाडा तथा अश्लील गीत गाउँदै गाउँघर डुल्थे र यस्तो गरेर रमाइलो मान्थे ।

होली पर्वको प्रचलन अत्यन्तै पुरानो मानिन्छ । बौद्ध वाङमयहरूमा पनि होली पर्वको उल्लेख पाइन्छ । प्राचिनकालमा पनि समाजमा होली पर्व बडो हर्षोल्लासपूर्वक मनाइने गरेको देखिन्छ । तर यो पर्वका सम्बन्धमा स्वयं गौतम बुद्धको धारणा भने नकारात्मक रह्यो । बुद्धले होली पर्वलाई ठाडो भाषामा ‘मूर्खहरूको रमाइलो गर्ने पर्व’को रुपमा लिएका छन् ।

 

त्रिपिटकमा यसकाे लागि बुद्धले ‘बाल पर्व’ शब्दकाे प्रयाेग गरेका छन् जसकाे अर्थ मूर्ख र अशिक्षित हुन्छ।

 

तत्कालिन समाजमा मान्छेहरू बुद्धलाई बडो आदर सत्कार गर्दथे होलान् भन्ने अनुमान हुन्छ, तर त्यस्तो होइन । बुद्धप्रति द्वेषभाव राख्नेहरू पनि उत्तिकै हुन्थे । बुद्ध जहाँ जान्थे त्यहाँ खाने पानीको अभाव होस् भनी भएभरका इनारहरू पुर्ने उद्योगसम्म गर्थे । बुद्धको बदनाम गर्न अनेकौ हल्ला फिजाउने, षड्यन्त्र गर्ने जमात पनि थियो । होलीका बेलामा त बुद्धलाई खुल्लमखुल्ला नै गालीगलौज तथा नानाभातीका शब्दहरूले लान्छना पनि लगाउँथे । मान्छेहरू सात दिनसम्म आ–आफ्नो अनुहार वा पूरै शरीरमा गोबर, कालो रंग, खरानी आदि दलेर छाडा तथा अश्लील गीत गाउँदै गाउँघर डुल्थे र यस्तो गरेर रमाइलो मान्थे ।

होलीका बेला समाजमा यस्तो गर्न छूट थियो र चित्त दुखाएर कसैलाई गुनासो गर्न पाइन्न थियो । परम्परादेखि चल्दै आएको भन्दै र यो पर्व यसरी नै चल्दै थियो । पर्वमा सहभागीहरू त्यस्तो व्यवहार बुद्धसँग गर्न पनि पछि पर्दैनथे । कसैले त बुद्धलाई होलीका बेला अश्लील बोलीले जिस्क्याउने मात्रै होइन, हठात् रंग पनि हालिदिन्थे । यो घटनाले गर्दा बुद्धका उपासकहरूलाई सा¥है नै असजिलो भएर ती दिनहरूमा बुद्ध र भिक्षुहरूलाई भिक्षाटनका लागि बाहिर आउन नपर्ने गरी हप्ता दिनसम्म विहारमा नै भोजनको बन्दोवस्त गरिदिने गरेका थिए ।

बुद्ध र बुद्धका शिष्यहरू बढीभन्दा बढी धर्म अभ्यासमा जोड दिन्थे । अध्ययन र ध्यानमा नै तिनीहरूको समय बित्थ्यो । कसैको आवश्यक पर्दा सहयोग गर्दिने, धार्मिक कथा सुनाउने र अरु बेला अध्ययन र ध्यानमा समय लगाउँथे । गृहस्थहरूलाई पनि दैनिक जीवनका लागि आवश्यक काम गर्न र शीलमा बस्न उपदेश दिइएको हुन्थ्यो । बौद्ध समाजमा हाँसखेल तथा मोजमस्तीबाट जीवनलाई टाढा राख्नु आदर्श जीवन मान्ने गरिन्छ । यस्तो समाजमा होली पर्वको कुनै अर्थ हुने त कुरै भएन ।

होली पर्वका नाममा जथाभावी खेल्ने चलन आजभोलि पनि पाइन्छन् । यो खेल आपसी सद्भावका लागि खेल्ने भनिएपनि यसैका कारण झैंझगडा हुने गरेका घटनाहरू बग्रेल्ती पाइन्छ । समाजमा होलीका नाममा नराम्रो घटना नहुन् भनी सुरक्षा निकायले प्रत्येक साल सतर्क गराउँदै आउनु परेको छ । यस्तो अवस्थामा बुद्धलाई आफ्नो आदर्श मान्ने वा बुद्धको प्रशंसा गर्नेहरूले होलीका सम्बन्धमा स्वयं बुद्धले के भनेका छन् भन्ने कुरा मनन गर्नु नितान्त आवश्यक छ ।

होली पर्व सकिएपछि बौद्ध उपासक उपासिकाहरू बुद्धलाई भन्थे– ‘होलीका कारण घरबाहिर निस्कन पनि सकेनौं, घरमा नै बस्नु पर्दा जीवन कष्टकर भयो ।’ अनि बुद्ध पनि तिनीहरूसँग भन्थे– ‘मूर्ख र अशिक्षितहरूको संस्कृति भनेको यस्तै हुन्छ ।’ स्मरणीय रहाेस, त्रिपिटकमा यसकाे लागि बुद्धले ‘बाल पर्व’ शब्दकाे प्रयाेग गरेका छन् जसकाे अर्थ मूर्ख र अशिक्षित हुन्छ।

साभारः अन्नपूर्ण पोष्ट दैनिक, मार्च ७, २०१२