बुद्धका आर्य सत्य

अभय श्रेष्ठ

असार पूर्णिमालाई धेरैले गुरु पूर्णिमाका रूपमा मनाउँछन्। त्यो, बुद्धले आफूलाई प्राप्त ज्ञानबारे आफ्ना पाँच सहयात्रीलाई पहिलोपल्ट देशना गरेको महत्वपूर्ण दिन पनि हो। बुद्ध दर्शनमा धर्मचक्र प्रवर्तन भनिने यस दिनलाई ज्ञानदानको महान् पर्वका रूपमा सम्झनु जरुरी छ।

धर्मचक्र प्रवर्तन

ज्ञान प्राप्त गरेपछि बुद्धले पहिलोपल्ट ऊरुबेलाका बालबालिकालाई आफ्नो अनुभव सुनाएका थिए। त्यसपछि असार पूर्णिमाका दिन सारनाथमा कौडन्न, महानाम, भद्दीय, बप्प र अस्सजीलाई आफूलाई प्राप्त ज्ञानबारे प्रवचन दिए। मृगदायतिर आइरहेका बुद्धलाई देखेर अस्सजीले आफ्ना साथीहरूलाई भने, ‘सिद्धार्थले शरीरलाई पीडा दिने तप बीचमै छाडिदिए। उनले भात खाए, दूध पिए, बच्चाहरूको संगत गरेर हामीप्रति विश्वासघात गरे। हामीले उनलाई स्वागत गर्नु ठीक छैन।’ मित्रहरूले पनि अस्सजीको कुरामा सही थापे। तर, जब बुद्ध आइपुगे, स्थिति ठ्याक्कै उल्टो भयो। ज्ञानको आभाले उद्दिप्त उनको मुखमण्डल देखेर सबै जना प्रभावित भए। बुद्धले भने, ‘मित्रहरू, मलाई ज्ञान प्राप्त भएको छ। अब त्यसबारे तपाईँहरूलाई बताउँछु।’

‘सिद्धार्थ, तिमीले शरीरलाई पीडा दिने तप बीचमै छाडिदियौ’, कौडन्नले भने, ‘भात खायौ, दूध पियौ, गाउँका केटाकेटीसित समय बितायौ। यसरी कसरी तिमीलाई ज्ञान प्राप्त भयो होला र?’

शान्त स्वरमा बुद्धले भने, ‘मित्रहरू, ज्ञानमार्गका अनुयायी सबै जना अतिहरूबाट बच्नु जरुरी छ। विषय वासना (भोग विलास) मा चुर्लुम्म डुब्नु एउटा अति हो भने शरीलाई कष्ट दिनु वा आधारभूत आवश्यकताबाट वञ्चित राख्नु अर्को अति। अतिबाट विफलतामात्र मिल्छ। मलाई प्राप्त ज्ञानमा अतिको कुनै स्थान छैन। मेरो तरिका मध्य मार्ग हो। यसले नै मान्छेलाई ज्ञान, मुक्ति र शान्तिको मार्गतिर अग्रसर गराउँछ। मान्छे दुःखी छ, दुःखको कारण छ, दुःखबाट मुक्ति पाउन सकिन्छ र मुक्ति पाउने उपाय पनि छ। यी हाम्रो जीवनका चार आर्य सत्य हुन्।’

बुद्धका अनुसार पहिलो आर्य सत्य जन्म, जरा, रोग, मृत्यु, शोक, क्रोध, द्वेष, चिन्ता, उद्वेग, भय र निराशा सबै दुःख हुन्। मानिसका जीवनमा यी सबैको उपस्थिति छ। प्रियजनसँगको वियोग र अप्रियजनसँगको मिलन पनि दुःख हो। दोस्रो आर्य सत्य, दुःखको मूल अज्ञान हो। तेस्रो आर्य सत्य, जीवनको सच्चा ज्ञान प्राप्तिपछि दुःख र शोकको निदान हुन्छ। चौथो आर्य सत्य हो, दुःख निदानको उपाय। यो अष्टांग मार्गबाट प्राप्त गर्न सकिन्छ। बुद्धको अष्टांग मार्ग सही (सम्यक्) ज्ञान, सही विचार, सही वाणी, सही कर्म, सही जीवनयापन, सही प्रयास, सही चेतना र सही एकाग्रता हुन्।

उनले भने, ‘मित्रहरू, ज्ञान दुःखसँग सोझै सामना गर्ने मार्ग हो। खासमा यो सचेत अवस्थामा अर्थात् हरेक क्षण जागृत भएर बाँच्ने तरिका हो। सचेतन अवस्थाको अभ्यासले एकाग्रता प्राप्त हुन्छ। अनि एकाग्रतामै ज्ञान प्राप्त गर्न सकिन्छ। सही एकाग्रताले सही चेतना, सही विचार, सही वाणी, सही कर्म, सही जीवन यापन र सही कर्म प्राप्त गर्न सकिन्छ। यसरी प्राप्त ज्ञानले दुःखका हरेक बन्धनबाट मुक्ति मिल्छ। अनि सही शान्ति र आनन्द प्राप्त गर्न सकिन्छ।’

बुद्धको शान्त र ओजपूर्ण वाणीबाट उनका पूर्व सहतपस्वी कति प्रभावित भए भने तत्काल उनीहरूले आफूलाई शिष्य स्वीकार्न बुद्धलाई आग्रह गरे।

महान् मानवीय दर्शन

बुद्ध नै संसारका त्यस्ता महान् गुरु हुन् जसले आफ्नो विचारलाई अन्तिम सत्य भनेनन्। उनी भन्थे, ‘म मुक्तिदाता होइन, मार्गदर्शकमात्र हुँ। मेरो तरिका मुक्तिको यात्रामा एउटा डुंगामात्र हो। यो तत्काल मैले देखेको श्रेष्ठ मार्गमात्र हो। ध्यान, साधना र अनुभवको गहिराइमा पुगेर तिमीले मेरोभन्दा सही बाटो पनि भेट्न सक्छौ।’ वैदिक परम्परामा गरिने निरपेक्ष विश्वासविरुद्ध उनी सन्देहलाई ज्ञानको जननी ठान्थे। बुद्धका वाणी मानवीय विचारमात्र होइन, महान् आत्मस्वीकृति पनि हो।

भाग्यवाद, अन्धविश्वास, यथास्थिति, पूजापाठ, ईश्वर भक्ति, यज्ञ, प्रार्थना, जातिभेद, पुरोहितवाद आदिको प्रतिकारमा उनी ज्ञानको खोजीमा हिँडेका थिए। वेद, पुराणको सत्ता र पूजा, यज्ञादिका लागि गरिने अन्न र धन नष्ट गर्नुलाई उनी अर्थहीन ठान्थे। आत्माको अस्तित्वलाई नकार्थे। हरेक क्षण सचेत भएर बाँच्न, कुनै पनि काम एकध्यान लगाएर गर्न, विगतको दुःख र भविष्यको चिन्ताबाट मुक्त भएर वर्तमानमा बाँच्न उनी आग्रह गर्थे। ज्ञान र सत्यबोधलाई दुःख मोचनको प्रमुख मार्ग मान्ने उनको दर्शन ईश्वरवादको प्रतिकारमा रहेकैले आठौँ शताब्दीमा शंकराचार्यले पाएसम्मका बौद्ध साहित्य नष्ट गरिदिएका थिए।

सत्यबोधको अनुपमता

बुद्ध दर्शनको एउटा महत्वपूर्ण पाटो हो अनुभवको गहिराइबाट सत्यबोध गर्नु। मान्छेलाई सत्यसँग साक्षात्कार गराउने उनको तरिका अनुपम थियो। एकपल्ट एउटी युवतीले उनलाई बेलुकीको खाना खाने निम्तो दिइन्। बुद्धले सहर्ष स्वीकार गरे। ती महिलालाई चरित्रहीन भन्दै गाउँलेहरूले बुद्धलाई त्यहाँ नजान सुझाव दिए। गाउँका मुखियाले पनि उनलाई रोक्ने प्रयास गरे। बुद्धले सोधे, ‘साँच्चै ती महिला चरित्रहीन हुन्?’

‘हो, तपाईँजस्ता साधु त्यहाँ नजानु नै बेस हुन्छ।’

बुद्धले मुखियाको एउटा हात समाते र अर्को हातले ताली बजाउन आग्रह गरे। मुखियाले भने, ‘पहिले मेरो हात छोड्नुस्, नत्र एक हातले कसरी ताली बज्छ?’

मुसुक्क हाँस्दै बुद्धले प्रतिप्रश्न गरे, ‘हो, त्यसो भए भन्नुस्, तपाईँ पुरुषहरू चरित्रहीन नभई कसरी ती महिलामात्र चरित्रहीन हुन सक्छिन्?’ बुद्धको कुरा सुनेर लाजले सबै पुरुष निहुरीमुन्टी ‘न’ भए। यसरी बुद्धले ती महिलालाई निर्दोषमात्र साबित गरेनन्, पुरुषहरूलाई तिनकै दोषको आभास पनि दिलाए। यस्तो थियो बुद्धको तरिका। किसा गौतमीले मरेको छोरा बचाउन आग्रह गर्दा उनले कुनै मान्छे नमरेको घरबाट तोरी ल्याउनू भने। ईश्वरवादी गया काश्यपलाई यज्ञ, जप, पूजा, आराधनाको निरर्थकता बुझाउन खोला नतरी यज्ञ गरेर पारि पुगेर देखाऊ भने। शब्दले सत्य बोल्नुभन्दा व्यवहारबाट सत्य सिद्ध गराउने उनको तरिका अत्यन्त प्रभावशाली थियो।

र, अन्त्यमा

मूर्तिपूजा, कर्मकाण्ड, तिलस्मबाट मुक्त गरी करुणा, प्रेम, न्याय र शान्तिलाई पक्रन सके नै बुद्ध दर्शनको वास्तविक साख जोगाउन सकिन्छ। निर्वाणलाई अज्ञानको अँध्यारोबाट ज्ञानको उज्यालोमा प्रवेश गर्ने माध्यम माने काफी हुन्छ। किनभने, यो जीवनलाई शान्त र आनन्दमय बनाउन व्यावहारिक ज्ञान दिने महान् दर्शन हो। प्रख्यात बौद्ध चिन्तक डा. भदन्त आनन्द कौसल्यायन भन्छन्, ‘आजको युगमा जन्मेका भए बुद्धले भिक्षुहरूलाई कठोर व्रत पालना गर्न लगाउने थिएनन् होला। सुरक्षित यौन सम्बन्धले आत्मविकासमा वाधा पुर्‍याउँदैन। आत्मोन्नति यौनभन्दा धेरै उच्च अवस्था हो। चेतनाको आनन्दसामु यौनसुख फिका हुन्छ र स्वतः छुट्छ।’

रिस हाम्रो जीवनको शत्रु हो। फ्रायड भन्छन्, रिसलाई दमन नगर, प्रकट गरेर हल्का होऊ। बुद्ध भन्छन्, रिसलाई दमन गर। तर, बुद्धले भनेको दमनको अर्थ दबाऊ भन्ने नभई रूपान्तरण गर भन्ने हो। फ्रायडले भनेजस्तो रिस प्रकट गर्दा अप्रिय घटना पनि हुन सक्छ। बुद्धको विचारमा रिस वा निराशाको अर्थ हो, तिमीभित्रको नष्ट हुन खोजिरहेको ऊर्जालाई सदुपयोग गर। रिस उठे करेसाबारीमा गएर बाँझो जमिन खन। यसरी रिसको रूपान्तरण हुन्छ।

साभार नागरिक दैनिक १ असार २०७३