सङ्घर्षशील महिला : डा. अनोजा

मोहन दुवाल
शारदा मानन्धर  एक साधारण परिवारमा जन्मेर हुर्केकी एकजना सङ्घर्षशील महिला हुन् । धेरै सङ्घर्षका खुड्किलाहरू पार गर्दै, निकै कठिन परिश्रममा आफूलाई समर्पित तुल्याउँदै आफूलाई सफल नारीका रूपमा स्थापित गर्न सक्षम शारदा मानन्धर नै हुन् डा. अनोजा । बनेपा बांख्योटोलमा जन्म पाएकी एक साधारण महिला जो सङ्कल्प र साहसको दह्रो पाइला चाल्दै र आफ्नो पथमा रमाउँदै कुदिरहिन् । अन्ततः उनी उन्नतिको शिखर चुम्न सफल भइन् । सानो छँदा २०२७ सालतिर एक जमुना भिक्षुणीसँग लागेर आफ्नो गृहत्याग गरी बुद्ध खोज्न गएकी यिनी प्रताडना, कष्ट, दुःख केहीको पनि पर्वाह नगरी निश्चल यात्रामा लागिरहिन् । अनि उनी उद्देश्यका ढोकाहरू खुलाउन सफल भइन् ।सङ्कल्प हो यिनको जीवन । साहस हो यिनको यात्रा । एकाग्रता हो यिनको सफलता । यिनी अन्तिममा सफल भिक्षुणी बनिन् । सुलक्षण कीर्ति विहारको संस्थापक । हाल यिनी चोभार सुन्दरीघाटस्थित यसै विहारका प्रमुख डा. अनोजा गुरुमाँ भएर स्वास्थ्य, शिक्षा, समाजसेवाका पदचापहरू छोड्दै मसानघाटलाई जीवनधाम बनाउन तल्लिन छिन् । प्रष्ट यिनको बोली । अध्ययनशील यिनको स्वभाव । यस्तै खालका उत्कर्ष चिन्तन र अध्ययनले यिनलाई शिखर चुम्न सजिलो बनायो ।

शारदा मानन्धर वि.सं. २०१६ मा अर्थात् इ.सं. १९६० जुलाई ७ मा बनेपा–५ बांख्योटोलमा पिता हरिनारायण मानन्धर र माता रत्नमाया मानन्धरको सुपुत्री भएर जन्म पाएकी हुन् । ११ वर्षकी छँदा यिनले गृहत्याग गरिन् । २०३४ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरेकी यिनले २०४५ सालमा आई.ए., २०४८ सालमा बी.ए. र २०५० सालमा एम.ए. डिग्री हासिल गरिन् । भारतको बनारसस्थित सम्पूर्णानन्द विश्वविद्यालय यिनको अध्ययनको आधारभूमि बन्यो । उच्च शिक्षाका सम्पूर्ण स्तर हासिल गरेको यस विश्वविद्यालयबाट नै बौद्ध दर्शनको अभिधर्म ओतारा विषयमा विद्यावारिधी (पी.एच.डी.) उपाधि हासिल गर्न उनी सफल भइन् । ९ वर्षको बनारस बसाइमा प्राप्त भएको अध्ययनले यिनलाई सक्षम र प्रतिभावान् भिक्षुणी डा. अनोजा बनायो । त्यसपछि नेपाल फर्केपछि पनि यिनले अध्ययन गर्न छोडिनन् । बौद्ध परियती कोविद शिक्षा ग्रहण गरेपछि यिनी केहीक्षण अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अंग्रेजी भाषाको अध्ययन गर्न गइन् ।

आफ्नो जीवन–क्रममा यसरी यिनले शिक्षा–दीक्षा प्राप्त गर्न सफल भइन् ।
धेरै सङ्घर्ष गरिन् यिनले जीवनमा । धेरै प्रयास र अध्ययन गरिन् आफ्नो जीवनक्रममा । थाकिनन् यिनी । हारिनन् यिनी । जीवन खोज्न यिनी सधैँ तल्लीन रहिन् । यसको परिणति वा पुरस्कार जे भने पनि शारदा मानन्धरले आफूलाई डा. अनोजामा रूपान्तरित गर्न सफल भइन् । सुलक्षण कीर्ति विहारको मनोहारिता मनोरमपूर्ण हुँदै जानुका कारणमा डा. अनोजाकै उल्लेखयोग्य कार्यशैली नै मान्नुपर्छ । मसानघाटमा पहिले केही थिएन । एउटा सानो भत्किएको पाटी थियो । जहाँ डरलाग्दो खालको वातावरण व्याप्त थियो । त्यस्तो ठाउँमा जीवनघर बनाउने सङ्कल्प बोकेर डा. अनोजा खटिरहिन् । सफलताको चुलीमा उनी पुगिछडिन् । हाल यस सुलक्षण विहारमा योग कक्षाका साथै थुप्रै समाजसेवाका उल्लेखयोग्य कार्यहरू भइरहेका छन् । कहिले प्रवचन, कहिले आँखादान, कहिले स्वास्थ्य शिविर, कहिले अनाथहरूमाथिको मायामा कार्यक्रम सञ्चालन गर्दै जीवन–पथमा कुदिरहेकी भिक्षुणी डा. अनोजा यसै विहारअन्तर्गत वृद्धाश्रम, स्कुल, हस्पिटल, गेष्ट हाउस खोल्ने र जनमानसको सेवा गर्ने भावना साँचेर हाल पनि सङ्घर्षरत छिन् ।

आफूले गरेर अरूलाई कल्याण हुने कार्यहरू गर्नु जीवन हो । यस्तै परिभाषामा जीवनलाई परिभाषित गर्न रुचाउने यिनी धर्मको परिभाषामा पनि यस्तो विचार राख्छिन्– राम्रो गर्नु नै धर्म हो । राम्रो कर्म, राम्रो सोच बनाएर अरूको उपकार गर्नु नै धर्म हो । प्राणी हिंसा गरेर, अरूलाई ढाँटेर, अर्कालाई छलेर, अर्काको चोरेर, चाकडी–चुक्ली गरेर धर्म पाइँदैन । यस्तै धर्म–दर्शनका १०० औंभन्दा बढी विभिन्न पत्र–पत्रिकामा लेख–रचना छपाइसकेकी लेखिका डा. अनोजा सुलक्षण कीर्ति विहारको इतिहास लेखनमा र योगका पुस्तक प्रकाशनमा व्यस्त छिन् ।

बौद्ध धर्म दर्शनमा पी.एच.डी. गर्ने प्रथम नेपाली महिला, विश्वभ्रमण गर्ने प्रथम नेपाली महिलाका रूपमा ख्याति कमाइसकेकी यिनी भिक्षुणीहरूमा पहिलो गाडी चलाउने महिलाका रूपमा पनि सुविख्यात छिन् । यति मात्र नभई यिनी धेरै संघसंस्थामा आफू सक्दो योगदान पुर्याउन पनि सक्रिय रहेकी छिन् । बौद्ध ज्योति अन्तर्राष्ट्रिय संघ, नेपाल शाखाको अध्यक्ष रहेर सुगत सन्देश (बौद्ध पत्रिका), हाम्रो नेपाल सामाजिक संगठन, काठमाडौं उपत्यका बहुउदेश्यीय सहकारी समाज लिमिटेड, असहाय बाल स्कुल, नेपालका सल्लाहकार रहेर पनि बौद्ध–कक्षाहरू, बुद्ध–पूजालगायत सबै खालका धर्मका गतिविधिहरूसमेत सञ्चालन गर्न यिनी सक्रिय छिन् । रेडियो नेपाल र अन्य विभिन्न एफ.एम.हरूमार्फत बौद्ध साहित्यका प्रवर्तक रहेर ज्ञान वितरण गर्न रुचाइरहने यिनी धर्मकीर्ति विहारलाई नै आफ्नो आधारभूमि र धम्मवती गुरुमाँलाई मार्ग–निर्देशिका गुरुमाँको रूपमा स्वीकार गर्छिन् ।

स्पष्ट आफ्नो विचार राख्न सिपालु अनोजा प्राथमिक सेवा तालिम, एक्यु प्रेसर तालिम, सिलाइ–बुनाइ, रफ्फु भर्ने कार्यमा समेत सक्षम छिन् । धर्मोदय सभाको आजीवन सदस्य रहेर सेवाका मर्महरू फुकाउँदै रहेकी यिनी बौद्ध परियती शिक्षा केन्द्र, शाक्यसिंह विहार ललितपुर, ध्यानकुटी विहार बनेपा, अन्तर्राष्ट्रिय बौद्ध योग केन्द्र शङ्खमूल, भिक्षुणी संघ, नेपाल रसियन सांस्कृतिक केन्द्र, लुम्बिनी गौतमी विहार, धर्मकीर्ति विहार, काठमाडौं आदिमा पनि सदस्य भई सेवा पुर्याउँदै छिन् ।
१२ वर्षको उमरेमा वाराणसीस्थित म्यानमार बौद्ध विहार, सिगरामा भिक्षु डा. किन्तिमाको नेतृत्वमा प्रवर्जित भएकी शारदाले ५ कक्षासम्म बनेपास्थित चैतन्य मा.वि.मा अध्ययन गरेकी हुन् । भक्तपुरको सरस्वती मा.वि.बाट एस.एल.सी. उत्तीर्ण गर्न सफल भएकी यिनी जीवनका क्रममा थुप्रै आरोह–अवरोहहरू पार गर्दै थुप्रै जीवनका अविस्मरणीय यात्रा गर्न सफल भइन् । यिनका लागि अविस्मरणीय सुखद क्षणका रूपमा जापानी राजकुमारी जेन सि. इटोलाई महामायादेवीको रूपमा दिवंगत संघनायक भिक्षु अनिरुद्र महास्थवीरको उपाध्यायत्वमा प्रवज्या प्रदान गर्नुलाई स्वीकार गर्छिन् । काम गर्दै जाने, उत्तरदायित्व बहन गर्दै जाने, कर्तव्यपालन गर्ने, मेहनतमा शिथिलता आउन नदिने, धैर्य, दृढता र सङ्कल्प नछोड्ने आदि सिद्धान्तलाई आत्मसात् गर्दै जीवन–पथमा लम्किरहेकी यिनी सुलक्षण कीर्ति विहारलाई बौद्ध अध्ययन अनुसन्धान केन्द्रका रूपमा विकास गर्नु नै दीर्घकालीन योजना हो भन्छिन् ।

यसरी सबै पक्षमा सबै वर्गको सेवामा जुटिरहेकी अनोजा यस्तै कार्य गर्दै समाजमा व्याप्त भएर बुद्ध–धर्म र बुद्धलाई जीवन्त राख्न रुचाउने गर्छिन् । बौद्ध–धर्मबारे उनी यसरी आफ्नो धारणा राख्न मन पराउँछिन्– बौद्ध भनेको बुद्धि वा ज्ञान हो । धर्म भनेको धरायतीति धर्म हो अर्थात् जे धारणा गरिन्छ, त्यसलाई धर्म भनिन्छ । यस आधारमा हेर्दा ज्ञानलाई लिनु अर्थात् अङ्गाल्नु नै बौद्ध धर्म हो । यो मान्छे मात्रलाई चाहिन्छ । हिन्दू, बौद्ध, सिख, मुसलमान, इसाई सबैलाई चाहिन्छ । ज्ञानी हुनु नै बौद्ध हुनु हो । यस्तै तर्कशीलतामा आफूलाई समाहित तुल्याउँदै रहेकी भिक्षुणी अनोजा बौद्ध दर्शनको एक विशेष ज्ञाता मानिन्छ । उनी धर्मलाई दार्शनिक भाषामा व्याख्या गर्न सिपालु छिन् । सत्य के हो ? उनी आफ्नो विचार फुकाउँछिन्– दुःख सत्य आफ्नो शरीरमा रहेको हुन्छ । आँखाले देखिने सत्य दुःख सत्य हो । कानले सुनिने र सुनाइदिने पनि दुःख सत्य हो । नाकले सुँघ्न सकिने, जिब्रोले चाखेर मीठो, गुलियो, अमिलो छुट्याउन सक्ने क्षमता पनि दुःख सत्य हो ।

न्यूयोर्कमा भएको विश्व धर्ममा भएको युवा गोष्ठी, नयाँ दिल्लीमा सम्पन्न भएको बौद्धमार्गी महिला सम्मेलन, बनारसमा भएको अन्तर्राष्ट्रिय बौद्ध संघको गोष्ठी, क्यानाडामा भएको बौद्ध ज्योति अन्तर्राष्ट्रिय संघको गोष्ठीलगायत थप्रै राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका गोष्ठीहरूमा सहभागी भई आफ्नो विचार राख्दै आएकी यिनी धर्मका साहित्यिक पुस्तकहरू पढ्न पाएपछि समय गएको नै थाहा नहुने सन्दर्भ सुनाउने गर्छिन् । नयाँ ठाउँ घुम्न पाएपछि निकै मज्जा भएको मान्ने डा. अनोजालाई उनीले पुर्याइदिएको सेवा र सत्–कार्यलाई प्रशंसा गर्दै धर्मकीर्ति विहार, बौद्ध परियती शिक्षा केन्द्र, हाम्रो नेपाल सामाजिक संगठन, महिला बौद्ध संघ, बौद्ध ल्यायम्ह पूचः, सुलक्षण विहारका उपाशक, उपाशिकाहरूका साथै ताइवान, चीन, टर्की र बर्माले सम्मान र कदर गरेका छन् ।
काठमाडौंबाट नजिक भएर पनि कोलाहल र घुइँचोबाट टाढा सुन्दरीघाट । शान्त वातावरणमा अवस्थित सुलक्षण कीर्ति विहार । डा. अनोजाका पसिनाका बुँदहरू । मुलायम भावनामा भएका सुन्दर कार्यहरू । यहाँ रहेका उपाशक⁄उपाशिकाहरू । वाग्मती नदीको जलाधार । प्रसिद्ध लोकनाथ आर्य अवलोकेश्वरको पुण्य धार्मिक स्थल । ज्ञानको संसार त्रिभुवन विश्वविद्यालयनजिकको भूमि । कीर्तिपुर, पाङ्गा, ललितपुर, काठमाडौंका उपाशक⁄उपाशिकाहरूका लागि पनि उपयुक्त ठाउँ । यहाँ तल–तल भएर वाग्मती बग्छिन्, माथि–माथिबाट तल–तल झरेर शीतल हावा बहन्छ । स्तुपा बनिसकेको छ, योगको सिकाइ हुन्छ, निकै रमणीय स्थल बनेको छ सुन्दरीघाट । मलाई त लाग्छ, साँच्चै यो ठाउँ शुद्ध भावनाले व्याप्त शीलवान् सुन्दरीको उच्छवासहरू चोखो हावाझैँ बहिरहेछन् । हो यही सुन्दरीघाटमा बनेको विहारमा रहेर डा. अनोजा मान्छेमा व्याप्त कुभावनाहरूसँग जुझ्न भिक्षुणी बनेर सङ्घर्ष गर्दै छिन् । उनी आफ्नो धारणामा ईश्वरको विम्ब यसरी खिच्ने गर्छिन्– ईश्वर सृष्टिकर्ता होइन । ईश्वर पक्षपाती हुनै सक्दैन । ईश्वर सृष्टिकर्ता भएको भए किन समान भएनन् मान्छेहरू ? किन धनी–गरिबको भेद रह्यो ? ईश्वरप्रति उनी यस्तो भावनाशील तर्क राख्छिन् ।

हालसम्म यिनका बौद्ध साहित्यका प्रकाशित पुस्तकहरूमा सुलक्षण कीर्ति विहारः एक परिचय, बौद्ध ध्यान, बौद्ध प्रवचन माला, शान्ति अभिप्रेरणा (भाग १ र २), नियात्राका पदचापहरू, शील सन्देश, बर्माः अनुभव र अनुभूति, मंगल उपदेश आदि छन् । यिनका अङ्ग्रेजी र बर्मेली भाषामा पनि पुस्तकहरू प्रकाशित छन् । यिनका बौद्ध साहित्यमा भएका क्रियाकलाप र सिर्जनाहरू उदाहरणीय छन् ।

न्युज अफ नेपाल डटकमबाट साभार