बुद्धको धर्मचक्र प्रवर्तन

लोचनतारा तुलाधर
पच्चीस सय वर्ष अघि नेपालको लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ कुमारले बुद्धत्व प्राप्त गरी सारा विश्वभरि ज्ञानको प्रकाश फैलाउनुभयो । भगवान् बुद्धको जीवनकालमा भएका चार घटनालाई प्रमुख मानिन्छ, ती हुन्- लुम्बिनीमा जन्म, बुद्धगयामा बुद्धत्व प्राप्ति, सारनाथमा धर्मचक्र प्रवर्तन र कुशीनगरमा महापरिनिर्वाण । तीमध्ये जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण तीनवटै घटना वैशाख पूणिर्माका दिन र धर्मचक्र प्रवर्तन असार पूणिर्माको दिन भएको थियो । बाह्र महिनाका १२ पूणिर्मामध्ये यो तेस्रो पुर्णिमा हो । यस वर्ष पुरुषोत्तम महिना परेकाले असार पुर्णिमा साउन महिनामा परेको हो । यो दिन भगवान् बुद्धले आफूले प्राप्त गर्नुभएको ज्ञानको उपदेश दिन सुरु गर्नुभएको थियो । यसैले यो दिन सद्धर्म प्रेमीहरूले धर्मचक्र प्रवर्तन दिवसका रूपमा मनाउँदै आएका छन् । हुन पनि वैशाख पूणिर्माको महत्त्व बढेको नै असार पूणिर्माका कारणले हो । असार पूणिर्मालाई बौद्ध जगत्मा ‘धर्मचक्र प्रवर्तन दिवस’का रूपमा विशेष रूपमा मनाइन्छ ।

 

सिद्धार्थ कुमारले वैशाख पूणिर्माको दिन बुद्धगयामा बोधिवृक्षमुनि बोधिज्ञान प्राप्त गरी सम्यक् सम्बुद्ध हुनुभएको थियो । विपस्सना ध्यानद्वारा आफूले पहिले कहिल्यै नसुनेको ज्ञान प्राप्तिपछि उहाँले हप्तौँसम्म आफूले आविष्कार गरेको ज्ञानको पुनरावलोकन गरी गहिरिएर चिन्तन-मनन गर्नुभयो । अनि आफूले प्राप्त गरेको अमूल्य ज्ञान सर्वसाधारणमा बाँड्ने कि नबाँड्ने भन्ने कुरामा उहाँलाई दोमन भयो । किनभने लोभ, मोह, तृष्णामा लिप्त भई रमाइरहेका मानिसलाई तृष्णाक्षय हुने दुःखबाट छुट्कारा पाउने निर्वाण सुखको ज्ञान बुझ्न गाह्रो होला कि भन्ने शङ्का उहाँको मनमा आयो । यस्तो सोचाइले भगवान् बुद्धलाई धर्मप्रचार गर्नबाट हतोत्साही बनायो । फेरि त्यसैबेला उहाँले आफैँलाई उपदेश दिनुभयो- “आफू एक्लैमात्र दुःखमुक्त भई आनन्दले बस्न त मैले राज्य त्यागी कठोर परिश्रम गरी बुद्धत्व प्राप्त गरेको होइन । संसारमा सबै मानिस त मूर्ख र स्वार्थी हुँदैनन् होला । मैले प्राप्त गरेको अमूल्य ज्ञानका कुरा बुझी त्यस अनुसार आचरण गरी सांसारिक दुःखबाट मुक्त हुने कोही न कोही बुद्धिजीवी क्षमतावान् त होलान् ।” यसरी विस्तारै भगवान् बुद्धले फेरि धर्म प्रचार गर्नेतर्फ सोच बनाउनुभयो ।

 

सर्वप्रथम यो गहन उपदेश कसलाई देशना गरे ठीक होला भनी सोच्दा भगवान् बुद्धले आफू तपस्यारत छँदा सेवा गर्नुहुने कपिलवस्तुका पाँचजना ब्राहृमणहरू कौण्डण्य, वप्प, भद्दिय, महानाम र अस्सजितलाई सम्झनुभयो । यो पञ्चभद्रवर्गीयहरूले चाँडै सद्धर्म बुझ्नेछन् भन्ने ठानी तथागत बुद्धगयादेखि सारनाथसम्म पैदल हिंड्नुभयो । सारनाथको ऋषिपतन मृगदावनमा पञ्चवर्गीयहरू भेटी उहाँहरूलाई आफूले प्राप्त गरेको नौलो ज्ञानबारे उपदेश दिनुभयो । यसरी असार पूणिर्माको पवित्र दिनमा बुद्धले पहिलोपल्ट धर्मको चक्का घुमाई सद्धर्म देशना गर्नुभयो । यस प्रथम उपदेशलाई धर्मचक्र प्रवर्तन सूत्र भनिन्छ । त्यसैले यस दिनलाई धर्मचक्र प्रवर्तन सूत्र पाठ गरी धर्मको अभ्यास गर्ने चलन छ ।

 

धर्मचक्र सूत्र देशनाका क्रममा बुद्धले चार आर्यसत्यको व्याख्या गर्नुभयो । ती आर्यसत्य यसप्रकार छन्- -क) दुःख सत्य- दुःख छ, -ख) दुःख समुदय सत्य- दुःखको कारण छ, -ग) दुःख निरोध आर्य सत्य- दुःख निरोध गर्न सकिन्छ, -घ) दुःख निरोध गामिनी प्रतिपदा आर्य सत्य- दुःख निरोध गर्ने उपाय छ । दुःख निरोध गर्ने उपायमा मध्यमार्गको कुरा आउँछ । यसले दुई अतिमार्ग अर्थात् अति सुविधामुखी जीवन र अति दुःखी जीवन त्यागी मध्यमार्ग अपनाउन जोड दिन्छ ।

 

आर्य अष्टाङ्गकि मार्गका आठ मार्ग यस प्रकार छन्- सम्यक् दृष्टि -सही सोच), सम्यक् सङ्कल्प -सही सङ्कल्प), सम्यक् वाचा -सही कुराकानी), सम्यक् कर्मान्त -सही कार्य वा निर्दोष कार्य), सम्यक् आजीविका -सही जीविका), सम्यक् व्यायाम -सही अभ्यास वा प्रयत्न), सम्यक् स्मृति -सही तरिकाको होश), सम्यक् समाधि -सही तरिकाको एकाग्रता) । यी आठ मार्ग अनुशरण गर्नसक्नेले मात्र दुःखबाट मुक्ति पाउँछन् ।

 

धर्मचक्र प्रवर्तन सूत्रको गहन व्याख्याको केही दिनपछि पाँचैजनाले सद्धर्म साक्षात्कार गरी धर्मचक्षु प्राप्त गर्नुभयो । उहाँहरूलाई भगवान् बुद्धले प्रवज्या उपसम्पदा गरिदिनुभयो । यसरी पाँच शिष्य बुद्धका प्रथम शिष्यका रूपमा पञ्चभद्रवर्गीय भिक्षुका नामबाट प्रख्यात हुनुभयो ।

 

सम्यक् सम्बुद्धले आफूले प्राप्त गरेको ज्ञान आफूमा मात्रै सीमित राखी एक्लैमात्र दुःखमुक्त भई निर्वाण प्राप्त गर्नुभएको भए आज विश्वमा बुद्धको महत्त्व यति चम्कने थिएन । धर्मचक्र प्रवर्तन गर्नुभएको दिनदेखि बुद्धले अटुट रूपमा धर्म प्रचार गर्न थाल्नुभयो । प्रथम पाँच शिष्यपछि बनारसका सेठपुत्र यशसहित ६० जना कुलपुत्रले प्रवज्या ग्रहण गरी भिक्षु बन्नुभयो । अनि भगवान् बुद्धले भन्नुभयो- “चरथ भिक्खवे चारिकं …’ अर्थात् बहुजनको हितका लागि बहुजनको सुखका लागि चारिका गर । दुईजना एकसाथ नजाओ । असङ्ख्य मानिसलाई हित तथा सुख पुर्‍याउने कुराको प्रचार गर । आदि, मध्य र अन्त्यमा उपकारक धर्मको प्रचार गर । परिशुद्ध तथा परिपूर्ण जीवन बिताउने तरिका बताऊ । म पनि उरुवेलको सेनानी गाउँमा जाँदैछु ।”

 

यसरी भगवान् बुद्धले आˆना शिष्यहरूसहित आफू पनि ४५ वर्षसम्म धर्मप्रचारकै लागि जुट्नुभयो । जीवनको अन्तिम अवस्थासम्म पनि उहाँले इच्छुकलाई धर्मचक्षु दिन छुटाउनुभएन । यही हो महामानवको महानतालाई बुझ्ने दिन- धर्मचक्र प्रवर्तन दिवस ।