उत्तम यज्ञ कुन हो?

चित्र शाक्य

आज मैले एउटा राम्रो शिक्षापद प्राप्त गरेको छु । त्यो म साथीहरुसंग शेयर नगरी बस्न सक्दिन । त्यो शिक्षापद हो “उत्तम यज्ञ कुन हो?”।

 
यो शिक्षापद मैले आनन्द भूमीको वर्ष ४५ अंक ९ मा प्रकाशित पूज्य भन्ते अश्वघोष महास्थविरज्यूको लेख “प्रजातन्त्रसंग अर्थको घनिष्ट सम्बन्ध हुन्छ” भन्ने लेखबाट पाएको हुँ । यहाँ मैले त्यो लेखको महत्वपूर्ण अन्तिम अंशको सार प्रस्तुत गर्न लागेको छु।

 
यसमा पूज्य भन्तेले दीघनिकायको “कूटदन्त सूत्र”को सार संक्षेप दिनु भएको छ । कूटदन्त एक विद्वान ब्राम्हण थिए। उनले एक महायज्ञको आयोजन गर्ने विचार गरे । त्यहि बेला बुद्ध मगधको एक आँपको बगैंचामा बस्नु भएको थियो । बुद्ध यज्ञका ज्ञाता हुनुहुन्छ भन्ने सुनेकोले बुद्धसंग उत्तम यज्ञको बारे जान्न उहाँ सामु कूटदन्त पुग्नु भयो ।  उनलाई बुद्धले यज्ञको बारेमा व्याख्या गर्नु भयो र उहिलेको एक यज्ञको बारेमा पनि वताउनु भयो ।

 

बुद्धले भन्नु् भयो, उहिले महाविजित नामको राजाले महायज्ञ गर्ने विचार गरेर पुरोहित ब्राम्हणकहाँ सोधपूछ गर्न गए । त्यस ब्राम्हण यज्ञका ज्ञाता विद्वान थिए । पुरोहितले भने अहिले देशमा जनता गरीबीमा पिल्सिरहेका छन्।चोरी डकैटी व्यापक छ । यस्तो अवस्थामा धेरै धन खर्च गरेर यज्ञ गर्नु हुँदैन।अहिलेको अवस्थामा गर्नु पर्ने काम (यज्ञ) भनेको खेती गर्न चाहनेलाई खेतीको औजार सामानहरू र विउविजन दिनुपर्छ, व्यापार गर्न चाहनेलाई पूँजी दिनुपर्छ, र जागीर खान चाहनेलाई राम्रो तलब दिएर जागीरमा राखिदिनु पर्छ।यस्तो भएपछि सबै आ-आफ्ना काममा लागेर त्यसमैं ध्यान दिन्छन् र कोहि अपराधपूर्ण काममा लाग्दैनन्। त्यसपछि देशमा समृद्धि र सुखशान्ति छाउँछ।

 


राजा महाविजितले पुरोहितको सुझावलाई शिरोपर गरी किसानलाई खेतीका औजार सामान र विउविजन दिए, व्यापार गर्ने चाहनेलाई पूँजी दिए र जागीर खान खोज्नेलाइ राम्रो तलब भत्ता दिई जागीरमा राखिदिए।देशमा सुखशान्ति छायो, समृद्धिले देश झनै सम्पन्न बन्यो।

 


अहिले नेपालमा स्थिर सरकार बन्ने र देशलाई समृद्धि र विकास दिने वाचा नेताहरूले गरिराखेको अवस्थामा समूचित मार्गदर्शन यहि हुन सक्छ। यसबाटै कुशासन र भ्रष्टाचार पनि उम्मूल हुन्छ। दण्डको डर देखाएर अपराध कम हुन सक्दैन। जो सुकै पनि अपराधी बाध्यताले हुन्छ। बाध्यताबाट उनीहरूलाइ मुक्त गरिदिएमा भ्रष्टाचार र अन्य विसंगतिहरू स्वत: बन्द हुन थाल्छन्।