श्रद्धा र विश्वास : मेराे विपश्यना अनुभव

-कर्ण शाक्य-
दिमागमा अनेक कुराहरू खेल्ने तर तिनलाई निकाल्न खोज्ने एउटा ठूलो सङ्ग्राम मैले बूढानीलकण्ठस्थित विपश्यना केन्द्रमा गरेँ। सन् २००२ सालमा मित्र राजेन्द्रबहादुर श्रेष्ठ र म दस दिनका लागि विपश्यना शिविरमा बस्न गएका थियौँ। वातावरण अत्यन्त सुन्दर थियो। जङ्गलैजङ्गलको बीचमा शिविर राखिएको थियो। जङ्गली फूलहरूको बास्नाले सम्पूर्ण शिविर मगमगाइरहेको थियो।
तर त्यहाँको एउटा कुरो मलाई चित्त बुझेन — बिहान चारै बजे उठेर ध्यानकेन्द्रमा ध्यान गर्न पुग्नुपर्ने। मेरा लागि संसारमा सबैभन्दा गाह्रो काम नै बिहान चाँडै उठ्नु हो। तर शिविरमा बस्न गएपछि त्यहाँको अनुशासनको पालना त गर्नैपर्‍यो। विपश्यना शिविर व्यवस्थापनले माया गरी मलाई एउटा अलग्गै कोठा दिएको थियो। शिविरको अनुशासन थियो — चार बजे उठ्ने।
साढे चार बजेभित्र सामूहिक ध्यान गर्ने। साढे छ बजे ब्रेकफास्ट खान जाने। त्यसपछि फेरि ध्यान गर्ने। साढे बाह्र बजे लन्च खान जाने। लन्चपछि एक घन्टाजति कोठामा बसेर ध्यान गर्ने। तीन बजेदेखि फेरि सामूहिक ध्यान गर्ने। त्यसपछि एकछिनका लागि चिया खाने। अनि फेरि सामूहिक ध्यान गर्ने। यसरी दिनको झन्डै पन्ध्र घण्टा निरन्तर ध्यान गर्नुपर्ने। ध्यान गर्दा अरू केही गर्न नहुने, आनापान गर्ने क्रममा नाकबाट निस्केको र नाकभित्र छिरेको हावाको माध्यमबाट श्वासप्रश्वासमा मात्र ध्यान केन्द्रित गर्नुपर्ने। कहाँ सम्भव हुनु त्यो मजस्तो चुलबुले र चञ्चल मान्छेका लागि?
ध्यान गर्न गएको मानिस, झन् केही गर्न नपाएपछि त दिमागमा संसारभरिका कुराहरू पो खेल्न थाले। सबैभन्दा आपत त के भने आफूले बिर्सन खोजेका जुन–जुन कुराहरू छन्, ती बारम्बार दिमागमा खेल्न थाले। जिन्दगीका विभिन्न मोडमा माया–प्रीति गाँसिन पुगेका अनेक अन्तरङ्ग साथीहरूसितका सम्झनाका तरेलीहरू क्रियाशील हुन थाले। उनीहरूसँग बिताएका सुख–दुःख र मिलन–बिछोडका एक–एक क्षण, एक–एक पलहरूले मलाई विह्वल र आनन्दित पनि पारे।


ध्यानकै क्रममा कहिलेकाहीँ आफ्नो उद्योग–व्यवसायलाई कसरी सञ्चालन गर्ने, अब कुनचाहिँ नयाँ उद्योग खोल्ने, व्यवसायलाई अरू व्यवस्थित कसरी पार्ने आदि–इत्यादि सोचले पनि मेरो दिमागलाई झन् क्रियाशील बनाइदिए। ध्यानको क्रममा गुरुले भनेका थिए, ‘यस्ता मानसिक विकारहरू आइरहन्छन्, गइरहन्छन्। तिनमा ध्यान नदिनुस्। मनलाई एकाग्र गर्ने कोसिस गर्नुस्।’ तर निरन्तर आइरहेका सोचविचारका लहरहरूले मेरो ध्यान केन्द्रित नै भएन। क्षणक्षणमा म नाकबाट निस्केको र नाकभित्र पसेको श्वास–प्रश्वासमा ध्यान दिन त खोज्थेँ, तर एकै क्षणमा फेरि कल्पना र योजनाका पखेटाहरू खुला आकाशमा उडिहाल्थे।
एक दिनमा मलाई लाग्यो — यो मेडिटेसनको काम मजस्ताका लागि होइन। कहाँ मेरो चकचके मन, कहाँ यो ध्यानको गाह्रो अभ्यास! कस्तो आपत! दस दिनसम्म कसैसित कुरा गर्न नपाइने। मुखबाट बोली निकाल्न नहुने। पढ्न नहुने। लेख्न नहुने। हुँदाहुँदा हाँस्न पनि नहुने, आँखा जुधाउन पनि नहुने। मलाई लाग्यो — यो त अति नै भयो। पहिले त लागेको थियो — दस दिन त हो, दस दिनसम्म नबोलेर कति नै गाह्रो होला र! तर विपश्यनाको शिविरमा दस घण्टा बिताउँदा– नबिताउँदै उकुसमुकुस भएर आयो। खाने बेलामा स्टिलको प्लेट लिएर जेलका कैदीहरूले जस्तै लाइनमा बस्नुपर्थ्यो। त्यहाँ चिनेजानेका अनेकौँ व्यक्तिहरू हुन्थे। मलाई कस्तो आपत्! उनीहरूलाई हेर्ने कि नहेर्ने! हेर्‍यो भने मुसुक्क हाँस्न मन लाग्छ, हाँस्न हुँदैन भनिएको छ। लाटोलठेब्रोले जस्तै भुइँमा हेरेर हिँड्नुपर्ने।

 

सबैभन्दा आपत् त मलाई राजेन्द्रसित भेट हुने बेलामा पो भयो, ऊसित हाँस्नुपर्ला भनेर। ऊ एउटा कुनामा बस्थ्यो, म अर्काे कुनामा बस्थेँ। आँखा जुध्ला भनेर अन्त–अन्त हेर्ने कोसिस गर्थ्यौँ। तर के हो के हो, आँखा जुधिहाल्थ्यो। हाँस्न मन लाग्थ्यो, हाँस्न नपाइने। अनि मुख र गाला विस्तारै हाँसोमा परिणत भइदिन्थे। रोक्न खोज्थेँ, तर सक्तिनथेँ। कुनाकाप्चातिर हेर्दैमा हाँसो आएको मुखलाई कहाँ छोप्न सकिन्छ र! अनि त के थियो, कहिले भित्तामा हेरेर हाँस्थेँ, कहिले हतारहतार झ्यालतिर हेरेर हाँसिदिन्थेँ। कहिलेकाहीँ त शौचालयमा गएर बौलाहाले जस्तै हाँस्नुपर्ने हुन्थ्यो।
चिनेको मान्छेसँग पनि हाँस्न नहुने कारणले गर्दा चिनेको मान्छेलाई देख्ता पनि नचिनेको मान्छेलाई देखेजस्तै गरी हिँड्नुपर्थ्यो। कहिलेकाहीँ झ्वाट्ट शिविरको बाटोमा भेट्ता मुखले नहाँसे पनि आँखाले अलि–अलि हाँसेको जस्तो हुन्थ्यो। तर कहिलेकाहीँ जब चिनेको मान्छेले नचिनेको जस्तो वास्तै नगरी हिँड्थ्यो, अनि क्षणभरका निमित्त रिस पनि उठ्थ्यो। अनि एकैचोटि याद आउँथ्यो, ‘ए, यहाँ हाँस्न हुँदैन भनेकोले पो त्यो मानिस मसित नहाँसीकन हिँडेको त’ भनेर।
साँच्चै, एउटा सफल र क्रियाशील उद्यमी वा देशविकासको अभिभारा बोकेका नेताहरूले कहिलेकाहीँ प्रकृतिको काखमा पुगेर ध्यान गर्नुपर्ने रहेछ, तर कलम र कापी लिएर। एकदमै गजबका र प्रभावकारी विचारहरू उत्पन्न हुँदा रहेछन् कसैसित कुरा नगरी ध्यानमा लीन हुन सकियो भने।
विपश्यनाको शिविरमा ध्यान गर्ने क्रममा दुई दिनदेखि मेरो ढाड दुख्न थाल्यो। भुइँमा पलेटी कसेर दिनको अठार घण्टा बसेपछि कसलाई दुख्तैन ढाड! तर मैले भन्ठानेँ कोही–कोही त गजबले बस्न सक्ता रहेछन्! एउटा आसनमा बसेको बसेकै! मैले त घन्टामा तीन–चारचोटि आसन फेरेँ पलेटीमा बस्ता कहिले दायाँ खुट्टा तल राखेर, कहिले बायाँ खुट्टा तल राखेर, कहिले दुईटै खुट्टा तन्काएर। विस्तारै–विस्तारै मनको ध्यान अब ढाड र खुट्टा दुख्ने ठाउँमा केन्द्रित हुन थाल्यो। दुखाइ कम भएन।
खुट्टादेखि ढाडसम्मको जोर्नी निरन्तर दुखेपछि समय बिताउनै गाह्रो भयो। मलाई मात्र दुखेको हो कि अरूलाई पनि दुखेको छ भनेर थाहा पाउने कसरी? बोल्न भएन, सोध्न भएन। तैपनि अरूलाई पनि दुखेको छ कि भनी जाँच गर्न चोरले जस्तै चिम्लिइरहेका आँखा क्षणभरका निमित्त खोलेर हेरेँ। सबै शान्त भएर ध्यानमा लीन भएको पाएँ। चार दिनसम्म खूब सहेँ, तर दुखेको पटक्कै कम भएन। पहिले–पहिले त दिमागमा अनेक कुराहरू खेल्ने गर्थे र कल्पनाको संसारमा उडेपछि दुखेको कम हुन्थ्यो। तर पछि त दुखाइ कति बढ्न थाल्यो भने दिमागको कल्पना गर्ने ढोका पनि बन्द भएजस्तो लाग्यो। ध्यानको बीचबीचमा गुरुसित आफूले अनुभव गरेका कुराहरू सोध्ने मौका त पाइन्थ्यो, तर सारा जीउ दुखिरहेको बेलामा अरू के सोध्ने! तैपनि एकपटक त सोधिहालेँ, ‘होइन, मेरो दुखाइ कम भएन। के गर्ने होला?’

गुरुले भने, ‘पछिपछि आफैँ कम हुन्छ, धन्दा नमान्नुस्।’

पाँचौँ दिनमा पनि दुखाइ पटक्कै कम भएन, बरू बस्नसमेत गाह्रो भयो। मैले त शिविर छाडेर कुलेलम ठोक्ने नै विचार गरेँ। तर भाग्ने कसरी? ठूलो पर्खाल छ, मेनगेटमा भोटेताल्चा छ, कसरी भाग्ने? एकचोटि त आयोजकहरूलाई ‘मैले सकिनँ, म जान्छु’ भन्न पनि खोजेँ। तर इज्जतको सवाल थियो, भन्ने आँटै आएन। म छक्क परँे — आखिर यो दुखाइ मलाई मात्र भएको हो त? ध्यानकोठामा कमसेकम सय—डेढ सयजना मान्छे छन्। मलाई मात्र यसरी दुखेको त होइन होला नि! तर त्यो कुरो मैले कसरी थाहा पाउने? कमसेकम एक–आपसको दुःखको कुरो थाहा पाएपछि मनमा अलिअलि शान्ति त हुन्थ्यो! आफूलाई मात्र दुखेको छ भन्ने कुराले म त झन् कमजोर पो भएँ।

 

पाँचौँ दिनको ब्रेकफास्ट खाइसकेपछि ‘आज एक दिन बस्छु, आज दिनभरसम्ममा पनि मेरो मांसपेसी दुख्न कम भएन भने म आयोजकहरूलाई अनुरोध गरेर शिविर छाडेर जान्छु’ भन्ने विचार गरेँ। घण्टी बज्नासाथ म ध्यानकेन्द्रमा गई आफ्नो चकटीमा पलेटी कसेर बसेँ। मनमा दृढ निश्चय गरेँ, ‘आज म सम्पूर्ण ध्यान श्वास–प्रश्वासमा केन्द्रित गर्छु। ढाड दुखेको कुरामा म विचारै गर्दिनँ।’ आधा घन्टाजति बसेँ, कहाँ सक्नु! दुख्न पटक्कै छाडेन। ‘होइन, यो मलाई मात्र भएको हो कि अरूलाई पनि हुन्छ यस्तो? के म सय— डेढ सय प्रशिक्षार्थीहरूमध्ये सबैभन्दा चुत्थो भएँ त?’ — मैले आफैँलाई सोधेँ। अनि मैले आँखा खोलेर लामै समय लगाई ध्यानकेन्द्रका सबै प्रशिक्षार्थीहरू एक–एकजनालाई टाउको घुमाईघुमाई नियालेर हेरेँ। पहिले चोरआँखाले यसो हेरेर आँखा चिम्लिन्थेँ। सबैजना ध्यानमा केन्द्रित भएको पाउँथेँ। अनि आफूले आफैँलाई गाली गर्थेँ, ‘तिमी किन एकचित्त भएर बस्न नसकेका?’

तर यसपालि मैले आँखा बन्द गरिनँ, सबैतिर टाउको घुमाई–घुमाई हेरेँ। ल, मैले त पछि चाल पाइहालेँ नि — दुखेको त मलाई मात्र होइन रहेछ, त्यहाँ सबैको हाल मेरोजस्तै बेहाल रहेछ। मैले देखेँ त्यहाँ थुप्रै प्रशिक्षार्थीहरू आँखा चिम्ली–चिम्ली, मुख मर्काई–मर्काई आसनहरू फेर्दै बस्ता रहेछन्। मजस्तै गरी अधिकांश व्यक्तिहरू कहिले पलेटी कस्थे, कहिले अलिअलि खुट्टा तन्काउँथे, कहिले दुइटै खुट्टा एकै ठाउँमा राख्थे, कहिले जीउ तन्काउँथे। आङ्खनो आसन अदलबदल गर्ने बेलामा उनीहरूलाई दुखेको कुरो उनीहरूले चिम्लेको आँखाको खुम्च्याइबाट स्पष्ट झल्किन्थ्यो।
वास्तवमा सबै प्रशिक्षार्थीहरू मैले पहिले गरेजस्तै बीचबीचमा चोरआँखाले क्षणभरका निमित्त अरू प्रशिक्षार्थीहरूलाई हेर्ने गर्थे। यताउति हेर्ने क्रममा कहिलेकाहीँ जब हाम्रा आँखा जुध्थे, स्कुलमा पढ्ने साना बच्चाहरूले जस्तै गुरुले गाली गर्लान् भन्ने डरले हामीहरू एकैचोटि झिमिक्क पारेर आँखा चिम्लिहाल्थ्यौँ। शिविरमा बस्ने प्रशिक्षार्थीहरूले क्षणभरका लागि झुलुक्क आँखा खोली हेर्ने बेलामा अरू सबै ध्यानमग्न भएको देख्ता उसलाई ‘मैले मात्रै ध्यान गर्न सकिनँ, अरू सबै ध्यानमग्न छन्’ भन्ने भ्रम हँुदो रहेछ। वास्तवमा शिविरका अधिकांश प्रशिक्षार्थीहरूलाई केही दिनका निमित्त मलाई जस्तै शारीरिक एवं मानसिक समस्याले पिरोलेको थियो होला।
त्यसरी आँखा खोलेर सबैको स्थिति र मनोदशा थाहा पाइसकेपछि मलाई हाँसो उठ्यो। हत्तेरी! मेरो मात्र होइन, सबैको स्थिति यस्तै रहेछ यहाँ! अनि त के थियो, विस्तारै बलियो भएँ म। हाम्रो यो कस्तो मानसिक स्वभाव! एकै क्षणअघिसम्म ‘म कमजोर भएँ’ भनेर हीनताको भावले जकडिएको बेला आफूलाई अत्यन्त कमजोर महसुस गर्ने व्यक्ति म ‘मलाई मात्र होइन रहेछ, यहाँ त धेरैलाई मलाई जस्तै गरी दुखेको रहेछ’ भन्ने कुरा थाहा पाउनासाथ एकैचोटि बलियो हुन पुगेँ। कसरी हाम्रो मनले हाम्रो तनलाई नियन्त्रण गर्न सक्तो रहेछ! मन बलियो भयो भने सारा संसार परिवर्तन हुँदो रहेछ! अर्कालाई दुखेको थाहा पाएपछि आफू बलियो लाग्ने मानिसको यो परपीडक प्रवृत्ति कस्तो गजबको!
त्यसपछि मेरो मनमा विश्वास बढ्यो। म यो ढाडको दुखाइ सहन सक्छु भन्ने आत्मविश्वास जाग्यो। एकछिनपछि आँखा चिम्लेर मैले आफ्नो श्वास–प्रश्वासको गतिमा आफूलाई चुर्लुम्म डुबाएँ। अब बिस्तारै पहिलेका जस्ता असान्दर्भिक विचारहरू पनि मनमा आएनन्। गुरुको निर्देशनअनुसार गर्दै जाँदा त्यही बेला श्वास–प्रश्वासका क्रममा जीउको हरेक भाग सूक्ष्म रूपले फरफराएको मैले चाल पाएँ। सबैभन्दा पहिले नाकमुनिको माथिल्लो ओठमा हातको नाडी चलेजस्तै गरी ढकढक भएको थाहा पाएँ।
जतिजति आङ्खनो मनले त्यो चाललाई पहिचान गरेर अनुभव गरेँ, त्यो चालको मात्रामा बृद्धि हुँदै गयो अनि मेरो सम्पूर्ण ध्यान त्यही चालमा केन्द्रित हुँदै गयो। त्यति बेला त्यो चालको प्रक्रिया र स्वरूपलाई विचार गर्दा अँध्यारो जङ्गलमा जूनकीरीजस्तै धपधप बलेको जस्तो भान भयो। बिस्तारै मैले आÏनो औँलाले माथिल्लो ओठलाई छोएँ। ज्ासरी हामी नाडी छाम्दा नशा चलेको थाहा पाउँछौँ, त्यसै गरी चल्न थाल्यो मेरो माथिल्लो ओठको भाग। गुरुले भनेजस्तै त्यो माथिल्लो ओठको चाललाई चिउँडोमा ल्याउन खोजेँ। लौ, क्षणभरमै चिउँडो त ढकढक गर्दै चल्न पो थाल्यो। अनि त्यो चाललाई मैले निधारको केन्द्रविन्दुमा ल्याउन खोजेँ। त्यहाँ पनि त्यस्तै अनुभव भयो। अनि दुइटै कन्चटमा त्यसलाई पुर्‍याएँ। पहिले एकै ठाउँमा केन्द्रित त्यो चाललाई कन्चटका दायाँ–बायाँ पनि अनुभव गरेँ। त्यो चाललाई मैले विस्तारै कन्चटबाट तालुमा, तालुबाट ठीक गर्धनपछाडि, गर्धनपछाडिबाट कुमका दायाँ–बायाँ अनि कुमका दायाँ–बायाँबाट कुहिनोमा, कुहिनोबाट हातका औँलाऔँलामा पुर्‍याउन सकेँ। ध्यान गर्दागर्दै त्यो काल्पनिक चालको मानसिक तस्बिरलाई मैले राम्ररी कोर्न सकेँ।
गजब लाग्यो त्यो क्षणको अनुभव मलाई, मैले एउटा नयाँ आविष्कार नै गरेजस्तो। आविष्कार पनि प्रक्रियागत किसिमले होइन, एकैचोटि प्राप्त भएको र नसोचिएको आविष्कार! अनि त के थियो र! मेरो दिमागमा कुनै कुरा पनि आएनन्। थकान र दुखाइको पटक्कै महसुस भएन। बच्चाले खेलौना खेलेजस्तै मेरो मनको जूनकीरीरूपी त्यो चाललाई कहिले टाउकोदेखि खुट्टासम्म र कहिले खुट्टादेखि टाउकोसम्म खेलाउन थालेँ। हुँदाहुँदा आँखा चिम्लेर त्यो चाललाई मैले मेरा सम्पूर्ण अङ्गका कुनाकाप्चामा जुनसुकै बेला पनि प्रत्यक्ष प्रवेश गराउन सकेँ। सिमलको भुवाजस्तै जीउ एकदमै हलुको भयो र हावामा सुस्त–सुस्त तैरिरहेजस्तो अनुभूत भयो। मानसिक रूपले पनि साँच्चै नै रमाइलो लाग्यो।
एकछिनपहिलेसम्म त्यो चाललाई अनुभव गर्न सबैभन्दा पहिले माथिल्लो ओठबाट जीउको अरू भागमा लिएर जानुपर्थ्यो, पछिपछि त कुनै पनि भागमा कुनै पनि समय त्यो चाललाई परिचालित गर्न सक्ने भएँ म। यसरी परिचालन गर्दा म घरीघरी औँलाले विस्तारै त्यहाँ जाँच गर्थेँ। तर भौतिक रूपले मेरो मासु चलेको अनुभूत गरेँ। घरीघरी त्यो चाललाई मेरा दसै औँलाका कापमा र काखीभित्र पनि सञ्चालन गर्न लागेँ। त्यसो गर्दा काउकुती पनि लाग्थ्यो। कस्तो गजब यो नसा! सायद यो स्पन्दन नसासित अन्तर्सम्बन्धित छ। जीउमा जहाँ–जहाँ नसा छ, सायद त्यहाँ–त्यहाँ यो स्पन्दनलाई सञ्चालन गर्न सम्भव हुँदो रहेछ। टाउकोदेखि खुट्टासम्म एकै क्षणभित्र हामीले नसाको चाललाई परिचालन गर्न सक्ता रहेछौँ। काल्पनिक चित्रमा मैले त्यो नसाको चाललाई जूनकीरीे बलेजस्तै झ्याप्पझ्याप्प बल्ने प्रक्रियामा अनुभव गरेको हँुदा त्यसलाई नियन्त्रण गर्न मलाई अत्यन्त सजिलो भयो।
त्यसपछि त ध्यानका अरू पाँच दिनसम्म मलाई कत्ति पनि गाह्रो भएन। जीउ पनि ठ्याम्मै दुखेन। एउटै आसनमा लामो समयसम्म बस्न सक्ने भएँ। गुरुलाई मैले प्राप्त गरेको नसाको स्पन्दनका बारेमा आङ्खनो अनुभव बताएँ। गुरुले अलि ताजुब मानेर मलाई भने, ‘यो त भङ्गज्ञान हो। यति चाँडै त आउनुनपर्ने हो! तर ठीक छ, अहिले यसको धेरै अभ्यास नगर्नुस्। दुई–तीनचोटिको शिविरपश्चात् मात्र गर्नुपर्छ।’
तर ध्यानबाट प्राप्त गरेको यो नयाँ उपलब्धिलाई मैले रोक्न सकिनँ र गुरुको आदेशविना नै तीन–चार दिनसम्म मैले यो प्रक्रियामा रमाई–रमाई अभ्यास गरिरहेँ। एउटा कुरामा मलाई आश्चर्य लाग्यो। त्यो के भने त्यस स्पन्दनलाई आÏनो जिब्रोसमेतको सम्पूर्ण मांसपेसीमा त लैजान सकेँ, तर जीउभित्रको मुटु, कलेजो, आन्द्रा र अन्य आन्तरिक अङ्ग–प्रत्यङ्गहरूमा भने मैले स्पर्श गराउन सकिनँ र मैले कोसिस पनि गरिनँ। किनभने गुरुले भङ्गज्ञानमा खेलवाड गर्नु हँुदैन भनेर चेतावनी दिएका थिए।
विपश्यनाको दस दिनको अनुभव मेरा लागि रोमाञ्चक थियो। प्रशिक्षण सकिएपछि सबैजना हर्षोल्लासको वातावरणमा एकले अर्कालाई आङ्खना अनुभवहरू साटासाट गरिरहेका थिए। दस दिनपछि गुरुले ‘तपाईँहरू अब कुरा गर्न सक्नुहुन्छ’ भन्नासाथ खूब रमाइलो वातावरण छाएको थियो। दस दिनसम्म चिन्दाचिन्दै पनि मुखै नहेरीकन र अलिकति पनि नहाँसीकन मानौँ शत्रुझैँ बसिरहेको अवस्थाबाट एकैचोटि दिल खोलेर कुरा गर्न पाउँदा एकचोटि त हाँसो पनि उठ्यो।
शतप्रतिशत प्रशिक्षार्थीहरूले त्यहाँको अनुभव अत्यन्त महŒवपूर्ण भएको बताए। कसैकसैले गजब–गजबका अनुभवहरू पनि सुनाए। कतिपय अनुभवहरू हुन सक्ने थिए र कतिपयचाहिँ हुन नसक्ने पनि थिए। अत्यन्त धार्मिक आस्था राख्ने प्रशिक्षार्थीहरूले आकाशमा सुनौलो किरणदेखि बुद्धको छायासमेत देखेको अनुभव सुनाए। त्यो हुन सक्तैन भनेर भन्न सकिन्न। किनभने मानिसको मन कहिलेकाहीँ तरङ्गिदै जाँदा कल्पनाको संसारमा हालुसिनेट भएर सपनाका जस्ता आकृतिहरू विपनामा पनि आउन सक्छन्। सायद अहिलेका वैज्ञानिकहरूले त्यसैलाई ज्भयिनचब्क नाम दिएका हुन् कि? तर कुनै–कुनै प्रशिक्षार्थीहरूले ‘मैले यो देखेँ, त्यो देखेँ” भनेको सुन्दा उनीहरूले अनुभवै नगरेका कुराहरू सुनाएर अलिअलि फूर्ति गरेका हुन् कि भनेजस्तो पनि लाग्यो।
जे होस्, समय भए एकचोटि, सकिन्छ भने दुई–तीनचोटि विपश्यना गर्नैपर्ने रहेछ। विपश्यनाबाट फर्किएपछि पनि घरमा या सामूहिक रूपले साथीहरू मिलेर गर्नुपर्छ भनिएको थियो। खै, मैलेचाहिँ गर्न सकिनँ। तर जुन व्यक्तिले चार–पाँचचोटि विपश्यना गरेको छ र घरमा पनि निरन्तर रूपले विपश्यनाको अभ्यास गरेको छ, त्यो व्यक्तिको व्यक्तित्वमा स्पष्ट परिवर्तन आएको मैले महसुस गरेको छु। सधैँ मुसुमुसु हाँसिरहन्छन्, प्रतिवाद कमै गर्छन् र एकदम सुखी देखिन्छन् उनीहरू। उनीहरूको यो परिवर्तन साँच्चै विपश्यनाको कारणबाट भएको हो वा उनीहरू त्यस्तै खालका हुन्, त्योचाहिँ म ठोकेर भन्न सक्तिनँ। विपश्यनाको प्रतिफल पाएर पनि मैले निरन्तर अभ्यास नगरेको कारणले, मलाई लाग्छ, मैले त्यो प्रतिफल हराएको छु। जसरी मैले ती दस दिनमा त्यस्ता क्षणहरूको अनुभव गरेँ, अहिले म त्यो गर्न सक्तिनँ। कहिलेकाहीँ म अभ्यास गर्न त खोज्छु, तर मेरो व्यस्त जीवनशैलीका कारणले गर्दा त्यसो गर्न सकिरहेको छैन।

लेखककाे पुस्तक खाेजबाट साभार