बुद्ध शिक्षा र समाजसेवा

संचित बुद्धाचार्य 
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्तिपश्चात् विभिन्न उपदेशहरू समाजमा बाँड्नुभयो। त्यसलाई मानिसले बुद्ध शिक्षाका रुपमा ग्रहण गरिरहेका छन्। यी शिक्षाको मूल उद्देश्य आफ्नो र अरुको हित कल्याणका लागि जीवन निर्वाह गर्नु नै हो। लोक कल्याणका निमित्त बुद्धले दिनुभएको शिक्षा बहुजन हित र सुखमा आधारित शिक्षाको रुपमा लिन सकिन्छ। बुद्धका शिक्षाहरू विकृति अन्त्य गरेर मानिसहरूको जीवन उकास्नमा केन्द्रित छ। बुद्धकालीन ती शिक्षाहरू बुद्धकालमा लागि मात्र नभई सार्वकालीन हितकारी शिक्षाको रुपमा रहेको छ। अतः बुद्धका यी शिक्षाहरू विश्वकै लागि अविस्मरणीय छ।

 
बोधिज्ञान प्राप्तिपश्चात् बुद्धले ४५ वर्षसम्म दिनरात समाज कल्याणको निमित्त योगदान गर्नुभयो। उहाँले आफ्ना शिष्यहरूलाई बहुजन हित तथा सुखका निमित्त विभिन्न नगर गाउँहरूमा पठाउनुभयो। बुद्धका शिक्षाहरू समाज कल्याणका निमित्त, समाजमा सुख–शान्तिका निमित्त नभई हुँदैन। संसारका लागि उहाँले दिनुभएको योगदान कसैले बिर्सने छैनन्। बुद्धले भन्नुभएको छ, ‘सब्ब दानं धम्म दातं, जिनाति’ अर्थात् सबै प्रकारको दानलाई धर्म दानले जित्दछ। कसैले धर्मानुकूल आचरण गरेर आफ्नो जीवन सुखमय बनाउँछ भने समाजमा सुख शान्ति ल्याउनका लागि पनि योगदान गर्दछ। धर्म दानलाई सर्वश्रेष्ठ दानका रुपमा लिइन्छ।
बुद्धका शिक्षाका विषयवस्तुहरू: –

 
शील, समाधि र प्रज्ञा
बुद्ध शिक्षामा शीललाई सम्पूर्ण कुशल कोर्मको आधारको रुपमा लिइन्छ। मानिसको शिरजस्तै महत्त्वपूर्ण यस विषयलाई बुद्ध शिक्षामा मानिस बन्न न्यूनतम आवश्यकताका रुपमा लिइन्छ। नैतिकता, सदाचार आदिलाई शील भनिन्छ। अर्काे शब्दमा भन्नुपर्दा शरीर वचनले अरुलाई आघात नगर्नु नै शील हो।

 
अरुलाई दुःख पीडा नदिइकन शीलपूर्वक जिउनका लागि बुद्धले विभिन्न तहका शीलहरू निर्देशन गर्नुभएको छ। गृहस्थहरूका पञ्चशील र अष्टशील, श्रमणेरहरूका लागि दशशील र भिक्षु भिक्षुणीहरूका लागि प्रतिमोक्षहरू सबै शील सदाचारका विषयवस्तुहरू हुन्। यी शीलहरूमध्ये गृहिस्थहरूले न्यूनतम रुपमा पालन गर्नुपर्ने शीलका रुपमा पञ्चशीललाई लिइन्छ।
पञ्चशीलमा पाँचवटा शिक्षा पदहरू सङ्ग्रहित छन्। जसलाई मानिसहरूले आफ्नो र अरुको हितलाई ध्यानमा राखेर पालन गर्नुपर्दछ। समाज, देश र संसारलाई शान्ति र सुव्यवस्थित बनाउनका निम्ति शील पालनविना असम्भव रहेको बुद्धले भन्नुभएको छ। यी पाँचवटा शिक्षापदहरू यसप्रकार छन्:–

 
१) प्राणी हिंसा नगर्नु
२) चोरी नगर्नु
३) व्यभिचार नगर्नु
४) झूटो कुरा नबोल्नु
५) लागूपदार्थ सेवन नगर्नु
यी शिक्षा पदहरू पालना गरे सभ्य समाजको आधार तयार हुन्छ। शिक्षा पदको पालनाले मात्रै हामी नैतिक आचरणले युक्त व्यक्ति बन्न सक्छौं। नैतिक आचरणयुक्त  जनशक्ति हुनु समाज, देश विकासका लागि  मात्र एउटा महत्त्वपूर्ण आधार हो। विकासका नाममा भौतिक विकासलाई मात्र ध्यान दिई मानिसको असल गुणलाई ध्यान दिइएन भने त्यस विकासले विनास पनि निम्त्याउन सक्दछ। त्यसैले बुद्धले शीलको महत्त्वलाई दर्शाउँदै भन्नुभएको छ।

 
यो चे वस्ससतं जीवे–दुस्सीलो असमाहितो।
एका हं जीवितं सेच्यो – शीलवन्तस्स झाथिनो।
अर्थात् दुराचारी र असमाहित व्यक्तिको सय वर्षको जीवनभन्दा शीलवान व्यक्तिको एक दिनको जीवन नै उत्तम छ।
त्यसैगरी बुद्ध शिक्षाको दोस्रो विषयवस्तु हो समाधि। समाधिले मनलाई वशमा राख्दछ। जबसम्म मन वशमा हुँदैन तबसम्म शीललाई अटुट रुपमा पालन गर्न गाह्रो हुन्छ। तसर्थ मनलाई वशमा राख्न अत्यन्त जरुरी छ। यसैबाट हामी राग, द्वेष र मोहको संस्कारलाई जरैदेखि उखेल्न सक्छौं। अनि सही अर्थमा आफ्नो तथा अरुको सुख– शान्तिको लागि अग्रसर हुन सक्छौं। कुशल चित्तको एकाग्रताविना हामी सुख शान्तिको जीवन जिउने त परै जाओस् उल्टो हामै्र चित्रले हामीलाई दुःख दिइरहन्छ। त्यसैले बुद्धले भन्नुभएको छ –

 
दिसो दिसं यं तं कयिरा – वेरी वा पन वेरीनं।
मिच्छा पणिहितं चित्तं – पापियो नं ततो करे।।
अर्थात् शत्रुले शत्रुलाई जति हानी गर्नसक्छ, त्योभन्दा बढी हानी कुमार्गमा लागेको चित्तले पुर्‍याउँछ।
बुद्ध शिक्षाको तेस्रो विषयवस्तु हो प्रज्ञा।

 
प्रज्ञाको अर्थ हो प्रत्यक्ष ज्ञान अर्थात् त्यो ज्ञान आफ्नो अनुभूतिद्वारा थाहा हुन्छ। त्यसैले यसलाई भावनामयी प्रज्ञा पनि भनिन्छ।
सम्यक समाधिको अभ्यासबाट नै भावनामयी प्रज्ञा जागृत हुन्छ। यही दुःख मुक्तिको मार्ग हो। यही सुख शान्तिको मार्ग हो र निर्वाणको मार्ग हो। यस ज्ञानबाट सारा जगतको हित र कल्याणको काम गर्न सकिन्छ।

 
बुद्धकालीन समयमा एउटा अंगुलीमालजस्तो डाँकुले ९९९ जना व्यक्तिको हत्या गरी समाजमा डर र त्रासको वातावरण सिर्जना गरेको थियो। त्यो व्यक्तिले बुद्ध शिक्षाकै कारण पहिलेको हिंसाको बाटो त्यागी भिक्षु भई पछि समाज कल्याणको लागि योगदान गर्‍यो। त्यसैगरी भारतका सम्राट अशोक जो पहिले चण्ड स्वभावका थिए। राज्य पाउनका निम्ति थुप्रै मानिसहरूको हत्या गरेका थिए, उनले पछि बुद्ध शिक्षाको सम्पर्कमा आएर धर्माशोक भए उनले पछि हत्या, हिंसाको बाटो त्यागी बुद्ध शिक्षा विभिन्न देशहरूमा फैलाउन योगदान गरे। यसले गर्दा विभिन्न देशहरूमा बुद्ध शिक्षा फैलियो।

 
अहिले पनि विश्वका विभिन्न विहारहरू तथा ध्यान केन्द्रहरूमा बुद्ध शिक्षाको अभ्यास गराइन्छ र गराइरहेको छ।
भारतको तिहाड जेलमा विपश्यना ध्यान शिविर भएको थियो। जेलमा सञ्चालन भएको ध्यान शिविरबाट कैदीहरूले धर्मको रस बुझ्ने मौका पाए भने पछि आफ्नो खराब आचरणलाई त्यागी सदाचारको जीवन जिउन थाले। यसरी उनीहरूले पहिले समाजको बोझका रुपमा बाँचिरहेको जीवन समाज कल्याणको लागि समर्पण गर्न थाले।

 
तसर्थ बुद्ध शिक्षा पालना गरी हामी समाजको असल नागरिक बनी समाज कल्याणमा पनि योगदान गर्न सक्दछौं। बुद्धले भन्नुभएको छ कि मानिसहरूको जीवन अरुलाई कुनै किसिमको हानी नोक्सानी नगरिकन जिउन सकिन्छ। अतः जीवनको सदुपयोग गरी हामी पनि बुद्ध शिक्षाको पालना गरी समाज सेवामा टेवा पुर्‍याउन अघि बढौं।

 

साभार मजदुर दैनिक