बुद्ध धर्मको ह्रास–भ्रम र यथार्थ

राप्रउ पोखरेल

दुई/तीन वर्षअघि एउटा जमघटमा मध्यकालको युरोप र पश्चिम एसियामा मुस्लिमले जेहाद र इसाईले क्रुसेड चलाएका थिए । दक्षिण एसियामा पनि बौद्ध र हिन्दुबीच त्यस्तै किसिमको संघर्ष भएको थियो । त्यसमा बौद्ध भिक्षुहरू ठूलो संख्यामा मारिएका थिए र हजारौंहजार बलजफ्ती हिन्दु बनाइएका थिए भन्ने कुबेर शर्माले कतै पढ्नुभएको उल्लेख गर्नुभएको थियो । दक्षिण एसियाको धार्मिक इतिहासबारे यस्ता मिथक बोकेर हिँडने कुबेर शर्मा एक्लो व्यक्ति हुनुहुन्न । उहाँलाई प्रतिनिधि पात्रको रूपमा उल्लेख गरिएको मात्र हो ।

दुई दशकअघि जसो गोरेबहादुर खपांगी, एमएस थापाहरूले ‘हाम्रा पुर्खा बौद्ध थिए, उनीहरूलाई बलजफ्ती हिन्दु बनाइएको थियो, अब पुनः हामी आफ्नै साबिक धर्ममा फर्किन्छौं’ भन्दै दसैंतिहारजस्ता सांस्कृतिक चाडलाई हिन्दुको चाड हो भनेर बहिष्कार अभियान चलाएका थिए । त्यो प्रसंग अहिले पनि धेरैलाई सम्झना हुनुपर्छ ।

 

२० औं शताब्दीका विख्यात फ्रान्सेली लेखक एवं प्रखर बौद्धिक आन्द्रेमालरो (१९०१–१९७६) ले जवाहरलाल नेहरू (१८८९–१९६४) लाई सन् १९३१ तिर भेट हँदा सोधेछन्, ‘हिन्दु धर्ममा त्यस्तो के विशेषता थियो जसले गर्दा विस्तारित रूपमा फैलिएको लोक प्रचलित बौद्ध धर्मलाई हजार वर्षअघि धार्मिक युद्ध वा कुनै ठूलो संघर्ष नगरिकनै विस्थापित गर्न सक्यो ? ‘ (डिस्कभरी अव् इन्डिया, १७४) । नेहरूले ती राजनीतिज्ञ तथा विद्वान मालरोलाई इतिहाससम्मत ढंगले स्पष्ट पारेका थिए । यहाँ स्थानाभावले त्यो विवरण उल्लेख गरिएको छैन । बौद्ध धर्मको प्रभाव क्षीण भएको प्रश्नलाई लिएर बेला बखत प्रश्न उठ्ने गरेका छन् ।

भारतवर्षीय संस्कृतिका प्रकाण्ड अध्येता एएल बासम (ई.१९१४–१९८६) को भनाइमा बुद्ध धर्ममाथि कुनै शासकको व्यक्तिगत व्यवहारले गर्दा उत्पीडन भएको यदाकदा देखिएको थियो । जस्तै, छैटौं शताब्दीमा कश्मीरका शासक मिहिरकुलले केही बौद्ध मठलाई नष्ट गरेको र भिक्षुहरूलाई हत्या गरेका थिए । सातौं शताब्दीको प्रारम्भमा बंगालको शैव शासक शशांकले कान्यकुब्जमा हमला गर्दा गयाको बोधीवृक्ष उखेलेर फ्याँकेको थियो (द वन्डर द्याट वज् इन्डिया, १९९२, पृष्ठ २६७) ।

ईशापूर्व दोस्रो शताब्दीका शुंग वंशका शासक पुष्यमित्रमाथि बौद्ध भिक्षुलाई उत्पीडन गरेको आरोप लगाइने गरिएको छ । तर त्यस आरोपलाई पश्चिमी विद्वान् रिज डेभिजले पाली टेक्स्ट सोसाइटीको सन् १८९६, पृ ८७–९२ को आधारमा खण्डन गर्दै लेखेका छन् – ‘पाली पिटकहरूमा बौद्धमाथि उत्पीडनको चर्चा कतै गरिएको छैन, बरु ब्राम्हणहरूको प्रशंसा गरिएको छ ।’ उनी सगर्व भन्छन्, मलाई यस्ता उत्पीडनको मिथकमा विश्वास छैन (उद्धरण– महामहोपाध्याय डा.पाण्डुरंग काँणे ई. १८८०–१९७२, धर्मशास्त्रका इतिहास, चौथो खण्ड, पृष्ठ ४९६ ) ।

अब हामी बौद्ध धर्मको क्षयीकरण हुनुका कारणबारे छलफल गर्छौं । बौद्ध धर्म सुरुका वर्षमा कुनै नयाँ धर्म चलाउने प्रयोजनले प्रारम्भ गरेको देखिँदैन । बरु हिन्दु धर्ममा देखिएका कतिपय विकृतिको विरोधमा जन्मिएको थियो । हुन त कति प्रसंगमा बौद्ध धर्मलाई बेग्लै नयाँ धर्मको रूपमा यदाकदा लिने गरेको पनि नपाइने होइन । केही दशकयता हाम्रै देशमा विदेशी अनुदानमा चलेका आईएनजीओहरू बुद्ध धर्मलाई हिन्दु धर्मभन्दा बेग्लै धर्म हो भनेर देखाउने होडबाजीमा रहेकै छन् । बुद्धले आत्मा र वेद प्रमाणलाई स्वीकार गरेनन् ।

यज्ञ र बलिको विरोध गरेका थिए र चित्त शुद्धिलाई अग्रस्थानमा राखेका थिए, जुन उपनिषद् ज्ञानकै अनुकूल थियो । तसर्थ सामान्य जनले बुद्धको उपदेशलाई हिन्दु धर्मकै हाँगाको रूपमा लिने गर्थे । एएल बासम भन्छन्ः ‘गुप्तकालमै बौद्ध भिक्षुहरू हिन्दुका शोभायात्राहरूमा सहभागी हुने गर्थे । गृहस्थ जीवनमा रहेका बौद्ध परिवारहरू जन्म, विवाह र मृत्यु संस्कारहरू हिन्दु ब्राम्हणबाट सम्पन्न गराउँदथे’ (द वन्डर द्याट वाज इन्डिया ई. १९९२, पृ २६८) ।

यहाँ नजरथका जेसस्को सम्झना हुन्छ । जेसस्का शिक्षालाई सुरुमा त यहुदी धर्मकै अंगको रूपमा त्यहाँका शासकले हेरेका थिए । तर पछि जनसमुदायलाई भाँड्ने भनेर विधर्मीको आरोप लगाइयो र त्यसै कसुरमा उनलाई क्रुसमा झन्ड्याइएको थियो ।

यहाँ डा. काँणेको विचार मनन्योग्य छ । उनको विश्लेषणमा भारतवर्ष कुनै कालमा पनि पूर्ण बौद्ध भएको पाइँदैन । बरु यस भूखण्डका बासिन्दा एक प्रकारले सदैव हिन्दु थिए । अशोक, कनिष्क, हर्षजस्ता सम्राट्हरूको राज्यकालमा बुद्ध धर्मले आ श्रय पाएर पोषित भइरहँदा पनि बौद्ध धर्म मठ र पाठशालाहरूमा सीमित थियो र जनसाधारणमा सहअस्तित्व र सहिष्णुता विद्यमान थियो ।

जस्तै – हर्षका पिता सूर्य उपासक थिए र हर्ष स्वयं शिव उपासक, उनका दाजु राज्यबर्धन परमसौगत अर्थात बुद्धका भक्त थिए । हर्षले बौद्ध यात्री युवाँ च्वांङप्रति अनुग्रह प्रकट गरेका थिए (धर्मशास्त्रका इतिहास, खण्ड ४ पृष्ठ ४९१, बाँसखेडा पत्रक ई ६२८–२९)।

डा. राधाकृष्णनन् (१८८८–१९७५) को विचारमा बुद्धले सम्भवतः नयाँ धर्मको प्रारम्भ गर्दैछन् भनेर कहिल्यै अनुभव गरेका थिएनन् । उनी हिन्दुकै रूपमा जन्मे, हुर्र्केका थिए र मृत्यु पनि हिन्दुकै रूपमा ग्रहण गरेका थिए । हो, उनले प्रचलित हिन्दु धर्मलाई त्यसबेलाको सामाजिक आवश्यकता बुझेर नयाँ रूपमा समय सुहाउँदो हुने गरी प्रस्तुत गरेका थिए (२५०० इयर्स अफ बुद्धिज्म, पूर्व कथन) । प्रसिद्ध विद्वान एवं लेखक मदनमणि दीक्षित भन्नुहुन्छ– बुद्ध आफ्नो समयका सबैभन्दा महान् हिन्दु थिए ।

हिन्दु धर्म–संस्कृतिका प्रकाण्ड विद्वान् डा.काँणेले बौद्ध र हिन्दु धर्मको सम्बन्ध र सन्निकटता दर्शाउँदै भारतवर्षबाट बौद्ध धर्मको ह्रास हुनुका अनेक कारणहरूको उल्लेख गरेका छन् । उनले बुद्ध धर्मलाई हिन्दु धर्म–दर्शनकै एउटा हाँगाको रूपमा लिएका छन् । बुद्ध आफ्नो कालको प्रचलित हिन्दु धर्मका एक सुधारक थिए । उनले कुनै नयाँ धर्मको प्रारम्भ गर्दैछन् भन्ने कुराको आफैंले अनुभव गरेनन् र त्यसको आवश्यकता पनि ठानेका थिएनन् ।

उनले हिन्दु धर्मका सबै विश्वास र व्यवहारलाई परित्याग पनि गरेका थिएनन् । बुद्धले आफ्ना केही उपदेशमा वेद र ऋषिहरू उपर ठूलो सम्मान दर्शाएका छन् । उनले योग र ध्यानका विधिलाई स्वीकार गरेका छन् । कर्मवाद, पुनर्जन्म र जगत् परिवर्तनसम्बन्धी सिद्धान्त पूर्णरूपले हिन्दु धर्मग्रन्थबाट लिएका छन् । उपनिषद्ले नै वेदलाई अपरा विद्या र उपनिषद् ज्ञानलाई पराविद्या मानेकोछ । उपनिषद् ज्ञानले यज्ञलाई पनि बिम्बको रूपमा मात्र स्वीकार गरेर कर्मकाण्ड, बलिप्रथा र प्रचलित यज्ञलाई अस्वीकार गर्न पुगेको मार्गदर्शनलाई बुद्धले पनि अनुशरण गरेका छन् ।

१०

डा.काँणे बुद्ध–वचन उधृत गर्छन् ‘हे भिक्षुहरू ! कतिसम्म भने, मैले पूर्वकालका सम्यक् ज्ञानवानहरूबाट अनुसरित प्राचीन मार्ग देखेको छु । र, हे भिक्षुहरू ! त्यो प्राचीन पथ, प्राचीन मार्ग ती सम्यक ज्ञानवान्हरूबाट अनुसरित भएका छन् । त्यो के हो भने सर्वदा यही अष्टांगिक मार्ग (सम्यक् विचार आदि ) कै जस्तो हो । हे भिक्षुहरू ! यो त्यही प्राचीन मार्ग हो, जो पूर्वकालमा सम्यक रीतिले ज्ञान प्राप्त गर्ने पुरुषहरूद्वारा अनुसरित भएको थियो । र त्यसै मार्गबाट हिँडेर मैले जरा र मृत्युको विषयमा राम्रोगरी ज्ञान प्राप्त गर्न सकेको हँ ।’

११

बुद्ध भन्छन् ‘जुन सद्गुणहरूतर्फ म मनुष्यहरूको ध्यान आकृष्ट गर्दछु, ती सद्गुणहरू प्राचीन कालका हुन्….म त्यसलाई ब्राम्हण भन्दछु जो शरीर, बचन र विचारले अरूलाई दुःख दिँदैनन्, जो यी तीनवटै गुणबाट संयमित रहन्छ । कुनै व्यक्ति जटा राखेर, गोत्रले, जातिले ब्राम्हण हँदैन, त्यो व्यक्ति जसमा सत्य एवं धर्म विराजमान रहन्छ । त्यो व्यक्तिलाई म ब्राम्हण भन्छु जो कामना वा चाहनामा लागिरहँदैन र जलमा कमलपत्रको समान छ’ इत्यादि (संयुक्तनिकाय, पालिटेक्स्ट सोसाइटी, भाग २, निदानवग्गोः धम्मपद, ब्राह्मणवग्गो) ।

महाभारत बनपर्व (२१६/१४–१५) छान्दोग्य उपनिषद् (४/१४–३) र गीता (५/१०) श्लोकमा हामी उपर्युक्त कथनको मिल्दोजुल्दो भाव पाउँछौँ ।) समग्रमा विचार गर्दा बुद्ध धर्म कुनै रूपमा पनि अशास्त्रीय वा अहिन्दु नभएर सुधारिएको हिन्दु धर्मको अंगको रूपमा नै देखिन्छ ।

१२

यहाँ बुद्ध धर्म विलोप हुनुका केही प्रमुख कारणहरूको चर्चा गरिन्छ ।

(क) गुप्त शासनको अन्त्यपछि हिन्दु धर्ममा प्राचीन तन्त्र मन्त्र र मैथुनिक रहस्यवादको प्रवेश र सम्मिलन हुन थाल्यो । बुद्ध धर्म त्यसबाट बढी प्रभावित बन्न पुग्यो । महायान र हीनयान पछि आठौं शताब्दीतिर वज्रयानको रूपमा एक नयाँ पन्थको विकास त्यस मि श्रणको परिणाम थियो । बज्रयानको रूपमा आएको यो तेस्रो पन्थ नेपाल, तिब्बतका साथै बंगाल, बिहार आदि क्षेत्रहरूमा विस्तार लिनपुग्यो ।

(ख) बुद्ध धर्म विलुप्त हुने एउटा प्रमुख कारणमा सामाजिक सुधारसहितको हिन्दु धर्मको पुनर्जीवन पनि थियो, त्यसको श्रेय नवौं शताब्दी सुरुका शंकराचार्यको उपनिषद्हरूको संकलन, सम्पादन तथा अद्वैत वेदान्तको प्रतिपादनलाई दिने गरिन्छ । ती महापुरुषले भारत भूमिका धेरैजसो स्थल भ्रमण गरेर बौद्ध विद्वानहरूलाई शास्त्रार्थमा पराजित गरी हिन्दु धर्मको पुनस्र्थापना गराएका थिए । हिन्दु धर्मको सुधारिएको नयाँ रूपले जनमानसमा व्यापक प्रभाव पार्न सफल भएको थियो । हिन्दु धर्मले बौद्ध र जैनविरुद्ध द्वन्द्व खडा गर्नुको साटो उपनिषद् दर्शनबाट जन्मेको बौद्ध र जैन धर्मलाई आफूमा समावेश गर्दै जान सफल भयो ।

(ग) बज्रयानको प्रादुर्भावसँगै बौद्ध धर्म उत्तरी भारतमा नवौं अवतारको रूपमा पुजित हुन पुग्यो र त्यससँगै क्रमशः छुट्टै पहिचान लोप हुँदै हिन्दु धर्मको रुढी विरोधी एक सम्प्रदायको रूपमा मात्र यसको पहिचान रह्यो । बज्रयानी सम्प्रदायको बढ्दो प्रभावले बौद्ध मठहरूमा हुने गरेको व्यभिचार आदि पनि यसको प्रभावलाई क्षीण बनाउने कारण बन्नपुग्यो ।

(घ) सामाजिक जीवनमा हिन्दु धर्म जसरी सुधारिएको रूपमा प्रस्तुत भइरहेको थियो त्यही गतिमा बुद्ध धर्मले समयको परिवर्तनलाई आत्मसात् गरी आफ्नो संघमा सुधार ल्याउन सकेन । त्यो पनि यसको कमजोरी थियो ।

(ङ) बाह्रौ शताब्दीदेखि मुसलमानहरूको आक्रमणले हिन्दुलाई आघात पुर्‌याएकै थियो । क्षीण हँदै गइरहेको बौद्ध धर्मलाई त एक प्रकारले उठीबास नै लगायो । मुस्लिम आक्रमणकारीहरूले गंगासम्म आइपुग्दा बिहारका नालन्दा र विक्रमशीलाका साथै सम्पूर्ण उत्तर, पूर्व र मध्य भारतका बौद्ध मठ र विद्यापीठहरू ध्वस्त बनाए । बौद्ध भिक्षुहरूलाई ठूलो संख्यामा हत्या गरियो, बाँचेर भाग्न सफल भिक्षुहरू नेपाल प्रवेश गरेका थिए ।

 

१३

महायोगी श्रीधर राणा रिम्पोछेको अध्ययनमा हिन्दु र बौद्धका बीचमा द्वन्द्व चर्केर बौद्धहरूको विनाश भयो र बौद्ध धर्मको लोप हुन गएको हो भन्नु इतिहाससम्मत होइन । यो प्रचलित नेवारी अनु श्रुति र केही पश्चिमा विद्वानहरूले फिँजारेको मिथ्या प्रचार हो । उहाँ अगाडि भन्नुहुन्छः ‘बाह्रौं शताब्दीका मुसलमान शासक बख्तियार खिल्जी र त्यसपछिका शासकहरूले भारतका सबैजसो बौद्ध मठ, स्तूपहरू र महाविहार ध्वस्त बनाए ।

बौद्धहरूको कत्लेआम गरियो, बाँचेकालाई मुसलमान बनाइयो । त्यसैकारण बुद्ध धर्म विलोप भयो ।’ शंकराचार्यले (ई. ७८८–८२०) सम्पूर्ण भारतवर्ष यात्रा गर्दै सबै बौद्धहरूलाई शास्त्रार्थमा पराजित गरेका कारण भारतबाट बौद्ध धर्म लोप हुन पुगेको हो भन्ने भनाइलाई पनि उहाँ आधारहीन मान्नुहुन्छ । उहाँको विचारमा त्यस्तो भनाइ अशिक्षित अबौद्धहरूले गुथेको एउटा मिथ्या धारणामात्रै हो । बुद्ध धर्म आफैं पनि वैदिक ब्राम्हण परम्परा र त्यसपछि गएर हिन्दु धर्मबाट प्रभावित भएको हो (समय साप्ताहिक, जेठ २३, २०६५ ) ।

१४

प्राचीन बुद्ध धर्ममा ठूलो परिवर्तन आइसकेको थियो । बुद्धले निर्दिष्ट गरेको आदर्शमा समेत परिवर्तन भएको थियो । यस धर्ममा ईश्वरप्रति कुनै स्पष्ट धारणा थिएन । तर नवौं शताब्दी सम्ममा यो धर्म ईश्वरवादी भइसकेको थियो । बुद्धलाई भगवान् मानेर पूजा गर्न थालिएको थियो । बज्रयान सम्प्रदायको उद्भवले तान्त्रिक शाक्त सम्प्रदाय र तिब्बतको बोनसँग बौद्धको मिश्रण भएर नयाँ पन्थको प्रारम्भ भएको थियो । यसरी बौद्ध धर्ममा कतिपय विसंगति र परस्पर विरोधी विचारले आपसी द्वन्द्व सिर्जना भएर बौद्ध धर्म र यसका संघहरूलाई क्षयीकरण गर्दै लग्यो र अन्ततः यो लोप हुने अवस्थामा पुग्यो ।

१५

यसरी बौद्ध र हिन्दुबीचको सम्बन्ध इतिहासभर नै सुमधुर र सद्भावपूर्ण रहेको पाइन्छ । कुनै शासकको व्यक्तिविशेष स्वभाव र राजनीतिक कारणले बौद्ध वा अरू धर्मावलम्बीले उत्पीडन वा थिचोमिचो बेहोर्नु परेको घटना खोजी गर्दा नपाइने होइन, कहीँ कतै पाइला पनि । जुद्ध शमशेरको शासनकालमा धर्मानन्द र उनका अनुयायी अमृतानन्द (पछि भिक्षु बनेका) लाई देश निकाला गरेको कहानी सुनिन्छ, तर त्यस घटनाको तथ्य विवरण प्रष्ट रूपले ज्ञात छैन ।

१६

बुद्धको जन्म र २९ वर्ष राजकुमारको जीवन बिताएको पवित्रभूमि वर्तमान नेपालको भू—भागमा पर्छ । नेपाल राष्ट्र हिन्दु भूमिको रूपमा परिचित भए पनि शान्ति र समानताको सन्देश दिने बुद्धको जन्मस्थलको रूपमा पनि उत्तिकै सम्मानित छ । आद्यकालीन बुद्ध धर्मको स्वरूप र आचरण वर्तमान नेपाल भूमिमा देखिँदैन । महायान र बज्रयानको हिन्दु धर्मअन्तर्गत पर्ने तन्त्रसँगै स्थानीय प्रकृतिपूजन पद्धति र तिब्बती बोन धर्मको मि श्रणबाट निर्माण भएको धर्म नेपालको विशेष पहिचानको बौद्ध धर्म हो । हिमाली, पहाडी क्षेत्रमा प्रचलित बौद्ध धर्म तिब्बती पद्धतिको लामा धर्म हो, जुन बुद्धको दर्शन र आाचरणसँग धेरै सम्बन्ध राख्तैन ।

१७

काठमाडौं उपत्यकामा प्रचलित बुद्ध धर्म हिन्दुको शाक्त, तन्त्र, वैष्णव र नाथ सम्प्रदायसँग निकटता रहेको जात्रा, पर्व, पूजाविधिसँगै यहाँको धार्मिक र सांस्कृतिक सम्पदाहरूले बिम्बित गर्छन् । यहाँका अधिसंख्य मठमन्दिरको पूजा विधि र चर्याले त्यस कुराको पुष्टि हुन्छ । पशुपतिनाथ, स्वयम्भूनाथ, मच्छेन्द्रनाथ, आदिनाथलगायत शक्तिपीठहरूले पनि नेपाली संस्कृतिको मौलिकतालाई समेटेका छन् ।

१८

आफूलाई परिवर्तनवादी भनेर चिनाउने नेपालका पहिचानवादीहरूले बौद्धहरूलाई उत्पीडन दिएर समाप्त गर्न खोजिएको भ्रम फिजाएको व्यापक प्रचार गरेका छन् । नेपालको राजनीति अत्यन्त तरल अवस्थामा छ । यस्तो संवेदनशील स्थितिमा यहाँको राजनीतिलाई विदेशी शक्तिहरूले परोक्ष रूपमा आफ्नो प्रभावमा राख्ने अभीष्ट रहेको बुझिन्छ । एसियाका दुई शक्ति राष्ट्रलाई दबाबमा राखेर विश्व राजनीतिको शक्तिकेन्द्र बन्ने पश्चिमा योजनाअन्तर्गत नेपालमा पश्चिमा राष्ट्रले आफ्नो उपस्थिति बढाउँदै लगेका छन् ।

हिन्दु राज्यको पहिचानमा राष्ट्रराज्य रहेको नेपाललाई बहुधार्मिक, बहुसांस्कृतिक, बहुनश्लीय राष्ट्रको रूपमा विभाजन गरेर द्वन्द्व खडा गर्ने योजनाअन्तर्गत नै यस प्रकृतिको भ्रम फिँजाएको बुझ्न सकिन्छ । यस्तो भ्रमको निवारण हुन जरुरी भइसकेको छ । त्यस्तो हुन सकेन भने आपस्तको द्वन्द्वले गर्दा हाम्रो राष्ट्रिय पहिचान लोप हुने सम्भावनालाई पन्छाउन कठिन हुनेछ । त्यसैले हामी संकल्प गरौं त्यस्तो अवस्था आउन दिने छैनौं ।

साभार अन्नपूर्ण पोस्ट भदौ २५, २०७३