तपाई मांसहारी कि शाकाहारी ?

अरुण पौडेल

पल्ला कोठाको डांग्राङ डुंग्रुङले निद्रा खुल्यो । निस्केर हेरेको त घरबेटी आमा मुसालाई लठ्ठीले हान्दै हुनुहुँदो रहेछ । ‘यो असत्तीले मेरो भान्छै अपवित्र गर्‍यो ।’ नपारोस् पनि किन ! आमा एक त अरूले छोएको नखाने त्यसमाथि लसुनप्याज पनि नछुने शुद्ध शाकाहारी ।

माछामासु र लसुनप्याज खाने मान्छेसमेत पस्न नपाउने भान्छालाई फोहोरी मुसाले अपवित्र नपार्ने कुरै भएन । उसले बाँच्न पाउने त कुरै भएन । भान्छाको पवित्रता कायम गरेर स्वर्गमा स्थान पक्का गरेकोमा आमा ढुक्क ।

म हङकङमा बुद्धिज्म पढ्ने क्रममा शाकाहारको प्रसंग आउँदा गुरुले कक्षाकोठामा एउटा कथा सुनाउनुभयो । एकजना भिक्षुणी हुनुहुँदो रहेछ । कैयौं वर्षदेखि शाकाहार साधना गरेको । एकपटक खाने कचौरामा मासुको एउटा टुक्रा परेछ । खाना खाँदा मासुको टुक्रा पनि मुखमा हाल्नुभएछ ।

थाहा पाएपछि उहाँले आफ्नो शाकाहार भंग भएकोमा यति बिलौना गर्नुभयो र भान्छेलाई यति सराप्नुभयो कि भनिसाध्य छैन । मासुको टुक्रा झुक्किएर कचौरामा परेको थियो र उहाँले पनि झुक्किएरै मुखमा हाल्नुभएको थियो । दोष कसैको थिएन तर यही कारणले आफ्नो सत्व नास भएकोमा भिक्षुणी शोकाकुल भइन् ।

शाकाहार र अहिंसा

शाकाहारको साधना अहिंसासँग सम्बन्धित छ, जसका लागि मनमा प्रेम र करुणा हुनुपर्छ । तर, माथिका दुवै प्रसंगमा अहिंसा र करुणा होइन स्वार्थी चित्त हावी भएको छ । खासगरी पूर्वीय संस्कृतिका धेरै शाकाहारीमा माछामासु नखानाले आफ्नो कर्म सुध्रिने र स्वर्ग (वा त्यस्तै कुनै ठाउँ) मा आफ्नो सिट रिजर्व हुने विश्वास छ ।

ती आफूलाई परम शाकाहारी र पवित्र भएको भन्ने ठान्छन् तर मनभित्र हिंसाले कसरी गहिरोसँग जरो गाडेर बसेको हुन्छ भन्ने थाहा कुरा थाहा पाउँदैनन् । यस्ता कैयौं प्रसंग छन्, जो शरीरबाट शाकाहारी भए पनि मनबाट हुन नसकेको कुराको दृष्टान्त दिनुपर्दा मेरो दिमागमा आउँछन् ।

पेट भर्न अरू प्राणीको ज्यान नजाओस् भनी मांसाहार नगर्नु भनिएको हो । अर्थात्, आफ्नो स्वार्थका लागि अरूको मरण नगराउनु शाकाहारको मर्म हो । यसमा आशयको महत्व हुन्छ ।

मासुका लागि प्राणीको हत्या गर्न हुँदैन तर कसैले अन्जानमा तपाईंलाई मासु खान दियो र तपाईंले अन्जानमा खानु भयो भने त्यसमा तपाईंको दोष हुँदैन किनकि न तपाईंले मासु खाने इच्छा राख्नुभएको हो, न त यसका लागि कसैको हत्या गरेको वा गर्न प्रोत्साहित गरेको हो ।

हिंसाका विभिन्न रूप हुन्छन् । सामान्य अर्थमा अरू प्राणीको ज्यान लिनु हिंसा हो । त्यो हिंसाको चरम रूप हो । तर, अरूलाई दुःख दिनु र चित्त दुखाउनु पनि हिंसा नै हो ।

मासु खाँदा जनावर मर्छन् भनेर मासु नखाने तर जिउँदो मान्छेलाई अपहेलित गरेर उसको चित्त दुखाउने काम पक्कै पनि अहिंसा होइन । जिउँदो मान्छेलाई छिछि दुरदुर गरेर भान्छामा पस्न नदिने तर त्यहीँभित्र मुसाको हत्या गर्ने काम पनि पक्कै अहिंसा होइन । बरु डबल हिंसा हो ।

शाकाहार भनेको शरीरबाट मात्र होइन मनैबाट गरिने अहिंसाको अभ्यास हो । शाकाहारका कारण जीवहत्या हुँदैन । यसबाट आफ्नो कर्म सुधारिन्छ र पुण्य मिल्छ । तर, मासु नखाएकै कारण मात्र पुण्य मिल्ने होइन । शाकाहारमा माछामासु छोडिन्छ । शरीरले मात्र होइन, मनले पनि । मुखले नखाने तर मनभित्र चाहिँ खान पाए हुन्थ्यो भन्ने चाहना छ भने शाकाहारको अर्थ हुँदैन । जब मनमा मांसाहारको कुनै विचारै आउँदैन तब मात्र शाकाहारको अर्थ रहन्छ ।

मनले मांसाहारी र शाकाहारी

केही समयअघि एक पुराणमा भेला भएका श्रद्धालु धर्मपरायणले मेरा ६ वर्षे छोरालाई एकान्त पारेर सोध्ने एउटै प्रश्न थियो, ‘तिमीहरू माछामासु खान्छौ कि खाँदैनौ ? ‘ ती सबै वर्षैंदेखि ‘शाकाहारी’ थिए । मलाई सोधेका भए भन्नेथिएँ, ‘तपाईंले माछामासु छोड्नु भएको होइन बरु पकड्नुभएको रहेछ ।

यसबाट तपाईंले मुक्ति पाउनुभएको रहेनछ ।’ मेरो विचारमा ती शरीरले शाकाहारी तर मनले मांसाहारी हुन् । किनकि मनले जबसम्म छोडिँदैन, तबसम्म कुनै कुरा छुट्दैन, बरु अझ बलियोसँग र जटिल रूपमा पकडिन्छ ।

मेरा धेरै मांसाहारी साथी र आफन्त छन् जसलाई अरूले माछामासु खान्छन् कि खाँदैनन् भन्ने मतलबै छैन । उनीहरू भलै शरीरले शाकाहारी होइनन् तर उनीहरू मनले माछामासुको विचारबाट मुक्त छन् । खानु र नखानु उनीहरूका लागि ठूलो विषय होइन ।

उनीहरूको व्यवहार करुणाले भरिएको छ । मांसाहारी भईकन पनि मानिस र अन्य कुनै प्राणीलाई कुनै पनि दुःख नहोस् भनी सधैं सचेत हुन्छन् । त्यहीअनुसार आचरण पनि गर्छन् । मेरो विचारमा ती शरीरले मांसाहारी भए पनि मनले शाकाहारी हुन् ।

मनले शाकाहारी हुन नसक्दा माछामासु नखाने मान्छेमा एकप्रकारको अनौठो घमण्ड आउँछ । आफू असल र अरू खराब भन्ने । आफूलाई शुद्ध र अरूलाई अशुद्ध ठान्ने । त्यही घमण्डका कारण उनीहरू अरूलाई होच्याउँछन्, घृणा गर्छन् । नजानीकनै अरूमाथि हिंसा गर्छन् ।

हिंसाका विभिन्न रूप हुन्छन् । सामान्य अर्थमा अरू प्राणीको ज्यान लिनु हिंसा हो । त्यो हिंसाको चरम रूप हो । तर, अरूलाई दुःख दिनु र चित्त दुखाउनु पनि हिंसा नै हो । अरूको मनलाई जति धेरै पीडा दिइन्छ, हिंसा त्यति नै ज्यादा हुन्छ ।

‘कर्म’को सम्बन्ध

हिन्दु र बौद्ध दर्शन ‘कर्म’को सिद्धान्तमा आधारित छन् । असल कामले असल कर्मको निर्माण हुन्छ र खराब कामले खराब कर्मको निर्माण हुन्छ । यसरी निर्माण भएको कर्म मानिससँगै सञ्चित रहन्छ र मृत्युपश्चात् पनि यसको निरन्तरता रहन्छ ।

खराब कर्मको परिणति खराब हुन्छ र राम्रो कर्मको परिणति राम्रै हुन्छ । हिंसाले खराब कर्म निर्माण गर्छ । कर्मको नियमअनुसार अरूमाथि गरिने हिंसा कुनै न कुनै रूप र कुनै न कुनै समयमा आफूमाथि फर्केर आउँछ नै । मासु खाँदा पाप लाग्छ भन्नुको पछाडि पनि यही कर्मको कुरा जोडिएको छ ।

बौद्ध दर्शनअनुसार जुन प्राणीमाथि हिंसा गरिन्छ, त्यो प्राणीको आकार र चेतनाको स्तरका आधारमा हिंसा गर्नेले सञ्चित गर्ने खराब कर्मको मात्रा निर्धारण हुन्छ । यसलाई सजिलो गरी बुझ्ने हो भने, चेतनाको स्तर कम भएको प्राणीमाथि गरिने हिंसाभन्दा चेतनाको स्तर बढी भएको प्राणीमाथि गरिने हिंसामा ज्यादा पाप हुन्छ ।

हात्तीको ज्यान लिनु चराको ज्यान लिनुभन्दा धेरै गुणा खराब हो । मान्छेको ज्यान लिनु सबैभन्दा खराब र गम्भीर पाप हो । चेतनाको निम्न स्तरमा भएको माछाको ज्यान लिनुभन्दा उच्च चेतना भएको मान्छेको चित्तमात्र दुखाउनु पनि ठूलो पाप हो ।

तानाशाह हिटलर आफ्नो जीवनको उत्तराद्र्धमा शाकाहारी भएका थिए रे । तर त्यसपछि उनले यहुदीहरूको नरसंहार गरेर ६० लाख यहुदीको हत्या गरे । मैले त्यस्ता मानिसको संगत गरेको छु जो शरीरले शाकाहारी छन् तर व्यवहार तथा बोलीवचनले मानिसको दिल दुखाउँछन्, छियाछिया पार्छन् । शरीरले जीवजन्तुको हत्या नगर्ने तर मानिसलाई दुःख दिइरहन्छन् ।

आफूले मासु नखाएर पवित्रता जोगाएकोमा नाक फुलाउँदै स्वर्ग पुगिने विश्वासमा रमाउँछन् । समाजमा त्यस्ता ‘धार्मिक’ मान्छेहरू अझै पनि छन् जो अरू मान्छेलाई तँ अपवित्र होस्, अछूत होस्, अथवा नुहाएको छैनस्, व्रतबन्ध गरेको छैनस् आदि भन्दै घर वा भान्छाभित्र छिर्न दिँदैनन् तर मारिएको प्राणीलाई आफैं पकाएर खान्छन् । यी दुवै प्रवृत्ति हिंसाकै भिन्नभिन्न रूप हुन् ।

हाम्रै सनातन धर्मका केही सम्प्रदायमा खसी र कुखुराको नाम लिँदासमेत जात जान्छजस्तो गरिन्छ । मान्छेले खसी र कुखुरा काटेर खान्छन्, तर दोष ती निर्दोष प्राणीलाई जान्छ । मानौं ती प्राणी यति अधर्मी हुन् कि तिनीहरूकै कारणले मान्छेको मति भ्रष्ट भएको हो ।

शाकाहारको जग

मनमा परिवर्तन नआई शाकाहारको अर्थ रहँदैन । अहिंसाको साधना नभई शाकाहारको साधना हुनै सक्दैन । अहिंसाको साधनाका लागि गौतम बुद्धले सिकाउनुभएको करुणाको अभ्यास उपयोगी छ । सवै प्राणीमाथि करुणा गर्नुपर्छ भन्ने कुरालाई सैद्धान्तिक रूपमा कसैले पनि अस्वीकार गर्दैनन्, नोरोगीहरूबाहेक । हिंसा नै ठीक हो भनी कसैले भन्दैन होला, मन विकृत भएका निर्दयीहरूबाहेक ।

मानेको कुरा सधैं व्यवहारमा उतारिन्छ नै भन्ने छैन । यसका लागि मानसिक अभ्यास चाहिन्छ । अध्ययन, मनन र ध्यान मानसिक अभ्यासका प्रक्रियाहरू हुन् ।

बुद्धले सिकाउनुभएको करुणा र मैत्री ध्यानको अभ्यासले सबैप्रति प्रेमको विकास हुन्छ । जब मनमा प्रेम र करुणा हुन्छ, तब मानिस स्वाभाविक रूपमै अहिंसक हुन्छ । अहिंसाको जगमा खडा भएको शाकाहारमात्र सही अर्थमा शाकाहार हुनसक्छ । करुणा भरिएको मनले मान्छेको स्वाद र आहारका लागि ज्यान गुमाउने ती प्राणीहरूको कल्याणको कामना गर्छ । उसलाई स्वर्गको लोभ देखाउनै पर्दैन । लोभको शाकाहारले स्वर्ग पुर्‍याउला वा नपुर्‍याउला भन्न सकिन्न तर करुणाले भरिएको शाकाहारले पक्कै पनि असल कर्मको धनी बनाउनेछ ।
(लेखक नीति तथा सदाचार संस्थाका अध्यक्ष हुन् ।)

साभार : अन्नपू्र्ण पोस्ट, शनिवार, पुस १६, २०७३