सुन हे राजा बिम्विसार

चित्र शाक्य

सुन हे राजा बिम्विसार…….। यो एउटा नेपालभाषा(नेवारी भाषा) को बुद्ध भजनको गीतको पहिलो अंशलाइ नेपालीमा अनुवाद गरेर राखेको हो। बुद्धले बिम्विसार राजालाई सुनाएको कथालाई स्व. भिक्षु प्रज्ञानन्द महास्थविेरले गीतमा उतार्नु भएको हो।

 


स्व. भिक्षु प्रज्ञानन्द महास्थविर नेपालमा थेरवाद(पहेंलो वस्त्र लगाउनेभिक्षुको) धर्म प्रचार गर्ने पहिलो व्यक्ति हुनुहुन्छ।उहाँले वर्मा(वर्तमान म्यानमार)मा भिक्षु बनेर बुद्धधर्मको अध्ययन गरेर नेपाल आउनु भई थेरवाद बुद्धधर्मको शुरुवात गर्नु भएको हो।राणाकालिन नेपालमा थेरवाद बुद्ध धर्मलाई राणाहरूले मन पराउँदैनथ्यो।किनभने यसले दास नबन्‍न प्रेरित गर्थ्यो। धेरैबाजी पुलिसले उनलाई ४ भञ्ज्याङ्‍ग कटाईदिएका थिए। काठमाडौंमा बस्दा पनि दैनिकि चलाउन मुस्किल थियो। भिक्षाटन गरेर जिविका चलाउनु पर्ने भिक्षा पाउनै मुस्किल थियो। कति दिन त भोकै बस्नु पर्‍यो।पछि उहाँबाट प्रभावित हुनेहरू भएपछि अली सजिलो भयो।

 


उहाँ वहुप्रतिभाशाली हुनुहुन्थ्यो। उहाँ ग्रन्थकार, धर्म उपदेशक, धर्म विश्लेषक, मूर्तिकार, चित्रकार, आयुर्वेदिक शास्त्री र सिद्धहस्त कवि हुनुहुन्थ्यो। उहाँको २०४९ सालतिर ९३ वर्षको उमेरमा देहावसान भयो।

 


यो सुन हे राजा… गीत ज्ञानमाला भजनको अति लोकप्रिय गीत मध्य एक हो।मैले यो गीत २०१२\१३ सालतिरै दाजुभाई मिली गाउने गरेको हो। उ बेलाको र अहिलेको बुझाईमा धेरै फरक परेको छ। यो गीतको अडियो फेसबूकमा राख्‍न योग्य थियो। किनभने यसमा गीतकारका मर्मस्पर्शी शब्दहरू, संगीतकारको मन छुने संगीत र गायकको गीतलाई जिवनदान दिने स्वर छ। प्रविधिक कठीनाईले सम्भव भएन र मित्रहरू त्यसबाट वञ्चित हुनु पर्‍यो। कथा त म छोटकरीमा राख्‍नेछु। कथा यस्तो छ।

 


परापूर्वकालमा महारण्यवनमा एउटा हात्तीको वच्चा थियो। त्यो हात्तीको वच्चा खानेकुरा खोज्न जाँदा पहाडबाट खसेर गंगाजीमा पर्‍यो र मर्‍यो। गंगाले बगाएर लग्यो। आकाशबाट आएको कागले त्यो सिनो देख्‍यो। खुशीले गललल्ल हाँस्यो र धन्य मेरो भाग्य भन्यो। सिनोमाथि बस्यो र मन लागेको खाएर खुशीले नाच्यो, गंगाजल पियो र सुख भनेको यहि हो, मैं हुँ सुखी भन्यो। ३\४ दिनपछि समुद्रको माझमा पुग्यो। चारैतिर हेर्दा अगम्य देख्‍यो। मासु खान खोज्दा गन्हाएको चाल पायो। कुहीसकेको रहेछ। आफू भयंकर संकटमा परेको महसूस भयो र रूँदै हे ईश्वर मलाई बचाईदेऊ भनेर पुकार्‍यो। छालले श्रृजना गरेको भुमरीमा पर्‍यो र के गरूँ के गरूँ भन्दा भन्दै गोही र अन्य जलजन्तु ले खाँदा हात्ती र काग दुबै सकियो।

 


राजा जस्तो धन ऐश्वर्यमा मख्‍ख परेर पछिको केही नसोच्नेहरूका लागी मिल्ने यो कथा राजामात्र होइन हामी जस्ता साधारणको जिवनमा समेत मेल खान्छ। सबै आफ्नो जिवनमा धनको छेलोखेलो होस, ऐशआरामको जिवन होस भन्ने चाहन्छ।शहरी क्षेत्रका प्रत्येक परिवारको सपना कम्तिमा १ बंगला, १ गाडी र मनग्य बैंक ब्यालेन्स होस भन्‍ने चाहन्छ।सोझो किसिमले कमाउन नसके जे गर्न पनि तयार हुन्छ। देश भ्रष्टाचारमा डुबेको कारण नै यहि हो। पैसा आएपछि सुखसयलको जिवनमा सबै कुरा भुल्छ।अभिमान चढछ।

 

वैभवलाई ठूलो भाग्य र सबै कुरा हो भन्ने ठान्छ। अनि जब अन्त्यकाल आउँछ, त्यस्पछि के होला ? कहाँ जन्म लिनु पर्ला, सबै छोराछोरी धनसम्पत्ति छोडेर जानु पर्छ भनेर ठूलो पीडा महसूस गर्छ।अनि राम्रो ठाउँमा पुर्‍याईदेउ बचाउ भनेर ईश्वरलाई पुकार्न थाल्छ।आफ्नो कर्म अनुसार मात्र पुनर्जन्म पाइन्छ, ईश्वरले चाहेर पनि केही गर्न सक्दैन। त्यसैले उपायको जोहो समय मैं गर्नु पर्छ।जिवनको रहस्य बारे थाहा पाउन योग्य गुरू कहाँ जानु पर्छ।रागद्वेष जस्तो पापबाट बच्नु पर्छ, मोहबाट बच्नु पर्छ।जिवन छउञ्जेल केही नगरी अन्त्य समयमा भौंतारी भ्रम र त्रासमा पर्दा अर्को जन्म नराम्रो ठाउँमा पर्नु स्वभाविकै हो।त्यसैले बेला छँदै दान, शील भावना(ध्यान)मा रहेर अन्त्य समयको यथार्थ ज्ञान पाउन सके भावी जिवन राम्रो हुन्छ। त्यसको ग्यारेणटी हामीले गर्नु पर्छ।