ङोन्डो अभ्यासको मूल मर्म

– भिक्षु कृष्णमान
बौद्धधर्म महायान हिनयान (अर्थात् थेरवाद) र बज्रयानमा विभाजन गरिएको छ । म तीनवटै यानमा गहन अध्ययन अभ्यासमा डुब्न नसके पनि प्राथमिक स्कुलको विद्यार्थीको स्तरसरह बुद्ध धर्मसम्बन्धी साधारणज्ञान पाएजस्तो अनुभव गरेको छु ।
पुस्तकालय सेवाबाट अवकाश पाएर बौद्ध सेतो गुम्बामा जब म भिक्षुको रूपमा प्रवर्जित भएँ, तिब्बती भाषा सिक्ने र धर्मसम्बन्धी ज्ञान हासिल गर्नेतर्फ नलागेर गुम्बाको प्रशासनिक काममा जुट्न पुगेँ । अनुभवी शिक्षित लामाहरूले पूजापाठ गरेर आर्जन गरेको पुण्य र गुम्बाको प्रशासनिक सेवाबाट आउने पुण्यमा कुनै फरक देखिन्न । किनभने गुम्बाको प्रशासनिक सेवाको बलबाट नै गुम्बाको पूजा पाठ सहज हुन सक्छ ।

 

यसपालि यही सेतो गुम्बाले आयोजना गरेको दोस्रो एकमहिने ङोन्डो पूर्वगत अभ्यासमा आफू पनि लागुँ कि भनेर गुरु छुकिनिमा रिन्पोचेसँग मैले बिन्ती बिसाएँ– यो उमेरमा तिमी सक्छौं भने यो कडा अभ्यासमा भाग लिनू भन्ने आज्ञा गुरुबाट पाए । यस ङोन्डो अभ्यासमा सहभागी बनेका तीन सय जना उपासकउपासिकाहरूमध्ये उमेरको हिसाबमा म नै ज्येष्ठ अभ्यासकर्ता थिए ।

 

प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म चार प्रहरमा चल्ने कार्यक्रमअन्तर्गत शरण गमन, बोधिचितोत्पाद साष्टाङ दण्डवत, बज्रसत्व भावना, च्वेद पूजा, भद्रचरी प्रणीधान स्तोत्र प्रजापारमिता हृदय सूत्र र गुरुयोग मन्त्र पाठ गर्ने अभ्यास चलेको थियो । अन्तिम दिन पुस २८ गते गुरुको तत्वावधानमा गण पूजाको आयोजना गरियो ।

 

ङोन्डो अभ्यास सुरु हुन अगाडि अभ्यासकर्ताहरूलाई गुरुबाट चार प्रकारको अभिषेक दिने चलन छ । आफ्ना मूल गुरुमा शरणागत भएर विश्वास र श्रद्धासाथ गुरुको आत्मसात् गर्न सकेमा आफूले चार प्रकारको अभिषेक ग्रहण गर्न सकिनेछ ।

 

गुरुको शिरबाट निस्कने सेतो रङको ज्योति, गुरुको घाँटीबाट निस्कने रातो रङको ज्योति, गुरुको छातीबाट निस्कने नीलो रङको ज्योति र गुरुको नाभीबाट निस्कने हरियो रङको ज्योति यी विभिन्न चार रङका ज्योति किरणलाई गुरुबाट आशीर्वादको रूपमा आएको सम्झँदा आफ्नो सम्पूर्ण शरीर न्यानो हुनुको साथै परम सुखशान्ति परिपूर्ण भएको अनुभुति हुन्छ ।

 

ङोन्डो अभ्यासको मूल मर्म हो चित साधन गर्नु । सम्पूर्ण ङोन्डो अभ्यासकर्ताहरूको लागि पाटन ज्याथाबहालस्थित पदम वर्ण महायान गुम्बाका सहदय भिक्षु गुणसागर उपासक चन्द्रवीर महर्जन र उपासक सचिन शाक्यको सहयोगबाट निःशुल्क उपलब्ध गराइएको धर्म पुस्तकमा अंकित तिब्बती लिपिमा लेखिए पनि स्तोत्र उच्चारण गर्न नेपाली लिपिमा लेखिएकाले मन्त्र पाठ गर्न सहज भएको छ । संक्षिप्त अर्थ पनि दिइएको छ । सम्पूर्ण अभ्यासकर्ताहरूको बगालमा मजस्ता तिब्बती लिपि पढ्न नसक्ने आठ, दसजना अभ्यासकर्ताहरू थिए होलान् । बाँकी सबैजसोले तिब्बती भाषामा मन्त्रपाठ गरिरहेको सुनेँ ।

 

स्मरण रहोस् तिब्बती लिपि अर्थात् सम्भोट हिमाली धर्म लिपि सिक्न सेतो गुम्बामा २०१३ सालदेखि नेपाली श्रद्धालु भक्तजन बौद्ध अनुयायीहरूको लागि प्रत्येक वर्ष तीनमहिने निःशुल्क सम्भोट हिमाली धर्मलिपि शिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।

 

महायान बौद्ध धर्मशास्त्रको गहन अध्ययनअभ्यासमा लाग्ने भक्तले हिमाली धर्म लिपि सिक्नु नै प्रथम दायित्व हो भन्ने मैले महसुस गरे । यसै सिलसिलामा बौद्ध शिक्षा– बुद्ध धर्मको महत्वलाई दृष्टिगत गर्दै गुरु छोकिनिमा रिम्पोचेबाट “धर्म ज्ञान विद्यालय” को स्थापना गर्नु भएको हो । यस विद्यालयको मूल उद्देश्य हो, विश्वशान्ति महानायक बुद्ध भगवान्को अमृतमय उपदेश एवं बौद्धशिक्षा परम्परालाई आधुनिक परिवेशमा अझ बढी सशक्त शक्तिशाली रूपमा अगाडि बढाउनू ।’

 

एकमहिने ङोन्डो अभ्यास शिविरमा सहभागी बन्ने सम्पूर्ण भक्तजनहरूको लागि गुम्बाबाट तीन टाइम निःशुल्क खानाको व्यवस्था मिलाइएको थियो । निरन्तर अटुट रूप एक महिनासम्म सहभागी बनेका अभ्यासकर्ताहरूलाई गुरुबाट सम्मानपत्र वितरण गरियो ।

 

ङोन्डो पूर्वगत अभ्याससम्बन्धी साधना समापन हुनु अगाडि काय वाक चित र ज्ञान बज्रद्वारा अधिष्ठित भई चार अभिषेक ग्रहण गरी पूर्वगत अभ्यासका सम्भार शोधन विधिअन्तर्गतका सूत्रहरू संगीतमय सुमधुर लयमा वाचन ग-र्यौं । यो अभ्यासबाट आर्जन गरेको अनुत्तर पुण्य फलको बलमा शान्तिको स्थापना र सकल प्राणीको उद्धार हुन सकोस् भन्ने धारणा ङोन्डो अभ्यासकर्ताहरूले बोकेको हुन्छ ।

साभार अन्नपूर्णपोस्ट/पानाखबर दडकम