भगवान गौतम बुद्धको पैतालाको छाप

स्वामी आनंद प्रसाद

अपराह्नको बेला, अधिक गरम थियो, कहीं कतै राहतको हावा चलेको थिएन, भत्भती पोल्ने घाम थियो। शीलतता दिने छहारी पनि नजीकमा थिएन। भगवान बुद्ध नदीको किनारतिर हिँड़ेर जाँदैथिए। वट-वृक्ष केही नभएको, बालुवा-बालुवा भएको नदीको किनारा छ। यस्तोमा भगवान बुद्ध हिँड्दैथिए। तर भगवान बुद्धको पैतालाको चित्रवत छापको निशाना अति सुन्दर लाग्दथ्यो। टाढ़ा-टाढ़ासम्म कुनै ठूलो रूख छँदैथिएन। यसैले भगवान बुद्ध एउटा सानो पोथ्रामुनि एकछिन विश्रामको निम्ति बसे।

उताबाट काँशीबाट ज्योतिष पढ़ेर एक महापण्डित आफ्नो घरतिर फर्किरहेका थिए। अधिक गरम भएको हुँदा ती ज्योतिष गोरुगाड़ीबाट उत्रिएर पानी पिउन भनी नदीको किनारामा आए। बालुवामा बुद्धका पैतालाको छाप देखेर तिनी हैरान भए। ज्योतिष सोचाइमा परे, ‘यस्तो गरममा, अपरान्हको बेला, यो जङ्गलमा अनि यो पदचिह्न? कसरी हुनसक्छ यस्तो?’

ज्योतिषले अति सुन्दर ती पदचिन्हहरूको निरीक्षण गरे। आफूले बाह्र वर्षसम्म पढ़ेको बेकार सम्झिए। किन कि, यदि पदचिन्हको लक्षणहरू हेर्ने हो भने त, यो एउटा सम्राटको हुनुपर्ने। चरणचिह्नमा बनिएका रेखाहरू तिनले फेरि हेरे, आफूले पढ़ेको शास्त्रअनुसार यो एक चक्रवर्ती राजाको पदचिन्ह हुनुपर्ने तर तिनले यताउति हेर्दा एउटा लुगा पनि फाटिसकेको एउटा साधुलाई सानो पोथ्रामुनि पल्टिरहेको देख्दैछन्। पैतालाको डाम पनि त्यतैतिर गएको छ, यो तिनकै हुनुपर्ने हो। ज्योतिषले मनमनै गमे। सम्राटको पदचिन्ह तर एउटा भिखारी पोथ्रामुनि लड़िरहेछन्। लुगाहरू पनि फाटिसकेका, बलुवामा हिँड़ेकाले थकित अनि खुट्टाहरूमा चोट आइसकेका गरीब मान्छे छन् त्यहाँ। यद्यपि, ज्योतिषलाई अलिकति आशा पल्हायो मनमा। किन कि, ती व्यक्तिको अनुहारमा एउटा तेज भने थियो। एक आभा थियो। निदाइरहेको थियो ती भिखारी। ज्योतिषले गोरुगाड़ीमा चढ़ेर जानुको साटो प्रतीक्षा गर्नलागे। तिनी कहिले निद्राबाट ब्युँझिएलान् भनेर। मनमा भुटभटी चलिरहेको थियो ती ज्योतिषको। केही बेर पर्खिएपछि महात्माले आँखा खोले। आँखा खोल्दा तिनले एउटा भद्र मानिसलाई आफूसामु देखेर तिनी मुस्कुराए, स्वागतार्थ।

ज्योतिषीले दुइ हात जोड़ेर महात्मालाई नमस्कार गर्दै आफू ज्योतिष भएको र आफूले शास्त्रमा पढ़ेअनुसार तिनको पदचिन्ह अति दुर्लभ भएको बताए। ज्योतिषले भने, ‘हजारौं वर्षमा मात्र कुनै भाग्यशालीले यस्तो पदचिन्ह देख्ने सौभाग्य पाउँदछन्। त्यो सौभाग्य मैले पनि पाएँ आज। अनि हजुरलाई दर्शन गर्न म पर्खिरहेछु। यो पदचिन्ह ज्योतिष मतानुसार कुनै चक्रवर्ती सम्राटको हुनुपर्ने हो तर तपाईं एक सन्त हुनुहुन्छ…।’

भगवान बुद्ध मुस्कुराए अनि भने, ‘जबसम्म म यो प्रकृतिको जालमा बाँधिएको थिएँ, तबसम्म मात्र हजुरको ज्योतिषले काम गर्थ्यो। अब म बन्धनमुक्त भइसकेको छु, यसैले हजुरको ज्योतिषले अब मेरो निम्ति काम गर्दैन।’ ज्योतिषले महात्माको कुराको अर्थ बुझाइमागे। भगवान बुद्धले सर्वशक्तिमानप्रति समाहित भइसकेपछि ज्योतिष, ग्रह, नक्षत्र, भय, क्रोध र अन्य सबै यस्ता दुर्गुणहरू र बन्धनहरूबाट मुक्त हुने कुरा बताएपछि ती ज्योतिष बुद्धबाट प्रभावित भइ गद्गद् भए अनि बुद्धको चरणमा परे। ती ज्योतिष हर्षित भएर त्यहाँबाट फर्किए। ती ज्योतिषले आफूलाई साह्रै भाग्यमानी ठाने। जीवनमा यस्तो दुर्लभ कुरा देख्नपाउनाले तिनी आह्लादित थिए। बुद्धसित यसरी साक्षात्कार भएर फर्किएपछि भने तिनी सन्तुष्ट भए, आफूले ज्योतिष सिकेकोमा खुशी भए। यसैकारण तिनले पदचिन्ह चिनेका थिए र महात्मा बुद्धसित भेट भएको थियो।